Khadya Bibhag

यी तीन भाइलाई गणतन्त्रमै आपत्ति !

पुस १३ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बिच र पुस १४ गते मध्यराती उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ तथा रास्वपाका सभापति लामिछानेबिच भएको सम्झौताले नेपालको पछिल्लो राजनीतिकप्रति विभिन्न प्रश्न उठेका छन् । त्यसमध्येको हो संघीय लोकतान्त्रिक गणतन्त्र । संघीयता र गणतन्त्रप्रति बालेन्द्र शाह, रवि र कुलमानको धारणा के हो स्पष्ट रुपमा आएको छैन । सात–सात बुँदे सम्झौता भएका छन् । त्यसमा संघीयता र गणतन्त्रको शब्द पनि उच्चारण भएको छैन ।
जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, थरुहट, आदिवासी जनजाति, मुस्लिमलगायत अन्य सिमान्तकृत समुदायले गरेको आन्दोलनबाट प्राप्त उपलब्धीलाई के गर्ने त्यसको बारेमा पनि उहाँहरुको सम्झौतामा केही उल्लेख छैनन् । जनआन्दोलनदेखि जेनजी आन्दोलनसम्म भएका सहिद तथा घाइतेलाई पनि उहाँहरुले सम्झिनु भएको छैन । मेयर बालेन्द्र शाह र उज्यालो नेपालका संस्थापक कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भइसक्नु भएको छ । अब न बालेन्द्र शाह स्वतन्त्र मेयर रहनु भयो न कुलमान उज्यालो नेपालको संस्थापक रहनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमूनी उहाँहरु आइसक्नु भएको छ । अर्थात अब काठमाडौँ महानगरपालिकाको मेयर रास्वपाको हुनुहुन्छ भने वर्तमान सरकारका मन्त्री कुलमान रास्वपाका मन्त्री हुनुभएको छ ।
रवि, बालेन्द्र, कुलमान रास्वपाका नेता हुनुभयो । रवि लामिछाने सो पार्टीको सभापति, कुलमान उपाध्यक्ष र बालेन्द्र शाह अगामी संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार रहने सम्झौता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुँदादेखि संघीयता र गणतन्त्रप्रति सकारात्मक थिएन र अहिले पनि छैन । त्यो कुराको पुष्टि कुलमान र बालेन्द्र शाहसँग भएको सम्झौताले पुष्टि गरेको छ । २०७९ को निर्वाचनमा प्रदेश सभाको चुनावलाई बहिष्कार गरेर रास्वपा संघीयताको पक्षमा नरहेको कुराको संकेत दिइसकेको थियो । त्यसबेला पनि त्यसको आलोचना भएको थियो ।
रास्वपाका नेताहरुले मौखिक रुपमा अभिव्यक्ति दिँदा आफूहरु संघीयता र गणतन्त्रको पक्षधर नै हो भनिरहनु भयो तर पार्टीको विधान तथा अन्य दस्तावेजमा त्यो कुरा उल्लेख गर्नुभएन । बालेन्द्र शाह र कुलमानसँग सम्झौतापछि संघीयता र गणतन्त्रको विषयमा प्रश्न उठ्दा जेनजीका अगुवा नेताहरुले रास्वपाका सभापति लामिछानेलाई भेटेर यसको बारेमा जवाफ माग्नु भएको थियो । त्यसको जवाफमा सभापति लामिछानेले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको प्रतिकृया दिनुभएको थियो ।
जेनजीका अगुवाहरु सुदन गुरुङ, रक्षा बम, युजन राजभण्डारी, ओजस्वी थापा, मनिष खनाल, प्रदीप ज्ञवाली, उपार्जुन चाम्लिङ, रिजन राना मगरलगायतकाले पुस १५ गते लामिछानेसँग भेटेर संघीयता र गणतन्त्रप्रति तपाईहरुको धारणा के हो भनि प्रश्न गर्नुभएको थियो । रक्षा बमले भन्नुभएको थियो, ‘‘तपाईंहरू बिच सम्झौता टुंगियो । जेनजी आन्दोलन तपाईंहरूलाई एक ठाउँमा ल्याउने माध्यम बनेको छ । आन्दोलनमा विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले बोकेको क्रेडिट यो पार्टीमा ल्याएका छौं । अब तपाईंहरूले जेनजी र सरकार बिच भएको सम्झौताको अपनत्व लिनुपर्छ ।’’
यसको अर्थ जेनजी अगुवाहरुले विगतमा भएको विभिन्न आन्दोलनदेखि जेनजी आन्दोलनसम्म भएका उपलब्धीको अपनत्व लिनुपर्छ । ती सबै आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा उठाएको छ । सरकारसँग भएको सम्झौताहरुमा पनि उल्लेख छ । सरकार र जेनजी बिच मंसिर २४ गते भएको १० बुँदे सम्मmौतामा संघीय, लोकतान्त्रिक गणतन्त्रको कुरा स्पष्ट रुपमा उल्लेख छ । त्यसलाई अब यो रास्वपाले मान्ने कि नमान्ने भनि प्रश्न गरिएको थियो । त्यसको जवाफमा रास्वपाका सभापति लामिछानेले भन्नुभएको थियो ‘‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिबद्ध छौं । हामी त्यही लाइनमा छौं । अब पार्टीको विधानमा पनि लेख्नेछौं ।’’
यो समूहले यिनै विषयलाई लिएर काठमाडौँका मेयर बालेन्द्र शाहसँग पनि भेटेको थियो । त्यो भेटघाटमा पनि जेनजीका अगुवाहरुले रवि लामिछानेलाई सोधेको जस्तो बालेन्द्रसँग पनि जिज्ञासा राख्नुभएको थियो । त्यसको जवाफमा बालेन्द्रले छोटो प्रतिकृया दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘‘म अहिलेको व्यवस्था र संविधान अगाडि बढ्ने छु ।’’ उहाँले भन्नुभएको थियो, ‘‘अहिलेको संविधान धेरै नै राम्रो छ, देशमा संघीयता चाहिन्छ तर त्यसलाई बिगार्ने काम अहिलेका पुराना नेताहरुले गर्नुभएको हो ।
उहाँहरुको कारण संघीयता र गणतन्त्रमाथि प्रश्न उठेको हो ।’’ कुलमान, रवि र बालेन्द्रको एकतापछि मेयर बालेन्द्र शाहले पुस १५ गते आफ्नो फेसबुकमा लेख्नुभयो, “देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन ।’’ त्यसको अघिल्लो दिन आफ्नो, रवि र कुलमानको तस्विर राखेर लेख्नुभयो, ‘‘नेपाल हाँसेको हेर्न चाहन्छु ।’’ सम्झौतापछि आएका यी स्टाट्सले धेरै कुराको संकेत गरेको विश्लेषकहरु बताउनुहुन्छ ।
सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउनमा रास्वपाले सहयोग गर्दैन कि भनि जेनजी अगुवाहरुले आशंका गर्नुभएको छ । यहाँसम्म कि जेजनी आन्दोलनको पनि अपनत्व रास्वपा लिन्छ कि लिँदैन भनि उहाँहरुमा चिन्ता देखिएको छ । त्यसका लागि उहाँहरुले रवि, कुलमान र बालेन्द्रसँग छुट्टा छुट्टै भेटेर सुनिश्चितता खोज्नुएको छ । रवि, कुलमान र बालेन्द्र शाहलाई मिलाउने काम जेनजीहरुले नै गर्नुभएको हो । जेनजी आन्दोलनलाई टेकेर नै रास्वपा जस्तो शक्ति निर्माण भएको हो । फागुन २१ गते हुने चुनावपछि रास्वपा एउटा मुख्य शक्तिको रुपमा रहनेछ भनि बुझेर जेनजी अगुवाहरुले त्यो दलबाट सुनिश्चितता खोजेको बताइएको छ ।
जनता समाजवादी पार्टी नेपालका महासचिव रवि र बालेन्द्र शाह बिच भएको सात बुँदे समझौता संघीयता, समानुपातिक समावेशिकरण र गणतन्त्रको विरोधमा रहेको बताउनु भएको छ । यो सम्झौता प्रतिवगामी सम्झौता हो, उहाँले भन्नुभयो, ‘‘सारमा यो समझौता नविन होइन, पुरातन हो र प्रतिगामी हो । यो समझौता जनयुद्ध, जनआन्दोलन र महान मधेस जनबिद्रोहको भावना प्रतिकुल छ ।’ यसको स्पष्ट संन्देश २०४७ सालको संविधान ब्युताउने, सिमित प्राप्त उपलब्धीहरु पनि मास्ने र देशलाई गृहयुद्ध तर्फ धकेल्ने खालको रहेको उहाँले बताउनुभयो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले बालेन र रवि बिच भएको सम्झौताले विभिन्न आशंका उब्जाएको बताउनुभयो । संघीयता र गणतन्त्रप्रति उहाँहरुको धारणा के हो त्यो स्पष्ट छैन भन्दै उहाँले भन्नुभयो, ‘‘यत्रो ठुलो सम्झौता भएको छ तर पार्टीको निर्देशन सिद्धान्त के हो, यो एकताको लक्ष्य के हो भनि उल्लेख छैन, संघीयता र गणतन्त्रमाथि कुनै प्रतिवद्धता पनि आएको छैन यसले उहाँहरुको यो एकताप्रति शंका उब्जाएको छ ।’’
जेनजी अगुवा शिव यादवले संघीयता र गणतन्त्रमा कुनै सम्झौता हुँदैन । जेनजी आन्दोलन संघीयता र गणतन्त्रको रक्षाका लागि भएको थियो र त्यसमा आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । रवि, बालेन्द्र र कुलमानबिच भएको सम्झौतापत्र हेर्दा प्रश्न उठेको छ, मलाई लाग्छ उहाँहरु यसको बारेमा प्रष्ट पार्नुहुन्छ, उहाँले भन्नुभयो, ‘मलाई लाग्दैन कि बालेन, रवि र कुलमानहरु संघीयता र गणतन्त्र विरोधी हुनुहुन्छ उहाँहरु पनि त्यसको पक्षधर नै हुनुहुन्छ केही कुरामा अस्पष्टता छ भने त्यसलाई स्पष्ट गर्ने काम सायद उहाँहरुले गर्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया