आज लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ फागुन ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक बस्न लागेको हो । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो एक वजे दलको बैठक बस्न लागेको सो पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो ।

एमसीसीलगायत अन्य समसामयिक विषयमा छलफलका लागि संसदीय दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठकपछि पार्टीको शीर्ष नेताहरुको पनि बैठक बस्ने उहाँले जानकारी दिनुभयो । लोसपा एमसीसीको पक्षमा नै छ तर हालसम्म पार्टीको आधिकारीक धारणा नआएको कारण बैठक बस्न लागेको हो । लोसपा संसदीय दलको नेता पनि चयन भएको छैन, सम्भवतः त्यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

हिजो पनि शीर्ष नेताहरुको बैठक बसेको थियो । पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल, डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेपछि आकस्मिक रुपमा बैठक बसेको थियो । बैठकले नेताहरुको बारेमा आन्तरिक छलफल गरेपनि कुनै कुरा बाहिर ल्याएको छैन । पार्टीप्रति नेताहरु किन असन्तुष्ट भए, पार्टी नै किन छाड्न लागे लगायतका विषयमा समिक्षा हुनुपर्ने कुरा बैठकमा उठेको स्रोतले जनाएको छ ।

यद्यपी कार्यकारिणी सदस्य शुक्लाले लोसपाका नेताहरु दल त्याग गरेको बारेमा पार्टीलाई कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो । आधिकारिक जानकारी आउपछि मात्र त्यसको बारेमा केही छलफल हुने उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया