फाटेको जुत्ता, चंगा चैट, भोर, आमा–३, छक्का पञ्जा ३, दहेज जस्ता नेपाली फिल्ममा अभियनय गरिसक्नु भएका रामनारायण ठाकुरलाई मैथिली रंगमञ्चमा हाँसोको पर्याय मानिन्छन् । कला र अभिनय रुचाउने कतिपय व्यक्तिहरुलाई उहाँको नाम याद आउने वित्तिकै मुस्कुराउन थाल्छन् । उहाँलाई मैथिली रंगमञ्चका एक सफल कालाकारको रुपमा लिइएको छ । उहाँ नेपाली रंगमञ्चको माध्यमबाट सबैलाई हँसाउने काम गर्नुभएको छ ।
२०१९ भदौ ४ गते जनकपुरधाम उपमहानगरपालिका–१५ मा जन्मनु भएका रामनारायण ठाकुर १०–१२ वर्षको उमेरदेखि नै कलामा रुचि राख्न थाल्नु भएको छ । मध्यमवर्गीय परिवारमा जन्मनु भएका उहाँलाई घरको कामकाजमा व्यस्त हुनु पथ्र्यो । तर फुर्सद भयो भने गाउँघरमा चकचके स्वभावमा उत्रिनु हुन्थ्यो । साथी भाइलाई मनोञ्जन दिनुहुन्थ्यो । अरुको नक्कल गर्ने बानीले आफूले कयौँ पटक कुटाई समेत खानुपरेको स्मरण उहाँको मनमस्तिष्कमा ताजै छ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एउटा टेलिफिल्म छ, एसएलसी प्रसाद । जसमा हरिवंश एसएलसीमा धेरै पल्ट फेल हुनुहुन्छ । वास्तविक जीवनमा पनि हरिवंश पहिले फेल पछि थर्ड डिभिजनमा पास हुनु भएको थियो । ठ्याक्कै रामनारायण ठाकुरको जीवनमा पनि त्यस्तै भएको छ । चार पटकसम्म एसएलसीमा फेल हुनु भएका उहाँ । पाँचौ पटकमा मात्र उहाँले प्रथम श्रेणीमा उत्तीर्ण गर्नु भएको थियो । तर अभिनयको दुनियाँमा उहाँ सधैं अब्बल नै रहनु भयो ।
सानोमा उहाँ अभिनयभन्दा बढी नृत्यतर्फ प्रभावित हुनुहुन्थ्यो ।
बाल्यकालदेखि नै स्कूलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उहाँ नृत्यका साथै गायनको प्रस्तुती दिनुहुन्थ्यो । एक पटक उहाँ धनुषाको बभनगामाको सामुदायिक विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो । उहाँको नृत्य दर्शकले निकै मन पराए । उहाँले त्यो दिनलाई सम्झदै भन्नुभयो, ‘मेरो नृत्य हेरेर मैथिली नाटकका धरोहर महेन्द्र मलंगियाले मलाई मिथिला नाट्य परिषद् (मिनाप) मा अभिनयको लागि प्रेरित गर्नुभयो ।

आज उहाँकै प्रेरणाको कारण म यहाँसम्म आइपुगेको छु ।’ सुरु सुरुमा रामनारायणको अभिनय धेरैले मन पराएनन् । निराश बनेका उहाँलाई आफ्नै ठूल्दाई लक्ष्मी ठाकुरले मनोबल बढाउनु भएको थियो । कलाकारितामा खारिँदै गएपछि उहाँ हास्य कलाकारको फरक परिचय बनाउन सफल हुनुभयो । रामनारायण ठाकुरको प्रस्तुति हेरेर अहिले पनि दर्शकको मन आनन्दीत हुन्छ । उहाँ एकल संवादमा पनि मञ्चमा उभिएर दर्शहरूलाई गुदगुदी पैदा गर्नुहुन्छ ।
अभिनयको शृङखला
नेपालको पहिलो मैथिली टेली फिल्म ‘मिथिलाक व्यथा’, काठक लोक, बाबा, शान्ति, कनियाँ पुत्रा, अन्हरजाली, सृष्टी, आमा २ लगायतका टेली फिल्महरुमा उहाँले अभिनय गरिसक्नु भएको थियो ।
यसका अतिरिक्त मैथिली नाटकहरु पुष जाढ की माघ जाढ, गाम नै सुतैय, ओकरा आँगनक बारहमासा, छुतहा घैल, ओ खाली मुह देखैछै, एक टुक्रा पाप, छमादान, ओरिजनल काम, प्रेत चाहए असौच, एकटा छल गदहा लगायतका दर्जनौं नाटकहरुमा उहाँले अभिनय गर्नुभएको छ । त्यसैगरी मैथिली फिल्म आउ पिया हमर नगरी, छुटत नै प्रेमक रंग, मुखियाजी आदि फिल्ममा समेत ठाकुरले अभिनय गर्नुभएको छ ।
मुखिया जी, प्रितम सहितको मैथिली फिल्ममा समेत हास्य रसको चास्नी पस्किनु भएको उहाँ नेपाली फिल्म फाटेको जुत्ता, चंगा चैट, भोर, आमा–३, छक्का पञ्जा ३, दहेजमा पनि उहाँको अभिनय रहेको छ । मह जोडीसँग कलाजार, सृष्टिलगायत टेलिश्रृखंला अभिनय गर्नुभएको छ । उहाँले सङ्गोर, कथा मीठो सारंगीको, ज्ञान शक्ति अछि लगायत रेडियो नाटकमा समेत अभिनय गर्नुभएको छ ।
गाउँघरको कार्यक्रममा मैथिली या नेपालीमा आफ्नो नामको उद्घोष हुँदा आफूलाई स्वागत गर्न आतुर दर्शकको क्रेज देख्दा उहाँलाई शान्ति प्राप्त हुन्छ । उहाँ मनमनै गौरवान्वित हुनुहुन्छ । तर अभिनयमा ठाकुरको चौतर्फी प्रशंसा भए पनि उहाँ आफै भने सन्तुष्ट हुन सकेका छैनन् ।
भन्छन्, ‘रंगमञ्चका लागि जुन हिसाबबाट मैले त्याग गरे ।
त्यस अनुसार परिणाम प्राप्त गर्न सकिनँ । तर यसको अर्थ यो होईन कि म पूर्णरूपमा असन्तुष्ट नै छु’ रामनारायण ठाकुरले भन्नुभया ।
नसाले छाडे जागिर
रामनारायण ठाकुरले एसएलसीपछि काठमाडौंमा सब–ओभरसियर पढ्नुभयो । हुन त उहाँ इन्जिनिरिङ अध्ययन गर्न काठमाडौ आउनु भएको थियो तर पाँच वर्ष लगाएर उहाँ सब ओभरसियर पढ्नु भयो ।
कोर्स पूरा गरी सिँचाइ कार्यालयदेखि भूकम्प पीडित परियोजनामा काम गर्नुभयो । तर उहाँमा अभिनयको यस्तो भूत सवारको थियो कि सरकारी जागिरदेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासम्मको जागिर छाडेर कलाकारिता क्षेत्रमै रमाउनुभयो । जागिर छाडेको कारण उहाँलाई आर्थिक अवस्थाका कारण घर व्यवहार धान्न मुस्किल भइरहेको छ तैपनि उहाँ यही क्षेत्रमा रहनु भयो ।
जागिर गर्ने बेला नाटक गर्नका लागि विदा नपाउँदा उहाँले त्यो जागिरबाट विदा हुनुभयो ।
नेपाली भाषी कलाकारबाहेक अन्य भाषाको कलाकारहरूलाई राज्य पक्षबाट खास सहयोग नभएको उहाँको गुनासो छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरको रुपमा परिचित जनकपुरधाम कलाको हिसाबले नेपालमै एउटा छुट्टै पहिचान भएको ठाउँ हो । तर कला क्षेत्रमा राज्यले ध्यान नदिएका कारण नयाँ कलाकार समेत टिक्न चुनौतीपूर्ण अवस्था रहेको उहाँको भनाई छ । अब स्थानीय कलाकारले आफ्नो ठाउँ र गाउँको कला संस्कृतिलाई अर्थोपार्जनसँग जोडेर समृद्ध बनाउनुपर्ने उहाँको भनाई छ ।
परिवारभन्दा ठूलो नाटक
नाटक प्रति उहाँको त्याग र समर्पण थियो कि नाटकका सामु उहाँले परिवार वा निजी जीवनलाई कहिल्यै प्राथमिकता दिनुभएन । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उहाँको आमा सत्यादेवी प्यारालाइसिस रोगले ग्रसित हुनुभयो । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिएका थिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लग्नु भएको थियो । उहाँ र उहाँका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् ।
यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उहाँलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गर्नुभयो तर, उहाँ आमाको स्याहारका लागि घर फर्किनुभयो । दुई दिन पछि उहाँको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उहाँ काठमाण्डौ प्रस्थान गर्नुभयो । नाटक गर्नकै लागि उहाँ काठमाण्डौ पुग्दा उहाँका सहकर्मीहरु पनि आश्चर्य चकित भएका थिए । काठमाण्डौमा नाटक गरेर उहाँ सबै कलाकारसँगै घर फर्किए ।
एक पटक प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सवमा सहभागी हुनु थियो । तर, त्यो बेला उहाँका बुवा सियाशरण ठाकुर पनि आफ्नो जीवनको उत्तरार्धमा हुनुहुन्थ्यो । उहाँले खानापानी सबै त्यागी सक्नु भएको थियो । तर पनि रामनारायण ठाकुरले बुवाको माया मारेर नाटकलाई प्राथमिकता दिनुभएको थियो । काठमाण्डौ पुगी नाटक महोत्सवमा सहभागी भई ‘प्रेत चाहे असौच’ नाटक मन्चन गरी विवाह पञ्चमीका दिन जनकपुर फर्किनुभयो ।
फलफूल किनेर घर आउँदा टोलामा पनि सबैले ए रामनारायण आई पुगिस् । धेरै राम्रो गरिस भनेर भन्यो । बास्तवमा उहाँ घर पुग्दा उहाँको बुवाको श्वाँस चलिरहेको थियो । उहाँ पनि आफ्नो छोराको प्रतिक्षामा थिए । रामनारायणलाई हेर्ने वित्तिकै उहाँको बुवाको आँखाबाट आँसु झर्न थाल्यो । रामनारायणले आफ्नो बुवाको आँसु पुछ्नुभयो । त्यसको केही घण्टा पछि नै बुवाको देहान्त भएको थियो ।
रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँ विरामी भएका कारण धेरै पीडामा हुनुहुन्थ्यो । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उहाँ विराटनगरका लागि प्रस्थान गर्नुभयो । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उहाँले आँसुलाई थाम्न सक्नुभएन । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उहाँले नाटकलाई नै बढी प्राथमिकता दिनु भएको थियो ।
पुरस्कार
मैथिली रंगमञ्चमा अमूल्य योगदान दिएका ठाकुर कयौँ पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँले सरस्वती राजनारायण पुरस्कार, युवा नाट्य कला परिषद्बाट उत्कृष्ट अभिनेताको रूपमा सम्मानित हुनुभएको छ । रेडियो मिथिला, मैथिल ब्राह्मण समाजले समेत सम्मान गरेको छ । राष्ट्रिय स्तरको पुरस्कार नपाउँदा भने उहाँको मन खल्लो हुन्छ । ठाकुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छा लघुवित्तमा कार्यरत छन् । छोराहरु कमाउने भएपछि एक किसिमको सन्तुष्टि छ । कलाकारिताबाहेक नाति खेलाउँदै उहाँको दिनचर्या बित्छ ।


तपाईको प्रतिक्रिया