सर्लाही, चैत ११ गते । जनता समाजवादी पार्टी, नेपालको ब्रह्मपुरि गाउँपालिका समितिद्वारा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले नजिकिदै गरेको स्थानीय तहको चुनाव जसपाको लागि ऎतिहासिक अवसर भएको बताउनु भएको छ ।’
मन्त्री यादवले स्थानीय चुनाव हुन थोरै समय बाकी रहेकोले चुनावमा विजयी प्राप्तिका लागि स्थानीय तहका नेता तथा कार्यकर्ताहरु तम्तयार रहन निर्देश दिदै ूआफ्नो गाउँ आफै जिताउ, जसपालाई जिताउू भन्ने मुल नाराका साथ चुनावमा तत्काल होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेश गरेका नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै मन्त्री यादवले अब एक ढिका भएर चुनावी संघर्ष र लडाइँको मैदानमा जसपा उत्रिनुपर्ने समय आएको बताउनुभयो ।
वडा स्तरमा चुनाव जित्ने उम्मेदवारको बारेमा वडा समितिले तय गर्नुपर्ने बताउदै उहाँले चुनावी जितको सुरुवात वडा स्तरबाट हुने र क्रमशः अध्यक्ष, उपाध्यक्ष, मेयर र उपमेयर समेत विजयी हुने बताउनुभयो ।
जसपा गाउँ, नगर र टोलटोलमा रहेको र त्यसको रक्षा जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गर्दै आएको बताउदै उहाँले जसपाका नेता तथा कार्यकर्ताहरु दिनरात जनताको सुखदुःखमा साथ दिदै आएको र स्थानीय नेता तथा कार्यकर्ताको विश्वास, भरोसा, व्यवहार, लगनशीलता र एकताको आधारमा जसपाले यस स्थानीय तहको चुनावमा अधिक भन्दा अधिक सिटमा भारी बहुमतका साथ चुनाव जित्ने दावी गर्नुभयो ।
सर्लाहीमा रहेका अन्य दलहरूलाई जसपासँग भय रहेको बताउँदै मन्त्री यादवले संघीयता ल्याउने पहिलो पार्टी जसपा रहेको दावी गर्नुभयो । नेपालमा व्याप्त वर्गीय विभेदलाई जरैदेखि समाप्त पार्नका निम्ति जसपाको नेतृत्व नै आवश्यक भएको रहेको समेत उहाँले बताउनुभयो ।
महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता भएको बताउदै उहाँले महिलालाई समानरुपले समेट्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका शहिदको सपना साकारका निम्ति मधेस प्रदेशको निर्माण भएको र त्यसमा जसपाको ठूलो बलिदान र त्याग रहेको बताउँदै उहाँले भन्नुभयो, ‘मधेस प्रदेशमा जसपाको सरकार भएकै कारण शहिदको सपना साकार भएको हो ।’ ब्रहम्पुरि गाउँपालिकाका अध्यक्ष विनोद साहका भाइ मनोज साह जसपामा प्रवेश गर्नुभएको छ ।
कृषि मन्त्री यादवको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यद्वय हृदय नारायण राय र रामकैलाश राय, प्रदेश समिति सदस्य नुरुल हक मिकरानि, जिल्ला अध्यक्ष बिरेन्द्र राय, जिल्ला सचीव राम बिनय राय, गाउँ समिति अध्यक्ष नागेन्द्र यादव, युवा नेता जितेन्द्र साह, सुनिल साह, राजु साह, दामोदर साह, रामदुलार राय, कृष्ण कुमार यादव, राम छबिला साह, राम पदारथ साह लगायतको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया