काठमाडौँको सडकमा पठाओ कुदाएर दुई छाक टार्ने संघर्ष गरिरहेका गणेश नेपालीको आत्मदाह केवल एउटा व्यक्तिको दुःखान्त अन्त्य मात्र होइन; यो देशमा व्याप्त चरम बेरोजगारी, नागरिकको असीमित पीडा र राज्यको संवेदनहीनताको एकैचोटि उजागर भएको भयानक ऐना हो । रोजगारीका अवसरहरू सुक्दै गएको मुलुकमा आफ्नै पसिना बेचेर बाँच्न खोज्ने एउटा नागरिक जब सडकमै आफैँलाई आगो लगाउन विवश हुन्छ, तब वर्तमान राज्य प्रणाली, शासन पद्धति र समग्र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिह्न खडा हुन्छ ।
दैनिक घरव्यवहार चलाउने र परिवारको छाक टार्ने चिन्ता बोकेर काठमाडौँका गल्लीहरूमा यात्रु पर्खिरहेका गणेशको जीवनमा जब महानगरपालिकाको ‘लक’ लाग्छ, तब त्यो लक केवल मोटरसाइकलको चक्कामा मात्र होइन, उनको बाँच्ने आशा र सुझबुझमा पनि लाग्छ । त्यसपछि उसको सुझबुझ हराउछ । आफू कहाँ छु, को छु सबै बिर्सिन्छ र उसले सझैका लागि आफूलाई ‘लक’ लगाउछ । ट्राफिक नियमको पालना हुनुपर्छ र सडक व्यवस्थापन आवश्यक छ, यसमा कसैको दुई मत हुन सक्दैन। तर, नियम कार्यान्वयन गर्ने निकाय र सडकमा खटिने महानगर प्रहरीले नागरिकको बाँच्ने संघर्ष र उनको मनोदशालाई कत्तिको बुझ्न सकेका छन् ? नियमको डण्डा बर्साउँदै गर्दा त्यहाँ मानवीय संवेदना र विवशताको कति सम्मान हुन्छ ? यो आजको टड्कारो प्रश्न हो ।
जरिवानाको अंक सम्झँदा ओत लाग्ने ठाउँ नदेखेर छटपटाएका गणेश नेपालीले नगर प्रहरीसँग सवाल–जवाफ गरे, तर राज्यको कठोर संयन्त्र र शक्तिका अगाडि उनी पराजित भए । त्यही पराजय र भविष्यको अन्धकारले उनलाई आफ्नै सवारीसाधनको तेल झिकेर जिउमा आगो सल्काउने आत्मघाती निर्णयसम्म पु¥यायो । यो घटनाले के देखाउँछ भने, हाम्रा नियम र प्रशासनिक शैलीहरू नागरिकलाई सुधार्ने वा व्यवस्थित गर्नेभन्दा पनि उनीहरूलाई पाखा लगाउने र आतङ्कित पार्ने प्रकृतिका बन्दै गएका छन् । सरकारले ट्राफिक नियम उल्लघंन गर्दा लाग्ने जरिवाना जुन तोकेको छ त्यो नेपालीको हैसियतभन्दा धेरै बढी हो । एकपटक जरिवानामा पर्यो भने महिना, दुई महिनाको कमाइ त्यसैमा जान्छ । त्यो सोचेर धेरै नेपाली चिन्तामा छन् त्यसेको प्रतिबिम्ब गणेश नेपालीले देखाएका हुन् ।
पठाओ वा अन्य राइड सेयरिङ माध्यमहरू आज हजारौँ बेरोजगार युवाहरूका लागि जीवन धान्ने एउटा सानो सहारा बनेका छन् । राज्यले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको अवस्थामा नागरिक आफैँले खोजेको यो वैकल्पिक स्वरोजगारलाई सहज र मर्यादित बनाउनुको सट्टा केवल बन्देज, जरिवाना र सास्तीको भारी बोकाउनु कत्तिको न्यायसङ्गत हो ? गणेश नेपालीको आत्मदाह बेरोजगारीले निम्त्याएको चरम निराशाको एउटा प्रतिनिधि रूप हो । यदि राज्यले अझै पनि नागरिकका यी आधारभूत पीडा, आर्थिक छटपटी र सडकका सास्तीहरूलाई नजरअन्दाज गरिरहने हो भने, व्यवस्थाप्रतिको जनआक्रोश अझ भयानक रूपमा विस्फोट हुन सक्छ । अब केवल जरिवाना असुल्ने र लकिङ गर्ने प्राविधिक नियममा मात्र होइन, नागरिकको पेट र पीडा बुझ्ने मानवीय शासन पद्धतिको खाँचो छ । गणेश नेपालीको यो दुःखद कदमले ब्युँझाउन खोजेको राज्यको चेत अब तरी पनि ब्युँझियोस् ।

तपाईको प्रतिक्रिया