जसपा नेतासमक्ष राष्ट्रपति भण्डारीको यस्तो गुनासो

काठमाडौँ भदौं २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी नेपालका नेताहरु समक्ष गुनासो गर्नुभएको छ ।
उहाँले आफूले प्रतिनिधिसभालाई दिएको सुझाव नमानेको भनि गुनासो गर्नुभएको छ ।

नागरिकता विधेयकलगायत अन्य समसामयीक विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने क्रममा सो गुनासो गर्नुभएको हो । नागरिकता जस्तो संवेदनशिल विषयमा आफूले प्रतिनिधिसभालाई सुझाव पठाएको तर त्यसलाई पन्छाएर जस्ताको त्यस्तै विधेयक पारित गरेको गुनासो गर्दै राष्ट्रपति भण्डारीले नागरिकता जस्तो संवेदनशिल विषयमा संसद तथा पार्टीहरुले हतार गर्न नहुने धारणा राख्नु भएको छ ।

विधेयक प्रमाणिकरणको विषयमा आफूले विज्ञ तथा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको धारणा राख्दै उहाँले केही दिनमै त्यसको बारेमा कुनै निष्कर्षमा पुग्ने बताउनुभयो ।

त्यसको जवाफमा जसपाका नेताहरुले नागरिकताको समस्या एउटा कुनै समुदाय तथा क्षेत्र विशेषको मात्र नभएर देशैभरीको समस्या रहेको भनेका थिए । नागरिकताको समस्या समाधान नहुँदा देशकै थुप्रै युवा अनागरिक भएको धारणा जसपाका नेताहरुले राखेको स्रोतले जनाएको छ । नागरिकता नहुँदा पढाई लेखाईदेखि लिएर रोजगारलगायत अन्य धेरै कुरामा असर परेको हुनाले त्यस विधेयकलाई प्रमाणिकरण गरी नागरिकता प्राप्तिलाई सहज बनाई दिन नेताहरुले राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया