कम्युनिस्टलाई मन पर्दैन मधेशी अनुहार

माओवादी केन्द्रमा पुनः एकपटक मधेशको बारेमा चर्चा सुरु भएको छ । मधेश प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवार बनाएर जिताएपछि माओवादीभित्र मधेशी अनुसार नरुचाएको प्रष्ट भएको धनुषाका एक माओवादी नेताले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले मधेशमा माओवादीमा रहेर राजनीति गरिरहेका छौं तर पार्टीले मधेशी अनुहार मन पराएको छैन, जहाँ पनि पहाडी समुदायलाई अघि सारेको देखिन्छ त्यसले गर्दा हामीलाई यहाँ राजनीति गर्न गाह्रो भएको छ ।’

यहाँ भोट दिने मधेशी समुदाय छन् तर जब अवसर र पदको कुरा आउँछ अनि पार्टीले पहाडी समुदायलाई अघि सार्छ । पहाडीलाई अवसर दिएपछि मधेशी जनता माओवादमाथि किन विश्वास गर्छ त भनि प्रश्न उहाँले गर्नुभयो । यसअघि पनि राष्ट्रियसभाको चुनावमा सुमन प्याकुरेललाई सदस्य बनाइएको थियो । एक त अहिले मधेश प्रदेशमा नारायणकाजी श्रेष्ठ हावी हुनुभएको छ । गिरीराजमणी पोखरेलहरुको हुकुमत चल्छ मधेशमा । आन्दोलन गर्नुपर्यो, मत हाल्नु पर्यो मधेशी अनुहार चाहिन्छ जब मन्त्री बनाउन, समानुपातिक सांसद बनाउन, अरु पदमा पठाउन छानीछानी पहाडी समुदायलाई दिने गरेको छ ।

महोत्तरीमा छजनामध्ये चारजना पहाडी केन्द्रीय सदस्य छन् भने दुई जना मात्र मधेशी अनुहारका छन् । गिरीराज मणी पोखरेल, दीप योञ्जन तमाङ, राजु खड्का र प्रकाश पोखरेल पुरै महोत्तरीमा हावी हुनुभएको छ । उहाँहरु मधेशीको बहस चल्न दिनुभएको छैन । त्यस्तै सर्लाहीमा चारजना केन्द्रीय सदस्य छन् त्यसमा तीनजना पहाडी समुदायका छन् । पहाडी समुदायबाट प्रल्हाद बुढाथोकी, अच्युत काफ्ले र माया बल केन्द्रीय सदस्य हुनुुन्छ भने मधेशीबाट एकजना रामेश्वर राय यादव मात्र केन्द्रीय सदस्य हुनुुहुन्छ । रौतहट मधेशीको गढ हो तर त्यहाँ एकजना युवराज भट्ट पुरै माओवादीका मधेशी नेतामाथि हुकुमत गरिरहनु भएको छ । रौतहटबाट युवराज मात्र केन्द्रीय सदस्य बन्नुभएको छ । त्यहाँबाट मधेशीहरु केन्द्रीय सदस्य बन्ने चान्स पाउनु भएको छैन ।

पर्सामा उर्मिला आर्यालको जनाधार छैन । पटक पटक उहाँ चुनाव हार्नु भएको छ तर त्यहाँ उहाँकै बर्चस्व चल्छ । महाधिवेशन पछि मधेश प्रदेशको अध्यक्ष चयन भएको छैन । यसअघि प्रल्हाद बुढाथोकी मधेश प्रदेशका अध्यक्ष हुनुहुन्थ्यो । यसपटक पनि अनिल श्रेष्ठ नै मधेश प्रदेशको अध्यक्षका लागि दावी गरिरहनु भएको छ । अर्थात मधेश प्रदेश भएपनि माओवादीमा पहाडी समुदायको बोलबाला छ । प्रेस सेन्टरमा पनि पहाडी समुदायले नै आफ्नो बर्चस्व कायम गर्नुभएको छ । यसले गर्दा त्यहाँ माओवादीका मधेशी नेताहरुलाई काम गर्न गाह्रो भइरहेको छ । अरु दलमा मधेशी अनुहारलाई प्राथमिकता दिएका हुन्छन् भने माओवादीले पहाडी अनुहारलाई खोजी खोजी ल्याएका हुन्छन् ।

तपाईको प्रतिक्रिया