Khadya Bibhag

महतोलाई यसकारण मन पर्दैन सरकारमा जाने कुरा

प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत धनुषामा चैत ८ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो, ‘लोसपा सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको छ ।’ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपस्थिति रहनु भएको कार्यक्रमको सो मञ्चमा अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भइरहेको स्पष्ट पार्नुभएको थियो ।

जुनकुरा वरिष्ठ नेता महतोलाई मन परेको थिएन । नेता महतो आफू सरकारमा नजाने भएपछि पार्टीबाट अरु कोही पनि नजाओस् भनि चाहनु भएको छ । अध्यक्ष ठाकुरले भन्नुभएको कुरालाई उहाँले त्यसको भोलीपल्ट आफ्नो निकट एक अनलाइनमार्फत खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘ सरकारमा जाने विषय वकम्फुसे हल्ला मात्र हो ।’ सरकारमा सामेल हुने विषयलाई अहिले पार्टीमा छलफल समेत नभएको र यसलाई छलफलको विषय समेत नबनाइएकोले यो हल्ला मात्र रहेको भन्दै अध्यक्ष ठाकुरको भनाईलाई खण्डन गर्नुभयो ।

त्यसपछि अध्यक्ष ठाकुरले सरकारमा जाने विषयलाई पार्टीबाट निर्णय गराउनका लागि कार्यकारिणी समितिको बैठक चैत १६ गतेका लागि बोलाउनुभयो । त्यसपछि नेता महतोको बोल्ती नै बन्द भएको छ । यसैपनि लोसपामा राजेन्द्र महतोले बोल्नु भएको कुराको महत्व हुँदैन । लोसपा बनेपछि नेता महतोले पार्टीमा आफ्नो बर्चस्व देखाउन खोज्नु भएको थियो । वीरगञ्ज, जनकपुर हुँदै काठमाडौँसम्म अध्यक्ष ठाकुरको विरुद्धमा आन्दोलन गर्न लगाउनु भएको महतो पार्टी कार्यालय जान छाड्नु भएको थियो । अनामनगरको कार्की भवनबाट नै पार्टीमा हस्तक्षेप बढाउन थाल्नुभयो । आफ्नो यस्तो हर्कतबाट अध्यक्ष ठाकुर केही गल्नु हुन्छ कि भनि उहाँको सोचाई थियो । तर उहाँ टसमस पनि हुनुभएन ।

नेता महतोलाई एक दिन पनि बोलाएर उहाँले महत्व दिनुभएन । महतोको बारेमा सोधखोज गर्न छाड दिनुभयो र उहाँले आफ्नो तरिकाले पार्टी सञ्चालन गर्न थाल्नुभयो । संगठनहरु बनाउन थाल्नुभयो । त्यहीबेला कतिपयले राजेन्द्र महतोले पार्टी छाड्दै हुनुहुन्छ भन्नेसम्मको कुरा अध्यक्ष ठाकुरलाई सुनाउनु भएको थियो । तैपनि अध्यक्ष ठाकुरले कुनै मतलब राख्नु भएन । त्यसपछि बाध्य भएर नेता महतोले नै अध्यक्ष ठाकुरसँग समय लिएर भेट्नुभयो । लगभग तीन चार घण्टा दुवैजनाको बीचमा एक्ला एक्लै छलफल भयो । दुवैजनालाई लागेको कुरा एक अर्कालाई भन्नुभयो । प्रदेश १ र मधेश प्रदेशमा पार्टीको तर्फबाट चयन गरिएको अध्यक्षमा नेता महतोको असहमति थियो । जिल्ला तथा स्थानीय तहमा जेजस्तो गरियो त्यसमा नेता महतोको त्यति गुनासो छैन जति गुनासो प्रदेश १ र मधेश प्रदेशका अध्यक्ष बारेमा छन् ।
तर अध्यक्ष ठाकुरले जेजति गरियो त्यसमा अब कुनै करेक्सन हुँदैन बरु अब हुने समिति निर्माण तथा गठन बनाउने कार्यमा मिलाउन सकिने जवाफ दिनुभएको थियो । अन्य थुप्रै संगठन बनाउन बाँकी छ । तिनीहरुमा मिलाउने प्रतिवद्धता अध्यक्ष ठाकुरले जनाएपछि महतो चुपचाप हुनुभएको लोसपाका एक नेताले बताउनुभयो । त्यसबेलादेखि अध्यक्ष ठाकुरसँग मिलेर काम गर्न थाल्नुभयो । पार्टी कार्यालय पनि आउजाउ गर्न थाल्नुभयो । अध्यक्ष ठाकुरसँग बाहिर कार्यक्रममा जान थाल्नुभयो ।

वर्तमान सरकारमा लोसपा सहभागी हुन थालेको छ तर त्यो सरकारमा आफू सहभागी नहुने कुरा अध्यक्ष ठाकुरलाई पनि भनिसक्नु भएको छ । उपप्रधानमन्त्री भइसकेको हुनाले अब मन्त्री मात्र दिएपछि सरकारमा नजाने नेता महतोले बताउँदै आएका छन् । उहाँले यस विषयमा प्रधानमन्त्री देउवासँग पनि कुरा गर्नुभयो तर उहाँले उपप्रधानमन्त्री बनाउन नसकिने भनेपछि नेता महतो ब्याक हुनुभएको छ ।

तपाईको प्रतिक्रिया