माघ ५ अर्थात मधेशका लागि विशेष दिन । माघ ५ गते मधेशमा सहिद दिवस मनाइन्छ । त्यही दिनको सन्दर्भ पारेर राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन)लाई मधेशमा उतार्दैछ । यो संयोग होइन, रास्वपाका सभापति रवि लामिछानेको रणनीति हो । नत्र उम्मेदवारी दिने कोशी प्रदेशको झापा–५ मा र चुनावी सभा गर्ने मधेश प्रदेशको धनुषा–३ मा । मधेश सहिद दिवसको दिन बालेनलाई त्यहाँ उतारेर मधेशको मत आफूतिर तान्ने रास्वपाको रणनीति हो भनि प्रस्ट छ ।
मधेशमा सबभन्दा कमजोर पार्टी भनेकै रास्वपा हो । रास्वपाका सभापति रवि लामिछानेमाथि मधेशले विश्वास गर्दैन । उसले मधेशमा जति मेहनत गरेपनि मधेशको साथ पाउने सम्भावना देखिदैन । त्यसका लागि लागि उहाँले मधेशीमुलका बालेनलाई प्रयोग गर्नुभयो । मधेशमा बालेनलाई कार्डको रुपमा प्रयोग गर्नुभयो । बालेनको फेस पपुलर छ । युवाको आकर्षण उहाँप्रति छ । त्यसमा पनि उहाँको घर मधेश प्रदेशको महोत्तरीमा छ । मधेशको बच्चा प्रधानमन्त्री बन्दैछ भनि नारा दिनुभयो । त्यसले मधेशी सेन्टीमेन्ट तानिएको छ । अहिलेसम्म सार्वजनिक रूपमा मैथिली नबोलेका बालेनलाई मधेशको मञ्चबाट पहिलोपटक मैथिली भाषामै सम्बोधन गराउने तयारी छ । यसबाट प्रस्ट हुन्छ रविको भित्रि योजना ।
ओली र मधेश एक साथ
‘मधेशीको छोरा देशको प्रधानमन्त्री’ यो अहिले नारा मात्र हो मत तान्नका लागि । झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएर बालेन सिंहदरवारमा आउनुपर्छ । प्रधानमन्त्री बन्नका लागि अपेक्षा अनुसार रास्वपाले सिट जित्नुपर्छ । बालेनलाई प्रधानमन्त्री बनाउनका लागि रास्वपाले कम्तीमा १३८ सीट ल्याउनुपर्छ । यदि त्यो भन्दा कम आयो भने कुनै दलको सहयोगमा प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । कुनै दलको सहयोगमा प्रधानमन्त्री बनाउँदा बालेन प्रधानमन्त्री बन्नुहुन्छ वा बन्नुहुन्न त्यसको ग्यारेन्टी छैन ।
संसदमा मत ल्याउनकै लागि रविले बालेनलाई मधेशमा कार्डको रुपमा प्रयोग गरेको छ । रास्वपालाई लागेको छ । हिमाल, पहाडमा रविकै नामबाट मत आइ हाल्छन् मधेशको मत तान्नका लागि मधेशीलाई प्रधानमन्त्रीको उम्मेदवार बनायो भने पार्टीलाई मत सँख्या बढ्छन् । बालेन चुनाव जितोस् वा नजितोस् रविलाई त्योसँग सरोकार छैन ।
जो रवि प्रधानमन्त्री बन्नका लागि नख्खु जेलबाट भागेर नेपाली सेनाको हेडक्वारटर पुग्नुभएको थियो । त्यो रविले अचानक बालेनलाई किन प्रधानमन्त्रीको रुपमा अघि सारे ? यो नै घत लाग्दो कुरा हो । खासमा प्रधानमन्त्री बन्ने र बनाउने योजनामा रवि पर्छ । यदि त्यस्तो नभएको भए अदालतमा मुद्दा खेपी रहनु भएका रविलाई तारेखमा किन छाड्न लगाइयो । अहिले उहाँको सबै मुद्दा फिर्ता लिने तयारी भइरहेको छ । यी सब रविलाई प्रधानमन्त्री तयारी हो पश्चिमाहरुको ।
यहाँ बालेन प्रयोग मात्र भइरहेका छन्, राजनीतिक मामिलाका जानकारहरु भन्छन्, ‘पार्टीमा बालेन एक्लै हुनुहुन्छ, उहाँसँग तागत भनेको समाजिक सञ्जाल मात्र हो, तर रविसँग पार्टीमा बहुमत छ उहाँकै पार्टी हो, सबैथोक उहाँकै हो । उहाँले जतिबेला पनि बालेनलाई फाल्न सक्छ कुलमान घिसिङ जस्तै ।’ उज्यालो नेपाल पार्टीका एक नेताले सहारा टाइम्ससँगको भेटघाटमा भन्नुभयो, ‘खासमा प्रधानमन्त्री बन्ने चाहना रविजीको मात्र हो, भोट तान्नका लागि मात्र बालेनलाई अगाडि सार्नुभएको हो, यो कुरा हाम्रो पार्टीका अध्यक्ष कुलमानजीलाई थाह थियो, यही कुरा उहाँले पार्टीमा उठाउँदा त्यहाँबाट अलग हुनुपर्यो तर सांगठनिक रुपमा बालेन पार्टीमा कमजोर भएको कारण केही बोल्न सक्नुभएको छैन, घण्टीको साथमा रहेर जे हात त्यही साथ भनेर उहाँ चुपचाप हुनुहुन्छ । बालेनले रविलाई प्रयोग गरिरहनु भएको छ भने रविले बालेनलाई । यसमा को जित्छन् त्यो हेर्न बाँकी छ ।’
समाजिक सञ्जाल बन्द भयो भने बालेनको सबै शक्ति समाप्त हुन्छ । रविलाई यो कुरा राम्रोसँग थाह छ । त्यही भएर रवि संगठनमा विशेष जोडदिनुभएको छ र मधेशमा संगठन बनाउनका लागि उहाँले बालेनलाई कार्डको रुपमा प्रयोग गर्नुभएको छ । बालेन रास्वपामा मिसिदा केही साथीहरुलाई लिएर जानु भएको छ । जो अरुको तुलनामा निकै कमजोर हुनुहुन्छ ।
बालेनको कार्यशैली जति रहस्यमयी छ, उहाँको कदम उति नै सुनियोजित । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिए पनि बालेनले अहिलेसम्म रास्वपाको कार्यालयमा पाइला नटेक्नुको कारण पनि धेरैले थाह पाइसकेका छन् । बालेन पनि आफ्नै दावमा रहेको कुरा अब कसैबाट लुकेको छैन । आगामी माघ ४ गते बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिएर त्यही दिन वनस्थलीस्थित ‘घन्टी घर’ जानु हुन्छ र त्यसको भोलीपल्ट मधेश प्रदेश जानुहुन्छ ।
बालेनलाई सिंहदरबारको मूल ढोकाबाट भित्र छिराउन काठमाडौंको ‘क्रेज’ र सामाजिक सञ्जालको ‘वाहवाही’ मात्र पर्याप्त छैन, त्यसको निर्णायक साँचो मधेशसँग छ । राजनीतिमा भावनाले माहोल तताउन सकिन्छ, तर चुनाव जित्न अंकगणित नै चाहिन्छ, बालेनको सिंहदरबार यात्राको सबैभन्दा ठूलो अवसर र तगारो दुवै मधेश नै हो । यो कुरा बुझेर नै रविले मधेशमा अलि बढी नै ध्यान दिनुभएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ६१ लाखभन्दा बढी जनसंख्या ओगटेको मधेश प्रदेश फगत एउटा भूगोल मात्र होइन, यो काठमाडौँको सिंहदरबार छिर्ने सबैभन्दा फराकिलो र रणनीतिक राजमार्ग हो । विगत हेर्ने हो भने मधेशको विश्वास नजिती कोही पनि राष्ट्रिय राजनीतिमा बलियोसँग स्थापित हुन सकेको छैन । चाहे त्यो काँग्रेस होस् या एमाले वा पछिल्लो नेकपा मात्र किन नहोस् । जबजब यी दलहरुलाई मधेशले साथ दियो तबतब यी दलका नेताहरु सिंहदरवारमा खुट्टा जमाउन सक्नुभयो ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार देशभर करिब एक करोड ८९ लाख मतदाता छन् । त्यसमध्ये आठ जिल्लाको मधेस प्रदेशमा मात्र २९ लाख भन्दा बढी मतदाता छन् । जुन कुल मतदाताको करिब १५ प्रतिशत हो । प्रत्यक्षतर्फ १६५ सिटमध्ये मधेसमा ३२ अर्थात् करिब १९ प्रतिशत सिट छन् । समानुपातिकतर्फ ११० सिट देशव्यापी मतका आधारमा बाँडिने भएकाले मधेशको मत प्रतिशतले राष्ट्रिय सिट समीकरणमा प्रत्यक्ष असर पार्नेछ ।
मधेशमा रविको विगत
२०७९ को निर्वाचनमा मधेसका ३२ प्रत्यक्ष सिटमध्ये एमाले ९ र कांग्रेस ८ सिटसहित अग्रस्थानमा थिए भने मधेसकेन्द्रित दलहरू जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तेस्रो समूहका रूपमा उभिएका थिए । समानुपातिक मतमा पनि मधेसबाट कांग्रेस पहिलो, एमाले दोस्रो र मधेशकेन्द्रित दलहरू तेस्रो स्थानमा रहे । मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । त्यसमध्ये मधेश प्रदेशमा रास्वपाले ३२ हजार ५३७ मत मात्र ल्याएको थियो । समानुपातिकमा एक लाख सात हजार ८४ मत ल्याएको थियो । यो सन्तोषजनक मत होइन । अधिकाँश क्षेत्रमा त रास्वपाको जमानत नै जफत भएको थियो । कतिपय क्षेत्रमा उम्मेदवारी पनि दिएको थिएन ।
सप्तरीमा चार वटै क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले त्यहाँ दुई हजार ७४ मत मात्र ल्याएको थियो । क्षेत्र नम्बर चारमा मो. इरफान आलमले १० औं स्थानमा हुनुहुन्थ्यो । क्षेत्र नम्बर १ र ३ मा निरजन प्रसाद कुशवाहा र प्रमोद कुमार साह नवौं स्थानमा हुनुहुन्थ्यो । सप्तरी २ मा बरुण कुमार झाले २८१ मत ल्याएर चौथो स्थानमा सिमित हुनुभएको थियो ।
सिरहामा दुई हजार ४५० मत ल्याएको रास्वपाले क्षेत्र नम्बर १ मा रामकुमार यादव छैठो स्थान, क्षेत्र नम्बर ३ का दीपकुमार साह पाँचौं र क्षेत्र नम्बर ४ दका विमल कुमार तिवारी चौथो स्थानमा हुनुहुन्थ्यो ।
रास्वपाले धनुषाको चार वटै क्षेत्रमा उम्मेदवारी दिए पनि त्यहाँ पनि दुई हजार १६४ मतमा सिमित भएको थियो । धनुषा–२ चनशेखर कुमार यादव २४६ मत ल्याएर आठौं स्थानमा सिमित हुनुभएको थियो भने धनुषा–१ र ४ मा क्रमशः धर्मेन्द्रकुमार राय र संजयकुमार यादव पाँचौ स्थानमा सिमित हुनुभएको थियो । धनुषा–३ मा रञ्जित पंजियारले ४३३ मत ल्याएर छैठो स्थानमा चित्त बुझाउनु भएको थियो ।
महोत्तरी जहाँबाट बालेन शाह चुनाव लड्ने चर्चा छ । उहाँको पैतृक गाउँ पनि हो । त्यो जिल्लाबाट रास्वपाले जम्मा दुई हजार ४२४ मत ल्याएको थियो । त्यहाँ दुईटा क्षेत्रमा मात्र उम्मेदारी दिएको थियो । त्यसमा महोत्तरी–१ मा खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत ल्याएर पाँचौ स्थानमा सिमित हुनु भएको थियो । क्षेत्र नम्बर २ का पवनकुमार झाले त ३६० मत मात्र ल्याउनु भएको थियो ।
रास्वपाले सर्लांहीबाट सात हजार ७०४ मत प्राप्त गरेको थियो । त्यहाँ रास्वपाले चार वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । क्षेत्र नम्बर १ बाट रामदुलार महतो तीन हजार २५३ मत ल्याएर पाँचौ स्थानमा सिमित हुनुभएको थियो । क्षेत्र नम्बर २ का जयकरण महतोले ५७९ मत ल्याएर आठौं, क्षेत्र नम्बर ३ बाट पञ्चबहादुर सिङतानले सबभन्दा बढी तीन हजार ५६६ ल्याएर चौथो र क्षेत्र नम्बर ४ बाट धिरजकुमारले ३०६ मत ल्याएर नवौ स्थानमा सिमित हुनुभएको थियो ।
त्यस्तै, रास्वपाले रौतहटमा तीन वटा क्षेत्रमा उम्मेदारी दिएर तीन हजार ४५ मत प्राप्त गरेको थियो । त्यसमध्ये क्षेत्र नम्बर १ का मिस्टर सूर्यदेव प्रसाद कोइरालाले १६३ मत ल्याएर १० औं स्थानमा पुग्नुभएको थियो । क्षेत्र नम्बर ३ मा नविनप्रसाद चौरसियाले एक हजार ६ मत र क्षेत्र नम्बर ४ मा राजनारायण साहले एक हजार ८७६ मत ल्याएर पाँचौ स्थानमा सिमित हुनुभएको थियो ।
मधेश प्रदेशका आठ जिल्लामध्ये सबभन्दा बढी मत बाराबाट १० हजार ७८२ मत ल्याएको थियो । जसमध्ये क्षेत्र नम्बर १ मा गणेश धितालले तेस्रो स्थान ल्याएर तीन हजार ३१९ मत ल्याउनु भएको थियो । क्षेत्र नम्बर ३ मा सुरेन्द्र शर्माले तीन हजार ५७९ मत र क्षेत्र नम्बर ४ मा पवन चौधरीले तीन हजार ८८४ मत ल्याएर दुवै जना चौथो स्थानमा सिमित हुनुभएको थियो । रास्वपा सबभन्दा कमजोर पर्सामा देखिएको छ । गत चुनावमा सो पार्टीले त्यहाँ दुईटा क्षेत्रमा मात्र त्यहाँ उम्मेदवारी दिएको थियो ।
जसबाट एक हजार ८९४ मत ल्याएको थियो । क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका दीपराज पटेलले ९७१ मत ल्याएर चौथो र क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका अशोक कँडेलले ९२३ मत ल्याएर पाँचौ स्थानमा सिमित भएका थिए । समग्रमा हेर्दा रास्वपा मधेशमा निकै कमजोर देखिएको छ । जेनजी आन्दोलनपछि केही आकर्षण बढे पनि तात्विक फरक नपर्ने राजनीतिक विश्लेषक श्रीमन नारायण बताउनु हुन्छ ।
तपाईको प्रतिक्रिया