जसपा र लोसपाले मधेशलाई वामपन्थी बनाउन थालेका छन्

महन्थ ठाकुरलाई अहिले पनि म सम्मान गर्छु र पछि पनि गरिरहन्छु । उहाँ विद्वान मान्छे हुनुहुन्छ । उहाँ सारा कुरा बुझ्ने मान्छे हुनुहुन्छ । तर मलाई नै थाह छैन, उहाँ अहिले किन केही व्यक्तिहरुकै कुरालाई साथ दिएर अगाडि बढ्नुहुन्छ ।

–वृषेशचन्द्र लाल
–नेता, तराई मधेश लोकतान्त्रिक पार्टी

वृषेशचन्द्र लाल (धनुषा) लोकतान्त्रिक आन्दोलनमा सुनिएका नाम हो । उहाँ साहित्यकार तथा लेखक पनि हुनुहुन्छ । हालै उहाँका दुई पुस्तक पनि प्रकाशनमा आएका छन् । विभिन्न सञ्चारमाध्यममा उहाँका लेखहरु प्रकाशन भइरहेका हुन्छन् । नेपाली राजनीतिमा उहाँलाई एउटा वौद्धिक नेताको रुपमा परिचय दिन्छ । तर त्यसभन्दा महत्वपूर्ण कुरा मधेश राजनीतिमा आएपछि उहाँ महन्थ ठाकुरको सबभन्दा निकट भएर काम गर्नुभयो । नेता लाल उहाँको राजनीतिक सल्लाहकार जस्तै हुनुहुन्थ्यो । राजनीतिको हरेक कुरामा महन्थ ठाकुरले वृषेशचन्द्र लालसँग परामर्श लिएर अगाडि बढ्नुहुन्थ्यो । त्यसले गर्दा जहिले पनि उहाँलाई महन्थ ठाकुर निकट नेताको रुपमा राजनीतिमा विश्लेषण हुने गथ्र्यो तर उहाँले महन्थ ठाकुर नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जानुभयो । र महन्थ ठाकुरकै पूर्व पार्टी तमलोपालाई पुनः दर्ता गराएर त्यसमा सक्रिय हुनुभयो । राजनीतिमा यसलाई एउटा परिघटनाको रुपमा लिएको छ । प्रस्तुत छ, यिनै विषयमा नव गठित तमलोपाका नेता वृषेशचन्द्र लालसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

तपाईले अचानक लोसपा छाड्नु भयो किन ?
–यो अचानक होइन । हामीले सुरुदेखि नै अर्थात राजपा निर्माण भएदेखि नै पार्टी लोकतान्त्रिक विधि अनुसार चल्नुपर्छ, विधान अनुसार चल्नुपर्छ भन्दै आइरहेका थियौं । त्यसका निम्ति तीन वर्षदेखि पहल गर्दै कुरा राख्दा शीर्ष नेताहरुले त्यतातिर ध्यान दिनुभएन । अर्थात हाम्रो प्रयास असफल भयो । पार्टीमा आन्तरिक लोकतन्त्र भएन र एक आपसमा विचार विश्लेषण भएन भने त्यो पार्टी एउटा स्वार्थ समूहको संगठन हुन जान्छ । यही कारण हो मधेशका राजनीतिक दलहरु अझै संगठित हुन सकेका छैनन् । अहिले यस्तो अवस्था सृजना भयो कि ती मधेशवादी दलहरु ‘मधेश’ शब्दबाट पनि तर्सिन थालेका छन् । मधेशका एजेण्डालाई बोक्ने समाथ्र्य ती दलहरुले देखाई रहेका छैनन् । यहाँ हरेक एकीकरण तथा विभाजन मधेशका लागि होइन, संगठनका निर्माणका लागि होइन, सत्ता र पदका लागि मात्र हुने गरेका छन् । त्यसै हुनाले त्यहाँ बसि राख्नु उचित लागेन र हामी त्यहाँबाट निस्केर नयाँ राजनीति शक्ति निर्माणको दिशामा अगाडि बढेका छौं ।

लोसपा छाड्नु अघि तपाईहरुको जुन असन्तुष्टि थियो त्यसको बारेमा सो दलका शीर्ष नेतृत्वसँग कुराकानी गर्नुभयो कि भएन ?
–यस्ता कुराहरु पार्टीमा छलफल नै हुँदैन । ती नेताहरुले यस्ता कुराहरु सुन्नै चाहनु भएको छैन । लोसपामा चारजना (महन्थ, राजेन्द्र, शरत र अनिल) ले के निर्णय गर्नुहुन्छ त्यसमा भरपर्छ । त्यसअघि राजपामा ६ जना (अध्यक्षमण्डल) ले के निर्णय गर्नुहुन्छ त्यसमा भर पथ्र्यो । हामीले यसलाई तोड्ने प्रयास पनि गर्यौं । चारजनाले मात्र निर्णय गरेर पार्टी चल्दैन । पार्टीमा सामूहिक निर्णय हुनुपर्छ । चारजनाले मात्र छलफल गरेको कुरालाई पार्टीमा बैठक बसाएर छलफल गरी अनुमोदन गराउनुपर्छ । चारजनाकै निर्णय अन्तिम निर्णय हुनुहुँदैन भन्ने जस्ता कुरा हामीले पटक पटक उठाएका थियौं ।

पार्टीमा आन्तरिक लोकतन्त्र, पार्टीभित्र सामूहिक निर्णय, पार्टीका विभिन्न समितिहरुको बैठक, पार्टीमा सबैको कुरा सुन्ने र सुनाउने वतावरण भयो भने मात्र हामी यो पार्टीमा बस्छौं भनि उहाँहरुसँग पटक पटक भनेका थियौं । उहाँहरुले हुन्छ पनि भन्नु भएको थियो तर त्यो भन्नका लागि मात्र थियो । पार्टीका शीर्ष नेताहरु जनकपुर आउँदा पनि हामीले पटक पटक उहाँहरुसँग भेटेर कुरा राख्यौं । पार्टीका नेताहरु जनकपुरबाट काठमाडौ गएर पनि पटक पटक कुरा राख्नुभयो । तर त्यसमा केही सुधार नभएपछि हामी त्यहाँबाट निस्कन बाध्य भयौं ।

राजपामा ६ जना (अध्यक्षमण्डल) ले के निर्णय गर्नुहुन्छ त्यसमा भर पथ्र्यो । हामीले यसलाई तोड्ने प्रयास पनि गर्यौं । चारजनाले मात्र निर्णय गरेर पार्टी चल्दैन । पार्टीमा सामूहिक निर्णय हुनुपर्छ ।

तपाईहरुले पार्टी छाडेको कुरा लोसपालाई आधिकारिक रुपमा जानकारी आएको छैन रे भन्नुहुन्छ पार्टीका शीर्ष नेताहरु । के तपाईहरुले पार्टीलाई जानकारी गराउनु भएको छैन ?
–राजनीतिक कुराहरु पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने चलन छ । हामीले सार्वजनिक रुपमै पार्टी छाडेको घोषणा गर्यौ । प्रेस विज्ञप्ति पनि जारी गर्यौं । त्यसपछि पनि उहाँहरुलाई जानकारी भएको छैन भने व्यक्ति व्यक्तिलाई जानकारी गराउनु, कसैसँग अनुमति लिने आवश्यकता छैन । पार्टी छाड्नुअघि पार्टीका शीर्ष नेताहरुसँग पटक पटक कुरा भएकै हो । पार्टी कार्यालयमा डेलिगेशन गएकै हो । पार्टीमा देखिएको समस्या पटक पटक उठाएकै हो । अब उहाँहरुलाई कसरी जानकारी गराउने त्यो हामीलाई थाह भएन ।

तपाई महन्थ ठाकुरको सबभन्दा विश्वास पात्र हुनुहुन्थ्यो । तपाई उहाँको राजनीतिक सल्लाहकार जस्तै हुनुहुन्थ्यो, उहाँको हरेक दुखसुखमा साथ दिनुभयो, जुनसुकै परस्थितिमा उहाँको साथ तपाईले छाड्नु भएन तर अचानक त्यस्तो के भयो जो तपाईले महन्थ ठाकुरको साथ छाड्नुभयो ?
–महन्थ ठाकुरलाई अहिले पनि म सम्मान गर्छु र पछि पनि गरिरहन्छु । उहाँ विद्वान मान्छे हुनुहुन्छ । उहाँ सारा कुरा बुझ्ने मान्छे हुनुहुन्छ । तर मलाई नै थाह छैन, उहाँ अहिले किन केही व्यक्तिहरुकै कुरालाई साथ दिएर अगाडि बढ्नुहुन्छ । उहाँले नेतृत्व गर्नु भएको पार्टी राजपादेखि नै पार्टी बन्न सकेन । उहाँलाई काम गर्न दिएन कि वा कतैबाट उहाँलाई कुनै दवाव आयो कि त्यो पनि मलाई थाह छैन । म उहाँको साथमा गएदेखि कहिले कुनै गलत सल्लाह दिएको छैन । जहिले पनि पार्टीको हित र उहाँको हितमै सल्लाह दिँदै आएका थिए । पछिल्लो समय उहाँले मेरो कुरा सुन्नु हुन्थ्यो, बुझ्नु हुन्थ्यो तर कता कता उहाँ त्यसलाई कार्यान्वयन गर्न कठिनाई भइरहेको थियो । उहाँलाई के समस्या थियो त्यो मलाई थाह भएन । मेरो कुरा महन्थ ठाकुरप्रति वा कुनै व्यक्तिप्रति केन्द्रीत होइन । पार्टीप्रति नै हो, त्यहाँका सबै शीर्ष नेताहरु प्रति नै हो । यदि पार्टी बनाउने हो भने सबै नेताहरु एकसाथ लाग्नुपर्छ भनि मेरो धारणा हो । एकजना व्यक्तिले मात्र पार्टी चल्दैन र बन्दैन पनि ।

तपाईप्रति एउटा अर्को पनि टिप्पणी हुने गरेको छ । पछिल्लो समय तपाई राष्ट्रियसभाको सदस्य नबनाउँदा पार्टीमा असन्तुष्ट बन्नु भएको थियो । र त्यही असन्तुष्टिका कारण तपाईले पार्टी पनि छाड्नुभयो, के यो सही हो ?
–म राष्ट्रियसभा हुँदा त्यहाँ धेरै मेहनतका साथ काम गरेका थिए । राष्ट्रियसभामा मौका पाउने वित्तिकै म मधेशका कुरा उठाउथे । मधेशका हरेक एजेण्डा तथा विषयवस्तु मैले राष्ट्रियसभामा उठाउने गर्थे । हरेक विधेयक तथा कानुन निर्माणमा मेरा चासो हुन्थ्यो । त्यो अहिले पनि हेर्न सकिन्छ । त्यसैले मैले राष्ट्रियसभामा पुनः निरन्तरता पाउनुपर्छ भनि भनेकै हो यसमा लुकाउनु पर्ने कुरा छदैछैन । भिक्षादान दिएको जस्तो कसैले मलाई राष्ट्रियसभामा पठाएको होइन, कसैले ममाथि ठूलो ऋण लगाएर त्यहाँ पठाएको पनि होइन । त्यहाँ म आफ्नो क्षमताले गएको थिए । म पनि पार्टीको नेता थिए ।

पार्टीमा मेरो पनि योगदान थियो । पार्टीमा मधेशको निमित्त काम गर्दै आएको कारण राष्ट्रियसभामा निरन्तरता पाउनु पर्ने इच्छा राख्नु गलत कुरा होइन । त्यहाँ ममाथि अन्याय नै भएको हो । त्यो टिकट विक्रि भएको हो । त्यसको अडियो नै बाहिर आएको हो । त्यो रेकर्ड अहिले पनि सुरक्षित छ । त्यो त एकप्रकारले राजनीतिक अपराध हो नि । कतिपय जनाले त्यतिबेला भन्नुहुन्थ्यो, ‘एकपटक त उहाँलाई मौका दिएकै हो ।’ त्यसो भए एक पटक मौका दिने सिद्धान्त ममाथि मात्र किन लागु हुनुपर्यो त ।

यो सिद्धान्त सबैमा लागु हुनुपर्ने होइन ? नेताहरु पटक पटक टिकट लिएर किन चुनाव लड्नु हुन्छ, किन पटक पटक अध्यक्ष बन्नुहुन्छ, किन पटक पटक एउटै पदमा जानु हुन्छ । पार्टी कसैको निजी सम्पत्ती होइन नि कि ज्याला दिए जस्तै तिमीलाई ज्याला दिइसक्यो अब पाउनु हुन्न । मैले राष्ट्रियसभामा निरन्तरता खोज्नु कुनै अपराध होइन । मैले पार्टीमा यो कुरा भनेकै थिए र म अहिले फेरि भन्छु यो मेरो हकमा मात्र होइन सबैको हकमा लागु हुनुपर्छ । जसको जस्तो क्षमता, योगदान, पार्टीप्रतिको प्रतिवद्धता छ त्यो अनुसार जिम्मेवारी दिनुपर्छ ।

मैले राष्ट्रियसभामा पुनः निरन्तरता पाउनुपर्छ भनि भनेकै हो यसमा लुकाउनु पर्ने कुरा छदैछैन । भिक्षादान दिएको जस्तो कसैले मलाई राष्ट्रियसभामा पठाएको होइन, कसैले ममाथि ठूलो ऋण लगाएर त्यहाँ पठाएको पनि होइन ।

त्यसो भए तपाईलाई राष्ट्रियसभाको सदस्य दिएको भए अहिले लोसपा छोड्नु हुन्थेन ?
–होइन, राष्ट्रियसभाको सदस्य भएर पनि यही चाला भएको भए लोसपा छाड्न सकिन्थ्यो । पद ठूलो कुरा होइन । मन्त्री भएका व्यक्ति, सांसद भएका व्यक्तिहरु पनि पार्टी छाडेका छन् । देशमा धेरै यस्ता नेताहरु छन् जसले जनताका लागि आफ्नो जीवन समर्पित गरेका छन् । आजिवन कुनै पदमा गएका छैनन् तैपनि राजनीतिमा लागि रहेका छन् । यस्ता धेरै उदाहारणहरु छन् । त्यसैले राष्ट्रियसभाको सदस्य पद पाउँदा पार्टीमा बस्ने, नपाउँदा नबस्ने कुरा हुँदैन र त्यो होइन पनि । मैले पदभन्दा पनि पार्टीको आन्तरिक लोकतन्त्र सुधार हुनुपर्ने कुरा उठाएको हुँ । त्यो नसुध्रिएको बेला म त्यो पदमा भएको भए पनि छाडेर हिड्थे । यदि राष्ट्रियसभा सदस्य नदिएको कारण पार्टी छाड्ने कुरा भएको भए मैले चार वर्ष अगाडि नै पार्टी छाडेर हिड्थे । मैले त्यो पद नपाउँदा पनि पार्टीमै थिए । पार्टी सुध्रिन्छ कि भनि आश गरेर बसेको थिए । सुधार्नका लागि प्रयासहरु पनि गरिरहेका थिए तर नसुध्रिएपछि म त्यहाँबाट निस्कन बाध्य भए ।

तपाईले महन्थ ठाकुरसँगै गठन गर्नुभएको तमलोपा जो राजपा, जसपा, लोसपासम्म पुग्दै विघटन भइसकेको थियो तर पुनः त्यही पार्टीलाई किन जिवित गर्नुभयो ?
–खासमा पार्टीको नामसँग तराई मधेश हुनुपर्छ भनि चाहनाले यो पार्टी रोजेको हुँ । अर्को कुरा यो तमलोपा नेपालको ऐतिहासिक पार्टी हो । मधेशको मुक्तिका लागि लडेको पार्टी हो । मधेशी समाजमा स्थापित भइसकेको पार्टी हो । मधेशी जनताले मन पराएको पार्टी भएको हुनाले हामी त्यसैलाई रोज्यौं ।

मधेशमा थुप्रै पार्टी जन्मे, कुनै बने, कुनै भत्के । कुनैको अस्तित्व पनि बाँकी छैन । तपाईले पार्टी बन्ने, बनाउने धेरै देख्नुभयो, अनुभव पनि गर्नुभयो । पार्टी सञ्चालनका लागि आर्थिक स्रोतदेखि त्यसका विभिन्न आधारभूत आवश्यकता तथा आयामहरु हुन्छन् जसको जोहो गर्न निकै गाह्रो काम हो । यी सबै तपाईले अनुभव गरेको कुरा हो तैपनि तपाईले पार्टी सञ्चालन गर्ने चुनौती किन लिनुभयो ?
–यो ठूलो चुनौतीको काम हो । तर मधेशमा पार्टीका अभाव छ । अहिले मधेशमा कुनै पार्टी नै छैन । पार्टीको नामसँग मधेश शब्द राख्दा छुवाछुत जस्तो व्यवहार गरिरहेको छ । जुन दलका नेताले मधेश शब्दसँग घृणा गर्छन् भने उसले मधेशको मुक्तिका लागि कसरी लड्छन् भनि हाम्रो प्रश्न हो । अहिले स्वार्थको राजनीतिले मधेशलाई यति कमजोर गर्दियो कि मधेश शब्दबाट पनि नेताहरुलाई टाउको दुख्न थालेको छ । आफ्नो संरक्षकलाई विश्वास दिलाउनका निम्ती आआफ्नो पार्टीबाट धमाधम मधेश शब्द हटाइ रहेका छन् । त्यस हुनाले यो हाम्रो निमित्त मात्रै होइन, पुरै मधेशका निम्ती ठूलो चुनौतीको विषय बनेको छ तैपनि हामीले त्यो चुनौतीलाई स्विकार गर्न तयार भएका छौं । मधेश जनताका लागि काम गर्ने क्रममा आउने हरेक चुनौतीलाई हामी सामना गर्न तयार छौं ।

तीनटै तहको चुनाव आउन लागेका छन् । मधेशका मागहरु पुरा भएको छैन, मधेशप्रति धेरैको नजर छ, अरु प्रदेशभन्दा मधेश प्रदेशको पोल्टिक्स फरक छ, यस अवस्थामा तमलोपा कसरी अगाडि बढ्छ ?
–हाम्रो तमलोपा पुरै मधेश केन्द्रीत दल हुन्छ । यसले मधेश र मधेशी जनताका लागि काम गर्छ । मधेशमै हाम्रो केन्द्रीय कार्यालय हुन्छ । मधेशसँग हामी प्रत्यक्ष सम्पर्कमा हुन्छौं । यो पार्टी क्षेत्रीय अवधारणालाई अगाडि बढाउँछ । किनभने संघीयतामा क्षेत्रियता भएन भने संघीयता अगाडि बढ्न सक्दैन । स्वशासन कसरी अगाडि बढ्छ । तर अहिलेको कानुन र संविधानले क्षेत्रियतालाई रोक्ने प्रयास गरेको छ । मधेशका हरेक इसुमा आफ्नो धारणा ल्याउँछौं । हामी निर्वाचनलाई पनि ध्यानमा राखेका छौं तर मुलरुपमा मधेशको मुद्दालाई परिभाषित गर्ने, मधेशको मुद्दालाई व्यवस्थित गर्ने, त्यसको बारेमा जनधारणा जुटाउने, चेतना फैलाउने काम यसले गर्छ । केही दिन प्रतिक्षा गर्नुस् । हामी तयार हुँदैछौं ।

तमलोपा चुनावमा भाग लिन्छ कि लिँदैन ?
–त्यो अवस्था हेरेर हामी निर्णय लिन्छौ । चुनावमा भाग लिनका लागि पार्टीका धेरै साथीहरु इच्छुक हुनुहुन्छ । जनताले विश्वास गर्यो भने उहाँहरु चुनावको मैदानमा उत्रिन सक्नुहुन्छ । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि हाम्रो पार्टी पनि दर्ता भएको छ । तर चुनावको समयमा हामीले यसको बारेमा विशेष निर्णय लिन्छौं अहिले साथीहरुसँग छलफल भइरहेको छ । फागुन १५ गते राष्ट्रिय भेला छ । त्यो भेलामा यी सबै विषयमा छलफल हुन्छ ।

 सम्पूर्ण मधेशलाई वामपन्थी बनाउन खोजेका छन् । हामी लोकतान्त्रिक पार्टीको रुपमा खडा भएका छौं । त्यसमै हामी दृढ रहन्छौं । लोकतान्त्रिक शक्तिसँग हाम्रो निकटता हुनेछ ।

चुनाव तथा विभिन्न संघर्ष अथवा विभिन्न एजेण्डामा दलहरुको बीचमा मोर्चा बन्ने चलन नेपालमा आमचलन भइसकेको छ, अगामी दिनमा तपाईहरुको कुन दलसँग निकटता वा मोर्चाबन्दी हुने सम्भावना छ ?
–अहिले हाम्रो पार्टी बनिसकेको छैन । बन्ने क्रममा छ । अहिले नै यी सब कुरा भन्न सकिने अवस्था छैन । तर यो कुरा बुझ्नुस् कि तमलोपा डेमोक्रेटिक पार्टी हो । र, यो पार्टी जन्मिनुको पछाडी एउटा अर्को महत्वपूर्ण कारण के हो भने अहिलेको जुन जसपा र लोसपा छन् ती दलहरु वामपन्थीको पछाडी गएका छन् । जवर्जस्ती सम्पूर्ण मधेशलाई वामपन्थी बनाउन खोजेका छन् । हामी लोकतान्त्रिक पार्टीको रुपमा खडा भएका छौं । त्यसमै हामी दृढ रहन्छौं । लोकतान्त्रिक शक्तिसँग हाम्रो निकटता हुनेछ । लोकतान्त्रिक शक्तिहरुको एउटा मोर्चा बनोस् भनि हाम्रो प्रयास हुनेछ । तर अहिलेको निर्वाचनमा कुन दलसँग सहकार्य गर्ने नगर्ने कुरा हाम्रो पार्टीमा छलफल भइसकेको छैन । अहिले हामी प्रारम्भिक चरणमा छौं । पार्टी निर्माणकै चरणमा छ त्यसैले हतारमा हामी कुनै निर्णय गर्दैनौं ।

यो तमलोपाको नेतृत्व तपाईले गर्नुहुन्छ कि डा.विजयकुमार सिंहले गर्नुहुन्छ ?
–नेतृत्व गर्ने कुरामा दुईजनाको मात्र कुरा होइन, अरु साथीहरु पनि हुनुहुन्छ । हामी बीचमा नेतृत्वलाई लिएर कुनै समस्या छैन । फागुन १५ गते हुने केन्द्रीय भेलाले यी सबै कुराको तय गर्छ ।

तपाईको प्रतिक्रिया