‘म मेरा पुराना मित्र प्रचण्डलाई कि त तपाई यसलाई साथ दिनुस् र १३८ पुर्याएर पारित गर्नुस् होइन भने तपाई सत्तामा पनि बस्ने तर पनि मार्ने, अनि बाहिर राष्ट्रवाद र भित्र राष्ट्रघात गर्न पाइदैन । पहिलो विकल्प कि त साथ दिनुस्, होइन भने तपाई जानुस् त्यसको ठाउँमा अर्को आउँछ, हामीले बहुमत पुर्याएर पारित गर्छौ स्पष्ट धारणा यो छ लटरपटरको कुरा छैन ।’ फागुन १४ गते पार्टीको एक कार्यक्रममा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुरा भट्टराईले दिनुभएको अभिव्यक्ति हो यो ।
नयाँ शक्तिमा हुँदा उहाँको यसखालको अभिव्यक्ति कहिले आउँदैन्थ्यो तर जबदेखि उहाँ उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभयो उहाँ नेपालको राजनीतिमा शक्तिशाली भएर आउनु भयो । संसदीय तथा सत्ताको राजनीतिमा आफ्नो स्पेश बनाउनुभयो । माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी खोल्नु भएका बाबुराम भट्टराई सो पार्टीबाट आफू मात्र जित्नुभयो । अर्थात प्रतिनिधिसभामा एकसीट मात्र आएको थियो । एकसीट आएपछि नयाँ शक्तिमा ह्रास आउन थाल्यो । र उहाँ आफै पनि गल्नु भएको थियो । त्यसपछि रणनीतिकतहत उहाँले उपेन्द्र यादवको पार्टीसँग एकीकरण गर्नुभयो । एकीकरण गर्ने वित्तिकै उहाँ देशको चौथो ठूलो दलको नेता बन्नुभयो । उहाँ ठूलो पार्टीको नेताको हैसियतामा संसददेखि सरकारमा पनि आफ्नो उपस्थिति देखाउनभयो ।
माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी खोल्नु भएका बाबुराम भट्टराई सो पार्टीबाट आफू मात्र जित्नुभयो । अर्थात प्रतिनिधिसभामा एकसीट मात्र आएको थियो ।
सुरुमा बाहिर आफ्नो हिस्सा र स्पेश खोज्ने डा.भट्टराई अहिले पार्टीमा पनि आफ्नो स्पेश खोज्न थाल्नु भएको छ । पार्टी एकीकरण हुँदा आफू सेरोमोनियल पदमा रहेर पार्टीमा काम गर्ने सहमति उपेन्द्र यादवसँग गर्नुभएको थियो । त्यसका लागि पार्टीमा संघीय परिषद्को गर्ने काम उहाँकै पहलमा भएको थियो । उहाँ पार्टीमा कहिले पनि कार्यकारीको भूमिका खोज्नुभएको थिएन । माओवादी र एमालेबाट बनेको नेकपा एकीकृत हुँदासम्म उहाँले पार्टीमा आफ्नो कार्यकारी भूमिका खोज्नु भएन जब त्यो पार्टी विभाजन भयो र सत्ता समिकरणको खेलहरु सुरु भयो अनि उहाँले पार्टीमा आफने दाउपेच सुरु गर्नुभयो । तत्कालिन नेकपामा केपी शर्मा ओली र प्रचण्डबीच खटपट सुरु हुँदा ओली नेतृत्वको सरकार हल्लिएको थियो ।
सरकार परिवर्तनको हल्ला सुरु भएको थियो । त्यसमा आफ्नो स्पेश खोज्दै डा.बाबुराम भट्टराई तत्कालिन प्रधानमन्त्री अोलीलाई भेट्न मध्यराती बालुवाटार जानु भएको थियो । बाबुरामले आफूलाई प्रधानमन्त्री बनाउनमा सहयोग गर्न ओलीलाई आग्रह गरेको कुरा ओली निकटकै नेताहरुबाट खुलासा भएको थियो । जब कि त्यतिबेला तत्कालिन जनता समाजवादी पार्टीमा विवाद चलिरहेको थियो । जसपाका तत्कालिन अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने कुरा अध्यक्ष बाबुरामले नै ल्याउनु भएको थियो तर भित्रभित्रै आफू प्रधानमन्त्री बन्नका लागि गृहकार्यमा लाग्नुभएको थियो ।
अहिले जसपामा उपेन्द्र यादवकै सांसद तथा नेताहरुलाई आफ्नो पक्षमा ल्याएर पार्टीमा शक्तिशाली हुनुभयो । पार्टीमा पनि उहाँले आफ्नो भाग मात्र खोज्नु भएको छैन काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारसँग पनि बार्गेनिङ गर्न पनि थाल्नु भएको छ । ‘प्रचण्डलाई एमसीसी पास गर्नुस् नत्र सरकारबाट हट्नुस् हामी त्यहाँ आउँछौं’ भन्ने ताकत पार्टीमा उहाँले बनाई सक्नु भएको छ । जसपाभित्र एमसीसीको विषयमा के गर्ने नगर्ने अन्योल रहेको बेलामा १० जना सांसदको हस्ताक्षर प्रधानमन्त्री देउवालाई बुझाई सक्नु भएको छ ।
त्यति मात्र होइन, उहाँ सरकारको लागि पनि बार्गेनिङ गरिरहनु भएको छ । यही मौकामा प्रधानमन्त्री पनि पड्काई हाल्ने दाउ अध्यक्ष भट्टराईको रहेको बुझिएको छ । यो शक्ति बाबुरामलाई जसपाका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण गरेपछि मात्र प्राप्त भएको हो ।
पार्टीमा अशोक राइ पनि हुनुहुन्छ तर उहाँले त्यसरी पावरका लागि एक्सरसाइज कहिले गर्नुभएन । उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमसँग अशोक राइले २०७२ मा एकीकरण गर्दा पाँचजना सांसद लिएर आउनु भएको थियो । उपेन्द्र यादवको १० सीट र अशोश राइको पाँच गरी त्यतिबेला फोरमसँग १५ सीट भएको थियो । संसदमा पाँचौ ठूलो दल भएको थियो तर अशोक राइले कहिले पनि पावरको एक्सरसाइज गर्नुभएन । तर २०७६ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग बाबुरामले एकीकरण गर्नेबेला संसदमा एक सीट लिएर आउनु भएको थियो । आउने वित्तिकै पार्टीभित्र पावर एक्सरसाइज गर्न थाल्नु भयो । आज यस्तो अवस्था आयो कि पार्टीमा उपेन्द्र यादवलाई नै अल्पमतमा पार्ने हैसियतमा पुग्नु भएको छ ।
फोरमसँग एकीकरण गर्दा वा पछि राजपा नेपालसँग पनि एकीकरण गर्दा बाबुराम भट्टराई केहिले पनि कार्यकारीको भूमिका खोजेका थिएनन् तर अहिले महन्थ ठाकुरहरु फर्केर गएपछि त्यो ठाउँ खोज्नु आफैमा शंकास्पद छ ।
सुरुदेखि उस्तै
यो आज मात्र होइन, बाबुराम भट्टराई राजनीति सुरु गरेदेखि नै पदका लागि मरिहत्ते गर्ने नेतामा पर्नुहुन्छ । जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई पछिल्लो समय पार्टीको कार्यकारी भूमिका खोजेको आरोप उपेन्द्र यादव पक्षको रहेको छ । पार्टीमा तीन कलस्टर अनुसार तीनजना अध्यक्ष रहनुपर्ने अध्यक्ष भट्टराईको माग छ भने त्यसमा उपेन्द्र यादवको सहमति देखिएको छैन ।
फोरमसँग एकीकरण गर्दा वा पछि राजपा नेपालसँग पनि एकीकरण गर्दा बाबुराम भट्टराई केहिले पनि कार्यकारीको भूमिका खोजेका थिएनन् तर अहिले महन्थ ठाकुरहरु फर्केर गएपछि त्यो ठाउँ खोज्नु आफैमा शंकास्पद छ । माओवादी जनयुद्ध थालनी गर्नु अघिदेखि नै डा.भट्टराई पदका महत्वकाँक्षी व्यक्ति हुनुहुन्छ । उहाँकै जीवनीलाई अध्ययन गर्ने हो भने यी कुराहरु पुष्टि हुन्छ । २०५० सालमा तत्कालीन जनमोर्चाले बाबुरामलाई अध्यक्षबाट पदच्युत गरेर पम्फा भुसाललाई ल्याएपछि उहाँले पार्टीमा विद्रोहको धम्की दिनु भएको थियो ।

त्यसपछि पुन उहाँलाई नै जनमोर्चाको अध्यक्ष बनाइएको थियो । २०५२ सम्म त्यसको अध्यक्ष हुनुहुन्थ्यो बाबुराम । जनयुद्ध सुरु भएपछि उहाँ त्यसको नेतृत्वमा जानका लागि निकै प्रयास गर्नुभएको थियो । त्यसका लागि अध्यक्ष प्रचण्डसँग बेलाबेलामा खटपट भइरहन्थे । २०५८ सालमा समानन्तर सत्ता र सरकारको रुपमा संयुक्त क्रान्तकारी जनपरिषद् घोषणा भएपछि डा.भट्टराई त्यसको अध्यक्ष बन्नुभएको थियो । जब कि अध्यक्ष प्रचण्डले अरुलाई नै प्रमुख बनाउन चाहनु भएको थियो तर बाबुरामले प्रमुख नबनाए माओवादी आन्दोलन परित्याग गर्नेसम्मको धम्की दिनुभएको थियो । त्यसपछि बाध्य भएर प्रचण्डले उनलाई प्रमुख बनाउनुभयो ।
त्यसका साथै अन्तराष्ट्रिय विभागका प्रमुख र कमाण्ड इन्चार्जको हैसियतले सो क्षेत्रको जनमुक्ति सेनाको राजनीतिक कमिसारको भूमिकामा पनि हुनुहुन्यो उहाँ । जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारमा हिसिला यमीलाई प्रचण्डले महिला मन्त्री बनाउन खोज्दा बाबुरामले त्यो मन्त्रालय नलिने अडानमा हुनुहुन्थ्यो । भौतिक मन्त्रालयमा उहाँको आँखा थियो । तर प्रचण्डलाई बाध्य पारेर भौतिक मन्त्रालय हात पार्नुभयो ।
बाबुराम भट्टराईले धोवीघाटमा गोप्य बैठक बसाएर प्रचण्डमाथि दवाव बढाउने काम गर्नुभयो । त्यो बेला धोबीघाट प्रकरण निकै चर्चित प्रकरण थियो ।
२०६८ मा माओवादीलाई दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको थियो । त्यसमा अध्यक्ष प्रचण्ड आफै जान चाहने इच्छा व्यक्त गर्नुभएको थियो । तर बाबुराम त्यो कुरामा सहमत हुन तयार हुनुभएन । उहाँ आफू प्रधानमन्त्री बन्नुपर्ने अडान लिएर बस्नुभयो । त्यो अडानले पार्टी विभाजनसम्मको अवस्था आयो ।
बाबुराम भट्टराईले धोवीघाटमा गोप्य बैठक बसाएर प्रचण्डमाथि दवाव बढाउने काम गर्नुभयो । त्यो बेला धोबीघाट प्रकरण निकै चर्चित प्रकरण थियो । उहाँ त्यतिबेला पेन्द्र यादव नेतृत्वको दलबाहेक अन्य मधेशवादी दलसँग साँठगाँठ गर्नुभएको थियो । त्यसमा भारतको पनि ठूलो सहयोग थियो । उहाँले प्रधानमन्त्री बन्नका लागि बहुमत पुर्याउने खेलमा लाग्नुभयो । उपेन्द्र यादवको पार्टीबाहेक सबै मधेशी दलले बाबुरामलाई समर्थन गरेका थिए ।
मधेशवादी दलको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । इतिहासमै पहिलो पटक त्यति मात्रामा मधेशीहरु मन्त्री बनेका थिए । प्रधानमन्त्रीबाट हटेपछि उहाँ माओवादीमा कार्यकारीको भूमिका खोज्न थाल्नु भएको थियो । तर त्यो सम्भव नभएपछि माओवादीबाट अलग भएर उहाँ आफ्नो अध्यक्षतामा नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो । उहाँ प्रचण्ड र एमालेका अध्यक्ष अोलीले बनाएका बाम गठबन्धनमा पनि जान तयार हुनुभयो तर गोरखा जिल्लामा आफ्नो पक्षमा चुनावी तालमेल नमिलेपछि वामगठबन्धन छाडेर काँग्रेससँग चुनावी मोर्चा बनाएर उपेन्द्र यादव नेतृत्वको फोरमको मसाल चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुभएको थियो ।
चुनावमा सोचे जस्तो नतिजा नआएपछि उनी उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमसँग एकीकरण गरेर समाजवादी पार्टी बनाउनुभएको थियो । सो पार्टीमा उपेन्द्र यादवलाई अध्यक्ष स्विकार गरी आफू संघीय परिषद्को अध्यक्षमा बस्न तयार हुनुभयो । पछि राजपा नेपालसँग एकीकरण गर्दा जसपा बनाउँदा त्यसमा आफूलाई महन्थ ठाकुरभन्दा तल राखेको भन्दै संघीय परिषद्को अध्यक्ष पदमा टिपेक्स लगाएर कार्यकारिणी सदस्य बनेर पार्टी दर्ता गराउनु भएको थियो । तर पछि सोही पदमा बस्न तयार हुनुभएको थियो । त्यतिबेला उपेन्द्र यादव र महन्थ ठाकुर कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।
पछि महन्थ ठाकुर पार्टी छाडेर गएपछि उहाँ सो पदमा जानका लागि पार्टीमा कुरा उठाउन थाल्नुभयो । पार्टीमा एकल नेतृत्व होइन, सामूहिक नेतृत्व हुनुपर्ने कुरामा जोड दिँदै खाली रहेको अध्यक्षमा पदपूर्ती गर्नुपर्ने दवाव पार्टीमा बढाउन थालेपछि उपेन्द्र यादव झस्किनु भएको हो ।


तपाईको प्रतिक्रिया