Khadya Bibhag

दूधको मूल्य वृद्धि गर्न मन्त्रीले खोज्नुभयो मन्त्रीपरिषद्को साथ

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसकेकेको छ तर अझै मूल्य वृद्धि गर्न सकेको छैन । मन्त्री स्तरीय निर्णयबाट हुने मूल्य वृद्धिको कार्य मन्त्रीपरिषद्मा लगिएको छ । कृषि मन्त्री महिन्द्रराय यादवले दूधको मूल्य वृद्धिको प्रस्ताव मन्त्रीपरिषद्मा लग्नु भएको छ तर अहिलेसम्म सो पारित भएको छैन । यो मन्त्रीस्तरबाट हुने काम हो तर मन्त्री यादव हिम्मत नगरेर त्यसलाई मन्त्रीपरिषद्मा लग्नुभएको छ ।

मूल्य वृद्धि नहुँदा किसानहरु मर्कामा परेका छन् । यसैबीचमा केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । संघले एक विज्ञप्ति जारी गरी प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो । विगत तीन वर्षदेखि दूधको मूल्य एउटै रहेको तर महँगी बढेर आकाशिएसँगै किसान गाईभैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकरसमेत किन्न नसक्ने अवस्थामा पुगेको र पेशाबाटै पलायन हुने अवस्था आएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दूधको मूल्य वृद्धि नहुँदा किसान मर्कामा पर्नेमात्र नभई आत्मनिर्भर अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने संघका महासचिव रामप्रसाद आचार्यले बताउनुभएको छ । मूल्य वृद्धि नभए चरणबद्ध आन्दोलनमा उत्रिने संघले चेतावनी समेत दिएको छ । संघका अनुसार हाल संघमा आबद्ध एक हजार आठ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था गरी कुल पाँच लाख कृषक आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया