Khadya Bibhag

रामनारायणको जीवनमा सबथोक रंगमञ्च नै हो

फाटेको जुत्ता, चंगा चैट, भोर, आमा–३, छक्का पञ्जा ३, दहेज जस्ता नेपाली फिल्ममा अभियनय गरिसक्नु भएका रामनारायण ठाकुरलाई मैथिली रंगमञ्चमा हाँसोको पर्याय मानिन्छन् । कला र अभिनय रुचाउने कतिपय व्यक्तिहरुलाई उहाँको नाम याद आउने वित्तिकै मुस्कुराउन थाल्छन् । उहाँलाई मैथिली रंगमञ्चका एक सफल कालाकारको रुपमा लिइएको छ । उहाँ नेपाली रंगमञ्चको माध्यमबाट सबैलाई हँसाउने काम गर्नुभएको छ ।

२०१९ भदौ ४ गते जनकपुरधाम उपमहानगरपालिका–१५ मा जन्मनु भएका रामनारायण ठाकुर १०–१२ वर्षको उमेरदेखि नै कलामा रुचि राख्न थाल्नु भएको छ । मध्यमवर्गीय परिवारमा जन्मनु भएका उहाँलाई घरको कामकाजमा व्यस्त हुनु पथ्र्यो । तर फुर्सद भयो भने गाउँघरमा चकचके स्वभावमा उत्रिनु हुन्थ्यो । साथी भाइलाई मनोञ्जन दिनुहुन्थ्यो । अरुको नक्कल गर्ने बानीले आफूले कयौँ पटक कुटाई समेत खानुपरेको स्मरण उहाँको मनमस्तिष्कमा ताजै छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एउटा टेलिफिल्म छ, एसएलसी प्रसाद । जसमा हरिवंश एसएलसीमा धेरै पल्ट फेल हुनुहुन्छ । वास्तविक जीवनमा पनि हरिवंश पहिले फेल पछि थर्ड डिभिजनमा पास हुनु भएको थियो । ठ्याक्कै रामनारायण ठाकुरको जीवनमा पनि त्यस्तै भएको छ । चार पटकसम्म एसएलसीमा फेल हुनु भएका उहाँ । पाँचौ पटकमा मात्र उहाँले प्रथम श्रेणीमा उत्तीर्ण गर्नु भएको थियो । तर अभिनयको दुनियाँमा उहाँ सधैं अब्बल नै रहनु भयो ।
सानोमा उहाँ अभिनयभन्दा बढी नृत्यतर्फ प्रभावित हुनुहुन्थ्यो ।

बाल्यकालदेखि नै स्कूलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उहाँ नृत्यका साथै गायनको प्रस्तुती दिनुहुन्थ्यो । एक पटक उहाँ धनुषाको बभनगामाको सामुदायिक विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो । उहाँको नृत्य दर्शकले निकै मन पराए । उहाँले त्यो दिनलाई सम्झदै भन्नुभयो, ‘मेरो नृत्य हेरेर मैथिली नाटकका धरोहर महेन्द्र मलंगियाले मलाई मिथिला नाट्य परिषद् (मिनाप) मा अभिनयको लागि प्रेरित गर्नुभयो ।

आज उहाँकै प्रेरणाको कारण म यहाँसम्म आइपुगेको छु ।’ सुरु सुरुमा रामनारायणको अभिनय धेरैले मन पराएनन् । निराश बनेका उहाँलाई आफ्नै ठूल्दाई लक्ष्मी ठाकुरले मनोबल बढाउनु भएको थियो । कलाकारितामा खारिँदै गएपछि उहाँ हास्य कलाकारको फरक परिचय बनाउन सफल हुनुभयो । रामनारायण ठाकुरको प्रस्तुति हेरेर अहिले पनि दर्शकको मन आनन्दीत हुन्छ । उहाँ एकल संवादमा पनि मञ्चमा उभिएर दर्शहरूलाई गुदगुदी पैदा गर्नुहुन्छ ।

अभिनयको शृङखला

नेपालको पहिलो मैथिली टेली फिल्म ‘मिथिलाक व्यथा’, काठक लोक, बाबा, शान्ति, कनियाँ पुत्रा, अन्हरजाली, सृष्टी, आमा २ लगायतका टेली फिल्महरुमा उहाँले अभिनय गरिसक्नु भएको थियो ।

यसका अतिरिक्त मैथिली नाटकहरु पुष जाढ की माघ जाढ, गाम नै सुतैय, ओकरा आँगनक बारहमासा, छुतहा घैल, ओ खाली मुह देखैछै, एक टुक्रा पाप, छमादान, ओरिजनल काम, प्रेत चाहए असौच, एकटा छल गदहा लगायतका दर्जनौं नाटकहरुमा उहाँले अभिनय गर्नुभएको छ । त्यसैगरी मैथिली फिल्म आउ पिया हमर नगरी, छुटत नै प्रेमक रंग, मुखियाजी आदि फिल्ममा समेत ठाकुरले अभिनय गर्नुभएको छ ।

मुखिया जी, प्रितम सहितको मैथिली फिल्ममा समेत हास्य रसको चास्नी पस्किनु भएको उहाँ नेपाली फिल्म फाटेको जुत्ता, चंगा चैट, भोर, आमा–३, छक्का पञ्जा ३, दहेजमा पनि उहाँको अभिनय रहेको छ । मह जोडीसँग कलाजार, सृष्टिलगायत टेलिश्रृखंला अभिनय गर्नुभएको छ । उहाँले सङ्गोर, कथा मीठो सारंगीको, ज्ञान शक्ति अछि लगायत रेडियो नाटकमा समेत अभिनय गर्नुभएको छ ।

गाउँघरको कार्यक्रममा मैथिली या नेपालीमा आफ्नो नामको उद्घोष हुँदा आफूलाई स्वागत गर्न आतुर दर्शकको क्रेज देख्दा उहाँलाई शान्ति प्राप्त हुन्छ । उहाँ मनमनै गौरवान्वित हुनुहुन्छ । तर अभिनयमा ठाकुरको चौतर्फी प्रशंसा भए पनि उहाँ आफै भने सन्तुष्ट हुन सकेका छैनन् ।

भन्छन्, ‘रंगमञ्चका लागि जुन हिसाबबाट मैले त्याग गरे ।

त्यस अनुसार परिणाम प्राप्त गर्न सकिनँ । तर यसको अर्थ यो होईन कि म पूर्णरूपमा असन्तुष्ट नै छु’ रामनारायण ठाकुरले भन्नुभया ।
नसाले छाडे जागिर

रामनारायण ठाकुरले एसएलसीपछि काठमाडौंमा सब–ओभरसियर पढ्नुभयो । हुन त उहाँ इन्जिनिरिङ अध्ययन गर्न काठमाडौ आउनु भएको थियो तर पाँच वर्ष लगाएर उहाँ सब ओभरसियर पढ्नु भयो ।

कोर्स पूरा गरी सिँचाइ कार्यालयदेखि भूकम्प पीडित परियोजनामा काम गर्नुभयो । तर उहाँमा अभिनयको यस्तो भूत सवारको थियो कि सरकारी जागिरदेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासम्मको जागिर छाडेर कलाकारिता क्षेत्रमै रमाउनुभयो । जागिर छाडेको कारण उहाँलाई आर्थिक अवस्थाका कारण घर व्यवहार धान्न मुस्किल भइरहेको छ तैपनि उहाँ यही क्षेत्रमा रहनु भयो ।

जागिर गर्ने बेला नाटक गर्नका लागि विदा नपाउँदा उहाँले त्यो जागिरबाट विदा हुनुभयो ।

नेपाली भाषी कलाकारबाहेक अन्य भाषाको कलाकारहरूलाई राज्य पक्षबाट खास सहयोग नभएको उहाँको गुनासो छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरको रुपमा परिचित जनकपुरधाम कलाको हिसाबले नेपालमै एउटा छुट्टै पहिचान भएको ठाउँ हो । तर कला क्षेत्रमा राज्यले ध्यान नदिएका कारण नयाँ कलाकार समेत टिक्न चुनौतीपूर्ण अवस्था रहेको उहाँको भनाई छ । अब स्थानीय कलाकारले आफ्नो ठाउँ र गाउँको कला संस्कृतिलाई अर्थोपार्जनसँग जोडेर समृद्ध बनाउनुपर्ने उहाँको भनाई छ ।

परिवारभन्दा ठूलो नाटक
नाटक प्रति उहाँको त्याग र समर्पण थियो कि नाटकका सामु उहाँले परिवार वा निजी जीवनलाई कहिल्यै प्राथमिकता दिनुभएन । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उहाँको आमा सत्यादेवी प्यारालाइसिस रोगले ग्रसित हुनुभयो । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिएका थिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लग्नु भएको थियो । उहाँ र उहाँका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् ।

यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उहाँलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गर्नुभयो तर, उहाँ आमाको स्याहारका लागि घर फर्किनुभयो । दुई दिन पछि उहाँको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उहाँ काठमाण्डौ प्रस्थान गर्नुभयो । नाटक गर्नकै लागि उहाँ काठमाण्डौ पुग्दा उहाँका सहकर्मीहरु पनि आश्चर्य चकित भएका थिए । काठमाण्डौमा नाटक गरेर उहाँ सबै कलाकारसँगै घर फर्किए ।

एक पटक प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सवमा सहभागी हुनु थियो । तर, त्यो बेला उहाँका बुवा सियाशरण ठाकुर पनि आफ्नो जीवनको उत्तरार्धमा हुनुहुन्थ्यो । उहाँले खानापानी सबै त्यागी सक्नु भएको थियो । तर पनि रामनारायण ठाकुरले बुवाको माया मारेर नाटकलाई प्राथमिकता दिनुभएको थियो । काठमाण्डौ पुगी नाटक महोत्सवमा सहभागी भई ‘प्रेत चाहे असौच’ नाटक मन्चन गरी विवाह पञ्चमीका दिन जनकपुर फर्किनुभयो ।

फलफूल किनेर घर आउँदा टोलामा पनि सबैले ए रामनारायण आई पुगिस् । धेरै राम्रो गरिस भनेर भन्यो । बास्तवमा उहाँ घर पुग्दा उहाँको बुवाको श्वाँस चलिरहेको थियो । उहाँ पनि आफ्नो छोराको प्रतिक्षामा थिए । रामनारायणलाई हेर्ने वित्तिकै उहाँको बुवाको आँखाबाट आँसु झर्न थाल्यो । रामनारायणले आफ्नो बुवाको आँसु पुछ्नुभयो । त्यसको केही घण्टा पछि नै बुवाको देहान्त भएको थियो ।

रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँ विरामी भएका कारण धेरै पीडामा हुनुहुन्थ्यो । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उहाँ विराटनगरका लागि प्रस्थान गर्नुभयो । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उहाँले आँसुलाई थाम्न सक्नुभएन । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उहाँले नाटकलाई नै बढी प्राथमिकता दिनु भएको थियो ।

पुरस्कार
मैथिली रंगमञ्चमा अमूल्य योगदान दिएका ठाकुर कयौँ पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँले सरस्वती राजनारायण पुरस्कार, युवा नाट्य कला परिषद्बाट उत्कृष्ट अभिनेताको रूपमा सम्मानित हुनुभएको छ । रेडियो मिथिला, मैथिल ब्राह्मण समाजले समेत सम्मान गरेको छ । राष्ट्रिय स्तरको पुरस्कार नपाउँदा भने उहाँको मन खल्लो हुन्छ । ठाकुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छा लघुवित्तमा कार्यरत छन् । छोराहरु कमाउने भएपछि एक किसिमको सन्तुष्टि छ । कलाकारिताबाहेक नाति खेलाउँदै उहाँको दिनचर्या बित्छ ।

तपाईको प्रतिक्रिया