लोसपा पार्टी बन्न नसकेको कारण एमालेमा जान लागेको हुँ

–उमाशंकर अरगरिया
कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,-

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट थुप्रै नेताहरु अन्य अन्य पार्टीमा गइरहनु भएको छ । अरु नेताहरु पनि जाने तयारीमा हुनुहुन्छ । हुन त लोसपा र जसपाका नेताहरुका लागि एमाले पार्टी रोजाईको विषय बनेको छ । केही दिन पहिले मात्र जनकपुरमा आयोजना भएको कार्यक्रममा जसपाका मधेश प्रदेशका प्रदेशसभा सदस्य र प्रतिनिधिसभाका सदस्यहरु एमालेमा प्रवेश गर्नुभयो । लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने तयारी गर्नु भएको छ । असोज ८ गते जनकपुरमा एक कार्यक्रमको आयोजना गरी एमालेमा प्रदेश गर्ने तयारी लाग्नु भएको छ । २०७४ मा धनुषा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएका अरगरिया जसपा विभाजन हुँदा उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरको साथमा जानुभयो । अहिले महन्थ ठाकुरलाई छाडेर एमालेमा जान लाग्नु भएको हो । यस्तो किन हुन्छ, मधेशी दलबाट नेताहरु अन्य अन्य दलमा किन जान थालेका छन्, तपाई नै किन लोसपा छाड्नु भएको, मधेशी दलहरु कसरी चलिरहेका छन् लगायतका विषयमा सहारा टाइम्सले लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

पछिल्लो समय जसपा र लोसपाबाट नेताहरु एमालेमा जान थालेका छन् यस्तो किन ?
–साँच्चै भन्ने हो भने जसपा र लोसपा अहिलेसम्म पार्टी बन्न सकेको छैन । दुईटै पार्टी भगवान भरोसे चलिरहेका छन् । यी दुवै पार्टी एकजना अध्यक्षले मात्र चलाई रहनु भएको छ । अरु नेताको त्यहाँ काम नै छैन । पार्टीका अध्यक्षले कुनै निर्णय गरेपछि त्यसका लागि ताली बजाउने काम नेताहरुको हो । जसपामा त कुनै नेताले केही बोले भने उपेन्द्र यादवले त्यसलाई तुरुन्तै कारवाही गर्दिनु हुन्छ । उपेन्द्र यादवको डरले कोही बोल्न नै मान्दैन । लोसपामा कारवाहीको प्रावधान छैन तर अध्यक्ष तथा एक दुईजना नेताबाहेक अरु कसैको त्यहाँ केही चल्दैन । तपाई नै भन्नुस् त्यस्ता पार्टीमा कोही नेता किन बस्छन् । जसलाई जहाँ सजिलो हुन्छ त्यही जानु हुन्छ ।

अधिकाँशले एमाले पार्टी नै किन रोज्छन् त ?
–नेपालमै सबभन्दा व्यवस्थित पार्टी भनेको एमाले नै हो । वैचारिक हिसाब, सैद्धान्तिक हिसाबले पनि व्यवस्थित । सांगठनिक हिसाबले पनि अरु दलभन्दा व्यवस्थित देखिन्छ । त्यहाँ समय समयमा बैठक हुन्छ । नेताहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिइन्छ । कम से कम एउटा पार्टीको नेता हुँ, कार्यकर्ता हुँ भनि महसुस त हुन्छ नि तर जसपा लोसपामा त्यो पनि छैन । त्यहाँ त नेता होइन, कुनै नेताको झोले जस्तो भएर बस्नुपर्ने हुन्छ । नेताले भनेको कुरामा हँ मा हँ मिलाउनु पर्छ । एमालेमा त्यस्तो छैन । त्यहाँ सबैको कुरा सुनिन्छ । सबैको धारणाको कदर हुन्छ ।

एमाले पनि ओलीको गोजीबाट चलेको पार्टी हो, अ‍ोलीको आगाडी कोही बोल्न पनि मान्दैन भनि टिप्पणी हुने गरेको छ, होइन ?
–एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली जतिको सजिलो नेता कोही पनि हुनुहुन्न । जुनसुकै व्यक्ति, जुनसुकै नेता उहाँलाई जुनसुकै बेला भेट्न सकिन्छ । उहाँलाई भेट्न कसैलाई गाह्रो छैन भनि मैले सुनेको हुँ । अर्को कुरा ओलीले सबैको सल्लाह र सुझावलाई मनन पनि गर्नुहुुन्छ । उहाँसँग एजेण्डा छ, भिजन छ, केही गर्ने सोच मात्र होइन, उर्जा, जोश र जाँगर पनि उहाँसँग छ । उहाँ केही गर्ने जोश र जाँगर सबैलाई दिइ रहनु हुन्छ । मैले सुने अनुसार प्रचण्ड र शेरबहादुर देउवालाई भेट्न गएकाहरु घण्टौ कुर्छन् तर ओलीको घरमा त्यस्तो छैन । मान्छे भेट्न जाँदा उहाँले बोलाई बोलाई भेट्नु हुन्छ । मलाई लाग्छ केपी अ‍ोली नेपाली राजनीतिका छुट्टै प्राणी हुनुहुन्छ ।

लोसपामा तपाईको सबै ठिकठाक चलिरहेको थियो, मन्त्री बन्नुभयो, प्रमुख सचेतक बन्नुभयो, कार्यकारिणी सदस्यमा जानु भयो अनि तपाई किन त्यो पार्टी छाड्न लाग्नु भएको हो ?
–हेर्नुस्, पद नै सबैथोक होइन । तपाई कसैको घरमा जानुभयो, तपाईलाई पाँच पकवान खुवाई दियो तर न कुनै मान छ नसम्मान अनि तपाईलाई कस्तो फिल हुन्छ मिठो खाने सबैथोक होइन । त्यस्तै, एउटा पार्टीमा गएपछि मुर्ती जस्तो तपाईलाई मन्त्री बनाई दियो, सांसद बनाई दियो अरु के के हुन्छ पदमा बसाई दियो तर त्यहाँ तपाईको केही चल्दैन भने त्यो पद र पावरको कुनै अर्थ रहदैन ।

लोसपाको अवस्था त्यस्तै हो । अहिलेसम्म लोसपा पार्टी बन्न सकेको छैन । लोसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर हालसम्म केन्द्रीय समिति बन्न सकेको छैन भने अन्य भातृ संगठन तथा समितिहरुको के कुरा गर्नु । देशकै वैकल्पिक शक्ति बनाउने सोचका साथ लोसपा गठन गरिएको थियो तर कार्यकारिणी समितिबाट पार्टी चलिरहेको छ ।

जिल्ला तथा प्रदेश कमिटी बनाउँदा नेताहरुले आआफ्ना मान्छेलाई राख्ने काम गर्नुभयो । कार्यकारिणी समिति छ तर बैठक बस्दैन । बैठक बसेपनि त्यहाँ निर्णय सुनाउने काम मात्र हुन्छ । अरुले ताली बजाउनेबाहेक केही गर्न सक्दैन । पार्टीका आजसम्म कसैको राय सुझाव लिएको मैले देखेको छैन, सुनेको छैन । कसैले केही भन्न खोजे भने उसको कुरा सुनिदैन ।

चुनावका लागि गठबन्धन गर्ने भनि निर्णय गरेको छ तर अहिलेसम्म अलमलमा देखिन्छ । के गर्ने भने कुनै दिशा स्पष्ट छैन । समानुपातिकमा पनि शीर्ष नेताहरुले घरका मान्छे राख्नु भएको छ । कोही आफ्नो श्रीमती, कोही आफ्नो छोरा, कोही आफ्नो ज्वाइँ, कोही आफ्नो सम्धी, सम्धीनी, राख्नु भएको छ अनि त्यो पार्टी कसरी चल्छ त ।

राम्रो र जनाधार भएका व्यक्ति राखे पो समानुपातिकमा मत आउन सक्छन् । लडिचुडी मत ल्याउने अरु कसैले र त्यो मतमा नेताका छोराछोरी, ज्वाईहरु रजाई गर्ने अनि त्यो पार्टीको हालत के हुन्छ ? यो तरिकाले त थ्रेसहोल्ड कटाउन पनि मुश्किल हुन्छ । यस्ता धेरै समस्या लोसपामा देखिन्छ ।

पार्टीमै रहेर पनि ती समस्याहरु समाधान गर्न सक्नु हुन्थ्यो नि कि होइन ?
–प्रयास गरेको थिए । पार्टीमा सीस्टममा लगौं । सामुहिक निर्णयको परम्पार बसाउ भनि धेरै प्रयास गरियो तर त्यहाँ सुन्नेबाला कोही छैन । त्यहाँ टाउको फुटाए पनि केही हुनेवाला छैन । त्यो पार्टी त्यसरी नै चल्ने हो । त्यो पार्टीमा बसेपछि भएका क्रियाशिलता, क्रिएटीभिटी सबै मर्छन् । त्यसैले आफ्नो बाटो लागे नै राम्रो ।

मधेशलाई अ‍ोली मुक्त बनाउने, ओलीलाई मधेशमा जान नदिने भनि तपाईहरु एक समय आन्दोलन नै गर्नु भएको थियो तर अहिले त्यही ओलीको साथ तपाई जान लाग्नु भएको हो यस्तो अवस्था किन आयो ?
–हो, मधेश आन्दोलनको क्रममा त्यो अवस्था थियो । राजनीतिमा यो भइरहन्छ । राजनीति गरेपछि सबैले आआफ्नो पार्टीको मिसन अनुसार काम गरेका हुन्छन् । आन्दोलनको क्रममा मधेशवादी दलहरु आफ्नो काम गरिरहेका थिए ।

एमालेले आफ्नो काम गरिरहेको थियो, काँग्रेस र माओवादीले पनि आआफ्नो काम गरिरहेका थिए । हामीले संघीयताका लागि आन्दोलन गरेका थियौं । तर त्यो संघीयता भ्रष्टाचार र लुटपाट गर्नका ल्याएका थिएनौं ।

मधेश प्रदेशमा मधेशी दलको पाँच वर्षसम्म सरकार चल्यो, तर कुनै ठोस काम भएको छैन । त्यहाँका नेता तथा पार्टी भ्रष्टाचारले गर्दा गन्हाइ सकेका छन् । यसरी कतिपय अवस्थामा मधेशी नेता र उसको पार्टी बारे ओलीले गर्ने टिप्पणी ठिक हो जस्तो लाग्छ । ओली नेतृत्वमा सरकार भएको बेला थुप्रै विकासका कामहरु भए ।

विकासको लहर नै चलेको थियो तर अहिले ती सबै बन्द भएका छन् । ओलीले विकासका योजनाहरु ल्याउनु भएको थियो । त्यसमा रकम हाल्नु भएको थियो तर अहिले ती सबै रकम कटौती गरेका छन् ।

कतिपय विकास योजनाहरु पनि खारेज गरेका छन् । ओली नै यस्ता नेता हुनुहुन्छ जसले आफ्नो सम्पत्ति पनि राष्ट्रको नाममा गर्नुभयो तर मधेशका नेताहरु आफ्नो सम्पत्ति राष्ट्रको नाममा गर्नु कता हो कता उल्टै मन्त्री पद बेच्नु हुन्छ, चुनावमा टिकट बेच्नु हुन्छ, समानुपातिक सीट बेच्नु हुन्छ । ओली र मधेशी नेतामा तुलना नै गर्न मिल्दैन ।

त्यसो भए ओलीले मधेशप्रति गरेका टिप्पणी र व्यवहार सबै ठिक हुन त ?
–मधेश आन्दोलनको क्रममा उहाँले के भन्नु भयो, के गर्नुभयो त्यो कुरा मलाई थाह भएन तर मधेशप्रति शेरबहादुर देउवा र प्रचण्डको दृष्टि पनि राम्रो छैन । बरु अ‍ोली मधेशमा आलोचित भएपनि उहाँले मधेशका लागि धेरै काम गर्नुभएको छ ।

एमाले अध्यक्ष अ‍ोलीले मधेशका लागि गर्नु भएको काम रोक्ने काम देउवा र प्रचण्डले गर्नुभयो । मधेश आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता लिनुदेखि लिएर संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल समेत बनाउनु भएको थियो ओलीले । नागरिकताको समस्या अध्यादेशमार्फत समाधान गर्नु भएको थियो ।

उहाँले यस्ता थुप्रंै काम गर्नु भएको थियो तर यिनै पाँच गठबन्धन दलका नेताहरुले सर्वोच्चमा मुद्दा हालेर सबै खारेज गर्न लगाउनुभयो । अब तपाई नै भन्नुस् विरोधी को हुनुहुन्छ, ओलीकी देउवा, प्रचण्ड । जन्मसिद्ध नागरिकलाई नागरिकता दिन सरकार तयार भयो भने एमाले त्यसका लागि सहयोग गर्न एमालेका अध्यक्ष ओलीजी तयार हुनुहुन्छ ।

काँग्रेस हुँदै फोरम र लोसपासम्म काम गर्नुभयो, तपाईको पारिवारिक राजनीतिक पृष्ठभूमी पनि प्रजातान्त्रिक विचारधाराको हो, तर अहिले तपाई कम्युनिष्ट पार्टीमा जान लाग्नु भएको हो, गाह्रो लागि रहेको छैन ?
–बीपी कोइराला, प्रदीप गिरीहरु काँग्रेसका नेताहरु हुनुहुन्थ्यो तर उहाँहरुको विचार सबै कम्युनिष्टसँग मिल्थ्यो । प्रदीप गिरीको जति वामपन्थी नेपालका कम्युनिष्ट नेताहरु पनि छैनन् ।

बीपी कोइरालामा देखिएका सबै गुण कम्युनिष्टको थियो । अर्थात विचार र सिद्धान्त जे भएपनि उसको व्यवहार के छ त्यो मुख्य कुरा हो । देशका कुनै पनि पार्टी विचार र सिद्धान्तका आधारमा चलेको छैन । यदि विचार र सिद्धान्तमा चलेको भएन काँग्रेसका सभापति शेरबहादुर देउवाले हँसुवा हथौडाका लागि भोट माग्नु हुन्थेन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गाछ छापका लागि भोट माग्नु हुन्थेन । उपेन्द्र यादवले संघीयता विरोधी पार्टी राष्ट्रिय जनमोर्चाका लागि मत माग्नु हुन्थेन । महन्थ ठाकुर पाँच दलीय गठबन्धन तथा एमलोसँग गठबन्धन गर्न ललायित हुनुपर्ने थिएन । कुनैपनि गठबन्धन विचार र सिद्धान्त मिल्नेहरुसँग हुन्छ । तर नेपालको राजनीतिमा यी सबै हराई सकेका छन् । जसलाई जहाँ सजिलो हुन्छ, जहाँ कन्फर्टेवल हुन्छ त्यही जान्छ ।

भन्नाले तपाईलाई एमालेसँग काम गर्ने कन्फर्टेवल हुन्छ त्यही भएर त्यहाँ जान लाग्नु भएको हो ?
–त्यसरी बुझ्दा पनि हुन्छ । मैले पछिल्लो समय धेरै पार्टीलाई नजिकबाट अध्ययन गर्ने मौका पाए । त्यसमध्ये सबभन्दा व्यवस्थित र परिपक्क पार्टी एमालेलाई नै पाए । र, त्यहाँ काम गर्न सजिलो हुन्छ भनेर म त्यहाँ जान लागेको हुँ ।

अरु मेरो कुनै स्वार्थ छैन । ओलीको काम देखेर, ओलीको विचार सुनेर म प्रभावित भए । ओलीले मधेशमा पनि विकासका जुन लहर ल्याउनुभयो त्यो अरु कुनै दलका नेताले कल्पना समेत गर्न सक्नु हुन्न । त्यहाँसम्म उहाँहरुको दृष्टि नै पुग्दैन । म विचार र सिद्धान्त भन्दा पनि ओलीको काम गर्ने शैली, उहाँको सोचबाट प्रभावित भएर एमालेमा जान लागेको हुँ ।

प्रतिनिधिसभा चुनावमा लोसपाबाट जित्ने सम्भावना नदेखेपछि त्यहाँबाट चुनाव जित्नकै लागि गइरहनु भएको भनि टिप्पणीहरु भइरहेका छन् नि ?
–मलाई मेरो क्षेत्रमा चुनाव जित्न गाह्रो छैन । म आफ्नो क्षेत्रका लागि एउटा ब्राण्ड बनेको छु । मलाई त्यहाँको जनताले रुचाएको छ, मन पराएको छ, त्यसैले चुनाव जित्नका लागि कसेको वैशाखी टेक्नु पर्दैन ।

म एमालेमा जाने निर्णय लिएपछि टिकट वा सांसद पदका लागि कुनै बार्गेनिङ गरेको छैन । त्यस विषयमा मेरो कुनै कुराकानी नै भएको छैन । त्यहाँ म नै उठ्नुपर्छ भन्ने पनि छैन ।

पार्टीले अरुलाई पनि टिकट दिनसक्छ । मलाई दिए पनि म स्विकार गर्छु । यसअघि पनि पहिलो पटक चुनाव लड्दा म थोरै मतले चुनाव हारेको थिए । २०७४ को चुनावमा उपेन्द्र यादवले जवर्जस्ती प्रत्यक्षमा मलाई टिकट दिनुभयो । मलाई चुनाव लड्ने इच्छा थिएन । पार्टीले टिकट दिइसकेपछि चुनावमा भाग लिए । वामगठबन्धन र काँग्रेसलाई हराएर मैले चुनाव जितेको थिए । त्यसैले चुनाव जित्नक लागि पार्टी छाडेको भन्ने कुरा गलत हो ।

-असोज १६ गते प्रकाशित सहारा टाइम्स पत्रिकामा संभार

तपाईको प्रतिक्रिया