काठमाडौँ चैत १३ गते । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले काँग्रेस र कम्युनिस्टले व्यक्तिगत र राजनीतिक स्वार्थको लागि शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर त्यसलाई माफियाको हातमा पुर्याई दिएको आरोप लगाउनुभयो ।
शिक्षा र स्वास्थ्य राज्यकै दायित्व भित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै उहाँले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गर्नुभयो ।
एक कार्यक्रममा आफ्नो विचार व्यक्ति गर्दै सांसद यादवले संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क हुने प्रावधानसहित त्यसलाई मौलिक हक अन्तर्गत राखेको छ तर त्यो कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने कुरामा जोड दिँदै सांसद यादवले श्रीलंका र माल्दिपसमा स्नातक तहसम्म सरकारी शिक्षा निशुल्क छ तर नेपालमा कुनै सुविधा नभएको एउटा सानो अवासीय भवन भाडामा लिएर चलाएको प्राइभेट स्कूलभन्दा पूर्वाधार, दक्ष जनशक्ति र श्रोतसाधनको हिसावले कैयौं गुणा राम्रो सार्वजनिक स्कूलहरु छन् तर त्यसको शिक्षा गुणस्तर नरहेको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि सरकारी शिक्षाको गुणस्तरमा सुधार नआएसम्म संसारका कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन ।’

तपाईको प्रतिक्रिया