आत्मनिर्भरका लागि मसिनो धान

नेपालले मोटा धानको विकल्पमा मसिना धानको जातको विकास गरेका छ । नेपालमा मोटा धान उत्पादन भएपनि बासनादार र मसिनो धानको चामल खाने प्रचलन बढ्दै गएकाले चामल आयातमा वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गर्दै आएको छ । उपभोक्ताले मसिनो चामल खान थालेपछि सरकारले त्यसको उत्पादनमा वृद्धि गर्नका लागि त्यस जातको विकासमा जोड दिन थालेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले राष्ट्रिय खाद्य सुरक्षा विशेष कार्यक्रममार्फत मसिनो धान उत्पादन गर्न थालेको हो । मसिनो धानको उत्पादनका लागि विशेषगरी प्रदेश १ र मधेश प्रदेशलाई लक्षित गरेको छ । बीउ, प्रविधि, प्राविधिक र मसिना धान किन्ने मिललाई अनुदान सहयोग पनि गर्दै आएको छ ।

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ धनुषाका प्रमुख डा.रामवरण यादवका अनुसार यो चालु आर्थिक वर्षमा मात्र ४९ अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ । त्यसमध्ये सबभन्दा बढी मसिनो र बासनादार चामल नै रहेका छन् । सरकारले चामल आयात प्रतिस्थापन गर्नका लागि धान मिसन कार्यक्रमअन्तर्गत मसिना धान उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो ।

उपभोक्ता तथा किसानको चाहनालाई मध्यनजर गर्दै सरकारले विभिन्न मसिना जातका धानको विकास गरेको छ । त्यसमध्ये राष्ट्रिय बाली प्रजनन् तथा अनुवांशिक अनुसन्धान केन्द्रले विकास गरेको ‘खुमल १२’ र ‘खुमल १४’ गरी दुईवटा मसिना धानका जात राजपत्रमा पनि प्रकाशित भइसकेको छ । त्यस्तै, केन्द्रले ‘खुमल बासमती–१६’ धानको जात पनि विकास गरेको छ । त्यस्तै, मसिनो धानका लागि ‘गंगासागर–१’ र ’गंगासागर–२’ र ’हर्दिनाथ–५’ गरी तीन वटा धानका जातको विकास गरिएको छ । यी धानका जात पनि राजपत्रमा प्रकाशित भइसकेको छ । यसपालीदेखि किसानले प्रयोगमा पनि ल्याइरहेका छन् । यो जातको धान खासगरि तराई मधेशमा हुने डुवानलाई लक्षित गरेर विकास गरिएको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथका प्रमुख यादवले बताउनुभयो ।

खुमल–४ जस्तै खुमल–१२ र खुमल–१४ धानका जात हुन् । तर किसानले खुमल–४ रुचाउन छाडेका छन् । त्यसको विकल्प खोज्न थालेपछि केन्द्रले यो जात विकास गरेको केन्द्रका धान विज्ञ उज्ज्वल कुशवाहाले बताउनुभयो । खुमल–१२ र खुमल–१४ आइसकेपछि खुमल–४ आफै विस्थापित हुने केन्द्रले जनाएको छ । खुमल–१२ र खुमल–१४ को प्रति हेक्टर उत्पादन करिब ५ मेट्रिक टन रहेको छ । यो लगाएको एक सय ४५ दिनदेखि ४७ दिनमा पाक्छ ।

‘खुमल बासमती–१६’ जातको धान मध्यपहाडी लागि सिफारिस गरिएको छ । मध्यपहाडी क्षेत्रका लागि यो नै पहिलो मसिनो र बासनादार जातको धान विकास भएको हो । यसअघि विकास भएको जातले राम्रो उत्पादन नदिएपछि किसानले रुचाउन छाडि सकेका छन् । खुमल बासमती–१६ को उत्पादन प्रति हेक्टर चार मेट्रिकटन रहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया