धनुषामा चलेन गृहमन्त्रीको जादु

केन्द्र, प्रदेशलगायत सबैतिर हार व्यहोर्नुभएका काँग्रेसका नेता विमलेन्द्र निधि राजनीतिमा निराश भइसक्नु भएको थियो । उहाँ मात्रै होइन, उहाँका नेता तथा कार्यकर्ता पनि निराश थिए । निराश नहुनु पनि कसरी । नेता निधि २०७४ मा धनुषाको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको चुनाव हार्नुभयो । केही दिनको तनावपछि त्यसमा चित्त बुझाउनु भयो । पार्टीमा सक्रिय भएर काम गर्दै गएपछि १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको गुटमा रहनु भएका निधिले सभापतिमा उम्मेदवारी दिँदा पार्टीका निकै चर्चा भएको थियो ।

प्रधानमन्त्री देउवाले पनि सभापतिमै उम्मेदवारी दिएपछि निधिको हार त्यही बेला निश्चित भइसकेको थियो तर निधि पछाडी हट्नु भएन । महाधिवेनमा २५० मत ल्याएर हार्नुभयो । त्यसपछि मधेश प्रदेशमा काँग्रेसको अधिवेशन भयो । नेता निधिले आफ्नो तर्फबाट पनि प्रदेश सभापतिमा उम्मेदवार उठाउनुभयो । उहाँलाई जिताउनका लागि निकै प्रयास गर्नुभयो तर सक्नुभएन । त्यहाँ काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको ठूलो चलेखल भयो । प्रहरी प्रशासन लगाएर भएपनि देउवा पक्षकै सभापति चुनाव जित्नुभयो । निधिलाई तेस्रो धक्का लाग्यो ।

एक मात्र आश जिल्ला सभापतिमा थियो । उहाँले आफ्नो जिल्लासभा जिताउनका लागि सबै कुरा दाउमा लगाई सक्नु भएको थियो । गृह जिल्लामा पनि आफ्नो उम्मेदवार जिताउन सकिएन भने राजनीतिबाट सन्यास लिए हुन्छ भन्नेसम्मको चर्चा सुरु भएको थियो । पटक पटक मन्त्री भइसक्नु भएको, पार्टीको उपसभापति पनि भइसक्नु भएको, काँग्रेस पार्टीको पुरानो लिगेसी पनि उहाँसँग थियो । त्यसमा जिल्ला सभापति जिताउनमा नेता निधिको प्रतिष्ठासँग जोडिएको थियो । यता, गृहमन्त्री खाँण देउवा पक्षका सभापति जिताउनका लागि सम्पूर्ण शक्ति लगाई सक्नु भएको थियो । आन्तरिक रुपमा प्रहरी प्रशासन पनि परिचालित थियो । गृहमन्त्री खाँणका खास मान्छे महेन्द्र यादव चुनाव खटिनु भएको थियो । तर निधिका उम्मेदवार बाजी मार्नुभयो । निधिका उम्मेदवार योगेन्द्र पजियारले ६८९ को मतान्तरले विजय हुनुभयो ।

पजियार जितेसँगै नेता निधीको मनोबल बढेको छ । उहाँका कार्यकर्तामा पनि उत्साह थपिएको छ । प्रतिनिधिसभामा चुनाव जित्ने हो नजित्ने हो पनि डर थियो । केन्द्र, प्रदेश हारेका व्यक्ति प्रतिनिधिसभा चुनाव के जित्ला र भनि जनकपुरमा टिप्पणी भइरहेको थियो । तर उहाँले जिल्ला सभापतिमा आफ्नो उम्मेदवार जिताए पनि निकै हौसला बढेको छ ।

तपाईको प्रतिक्रिया