पुष्प मेला सम्पन्नः ४७ हजार भन्दा बढीले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोवार

काठमाडौँ चैत १३ गते । जावलाखेलको खेल मैदानमा चार दिनदेखि जारी २३ औं पुष्प मेलामा आज सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलाबाट पुष्प व्यवसायीहरुले एक करोड दुईलाख ८० हजार रुपियाँको कारोवार गरेका छन् भने सो मेलालाई ४७ हजार ३०० जनाले अवलोकन गरेको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी गराए ।

फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेको छ भने लिएको लक्ष्यभन्दा बढी करोबार भएको छ । यो मेलालाई ४५ हजार जनाले अवलोकन गर्ने तथा ७५ लाख रुपियाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो । तर लक्ष्य भन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरे भने कारोवार पनि लक्ष्यभन्दा बढी हुँदा फ्यान उत्साहित भएको छ ।

मेलाको पहिलो दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने आठ हजार २०० जनाले अवलोकन गरेका थिए । चैत ११ गते अर्थात दोस्रो दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो भने ११ हजार जनाले अवलोकन गरेका थिए । तेस्रो दिन ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको थियो भने १७ हजार ८०० जनाले अवलोकन गरेका थिए । मेलाको अन्तिम दिन आज १८ लाख ५० हजार रुपियाँको कारोबार भयो भने १० हजार ५०० जनाले अवलोकन गरेको फ्यानका महासचिव पोखरेलले जानकारी गराए ।

चार दिनमध्ये सबभनन्दा बढी कारोबार शनिवार भएको थियो । विदाका दिन परेका हुनाले विद्यार्थी, कर्मचारीलगायत अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । यसखालको मेला वा प्रदर्शनीले फूल तथा अन्य वोट विरुवाको प्रचार प्रसार हुनुको साथै अध्ययन अनुसन्धानको काम पनि हुने गरेको उहाँले बताउनुभयो । मेलाको उद्घाटन वागमती प्रदेशका कृषि मन्त्री इन्द्रमाया गुरुङले गर्नुभएको थियो । यो मेलामा कृषि विभाग र वागमती प्रदेशका कृषि मन्त्रालयको आर्थिक सहयोग थियो भने मेलाको सहआयोजक पुष्प विकास केन्द्र गोदावरी थियो ।
कोरोनापछि यो पहिलो मेला हो । मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको उनले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै भएका छन् । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकादेखि लिएर गृहणीहरु विशेष रुपमा आएका थिए ।

मेलामा ५१ वटा विभिन्न स्टलहरु राखेका थिए । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु रहेका छन् । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता थिए ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको उनले जानकारी गराए । फ्यानले विभिन्न आठ विधामा उत्कृष्ट नर्सरीलाई नगद पुरस्कार तथा पदक प्रदान पनि गरेको छ । पुरस्कृत हुनेमा उत्कृष्ट मौसमी फूलतर्फ बालुवाटार काठमाडौंको मिलन नर्सरी, उत्कृष्ट आलंकारिक विरुवातर्फ चण्डोल काठमाडौको अल ट्रपिकल प्लान्ट हाउस, उत्कृष्ट फुल्ने विरुवातर्फ सानेपा ललितपुरको सिर्जना फलावर नर्सरी, उत्कृष्ट स्टलतर्फ संखमुल काठमाडौको न्यु सन फ्लावर नर्सरी, उत्कृष्ट पुष्प सजावटतर्फ त्रिपुरेश्वर काठमाडौंको न्यू फ्लोरिष्ट, उत्कृष्ट कट्फलावर (रोज) तर्फ भक्तपुरको एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेका छन् ।

त्यस्तै उत्कृष्ट कट्फलावर (कार्नेसन) तर्फ काठमाडौको द एभरेष्ट फ्लावर, उत्कष्ट कट्फ्वालर (जरवेरा) तर्फ भक्तपुरको एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छन् । विराटनगरको हिमालय नर्सरीलाई कदरपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया