उपेन्द्र यादव सप्तरी–२ मा छैनन् कमजोर

काठमाडौँ साउन २१ गते । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेपछि अहिले सो क्षेत्रले चर्चा पाएको छ । सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव जित्नु भएको छ ।

यसपटक पनि उहाँले त्यहीबाट चुनाव लड्ने तयारी गरिरहनु भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत त्यहाँबाट चुनाव लड्ने घोषणा गरेपछि त्यहाँ विभिन्न हिसाब किताब हुन थालेका छन् । जसपाका नेता शम्भु झा (सप्तरी) ले जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तर २ का लागि कमजोर हुनुहुन्न, उहाँ अत्याधिक मतले जित्नु हुने दावी गर्नुभएको छ । स्थानीय तहको मत परिणामको हिसाब गर्दा उपेन्द्र यादव अत्याधिक मतले जित्ने उहाँको दावी छ ।

स्थानीय तहको मत हेर्दा सो क्षेत्रमा अहिले पनि जसपाका अध्यक्ष उपेन्द्र यादव सबभन्दा बलियो देखिनु भएको छ । स्थानीय तहको मत परिणा हेर्दा सो क्षेत्रमा जसपाले १४ हजार ४२६, काँग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले नौहजार ६३९, एमालेले पाँच हजार ९५०, जनमत पार्टीले चार हजार ५४२, नेकपा एकीकृत समाजवादी पार्टीले दुईहजार ३५१ र राप्रपा ८२० मत ल्याएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ मा जम्मा ३७ वटा वडाहरु छन् । त्यसमध्ये १३, माओवादी केन्द्रले ७, लोसपा– ६, एमाले–३, जनमत–३, काँग्रेस–२, नेकपा(एस)–२ र राप्रपा–१ सीटमा विजयी भएका छन् । जसपा पाँच दलीय गठबन्धनमा रहेको छ । गठबन्धनका टिकट बाँडफाँडमा जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट पाउने निश्चित छ । गठबन्धनले सो क्षेत्रमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने ३७ हजार २२३ मत जसपालाई आउँछ । गठबन्धन दलबाहेक जो कोही त्यो क्षेत्रमा आए चुनाव जित्न मुस्किल छ ।

तपाईको प्रतिक्रिया