Khadya Bibhag

मुसहर विस्थापित हुँदै

महोत्तरी पुस १६ गते । अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहर विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको जानकार बताउछन् ।

भूमिसुधार लागु भएपछि गरिब निमुखा मुसहरले जोते भोगेको जग्गा पहाडबाट तराई झर्ने पैसावालले किने । त्यसपछि उनीहरु जङ्गलको सीमावर्ती इलाका खोलाको किनार वा विभिन्न जमिन्दार कहाँ ९काम गर्ने कारिन्दा० का रुपमा बस्ने थाले । पहाडबाट तराई बसाइँ सर्ने मानिसले जङ्गली खेतलाई खेतीयोग्य, कुलो लाग्ने र समथर बनाउनुपर्ने भयो । त्यसपछि मुसहरले उपयुक्त रोजगार पाए । गाउँगाउँमा खेतलाई खेतीयोग्य बनाउन मुसहरलाई माटो पुर्ने, बोक्ने र कुलो निर्माण गर्ने काम दिन थालियो । विसं २०२१ देखि २०५० सम्म मुसहर आफ्नो परम्परागत पेसाबाट नै जीविकोपार्जन गर्न सक्षम थिए तर त्यसपछि माटो काट्ने र बोक्ने काम अन्य जातिका मानिसले पनि गर्न थाले ।

शिक्षा, चेतनाको कमी र गरिबीबाट आक्रान्त मुसहरले काम पाउन छोडे र तीमध्ये कतिपय कामको खोजीमा विदेशिन थाले र कामका लागि पलायन भएका उनीहरू जहाँ गयो त्यही हराउन थाले । गौशाला नगरपालिका–६ स्थित मुसहर बस्तीका विष्णु सदा भन्नुहुन्छ, “मुसहरले माटोको काम पाउन छोडेपछि जिल्लाका विभिन्न ठाउँमा ९काठ० आरा चिर्ने काम गरी जीविकोपार्जन गर्न थालेका छन् । काम गरी पैसा ल्याएको दिन टन्न खान्छन् भोज गर्छन् तर पैसा भएन भने मागेर खाँदैनन् बरु भोकै सुत्छन् ।”

स्वास्थ्य र शिक्षाको अभावमा पिछडिएका मुसहर समयमा खान नपाएर र पोषणयुक्त खानाको अभाबमा विभिन्न रोग लागेर १० देखि १५ प्रतिशतको अकालमै ज्यान जाने गरेको छ । जाडोमा शीतलहर र गर्मीमा हैजा, कालाजार, इन्सेफ्लाइटिस, मेनेनजइटिसजस्ता रोगबाट पीडित मुसहर बस्तीबाट ५०० मिटर टाढा स्वास्थ्य केन्द्र भए पनि उपचार गर्न जाँदैनन् । भन्छन्, “खान पेटभरि नपाएर रोग लाग्छ घरमा खानेकुरा भए रोग लाग्ने कुरै आउँदैनन् ।” श्रम शोषण र गरिबीबाट पीडित मुसहरको जनसङ्ख्या २०४८ सम्ममा तथ्याङ्कमा उल्लेख थियो तर त्यसपछि हालसम्म तथ्याङ्कमा उल्लेख नभए पनि हाल महोत्तरीमा २० हजारभन्दा बढी मुसहर रहेको जिल्ला समन्वय समितिको अनुमान छ ।

गौशाला, बलवा, बर्दिबास, भङ्गहा, मनरासिस्वा, जलेश्वर नगरपालिका, लोहारपट्टि, मटिहानी, औरही नगरपालिकालगायत क्षेत्रमा अत्यधिक मुसहरको बसोबास छ । आफ्नै संस्कार, परम्परा, भाषा र संस्कृति भएका मुसहर नेपालका आदिवासीमध्ये पुराना मानिन्छन् । भाषा, संस्कृति र परम्परा धान्ने नाममा गठित गैरसरकारी र सरकारी सङ्घ संस्थाबाट पनि मुसहर जातिको शैक्षिक विकास र स्वास्थ्य चेतना अभिवृद्धिका लागि ठोस काम नभएकाले यस जातिको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।

त्यस्तै, पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली गर्न भनेपछि उनीहरुलाई समस्या भएको हो । “वर्षांैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, सदाले भन्नुभयो, “अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भन्नुभयो , पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।” यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उहाँको दुखेसो छ ।

“आफूहरुसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिले भोक र निद्रा नै हराएको छ ।”उहाँका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्स्दै आएका थिए । “ बुबा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ६० वर्षीय सदाले भन्नुभयो, “हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौँै, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।” पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ ।

“कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन”, डाक्नेश्वरी नगरपालिका–५ का ४५ वर्षीय रामेश्वर सदाले भन्नुभयो, “ जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने रु समस्यामा परेका छौँ ।” “पुस्तौँदेखि यही बस्यौँ, यही मजदुरी ग¥यौँ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्”, उहाँले भन्नुभयो, “अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँ ।” विस्थापित हुनबाट जोगाइदिन सबैसँग उहाँले अपिलसमेत गर्नुभएको छ ।

स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरुपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौँदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठीबासका जोखिममा छन् ।

स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मङ्सिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा जोड्नुभएको छ । चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

“पुस्तौँदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरु पनि अडानमा छौँ”, ३७ वर्षीय ओपेन्द्र सदाले भन्नुभयो, “त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छाँै, अन्तिमसम्म हामी पनि लड्छौँ ।” यसमा सबैको सहयोग चाहियो, उहाँको आग्रह थियो । यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो ।

यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ । द फ्रिडम फण्डका सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरुवाचरुवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो ।

दलित समुदाय उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले ती समुदायका हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको उहाँकोे भनाइ छ । पुस्तौँपुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठीबास हुन नदिन आफूहरुले पनि सहयोग गर्ने स्थानीय गैरदलित समुदायका अगुवाले समेत बताएका छन् ।

ऐन, कानुनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरुले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय समाजसेवी असर्फीलाल यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया