सहारा टाइम्स सिर्फ एक पत्रिका मात्र होइन । यो एक मिसन हो । यसको १३ वर्षे यात्रालाई मात्र पहिल्याउने हो भने सबै कुरा स्पष्ट हुन्छ । पिछडिएका समुदाय जसको अवाजलाई राज्यले दवाएर राखेको छ, ती अवाजलाई बाहिर ल्याउने प्रयास हामीले गरेका छौ । र अगामी दिनमा पनि हाम्रो त्यही प्रयास रहने हामी प्रतिवद्धता जनाउन चाहन्छौं ।
त्यसका लागि तपाई सम्पूर्ण पाठकको सहयोग हामीलाई चाहिन्छ । तपाईहरुको सहयोग, सुझावले हामी एक पाइला पनि अगाडी बढ्न सक्दैनौं । प्रत्येक महिनाको १ र १६ गते पत्रिका प्रकाशित भएर बजारमा जान्छ र त्यसपछि तपाईहरुको आउने प्रतिकृया र सुझावले हामीलाई झन उत्साहित बनाउँछ, हो हामीले त्यस्तै सुझावको अपेक्षा गरेका छौं । हामीसँग पूँजी छैन । हामी व्यवसायीक हुन सकेनौं । विज्ञापनमा हामी प्रतिस्पर्धा गर्न सकेनौं । ठूला ठूला कर्पोरेट मिडियाको प्रतिस्पर्धामा हामी बजारमा हस्तक्षेप गर्न सकेनौं । त्यही भएर हामी साना लगानीका मिडिया भन्छौं ।
तपाई विज्ञापनदाता, सहयोगी, शुभेच्छुकको सहयोगबाट यो पत्रिका चलिरहेको छ । सानो लगानीमा १३ वर्षदेखि नियमित प्रकाशित हुनु आफैमा धेरै ठूलो कुरा हो । कतियौं पटक त पत्रिका बन्द गरिहालौं । यसका लागि किन दुख गर्ने भनि पनि लागेको थियो तर तपाईहरुकै सुझाव र शुभच्छाका कारण यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौं र अगामी दिनमा पनि मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारुलगायत पिछडिएको समुदायका लागि हामी अवाज उठाउने छौं भनि प्रतिवद्धता जनाउन चाहन्छौं ।
सोशल मिडिया, अनलाइन मिडियाको यो प्रतिस्पर्धाको समयमा पत्रिका प्रकाशन गर्नु चुनौती छ । संसारका कुनै पनि समाचार पाठकले एक क्लिकमै क्षणभरमा जानकारी लिन्छन् भने त्यही बासी समाचार पत्रिका किनेर किन पढ्छ त ? हामी कुरामा निकै सचेत छौं । हाम्रो प्रयास भनेको यस पत्रिकाको हरेक अंकमा केही नयाँ समाचार पढ्न पाइयोस् भन्ने रहेको छ ।
तपाईको हातमा सहारा टाइम्स गएपछि रद्दीको टोकरीमा मिल्काउने अवस्था न आओस् भनि हाम्रो प्रयास हुनेछ । र, त्यो प्रयासमा हामी प्रतिवद्ध भएर लागेका छौं, अगामी दिनमा पनि हाम्रो त्यही प्रयास रहने प्रतिवद्धता जनाउन चाहन्छौं । त्यसका लागि जसरी १३ वर्षसम्म हामीलाई माया गर्नुभयो त्यस्तै माया पाइ राखौं भनि तपाईबाट अपेक्षा छ ।


तपाईको प्रतिक्रिया