लोसपाले प्रतिगामी शक्ति एमालेलाई साथ दिएर ठूलो भुल गरेको छ

लोसपालगायत अन्य मधेश केन्द्रीत दलहरुले मधेशको एजेण्डा छाडेका छन् । अब ती दलहरुलाई मधेशसँग कुनै मतलब छैन । ती दलहरु संसदीय तथा सत्ताको राजनीतिमा यसरी फँसिसकेका छन् कि अरु कुराको ध्यान नै छैन ।

–कृष्णा सिंह
लामो समयदेखि मधेशको राजनीतिमा सक्रिय भएर काम गर्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता कृष्णा सिंह सो पार्टी छाडेर काँग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टीमा प्रवेश गराउनु भयो । मधेशको एजेण्डाप्रति प्रतिवद्ध भएर महन्थ ठाकुर नेतृत्वको तमलोपादेखि सक्रिय भएर मधेशको राजनीतिमा लाग्नु भएका कृष्ण सिंह एकाएक किन लोसपा छाड्नु भयो त । उहाँ जुन प्रतिवद्धताका साथ पार्टीमा लाग्नु भएको थियो, जुन प्रतिवद्धताका साथ मधेशका लागि काम गर्नुभएको थियो, त्यसलाई हेर्दा उहाँ काँग्रेस वा एमालेमा जानुहुन्छ भनि कसैले विश्वास गरेका थिएनन् । त्यसमा पनि उहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुरको सबभन्दा निकटको युवा नेता मानिन्थ्यो । र, अहिले उहाँले महन्थ ठाकुरलाई पनि छाड्नु भएको छ । के त्यस्तो अवस्था सृजना भयो, जसले आफैले बनाएका पार्टी छाडेर हिड्नुभयो । प्रस्तुत छ, यस विषयमा सहारा टाइम्सले नेता कृष्णा सिंहसँग गरेको कुराकानीको सम्पादीत अंशः

मधेशको राजनीतिमा तपाईको त्यत्रो लगानी छ, तपाईले एक्कासी किन किन छाड्नु भयो ?
–मधेशको राजनीतिमा १४–१५ वर्षदेखिको मरो प्रत्यक्ष लगानी छ । त्यसअघि पनि विद्यार्थीको राजनीतिमा सक्रिय थिए । मधेशको मुक्तिको लागि, उसको परिवर्तनका लागि मधेश आन्दोलनदेखि त्यसमा होमिएको हो । मैले आफ्नो बलबुत्ताले भ्याएसम्म सक्रिय भएर मधेशको बारेमा बोलेको हुँ, मधेशका लागि लडेको हुँ । र अहिले मधेश केन्द्रीत दल छाडेर काँग्रेसमा गएका हुँ । यसको मतलब मैले मधेशको एजेण्डा, मधेशको मिसन, मधेशको मुद्दा छाड्छु भने होइन । काँग्रेसमा पनि मेरो सक्रियता, मेरो सहभागिता मधेश मिसनकै लागि हुन्छ, मधेशकै मुक्तिका लागि हुन्छ ।

काँग्रेसमै गएर मधेशको लागि तपाई काम गर्नुहुन्छ भने मधेश केन्द्रीत दल लोसपा जसमा तपाई लामो समयदेखि रहनुभयो त्यसको स्थापनादेखि लिएर हरेक आरोह अवरोहमा साथ साथ दिनुभयो त्यही पार्टीबाट पनि मधेशका लागि काम गर्न सकिन्छ नि त्यो किन छोड्नु भयो त ?
–लोसपालगायत अन्य मधेश केन्द्रीत दलहरुले मधेशको एजेण्डा छाडेका छन् । अब ती दलहरुलाई मधेशसँग कुनै मतलब छैन । ती दलहरु संसदीय तथा सत्ताको राजनीतिमा यसरी फँसिसकेका छन् कि अरु कुराको ध्यान नै छैन । आफू चुनाव कसरी जित्ने र सत्तामा कसरी पहुँच पुर्याउने त्यसका लागि के के गर्नुपर्छ ती सबै उपाय लगाउँछन् । तपाई २०६४ देखिको गतिविधिलाई अध्ययन गर्नुस् न सबै कुरा छर्लङ हुन्छ । उहाँहरुले मधेशको बारेमा बोल्नु हुन्न, कुरा उठाउनु हुन्न त्यो होइन । बोल्नु हुन्छ, कुरा उठाउनु हुन्छ तर त्यो बार्गेनिङको लागि मात्र । १४–१५ वर्षदेखि एउटा मुद्दामा घोत्लिएका छन् । त्यसका लागि संघर्ष गरेका छन् । त्यो माग र मुद्दा अझै पुरा भएको छैन, किन । त्यसको अध्ययन गर्नुस् सबै कुरा स्पष्ट हुन्छ । मधेशको एजेण्डा र मुद्दालाई आफूलाई मधेशी पार्टीका नेता भनाउँदाहरु बार्गेनिङको टुल्स बनाउनु भएको छ । तपाई नै भन्नुस् न जतिपनि मधेशवादी दलका नेताहरु हुनुहुन्छ ती सबैको जुवान (मुख) मा मधेशको मुद्दा र एजेण्डाबाहेक केही हुँदैन तर त्यो अहिलसम्म टसमस किन भएको छैन ? दलहरु पनि त्यही मुद्दालाई लिएर हिडेका देखिन्छन् ।

मधेशको एजेण्डा र मुद्दालाई आफूलाई मधेशी पार्टीका नेता भनाउँदाहरु बार्गेनिङको टुल्स बनाउनु भएको छ

तपाईको विचारमा अहिलेसम्म किन टसमस भएको छैन त ?
–मैले अघि भने नि कि अब उहाँहरुको लागि मधेशको मुद्दा एजेण्डाको रुपमा रहेन । बार्गेनिङ टुल्सका रुपमा मात्र रहेको छ । त्यसलाई भजाएर सत्तामा जाने, त्यसैलाई भजाएर जनतामा जाने, जनतालाई भ्रममा राखेर चुनाव जित्ने, फेरि त्यसैमा बार्गेनिङ गरेर सत्तामा जाने यही चक्रमा घुमिरहनु भएको छ उहाँहरु । कहिले उहाँहरु काँग्रेसको बैशाखी टेक्नु भएको छ भने कहिले एमालेको बैशाखी टेक्नु भएको छ भने कहिले माओवादी केन्द्रको बैशाखी टेक्नु भएको छ । लाग्छ, उहाँहरुसँग आफ्नो कुनै क्षमता नै छैन । कताकता के के कुरामा अल्झिएको, हराएको, रन्नभुल्लमा परेको देखिनुहुन्छ उहाँहरु । लाग्छ कि उहाँहरुसँग कुनै मिसन र भिजन नै छैन । के गरिरहनु भएको छ त्यो नै स्पष्ट छैन ।

तपाई आफै त मधेशवादी दल छाडेर काँग्रेसमा जानु भो नि ?
–म यसअघि जुन दलमा थिए त्यो दल काँग्रेस र एमालेबाहेक एक कदम अगाडि बढ्न सक्दैन । हरेक कुरामा त्यही दलहरुको सहयोग चाहिन्छ भने त्यहाँ बसि रहनुको के अर्थ । चाहे चुनावको विषय होस् या सरकारमा जाने विषय होस् या अन्य केही कुरा होस् काँग्रेस, एमाले र माअ‍ोवादी नै चाहिन्छ उहाँहरुलाई । तपाई सबै कुरालाई केलाउँदै जानु न मधेशको मुद्दा जो माग लिएर यत्रो संघर्ष भयो तर त्यसलाई पास गराउनका लागि काँग्रेस, एमाले, माओवादीसँग साँठगाँठ हुँदैन । त्यो पास गराउनका लागि बार्गेनिङ गर्नुहुन्न तर चुनावको विषय, सत्ता सहकार्यको विषय, संसदबाट ती दलहरुलाई केही पास गराउनु पर्यो भने ती विषयमा उहाँहरुको बीचमा कुरा मिलिरहेका हुन्छन् ।

काँधमा काँध मिलाएर हिडि रहेका हुन्छन् । उदाहारणका लागि मात्र, चुच्चै नक्सादेखि लिएर एमसीसीसम्म एक ठाउँमा आउने दलहरु नागरिकताको विषय, समानुपातिक समावेशीको विषय, संघीय संरचनाको विषय, भाषा र सँस्कृतिको विषयमा किन एकजुट हुँदैन, किन त्यो राष्ट्रिय इस्यु बन्दैन ? किन त्यो राष्ट्रिय एजेण्डा बन्दैन । म चुच्चे नक्सा वा एमसीसीको विरोध गरेको वा समर्थन गरेको विषय यहाँ होइन म उदाहरण देखाएको हुँ । यही देशका नागरिक वर्षौदेखि नागरिकताविहिन छन्, अनागरिक भएर बसिरहेका छन् । उ

सले एउटा बैंक खाता खोलाउन सकेको छैन, कुनै विजनेश व्यपार गर्न सकेको छैन, अध्ययन गर्न सकेको छैन, विदेश जान पाएको छैन । के यो राष्ट्रिय इस्यु होइन ? यसका लागि सबै दल एक ठाउँमा आउनु हुँदैन ? एमसीसीका लागि सबै दल एक ठाउँमा आउन हुने तर नागरिकताको समस्या समाधानका लागि एक ठाउँमा किन आउन सक्दैन ? हो समस्या यहीं छ । मेरो निष्कर्ष के हो भने मधेश केन्द्रीत दलका नेताहरुले नै यसलाई समाधान गर्न चाहनु भएको छैन । राजनीतिमा यसलाई बार्गेनिङको टुल्स बनाएर राजनीतिकको रोटी सकि रहनु भएको छ ।

तपाई सबै कुरालाई केलाउँदै जानु न मधेशको मुद्दा जो माग लिएर यत्रो संघर्ष भयो तर त्यसलाई पास गराउनका लागि काँग्रेस, एमाले, माओवादीसँग साँठगाँठ हुँदैन ।

मौका त तपाईलाई पनि दिएको हो नि तपाईले पनि गर्न सक्नुभएन अन्ततः पार्टी छाडेर जानु भयो किन ?
–हो मलाई मौका दिएको हो । मैले पाएको जिम्मेवारी अनुसार काम गरेकै हो । त्यसको मूल्यांकन पार्टीले गरेका होलान् । पार्टीको एउटा सिपाहीको जस्तो मधेशका लागि लडेको हो, भिडेको हो । पत्रकार जगतलाई पनि यो कुराको अवगत नै छ । तर पार्टीमा म जहाँ थिए, जुन पोजिसनमा थिए त्यसले मात्र यी सब हुनेबाला थिएन । हामीले त सडकबाट माहोल बनाई दिने हो । प्रेसर बनाई दिने हो । पार्टीमा नेतालाई सुझाव दिने हो, नभए दवाव पनि दिने हो । विभिन्न फोरममा आफ्ना कुरा राख्ने हो । यी सब गरेकै हो । कुरा फेरि नेतृत्व पंक्तिमै गएर अड्केको छ । सिपाही जति लडेपनि सेनापतिले राम्रो कामण्ड गर्न सकेन, राम्रो दिशानिर्देश दिन सकेन, नेतृत्व राम्रोसँग गर्न सकेन भने त्यो युद्ध जित्न सकिदैन । सेनापति नै दिशाविहिन भएपछि युद्ध जित्न गाह्रो हुन्छ । हामी सिपाही हौं । असल कमाण्डर चाहिन्छ ।

तमलोपादेखि लोसपासम्म पार्टीमा रहनु भयो खासमा अहिले चुनावको समयमा पार्टीको छाड्नुको कारण के हो त ?
–पहिलो कुरा त जुन मिसनका लागि तमलोपा गठन भएको थियो । त्यो मिसन नै पुरा भएन । तमलोपा गठन हुँदा एउटा पार्टी जस्तो थियो । त्यसको सिस्टम थियो । त्यो एउटा सिस्टमबाट चलिरहेको थियो । जब राजपा हुँदै लोसपासम्म आयो कहिले पार्टी बन्न सकेन । एउटा गिरोह, एउटा गुटको पार्टी जस्तो देखिन थाल्यो । पार्टीभित्रै सानो सानो टुक्रामा गतिविधि हुन थाल्यो । पार्टीभित्र अध्यक्षै अध्यक्ष, पार्टीभित्र नेतै नेता, कुन नेताले के गरिरहनु भएको छ । कसको के जिम्मेवारी छ । केही स्पष्ट छैन । तीन चार तल्लाको पार्टी कार्यालय छन् । सबै तल्लामा पार्टीका नेताहरुका लागि एउटा एउटा कार्यकक्ष छ । सबैका लागि कुर्सी छन् । अर्थात ती पुरै विल्डिङ शीर्ष नेताले भरेका छन् । पार्टीभित्र अरु पनि संगठनहरु छन् । अरु पनि गतिविधिहरु हुन्छन् त्यसको कुनै अतोपत्तो छैन । पार्टीमा विद्यार्थी, युवा, महिला, प्रध्यापक, शिक्षक, दलित, मजदुर, खेलाडी थुप्रै संगठन छन् । त्यसको अस्तित्व के छ, ती कहाँ छन्, के गरिरहेका छन् केही अतोपतो छैन । चार पाँचजना नेताको सबै ठिकठाक छन् । सबै कुरा व्यवस्थित छन् । त्यसले पुगेको छ । तर फेरि यो अर्थ नलागोस् कि नेताहरुलाई बस्ने ठाउँ दिएको छ त्यसमा मेरो कमेन्ट छ । त्यस्तो होइन, सबै सुविधा हुनुपर्छ, सबै कुरा राम्रो हुनुपर्छ तर सबैको लागि हुनुपर्छ । र सुविधा अनुसार काम पनि गर्नुपर्छ ।

तपाई त सुरुदेखि नै महन्थ ठाकुरको साथमा रहेर काम गर्नुभयो, अहिले यो अवस्थामा आएर उहाँमा त्यस्तो खराबी कसरी देख्नुभयो ?
–महन्थ ठाकुरजी सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँलाई जहिले पनि सम्मान गर्थे अहिले पनि सम्मान गर्छु । उहाँ मिसन र भिजन भएका व्यक्ति हुनुहुन्छ । उहाँ त्यागी नेता हुनुहुन्छ । तर पछिल्लो समय उहाँ पनि कताकता अलमलमा परेको जस्तो देखिनु भएको छ । तमलोपा चलाउँदाको महन्थ ठाकुर र अहिलेका महन्थ ठाकुरमा मैले फरक पाएको छु । लाग्छ कि उहाँ कुनै परिबन्धमा पर्नुभएको छ । कुनै स्पष्ट दिशा दिन सक्नुभएको छैन, कुनै निर्देशन दिनु भएको छैन जस्तो लाग्छ । उहाँ चुपचाप हुनुहुन्छ । पार्टीमा जसलाई जे गर्न मन लाग्छ गरिरहनु भएको छ । कसैले कसैलाई रोक्नेबाला, भन्नेबाला पनि छैन जस्ता मलाई लाग्छ ।

विगतमा संविधान संशोधनका लागि पटक पटक प्रयास भएको हो तर केपी शर्मा अ‍ोलीले नै रोक्नु भएको कारणले त्यो सम्भव भएन । पछिल्लो समय केही माग पुरा गराउनमा सकारात्मक भएको देखिएको छ । तर त्यसको बदलामा एमालेले लोसपालाई गलत काममा संलग्न गरायो ।

त्यस्तो हुनुको कारण के हुनसक्छ जस्तो लाग्छ तपाईलाई ?
–मेरो विचारमा उहाँ घेराबन्दीमा पर्नु भएको छ । उहाँको त्यागीपाना, सोझोपाना, सादगीपनाको फाइदा अरुअरुले उठाई रहनु भएको छ । उहाँको आसपास रहनेहरु त्यसको गलत फाइदा लिइरहनु भएको छ । उहाँलाई गलत सल्लाह दिएर गलत बाटोमा लगि रहेका छन् । जसले गर्दा पार्टीलाई मात्र होइन, समग्र मधेशलाई क्षति भएको छ । केपी शर्मा अ‍ोली नेतृत्वको एमाले प्रतिगामी शक्ति हो । एमालेले दुई दुईपटक संसद विघटन गर्यो । त्यस्तो पार्टीलाई लोसपाले साथ दिएको छ ।

आज मधेशको जुन अवस्था भएको छ, त्यो एमालेकै करणले भएको हो यसमा कुनै दुईमत छैन । एमालेले मधेशी जनतालाई होच्याउने, घोच्याउने मात्र काम गरेन, त्यहाँका जनतालाई अधिकारबाट बञ्चित गराएर राख्यो । विगतमा संविधान संशोधनका लागि पटक पटक प्रयास भएको हो तर केपी शर्मा अ‍ोलीले नै रोक्नु भएको कारणले त्यो सम्भव भएन । पछिल्लो समय केही माग पुरा गराउनमा सकारात्मक भएको देखिएको छ । तर त्यसको बदलामा एमालेले लोसपालाई गलत काममा संलग्न गरायो । प्रतिगमनको अंशियार बनाइ दियो । जुन लोकतन्त्र, संघीयताका लागि लोसपाले यत्रो बलिदान दिएर आयो, त्यसैलाई त्यसको विरुद्धमा उभ्याई दियो ।

खुन पसिनाबाट बनेको संसद विघटन गर्नमा एमाले सक्रिय थियो । लोसपालाई आफ्नो पार्टनर बनायो । लोसपाका लािग यो नै सबभन्दा ठूलो भुल भयो । एमाले गणतन्त्र, संघीयता पक्षधर पार्टी होइन भन्ने कुरा सोही पार्टीका नेताहरुको मुखबाट पटक पटक सुनिकै हो । र, संघीयता र गणतन्त्रलाई समाप्त पार्नका लागि एमालेले प्रयास गरेको कुरा पनि स्पष्ट छ । त्यस्ता दललाई साथ दिनु लोसपाको लागि के बाध्यता थियो ? त्यसको जवाफ मधेशी जनतालाई दिनुपर्छ कि पर्दैन । एक दुईटा मुद्दा फिर्ता लिदैमा संघीयता र गणतन्त्रलाई धोका दिने पक्षमा म छैन । यदि एमाले पार्टी मधेशप्रति त्यति नै इमान्दार छ भने उसले अहिले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाओस् । त्यसको विरोधमा कुन कुन दल उभिन्छ हामी पनि हेर्छौ । एमालेले आफ्नो स्वार्थका लागि संसदलाई बन्धक बनाएर राखेको छ । कुनै कामलाई अगाडि बढ्न दिएको छैन । त्यस्ता दलको बैशाखी टेकेर राजनीति गर्नु छैन मलाई ।

तपाईको प्रतिक्रिया