Khadya Bibhag

पुष्प मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौं, चैत ८ गते । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुने पुष्प मेलाको तयारी पुरा भएको छ । भोलीदेखि ललितपुरको जावलाखेल मैदानमा २३ औं पुष्प मेलाको तयारी पुरा भएको एशोसिएशनका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने एक्स्पोमा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ ।

मेला चारदिनसम्म चल्ने जानकारी गराउँदै महासचिव पोखरेलले मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउ पुर्याउने बताउनुभयो । पुष्प मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायीक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने छन्।

पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ।मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने उहाँले जानकारी गराउनुभयो ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति २३ औ फ्लोरा पुष्प मेलाउपयोगी हुने उहाँले बताउनुभयो । पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ।

तपाईको प्रतिक्रिया