Khadya Bibhag

अशोकको काँधबाट बन्दुक चलाउन खोज्दा ‘ब्याक फायर’

जनता समाजवादी पार्टी नेपालमा नेतृत्वलाई लिएर चर्को विवाद देखिएको छ । लामो रस्साकस्सी पछि फागुन १३ गते जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । पहिलो दिनको बैठकमा १२ वटा एजेण्डा तय भए । त्यसको भोलीपल्ट बसेको बैठमा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने तथा एमसीसीको विषयमा छलफल सुरु भयो । बैठकमा स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारलाई कसको हस्ताक्षरबाट टिकट वितरण गर्ने विषयमा दिनभर छलफल भयो तर कुनै सहमति भएन । यसबाट पुष्टि हुन्छ कि जसपाभित्रको विवाद कति गहिरो छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन कलस्टर (मधेशी, जनजाति र खस) को आधारमा पार्टीमा तीनजना अध्यक्ष हुनुपर्ने प्रस्ताव गर्नु भएको छ । दुईजना कार्यकारी सदस्य भने एकजना संघीय परिषद्को अध्यक्ष । त्यसमध्ये उहाँले आफूलाई कार्यकारी अध्यक्षको रुपमा अघि सार्नुभयो । तर त्यसमा विवाद सुरु भयो । बाबुरामले पार्टीमा कार्यकारी पद खोजेको कुराको पार्टीभित्र र बाहिर आलोचना हुन थाल्यो । त्यसपछि उहाँले पार्टीका वरिष्ठ नेता अशोक राइको नाम लिन थाल्नुभयो । आफूलाई कार्यकारी अध्यक्ष चाहिदैन, अशोक राइलाई बनाए पनि हुन्छ भनि प्रस्ताव पार्टीमा लग्नुभयो । तर स्रोत भन्छ, त्यसमा अशोक राई नै सकारात्मक हुनुहुन्न ।

जसपाका एक नेताले भन्नुभयो, ‘बाबुराम भट्टराईले जानी जानी यो प्रस्ताव अघि सार्नु भएको हो । बाबुरामजीलाई थाह छ कि अशोक राई कार्यकारी अध्यक्ष स्विकार गर्नुहुन्न, उहाँ विवादमा पर्न चाहनु हुन्न । अशोक राई नभएपछि पार्टीका अन्य नेताहरुले आफूलाई समर्थन गर्छन् भनि सोच बाबुरामजीको रहेको छ ।’ अध्यक्ष बाबुराम भट्राईले अशोक राइको काँधमा बन्दुक राखेर उपेन्द्र यादवलाई ढाल्न खोज्नुभयो । तर अध्यक्ष उपेन्द्र यादव पनि के कम, उहाँले त्यो बन्दुक बाबुरामतिर तेर्साई दिनुभयो ।

स्थानीय तहको चुनावमा कसको हस्ताक्षरबाट टिकट वितरण गर्ने पार्टीमा विवाद चलिरहेको थियो । परिषद्का अध्यक्ष भट्टराईले टिकट वितरण दुईजनाको हस्ताक्षरबाट हुनुपर्ने प्रस्ताव गर्नु भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारी अध्यक्षको हस्ताक्षरबाट मात्र टिकट वितरण हुने धारणा राख्नुभएको थियो । यसमा अध्यक्ष भट्टराई सहमत हुनुभएका थिएन ।

उहाँले एकजना अध्यक्षको हस्ताक्षरमा आफूलाई विश्वास नलागेको हुनाले दुईजनाको हस्ताक्षर राख्नुपर्ने अडानमा हुनुहुन्थ्यो । त्यसपछि कार्यकारिणी समितिको बैठकमा उपेन्द्र यादवले टिकट वितरणमा एकजनाको मात्र हस्ताक्षर हुन्छ, यदि अध्यक्षमाथि विश्वास छैन भने वरिष्ठ नेता अशोक राइको हस्ताक्षरलाई कायम गरौं भनि प्रस्ताव गर्नुभएको थियो । प्रस्ताव सुनेपछि अध्यक्ष भट्टराई झन झस्किनुभयो । उहाँले तत्कालै भन्नुभएको थियो, ‘त्यो हुन्न’ ।

एकजना मात्रको हस्ताक्षरमा आफूलाई विश्वास नलागेको कम्तीमा दुईजनाको हस्ताक्षर राखौं भनि अडान अध्यक्ष भट्टराईले पुनः दोहोर्याउनुभएको थियो । त्यही अध्यक्ष भट्टराई जसले अशोक राइलाई कार्यकारी अध्यक्ष नै बनाउने प्रस्ताव गर्नुभएको थियो, तर निर्वाचनमा वितरण गर्ने टिकटमा हस्ताक्षरकर्ता समेत स्विकार गर्नुभएन ।

अशोक राईमाथि पनि विश्वास छैन पनि भन्नुभयो । यसले पुष्टि हुन्छ कि अध्यक्ष भट्टराईको चाहना के छ । एक नेताले भन्नुभयो, बैठकमा त हस्ताक्षर गर्ने जिम्मेवारी सातवटै प्रदेशका अध्यक्षलाई दिउ पनि प्रस्ताव आएको थियो तर त्यसमा पनि अध्यक्ष भट्टराईले सहमति जनाउनु भएन । उहाँले सातवटै प्रदेशका अध्यक्षलाई जिम्मेवारी दिएपछि टिकट वितरण झन गन्जागोल हुने धारणा राखेको बैठकमा सहभागी ती नेताले सहारा टाइम्सलाई बताउनुभयो । यसरी नै दुवै पक्ष आआफ्नो अडानमा रहेपछि कुनै सहमति हुनसकेन ।

फागुन १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहमतिका खाका तयार गर्न पार्टीका तीन शीर्ष नेता अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । फागुन १५ गते तीन शीर्ष नेताको छलफलबाट अशोक राइलाई हस्ताक्षरको जिम्मेवारी दिने सहमति भएको छ । सो सहमतिसँगै निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल समेत दर्ता गराइएको छ ।

 

तपाईको प्रतिक्रिया