Khadya Bibhag

मातृका छैनन् खुमलटारको सम्पर्कमा

२०७७ मा महोत्तरीको खयरमारामा रहेको माओवादी केन्द्रका सहिद रामवृक्ष यादवको सालिक हटाएर त्यहाँ अर्का वामपन्थी नेता निर्मल लामाको सालिक राख्ने तयारी थालिएपछि पार्टीमा त्यसका विवाद उग्र रुप लिएको छ । माओवादी केन्द्रका नेता मातृका यादव र सोही पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठले त्यसलाई प्रतिष्ठानको विषय बनाउनु भएको छ ।

मातृका यादवले रामवृक्ष यादवको सालिक त्यही रहनु पर्छ, बरु निर्मल लामाको सालिक त्यही कतै छेउमा राख्दा हुन्छ तर रामवृक्ष यादवको सालिक निर्माण भइसकेको छ अब त्यसलाई हटाएर त्यहाँ अर्काको सालिक राख्न नहुने र त्यसलाई आफूहरुले कुनै पनि हालतमा नमान्ने भनिसक्नु भएको छ । यता, नारायण्काजी श्रेष्ठ पक्षले स्थानीय समुदायको भावनालाई आत्मसात गर्दै त्यहाँ भएको सहिद रामवृक्ष यादवको सालिक उहाँको जन्मथलो, कर्मथलो धनुषाको वरिमझियामा लगेर स्थापित गर्ने योजना अनुरुप अर्धकदको सालिकलाई रंगरोगन गरी व्यवस्थित ढंगले लैजाने भन्दै आएको छ । यी दुवै पक्षको विवाद चर्को रुप लिएपछि त्यसलाई सुल्झाउन अध्यक्ष प्रचण्डलाई पनि समस्या भएको छ ।

यो विवाद हेडक्वाटर अर्थात खुमलटार पार्टीका अध्यक्ष प्रचण्डसमक्ष पुगेको छ । यसलाई मिलाउनका लागि अध्यक्ष प्रचण्डले मातृका यादवलाई खोजि रहनु भएको छ तर उहाँ हेडक्वाटरको सम्पर्कमा जानु भएको छैन । प्रचण्डको सचिवालयले पटक पटक मातृका यादवसँग सम्पर्क गर्ने प्रयास गरेको छ तर उहाँले कसैलाई रेसपोन्स गरिरहनु भएको छैन । हेडक्वाटरबाट मातृकालाई धेरै फोन गएपछि आफू चैत १३ गते मात्र आउने त्यसअघि आउन नसक्ने भनि म्यासेज पठाउनु भएको थियो ।

तर १५ गतेसम्म उहाँ हेडक्वाटरको सम्पर्कमा आउनु भएको छैन । नारायाण्काजी श्रेष्ठ पक्षका नेता गिरीराजमणी पोखरेललगायतका नेताहरु १३ गतेदेखि लगातार प्रचण्ड निवास पुग्नु हुन्छ तर मातृका यादवको यतोपतो छैन । रामवृक्षको सालिकको विषय माओवादी केन्द्रको महाधिवेशनमा पनि उठेको थियो । मधेश प्रदेशबाट सत्यनारायण भगतले रिपोर्टिङ गर्ने क्रममा गिरिराजमणि पोखरेललाई सालिक हटाउनु राजनीतिक अपराध गरेको आरोप लगाउनु भएको थियो ।

महाधिवेशनको पाँचौं दिन त्यही विषयलाई लिएर पोखरेल पक्षका नेताहरुले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिनुभएको थियो । विरोधकै बीच पोखरेल समर्थकले हस्ताक्षर समेत संकलन सुरु गरे । विवादले थप ठूलो रुप लिने देखेपछि कृष्णबहादुर महराले थामधुप पार्ने प्रयास गर्नुभयो । अन्त्यमा भगतले आफूले राजनीतिक अपराध गरेको शब्द फिर्ता लिएर दोषी भन्ने शब्द राख्न सहमत भएपछि मात्र बन्दसत्र चलेको थियो । तर महाधिवेशनमा त्यो विवादको समाधान निकाल्न सकेन ।

केन्द्रीय समितिका लागि थाँती राख्यो । फागुनको अन्तिम साता बेसेको केन्द्रीय समितिको बैठकमा यो विषयलाई विविधमा राखेपनि छलफल हुन सकेन । विवाद यथावत नै छन् । त्यस कारणले मधेश प्रदेशका पार्टीका अन्य कामहरु पनि त्यही विवादका कारण प्रभावित भएको छ ।

खयरमारामा माओवादीले रामवृक्ष स्मृति ब्रिगेड अस्थायी क्याम्प खडा गरेको थियो । र त्यहाँ माओवादीका ‘जनमुक्ति सेना’ लाई राख्यो । सेना समायोजन भएपछि अस्थायी क्याम्प सरकारको मातहात आयो । त्यही अस्थायी क्याम्पमा केपी ओली नेतृत्वको सरकारमा भएका बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रामवृक्षको सालिक हटाएर निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्नुभयो । जसले अहिले पार्टीमा मधेशको तर्फबाट ठूलो विवाद उत्पन्न भएको छ

तपाईको प्रतिक्रिया