Khadya Bibhag

उपेन्द्रलाई हराउन राजेन्द्रको काँधमा बन्दुक

संघ र प्रदेशको चुनावको मिति घोषणा हुन बाँकी छ । चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा नेताहरु आआफ्नो चुनावी क्षेत्र खोजी तथा सुरक्षित गर्नमा लागेका छन् । कतिपय ‘हेवीवेट’ नेताहरुको पनि चुनावी क्षेत्र हालसम्म सुनश्चित तथा सुरक्षित भएको छैन । कतिपय नेताको सुरक्षित र सुनिश्चित भएपनि त्यहाँ चुनाव जित्नका लागि कसरी, कोसँग तालमेल गर्ने जोगारमै लाग्नु भएको छ ।

कसैलाई चुनाव हराउन, कसैलाई जिताउन पनि नेताहरु चलखेलमा लाग्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो क्षेत्रमा पनि चुनौती छ । रेशम चौधरीले गठन गर्नुभएको नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री देउवाका लागि चुनौती बनेको छ । उन्मुक्ति पार्टीबाट लक्ष्मण थारु प्रधानमन्त्री देउवाको क्षेत्रमा चुनाव लड्ने तयारी थाल्नुभएको छ । यद्यपी उहाँलाई कानुनले साथ दिन्छ कि दिँदैन त्यो बेग्लै कुरा हो तर लक्ष्मण थारुले त्यसको तयारी थालि सक्नु भएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट चुनाव लड्ने भन्नुभएको छ तर एक्लै चुनाव जित्न उहाँलाई पनि गाह्रो छ । त्यही भएर काँग्रेससँग चुनावी तालमेल गर्ने तयारीमा उहाँ लाग्नु भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि चुनाव जित्न चुनौती छ । उहाँले काठमाडौँबाट चुनाव लड्ने कि रौतहटबाट त्यो कुराको टुगों अझै लागेको छैन । अघिल्लो चुनाव काठमाडौँबाट जित्नु भएका उहाँ यसपटक रौतहटबाट चुनाव लड्ने मन बनाउनु भएको छ । स्रोतका अनुसार काठमाडौँमा चुनाव जित्न गाह्रो देखेपछि उहाँ काठमाडौँ छाडेर रौतहट जान लाग्नु भएको हो । यद्यपी रौतहट पनि उहाँका लागि त्यति सुरक्षित ठाउँ होइन तर गठबन्धनबाट चुनाव लड्नु भयो भने जित्ने सम्भावना पनि रहेको उहाँ निकट नेताहरु बताउनु हुन्छ । काठमाडौँमा गठबन्धन गरेपनि अध्यक्ष नेपाललाई चुनाव जित्न गाह्रो छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि झापामा यसपटक संकट देखिएको छ । उहाँ पनि चुनावसम्म कुनै नकुनै दलसँग तालमेल गरेर निर्वाचनमा भिड्ने तयारीमा लाग्नु भएको छ । गठबन्धनका लागि दलहरुको खोजीमा उहाँ रहनु भएको छ । पाँच दलीय गठबन्धनका कारण स्थानीय चुनावमा क्षति भएको निष्कर्ष निकाल्दै एमालेले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्नका लागि गृहकार्य गरिरहनु भएका छ ।

त्यसैगरि, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उहाँको चुनावी क्षेत्र सप्तरी–२ बाट हराउने प्रयास भइरहेको छ । त्यसलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई अगाडि सार्ने प्रयास भइरहेको छ । सप्तरी–२ मा लोसपाका उम्मेदवार जयप्रकाश ठाकुर हुनुहुन्छ ।

तर उहाँले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउन सकिदैन भन्दै त्यहाँ वरिष्ठ नेता राजेन्द्र महतोलाई पठाउन लागेको हो । सप्तरी गजेन्द्रनारायण सिंहको जन्मथलो हो । गजेन्द्रनारायण सिंहको अनुयायी गजेन्द्रसिंहलाई मानिन्छ । र, गजेन्द्र नारायण सिंहको नामबाट राजेन्द्र महतो त्यहाँबाट चुनाव जित्ने लोसपाका कतिपय नेताको आँकलन छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक जसरी पनि हराउनुपर्छ भनि लोसपाका कतिपय नेताहरुले कम्मर कसेर लाग्नु भएको छ । र, त्यसमा वरिष्ठ नेता राजेन्द्र महतोलाई उक्साई रहेका छन् । अर्थात राजेन्द्र महतोको काँधमा बन्दुक राखेर चलाउने प्रयास भइरहेको छ । यद्यपी नेता महतो सप्तरी जान इच्छुक हुनुहुन्न । उहाँ धनुषाबाट नै चुनाव लड्ने सोचमा हुनुहुन्छ ।

धनुषाबाट नै चुनाव लड्ने भनि तयारीमा लाग्नु भएको छ तर उहाँलाई धनुषा छाड्न यसपटक पनि अनेक दवाव आइरहेको छ । कसैले सर्लाही जा भन्छन्, कसले सप्तरी जान भन्छन् । नेता महतो निकट एक नेताले भन्नुभयो, यो सब विमलेन्द्र निधिका कारणले भइरहेको छ । विमलेन्द्र निधिले यसपटक राजेन्द्र महतो कुनै पनि हालतमा धनुषा– ३ बाट चुनाव नलडोस् भनि चाहनु भएको छ र उहाँकै कारणले महतोलाई कहिले कता जा भन्छन्, कहिले कता जा भन्छन् ।’

लोसपाका नेता महतो सप्तरी जानु भएन भने जनमत पार्टीका अध्यक्ष सिके राउतलाई त्यहाँ पठाउने तयारी भइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्ध कुनै चर्चित अनुहार अर्थात हेभी वेटका नेता नै लड्नुपर्छ अनि मात्र उहाँ ‘डाइमेज’ अर्थात हराउन सकिने भएकाले त्यहाँ महतो नगए सिके राउतलाई पठाउनेसम्मको रणनीति बनिरहेको छ । सिके राउत वा राजेन्द्र महतो पनि त्यहाँ जानु भएन भने उपेन्द्र यादव जस्तै कुने हेभीवेट नेतालाई त्यहाँ पठाउने गृहकार्य समेत भइरहेको लोसपाका एक नेताले सहारा टाइम्सलाई बताउनुभयो । यसपटक जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने अभियान चलाईने भएको छ । उपेन्द्र यादव जहाँ जानु हुन्छ त्यही उहाँलाई हराउने रणनीति बन्नसक्छ, ती नेताले बताउनुभयो ।

सप्तरी–२ उपेन्द्रको शक्ति
जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ का लागि कमजोर दिखिनु भएको छैन । स्थानीय तहको मत परिणामको हिसाब गर्दा उपेन्द्र यादवको विरुद्ध जस्तोसुकै हेभी वेट लागेपनि उहाँ चुनाव जित्ने तथ्यांकले बताउँछ । स्थानीय तहको मत हेर्दा सो क्षेत्रमा अहिले पनि जसपाका अध्यक्ष उपेन्द्र यादव सबभन्दा बलियो देखिनु भएको छ । स्थानीय तहको मत परिणा हेर्दा सो क्षेत्रमा जसपाले १४ हजार ४२६, काँग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले नौहजार ६३९, एमालेले पाँच हजार ९५०, जनमत पार्टीले चार हजार ५४२, नेकपा एकीकृत समाजवादी पार्टीले दुईहजार ३५१ र राप्रपा ८२० मत ल्याउएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ मा जम्मा ३७ वटा वडाहरु छन् । त्यसमध्ये १३, माओवादी केन्द्रले ७, लोसपा– ६, एमाले–३, जनमत–३, काँग्रेस–२, नेकपा९एस०–२ र राप्रपा–१ सीटमा विजयी भएका छन् । जसपा पाँच दलीय गठबन्धनमा रहेको छ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट पाउने निश्चित छ ।

गठबन्धनले सो क्षेत्रमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने ३७ हजार २२३ मत जसपाले पाउँछ । गठबन्धन दलबाहेक जो कोही त्यो क्षेत्रमा आए चुनाव जित्न मुस्किल छ । हालसम्म जनमत पार्टी, लोसपा र एमालेले कुनै दलसँग गठबन्धनको घोषणा गरेका छैनन् । हालसम्म एक्ला एक्लै चुनाव लड्ने परस्थिति देखिएको छ । यद्यपी गठबन्धन बनाउने प्रयासमा ती लागेका छन् ।

तपाईको प्रतिक्रिया