एकता होइन, गठबन्धन गर (सम्पादकीय)

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच पुनः एकताको कुरा चर्चामा आएको छ । एकता नभए गठबन्धन पनि गरौं भन्ने पनि कुरा बाहिर आएको छ । अहिलेसम्म आएको कुरा अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट यो प्रस्ताव आएको हो । त्यो प्रस्ताव पनि उहाँले लोसपाका आधिकारिक व्यक्तिसमक्ष गर्नुभएको छैन । जनकपुरमा पत्रकार सम्मेलन गरेर नै एकताका लागि प्रस्ताव गर्नुभएको छ । त्यसलाई आधिकारिक नै मान्नु पर्छ । जसपाको निकट प्रेस मञ्चले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उहाँले लोसपालाई एकताका लागि आहवन गर्नुभयो ।

तर लोसपाले हालसम्म त्यसका लागि औपचारिक प्रतिकृया देखाएको छैन । लोसपाका नेताहरुको भनाई अनुसार जसपाबाट एकता वा गठबन्धनका लागि त्यस्तो कुनै प्रस्ताव आएको छैन । हामीले पनि विभिन्न सञ्चारमाध्यमबाट नै यो कुराको बारेमा थाह पाएका हौं, जुनदिन औपचारिक जानकारी आउँछ त्यो दिन हामीले यसको बारेमा प्रतिकृया दिन्छौं, भनिरहनु भएको छ ।

तर यो प्रस्ताव जुन जे माध्यमबाट आएपनि सकारात्मक प्रस्ताव हो । यसको बारेमा दुवै दलले एकपटक विचार गर्नुपर्छ । मधेशको अधिकार र पहिचान प्राप्तिका लागि यी दुई दल मिल्नुको विकल्प छैन । एकता सम्भव नभए गठबन्धन वा चुनावी मोर्चा बनाउनु पर्छ । भर्खर एकीकृत भएको पार्टी विभाजन भएको छ । फेरि एकता गर्यो भने त्यसको नराम्रो सन्देश जान्छ ।

र, दुई दलबीच एकता सम्भव पनि छैन । एकता सफल हुँदैन भनि प्रयोग भइसकेको छ । एकता गरेपनि लामो समयसम्म एकिकृत रहन सक्दैन । त्यसलै गठबन्धन वा चुनावी मोर्चा बनाउनु आवश्यक छ । र, यो मधेशी जनताको चाहना र माग पनि हो । मधेशी जनताको चाहना पार्टी एकता होइन, गठबन्धन वा मोर्चा नै हो । दुईटै पार्टी अलग अलग रहोस् तर चुनावमा एक भएर आओस् रहेको छ । सदनदेखि सडक, सरकारदेखि सरोकारसम्म मोर्चाको रुपमा दुईटै दल आउनुपर्छ ।

जबजब यी दुई दल मोर्चा बनाएर आन्दोलन गरे वा कुनै कुरामा साथ साथ हिडे, त्यो सफल भएको देखिन्छ । जब यी दुई दल अलग हुन्छन् अनि कमजोर भएको देखिन्छन् । पहिलो संविधानसभा चुनावमा भर्खर भर्खर आन्दोलन भएको थियो । मोर्चा बनाएर आन्दोलन गरेको थियो । चुनाव अलग अलग लडेपनि जनता दुवै पार्टीसँगै गएका थिए । मतदाताले आफ्नो सुझबुझ अनुसार दुवै पार्टीलाई मतदान गरे । संविधानसभामा राम्रै उपस्थिति थियो । तर २०७० को संविधानसभा चुनावमा दुवै पार्टीबीच त्यति राम्रो सम्बन्ध थिएन ।

मोर्चाबन्दी पनि त्यति सफल थिएन । दुवै दलबीच मनमुटाव नै थियो । चुनावमा नराम्रो अवस्था भयो । २०७४ को चुनावमा स्थानीय तहको चुनावमा दुवै दलले चुनावी मोर्चाबन्दी गरेका थिएनन् तर प्रदेश र संघीय चुनावमा मोर्चाबन्दी गरे । त्यसले राम्रो नतिजा देखायो । प्रदेशदेखि संघसम्म दुवै दलको राम्रो उपस्थिति भयो ।

दुवै दलले मधेश प्रदेशमा सरकार नै बनाउन सफल भए । दुवै दलको पोजिसन राम्रै गइरहेको थियो जब २०७७ बैशाख १० गते मध्यराती दुवै दलको बीचमा एकता भएर जसपा बन्यो अनि सबै भताभुङ भयो । एकताको सन्देश राम्रो गएपनि आन्तरिक रुपमा त्यसलाई नेताहरुले व्यवस्थापन गर्न सक्नु भएन । एकता भएको ६–७ महिनामा नै दुवै दलबीच खटपट सुरु भयो । र, अन्त्यमा विभाजन भयो । जसपाबाट महन्थ ठाकुरहरु अलग भएर लोसपा बनाउनुभयो ।

अहिले त्यही जसपा र लोसपाबीच एकता वा गठबन्धनको कुरा चर्चामा आएको छ । एकता नभएपनि दुवै दलको बीचमा चुनावी गठबन्धन बन्नुपर्छ । एकता वा गठबन्धनका लागि प्रस्ताव जहाँ जुन स्रोतबाट आएपनि दुवै दल पहिलाका तितामिठा कुरा बिर्सेर मधेशको अधिकार र पहिचानका लागि भएपनि दुवै दल एक हुनुपर्छ ।

तपाईको प्रतिक्रिया