Khadya Bibhag

‘‘सकिने कि सच्चिने’’ निर्णय उपेन्द्र र महन्थको हातमा

के कति कारणले अलग अलग पार्टी बनाउनु पर्ने स्थिती आयो विषयमा घोत्लिदाँ ‘‘कन्टेन्ट भन्दा कन्टेस्ट’’ अर्थात मुद्दा भन्दा तत्कालिन सन्दर्भले सृजित घटनाक्रम र म को हो भनेर देखाई दिने ‘‘इगो’’ ले बढी काम गरेको स्पष्ट देखिन्छ ।

–अनन्त अनुराग-
२०६२÷०६३ को दोश्रो जनआन्दोलनपछि सतहमा देखिएका मधेश केन्द्रित दलहरुका लागि टुटफुट सामान्य झै लाग्ने गरेको छ । मधेश केन्द्रित दलहरु अलग अलग पार्टी बनाएर राजनीति गरेपनि आधारभुत रुपमा मुद्दाको सवालमा खासै फरक र भिन्नता भने देखिदैंन । ती दलहरु टुटफुट हुनुमा सैद्धान्तिक विचलन भन्दा व्यवहारिक तथा व्यक्तिगत स्वार्थ बढी हावी भएको पाइन्छ । सिद्धान्तमा आधारित राजनीतिक मुद्दाको आधारमा राजनीति गर्ने हो भने उनीहरु टुटफुट हुनुपर्ने कहिं कतै कुनै ठाँउ देखिदैैन । तर दुर्भाग्य हालसम्म मधेश केन्द्रित दल जति पटक फुटे त्यसको सार्थकता पुष्टि कुनै पक्षबाट हुन सकेको छैन ।

कहिले नेतृत्व कसले लिने विषय, कहिले सरकारमा को जाने विषय, कहिले अदृश्य शक्तिलाई कसले खुशी पार्ने विषय त कहिले पार्टीभित्र राम्रालाई भन्दा हाम्रालाई अवसर कसरी दिने विषय मात्रै नभई अवसरमा भागबण्ड नमिल्दा फुट्ने लगायतका विषयलाई केलाएर हेर्दा जो कोहीले पनि मधेश केन्द्रित दल टुटफुट हुनुको अन्त्र्य सजिलै बुझ्नसक्छ । के कति कारणले अलग अलग पार्टी बनाउनु पर्ने स्थिती आयो विषयमा घोत्लिदाँ ‘‘कन्टेन्ट भन्दा कन्टेस्ट’’ अर्थात मुद्दा भन्दा तत्कालिन सन्दर्भले सृजित घटनाक्रम र म को हो भनेर देखाई दिने ‘‘इगो’’ ले बढी काम गरेको स्पष्ट देखिन्छ ।

जुन अल्पकालका लागि फाइदाजनक देखिएता पनि समग्रमा त्यसले दीर्घकालिन रुपमा मुद्दालाई कमजोर र नेतृत्वको नेतृत्व क्षमतामाथि प्रश्न र दीर्घ राजनीतिक सोच नभएको पुष्टि मात्रै होइन, विस्तारै जनताको विश्वनियता नै गुमाउँदै गएको देखिन्छ । यस्ता हर्कतबाट सबैभन्दा बढी घाटा कसैलाई भएको छ भने त्यो हो आम मधेशी जनता जसलाई केवल आफना मुद्दासँग मात्र मतलब र चिन्ता छ ।

राजनीति सिद्धान्तको हिसाबले नेतृत्व परिवर्तन भई रहनु पर्ने विषय हो । यो खासै ठूलो कुरा होइन । तर मुद्दालाई कमजोर बनाउँदा त्यसले पुनः भविष्यमा सोही मुद्दाको उठान र पुरा गराउने भाष्य निर्माण गर्न कठिन हुन्छ भने हेक्का मधेश केन्द्रित दलले राखेको पाइँदैन । संघीयताको सवालमा मधेश केन्द्रित दलले खेलेका भूमिका प्रशंसायोग्य छ । तर आफैंले जन्माएको सन्तानको रेखदेख गर्नु पर्ने, रोल मोडल स्थापित गर्नु पर्ने ठाँउमा जसरी भूमिका निर्वाह गर्न सक्नु पर्दथ्यो त्यस्तो हुन सकेको छैन । त्यसको उदाहरण हेर्न मधेश प्रदेश सरकारले गरेको हर्कतबाट पुष्टि हुन्छ ।

कति कारणले तत्कालिन जसपा पुनः विभाजित हुन पुग्यो ? यो प्रश्नको उत्तर कुनैपनि पक्षले दिन सकेका छैनन । दुई वर्षमै जसपा दुईपटक विभाजित भयो । यो समान्य कुरा होइन । यसले समग्र मधेशको समाजिक, आर्थिक, साँस्कृतिक अर्थात समग्र उत्थानमा पर्ने देखिन्छ । मधेश केन्द्रीत दलको संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिन्छ ।

तत्कालिन राजपा र संघीय समाजवादी फोरम बीचको एकताले जुन शक्ति आर्जन गरेको थियो । विभाजन भएपछि दुवै पक्ष पुनः सोही गतिमा कमजोर बनेको सत्य भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामले पुष्टि गर्छ । संख्यात्मक रुपमा कसैको १–२ सिट कम बेसी होला तर यसको खास अन्त्र्य केलाउँदा जति सिट अहिले लोसपा र जसपा अन्य गठबन्धनसँग मिलेर जितेका छन, यदि यो दुई पार्टी एक भएर चुनाव लडेको भए संभवतः अहिले जितेको सिट भन्दा लगभग दोब्बरले बिना कसैको बैशाखी टेकी जित्ने कुरामा दुईमत थिएन ।

संघीयताको सवालमा मधेश केन्द्रित दलले खेलेका भूमिका प्रशंसायोग्य छ । तर आफैंले जन्माएको सन्तानको रेखदेख गर्नु पर्ने, रोल मोडल स्थापित गर्नु पर्ने ठाँउमा जसरी भूमिका निर्वाह गर्न सक्नु पर्दथ्यो त्यस्तो हुन सकेको छैन ।

जसपाबाट महन्थ ठाकुरहरु अलग भएको ११ महिनापछि सोही पार्टीबाट डा.बाबुराम भटटराई समुह निस्किने लगभग निश्चित भइसकेको छ । त्यसको आधिकारिक घोषणा हुन मात्र बाँकी छ । जसपाको वीरगञ्ज बैठकले बाबुराम भट्टराईसहित उहाँको पक्षमा लागेका नौजनालाई कारवाही गरिसकेको छ । पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । बाबुराम भट्टराई अध्यक्ष रहेको संघीय परिषद्मा अशोक राइलाई ल्याइएको छ । बाबुराम भट्टराई जसपाबाट अलग भएपछि त्यसले समग्र मधेशको राजनीतिलाई खासै असर पार्दैन । तर उहाँसँग महेन्द्रराय यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको छ । त्यसले थोरबहुत भएपनि मधेशमा फरक पर्न सक्छ ।

यद्यपी वर्तमान अवस्थामा जेजस्तो घटना भएपनि अन्तिम विकल्पको रुपमा मधेशवादी दलहरु एक हुनैपर्छ । यदि मधेशको मुद्दालाई अझै सशक्त ढङगबाट टिकाई राख्ने हो भने जसपा र लोसपा पुनः मिल्नुको विकल्प छैन । यी दुई दल मिलिसकेपछि अन्य सानातिना समूहलाई पनि साथमा लिएर हिड्नुपर्छ । मिल्नुअघि अब नागरिक समाज, युवा, बौद्धिक वर्गलाई पनि साक्षी राखेर भोलीका दिनमा कसको गल्ती र कमजोरीको कारण टुटफुटको स्थिती उत्पन्न भयो । जनतालाई जानकारी दिनका लागि भए पनि सहभागि गराउनु पर्दछ ।

ठूला राजनीतिक दललाई त मधेश केन्द्रित दल टुटफुट हुनुमा नै आफ्नो शक्ति आर्जन भएको ठान्छन् । यो कुरा कसैबाट लुकेको छैन । गएको निर्वाचनमा मधेश प्रदेशमा जुन सँख्यामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले सिट जितेका छन्, त्यसबाट त दुई मधेश केन्द्रित दल फुटले ठूला दल मालामाल भएको स्पष्टै छ नि । अहिले अब सवाल केवल जसपा, लोसपाको मात्रै रहेन, अब त झन वृहत गठबन्धन हुनु जरुरी छ । मधेश प्रदेशमा जसपा, लोसपा मात्रै होइन, डा.सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी पनि चुनावी अस्तित्वमा आई सकेको छ । जनमत पार्टीलाई पनि नजरअन्दाज गरेर जाने ठाउँ छैन ।

परिवारवाद र अवसरवादलाई तिलाञ्जली दिनुपर्छ । सामाजिक सञ्जाल र सूचना प्रविधिको व्यापकता कारण अब जनता हिजोको जस्तो भेडा ठान्ने प्रवृतिबाट नेतृत्व र नेता जति छिटो आफूलाई मुक्त गरेर आम नागरिकसँग संवाद स्थापित गरी आम जनता र भुईमान्छेसँग सल्लाह गरेर पाईला चाल्नुपर्ने हुन्छ ।

यता लुम्बिनी प्रदेशमा पनि हृयदेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशिल पार्टी र रेशम चौधरीले गठन गर्नुभएको नागरिक उन्मुक्ति पार्टीलाई वृहत गठबन्धनको बनाउनुपर्छ । यसमा ढिलो गर्नुहुन्न । आफनासँग बैरीको व्यवहार र प्रमुख सत्रु शक्तिसँगको साँठगाँठले फाइदा भन्दा बढी बेफाइदा हुने देखिन्छ । यदि अहिले नै यी कुराहरुमा ध्यान दिएन भने आउँदै गरेको संघ र प्रदेशको निर्वाचन पछि फुर्सदमा पछुताउनु बाहेक अरु कुनै उपाय हुँदैन ।

मधेश केन्द्रित दलहरुले गलत हर्कत गरेर आफना मतदातालाई चिढ्याउने काम तत्काल रोक्नु पर्दछ । ढोंगको राजनीतिक त्याग गर्नु पर्छ । इगोको राजनीतिकलाई त्याग गर्नुपर्छ । परिवारवाद र अवसरवादलाई तिलाञ्जली दिनुपर्छ । सामाजिक सञ्जाल र सूचना प्रविधिको व्यापकता कारण अब जनता हिजोको जस्तो भेडा ठान्ने प्रवृतिबाट नेतृत्व र नेता जति छिटो आफूलाई मुक्त गरेर आम नागरिकसँग संवाद स्थापित गरी आम जनता र भुईमान्छेसँग सल्लाह गरेर पाईला चाल्नुपर्ने हुन्छ ।

‘‘सकिने कि सच्चिने’’ अझै केही बिग्रेको छैन, समयमा सहि निर्णय गरेर अगाडि बढनुको विकल्प छैन । अगाडि भने झै ‘‘सकिने कि सच्चिने’’ निर्णय तपाईको हातमा छ, तपाईको निर्णयले तपाईको राजनीतिक भविष्य मात्रै सुनिश्चित हुँदैन यसमा आम मधेश जनताको भविष्य पनि जोडिएको हुनाले तपाईको निर्णय सकिने भन्दा सच्चिने तर्फ केन्द्रित हुनु जरुरी छ ।
(लेखक अनन्त अनुराग सञ्चारकर्मी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया