मधेशवादी दलको पुरानै रोग हो । गठन भएर आफूलाई राम्रोसँग सम्हालिन नपाउँदै त्यसमा विवाद सुरु हुन्छ । हुन त अरु दलमा आन्तरिक द्वन्द नभएको होइन, तर अरु दलको तुलनामा मधेश केन्द्रीत तलमा अलिकति बढी नै देखिन्छ । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भर्खर भर्खर जन्मेका पार्टी हुन् तर राम्रोसँग पाइला नटेक्दै ती पार्टीहरुमा विवाद सुरु भएको छ । दुवै पार्टीमध्ये कुन पहिला फुट्छ, त्यसको पर्खाइ मात्र छ तर क्षति दुवैमा हुने निश्चित छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केही असन्तुष्ट नेताहरु पुराना तमलोपा गठन गरेर त्यसलाई ब्युत्याउने तयारीमा लागिसक्नु भएको छ । लासपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल फागुनको दोस्रो हप्ता तमलोपा घोषणा गर्ने तयारीमा लाग्नु भएको छ । लोसपाबाट असन्तुष्ट भएका केही नेताहरुले यसअघि नै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) निर्वाचन आयोगमा दर्ता गराई सक्नु भएको छ । रवीशंकर कुमार कर्णको अध्यक्षतामा गठन भएको तमलोपालाई नै सांगठनिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ । लोसपाबाट असन्तुष्ट भएर तमलोपा पुनर्गठनको तयारीमा रहनु भएका वृषेशचन्द्र लालले भन्नुभयो, ‘मौसमको खराबी र तराई मधेशमा भइरहेको सादी विवाहका कारण तमलोपा घोषणामा ढिलाई भइरहेको छ, मौसममा केही सुधार देखिएका छ सम्भवतः फागुनको दोस्रो हप्ता नयाँ पार्टी घोषणा हुन्छ ।’ तमलोपा पुनर्गठनका लागि वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंह सक्रिय भएर लाग्नु भएको छ । अन्य नेताको नाम खुलाउनु भएको छैन । अरु नेताहरुले गोप्य रुपमा नेता लाल र सिंहलाई सघाई रहनु भएको छ ।
यो लोसपाको विभाजन होइन, विभाजन गर्नका लागि विधान अनुसार सँख्या पुर्याउनुपर्छ त्यसको अन्य कानुन प्रकृया पनि पुरा गर्नुपर्छ हामी त्यो लफडामा जान चाहनौं, लोसपाको गतिविधिबाट असन्तुष्ट भएका आफूहरु लोसपाबाट अलग भएर नयाँ पार्टीको घोषणा गर्न लागेको उहाँले बताउनुभयो । केही सांसदहरु पनि त्यहाँबाट आउने तयारी अवस्थामा छन् तर अहिले आउँदा उनीहरुको पद जाने भएका कारणले चुनावसम्म त्यही बस्ने, त्यसपछि यता तमलोपामा आउने सक्ने एक नेताले बताउनुभयो ।
लोसपा एकल अध्यक्ष प्रणालीको पार्टी भएपनि अध्यक्षमण्डलीय प्रणालीमा चलिरहेको आरोप नेता लालको छ । नेता लालले भन्नुभयो, पार्टीमा एकजना अध्यक्ष भएपनि अध्यक्षमण्डलीय प्रणालीमा चलिरहेको छ, कुनै पनि निर्णय सामूहिक भइरहेको छैन, दुई चारजना नेतालाई जे मन लाग्छ त्यही गरिरहनु भएको छ, त्यसमा हाम्रो असन्तुष्टि छ ।’ पार्टी लोकतान्त्रिक विधि र प्रकृयाबाट चल्नु पर्ने हो तर केही नेताको मनपरी त्यहाँ चलेको आरोप लगाउँदै उहाँले जसपा प्रचण्डको लाइनमा चलिरहेको छ भने लोसपा केपी शर्मा अोलीको लाइनमा चलिरहेको छ, अर्थात मधेशमा वामपन्थी शक्ति निर्माणमा ती दलका नेताहरु लाग्नु भएको दावी गर्नुभयो । मधेशमा एउटा लोकतान्त्रिक शक्तिको आवश्यकता छ, त्यसका लागि आफूलगायत नेताहरु गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
जबसम्म क्षेत्रीय पार्टी मजबुत हुँदैन तबसम्म संघीयता मजबुत हुँदैन, क्षेत्रीय अवधारणाका साथ आफूहरु अगाडि बढी रहेको बताउँदै उहाँले मधेशमा रहेका दलहरु शीर्ष नेताहरुको शक्तिको स्रोत केन्द्र बन्दै गइरहेको छ, पार्टी संस्थागत हुनसकेको छैन, त्यहाँ सुप्रिमोहरुको तानाशाही भएको कारण अर्को विकल्पमा जान लागेको बताउनुभयो । उहाँले आफू लोसपामा बस्न नसक्ने कुरा अध्यक्ष महन्थ ठाकुरलाई पनि जानकारी गराई सकेको बताउनुभयो । पार्टीमा भइरहेको गलत गतिविधिको बारेमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलाई पटक पटक जानकारी गराएको छु, उहाँले भन्नुभयो, ‘म लोसपामा बस्दिन त्यो कुरा महन्थ ठाकुरलगायतका नेतालाई पनि थाह छ । पार्टीका सम्पर्कमा म छैन त्यो कुरा पनि उहाँहरुलाई थाह छ यद्यपी अझै पनि उहाँहरु सुध्रेर आउनु भयो भने म लोसपामै बसेर काम गर्न तयार छु ।’
लोसपाका अध्यक्ष महन्थ ठाकुर माघ २८ गते जनकपुर जानु भएको छ । एक नेताका अनुसार अध्यक्ष ठाकुरले एकपटक वृषेशचन्द्रलालसँग कुरा गर्ने मनस्थिति बनाउनु भएको छ । सायद अध्यक्ष ठाकुरले नेता लाल र सिंहसँग गम्भीर रुपमा कुरा गर्नुभयो भने कुरा मिल्न सक्छ तर कुरा मिलेन भने नयाँ पार्टी बन्ने निशिचत छ । तर लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका लोसपा अध्यक्ष जितेन्द्र सोनलले आफूलाई जहाँसम्म थाह छ, माघ २९ गते २ वजेसम्म वृषेशचन्द्र लाल र अध्यक्ष ठाकुरबीच कुनै भेटघाट तथा कुराकानी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, लोकतन्त्र हो, यहाँ कसैलाई कसैले रोक्न सक्दैन तर लोसपा फुट्ने गरी कुनै विवाद छैन ।’ उहाँले भन्नुभयो, ‘बहुदलीय व्यवस्थामा पार्टीको गठन, विभाजन, एकीकरण, पार्टी प्रवेश, पार्टी परित्याग, पार्टी मजबुत हुने, कमजोर हुने आदि विषय निरन्तर चलिरहन्छ यो समान्य कुरा हो ।’
लोसपा नेपाल मधेश प्रदेश, सम्पुर्ण तराई मधेश लगायत मुलुककै पहिचान एवं लोकतान्त्रिकधारको मुल राजनीति दल निर्माण को आभियानमा लागेको बताउँदै उहाँले केही दिनदेखि लोसपा नेपाल विभाजनको कुरा विभिन्न सञ्चार माध्यममा आइरहेको जसमा कुनै सत्यता नरहेको दावी गर्नुभयो । लोसपा फुट्ने जस्ता कुरा नितान्त निराधार रहेको दावी गर्दै उहाँले लोसपालाई थप उर्जा दिन मधेश प्रदेश लगायत विभिन्न जिल्ला तथा स्थानीय स्तरमा अन्य पार्टीका नेता कार्यकर्ता, प्रभावशाली नेतृत्व एवं व्यक्तित्वहरु आफूहरुको पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया