माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा देखिनु भएको छ । एकातिर चुनावको तनाव अर्कोतिर पार्टीभित्र नेताहरुलाई व्यवस्थापन कसरी गर्ने त्यसको तनावमा प्रचण्ड बाँचिरहनु भएको छ । महाधिवेशनबाट बल्लतल्ल आफू अध्यक्ष भएर केन्द्रीय समिति बनाउनुभयो तर त्यस समितिमा कार्यविभाजन गर्न सकिरहनु भएको छैन । केन्द्रीय समितिको बैठकबाट कार्य विभाजन तथा पद बाँडफाँड गर्ने निर्णय भएको थियो । सोही अनुसार पुस २५ गतेका लागि केन्द्रीय समितिको बैठक तय भएको थियो । तर कोरोनाको महामारी सुरु भएपछि त्यसको बहानामा केन्द्रीय समितिको बैठक स्थगित गर्यो र माघ २७ गतेका लागि अर्को मिति तय भयो ।
माघ २७ गते पनि केन्द्रीय समितिको बैठक बस्छ भने निश्चित छैन । किनभने अध्यक्ष प्रचण्ड पार्टीभित्र चौतर्फी चेपुवामा पर्नुभएको छ । पदाधिकारीका लागि पार्टीभित्रकै नेताहरुले अध्यक्ष प्रचण्डलाई अनावश्यक दवाव दिइरहनु भएको छ । त्यसले गर्दा प्रचण्ड निकै तनावमा हुनुहुन्छ । नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, हरिबोल गजुरेल, शाक्तिबहादुर वस्नेत, चक्रपाणि खनाल, लिलामणी पोखरेल, देवेन्द्र पौडेललगायतले दिनदिनै अध्यक्ष प्रचण्डलाई घेराबन्दी गरिरहनु भएको छ । यसमा सबभन्दा बढी डिमाण्ड महासचिव पदको रहेको छ ।
महासचिव पदका लागि जनार्दन शर्मा, कृष्णबहादुर महारा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, हरिबोल गजुरेल, देवेन्द्र पौडेलले दावी गर्दै आउनु भएको छ । अहिले महासचिव हुने अर्को महाधिवेशनपछि पार्टीको अध्यक्ष हुनेछन् । अध्यक्ष भएर पार्टी चलाउने व्यक्तिको पनि खोजी भइरहेको छ । त्यसमा सबभन्दा बढ्ता दवाव जनार्दन शर्माले अध्यक्ष प्रचण्डमाथि दवाव बढाई रहनु भएको छ । त्यसपछि देव गुरुङ र पम्फा भुसाल हुनुहुन्छ । कृष्णबहादुर महरा नबोलिकन अध्यक्ष प्रचण्डमाथि दवाव बढाई रहनु भएको छ तर अध्यक्ष प्रचण्डले महरालाई मिलाउन सक्नु हुन्छ तर देव गुरुङ, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाललाई मिलाउन गाह्रो छ ।
माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘वर्षमान पुन उपचारका लागि चीनमा हुँदासम्म अध्यक्ष प्रचण्डलाई हाइसन्चो थियो । पुनबाट त्यसरी दवाव आइरहेको थिएन । वर्षमान पुन पनि महासचिवका लागि दावी गर्न सक्छन् भनि बुझाई प्रचण्डको थियो तर प्रत्यक्ष दवाव थिएन तर उहाँ फर्केपछि प्रचण्डमाथि एउटा दवाव बढेको छ ।’ हुन त महाधिवेशन चलिरहेकै बेला चीनमा उपचार गराई रहनु भएका वर्षमान पुनले त्यहाँका चिनियाँ नेताहरुसँग गरेको भेटघाटको तस्विर सार्वजनिक गरेर महाधिवेशनमा आफ्नो उपस्थिति रहेको भनि दवाव बनाई सक्नु भएको थियो । उहाँ उपचारपछि चीनबाट विशेष विमानबाट नेपाल फर्केपछि प्रचण्डमाथि एउटा दवाव थप भएको महसुस भइरहेको छ ।
नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिएर कृष्णबहादुर महारालाई पनि अर्को उपाध्यक्ष पद दिएर कार्यविभाजनमा राम्रो ठाउँ दिएर मिलाउने प्रयासमा प्रचण्ड हुनुहुन्छ । त्यस्तै महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्पा भुसाल र देव गुरुङमध्ये कसलाई दिने तनावमा प्रचण्ड हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया