अर्गानिक कृषि मेला हुने

ललितपुरको पाटन दरबार संग्राहलयमा पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंघा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ बैशाख १ गतेदेखि चार दिनसम्म सो मेला सञ्चालन हुने एशोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्ने र जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने उद्देश्यका साथ अर्गानिक कृषि मेला आयोजना गारिएको उहाँले बताउनुभयो । मेलामा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तरर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने उहाँले जानकारी दिनुभयो ।

अर्गानिक एशोसिएसनका महासिच तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले पछिल्लो समय अर्गानिकतर्फ उपभोक्ताको चासो बढेको बताउनुभयो । गत वर्षको मेलामा एकलाखले अवलोकन गरेको थियो । यसपाली अवलोकनकर्ता बढ्ने विश्वास आयोजकले लिएको छ । मेलामा ५० भन्दा बढी स्टल रहनेछन् । मेलाका लागि ३० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको महासचिव कोइरालाले बताउनुभयो । मेलामा एक करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गरिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफूल, बीउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरु राखिने छ ।

 

तपाईको प्रतिक्रिया