–ई.दीपक साह
–अध्यक्ष, सर्वोदय पार्टी
जेनजी आन्दोलनपछि नयाँ विचार र नयाँ जोशका साथ थुप्रै नयाँ नयाँ पार्टी खुलेका छन् । पुरानो पार्टीले केही गर्न सक्दैन, अब जे गर्छ त्यो नयाँले गर्छ भन्दै बुढापाकाहरुले पनि पार्टी खोल्नु भएको छ । नयाँ दलहरुले जेनजीलाई रिझाउन नयाँ नयाँ नारा दिएका छन्, नयाँ नयाँ सिद्धान्तको उत्खनन् गरेका छन् । लाग्छ अब पुराना पार्टीको काम छैन, जे गर्छ त्यो नयाँले मात्र गर्छ । के साँच्चै अब नयाँ पार्टीले, नयाँ सोचले मात्र देशमा केही हुन्छ त पुराना सबै दलको डेटस्पायर भइसकेका छन् त ? यी र यस्तै विषयहरु जान्नका लागि, स्पष्ट हुनका लागि हामीले जनमत पार्टी छाडेर हालै सर्वोदय पार्टी गठन गर्नुभएका ई.दीपक साहसँग कुराकानी गरेका छौंः
जेनजी आन्दोलनपछि थुप्रै नयाँ पार्टी गठन भएका छन्, त्यसमध्ये तपाईले पनि सर्वोदय पार्टी गठन गर्नुभयो, अरु पार्टी र तपाईको पार्टीमा के फरक छ, तपाईको पार्टीको खास पहिचान के हो ?
–म नेपालमा पहिचानको राजनीतिमा २५ वर्षदेखि नियमित लागेको छु । थोरै भएपनि राष्ट्र निर्माणमा मेरो पनि योगदान छ । मैले देश र जनताका लागि कति गर्न सके, कति गर्न सकिएन त्यो मूल्यांकन गर्ने काम जनताको हो तर २५ वर्षदेखि लगातार नेपालको राजनीतिमा सक्रिय छु । मैले यो २५ वर्षको अवधिमा जे अनुभव गरे, जे सिकाइ भयो त्यसको आधारमा अझ सशक्त रुपमा पहिचानको राजनीतिलाई अगाडि बढाउनका लागि पार्टी गठन गरेको हुँ । हामीले गठन गरेको सर्वोदय पार्टी अरु सबै पार्टीभन्दा फरक छ । पार्टीको सिद्धान्त सम्यक पथको आधारमा अगाडि बढिराखेको छ । यो सिद्धान्त अन्य सबै पार्टीभन्दा फरक रहेको हाम्रो विश्वास रहेको छ । सबै पार्टीले देश बनाउने कुरो गर्छ, तर हाम्रो पार्टीले देश भन्दा पहिला व्यक्तित्व निर्माणको कुरा अघि सारेको छ । व्यक्तिको व्यक्तित्व निर्माण भएपछि समाज आफै निर्माण हुन्छ । समाज निर्माण भएपछि देश आफै निर्माण हुन्छ । त्यसले हाम्रो पहिलो लक्ष्य भनेको व्यक्तित्व निर्माण गर्ने हो ।
व्यक्तित्व निर्माणको लागि तपाईंको योजना र एजेन्डाहरू के के छन् ?
–व्यक्तित्व निर्माणको अर्थ अनुशासित र सुशासनका लागि जिउने बोटो हो । देशमा भ्रष्टाचार हुनुहुँदैन, सुशासन कायम हुनुपर्छ भन्नुभन्दा पहिले व्यक्तिमा नै सुशासन र अनुशासन हुनुपर्छ । उसको सोचमा परिवर्तन ल्याउनुपर्छ । मान्छेले आफ्नो सोचमा परिवर्तन नगरेसम्म जति सुशासन र भ्रष्टाचार, नैतिकताको कुरा गरे पनि केही फरक पर्नेबला छैन । एउटा कुनै नेताले मञ्चमा ठुलो ठुलो स्वरमा भ्रष्टाचार विरोधी कुरा गर्छन्, देशमा सुशासन कायम गर्नुपर्छ भनि कुरा गर्छन् तर घर फर्केपछि एउटा कर्मचारी सरुवा गराउन पैसा मागेका हुन्छन् ।
त्यही भाषण गरेको कार्यक्रमको खर्च कुनै व्यपारीबाट वा कुनै कर्मचारीबाट गर्न लगाउछन् । होटलमा बसेको खाएको सबै अरुबाट तिर्न लगाउछन् । त्यसैले पहिला व्यक्ति आफै सुध्रिनु पर्छ, आफूलाई सुधार गर्नुपर्छ अनि मात्र देशको चिन्ता गर्नुपर्छ । आफू सुध्रिए पछि देशको चिन्ता गर्नै पर्दैन । समाजको चिन्ता गर्नै पर्दैन । सबै नेता देश बनाउछौं भनि कुरा गर्छन् तर कुनै पनि विकास बिना कमिशनले गर्दै गर्दैनन् । अनि देश कसरी बन्छ ? त्यही भएर नेता पहिला आफू चाहिँ मानसिक रूपले, शारीरिक रूपले र आर्थिक रूपले सुशासनमा बस्नुपर्छ । अनि मात्र जनतालाई सुशासनमा बस्ने कुरो गर्यो भने बल्ल राजनीतिक चाहिँ सही मार्गमा जान्छ । त्यसैले हामी साम्यक पथ प्रतिपादन गरेर देश बनाउनु भन्दा व्यक्तित्व बनाउने, जनतालाई पनि जिम्मेवार, जवाफदेही बनाउने कुरा गरेका छौं ।
यसअघि तपाईं उपाध्यक्ष भएर जनमत पार्टी चलाउनु भएको थियो, त्यो पार्टीमा यो पथ किन लाग्नु गर्नुभएन वा गरे पनि कार्यान्वयन भएन के हो कुरो ?
–हामी जनमत पार्टीमा यो सिद्धान्त लागु गर्न खोज्यौं, त्यसका लागि प्रयास पनि भएको हो । सुरुमा हामीले मानसिक विकास, शारीरिक विकासका लागि यसखाले थुप्रै कार्यक्रमको योजना गरेका थियौं । व्यक्तित्व निर्माणका लागि हामी घण्टौंसम्म एकान्तमा प्रशिक्षण दिन्थ्यौं, योगा गराउँथ्यौं, विभिन्न शारीरिक अभ्यास गराउथ्र्यो । पार्टी र पार्टीका नेताहरु त्यो पथमा हिडिसकेका थिए तर जब पार्टी संसदीय राजनीतिमा आयो, सत्ताको खेलमा लाग्यो, सांसद, मन्त्री बन्ने बनाउने खेलमा लाग्यो त्यसपछि ती सबै कुरा हरायो । त्यो सुशासन, अनुशासन, विचार सबै हरायो । पार्टीका नेतादेखि कार्यकर्तासम्म सबै खरिद बिक्रि र कमिशनको खेलमा लागे । सत्ताबिना बाँच्न नसकिने अवस्थामा पुग्यो र सबै कुरा भताभुङ्ग भयो ।
त्यही भाषण गरेको कार्यक्रमको खर्च कुनै व्यपारीबाट वा कुनै कर्मचारीबाट गर्न लगाउछन् । होटलमा बसेको खाएको सबै अरुबाट तिर्न लगाउछन् । त्यसैले पहिला व्यक्ति आफै सुध्रिनु पर्छ, आफूलाई सुधार गर्नुपर्छ अनि मात्र देशको चिन्ता गर्नुपर्छ ।
भन्नाले जनमत पार्टी सम्यक सिद्धान्तमा हिँड्न सकेन ?
–सकेन । पछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतजीलाई इमान्दार, सम्यक विचार भएका नेता कार्यकर्ता नचाहिएन भयो, घण्टौ तालिम लिएका र दिएका नेता तथा कार्यकर्ता नचाहिने भयो र एक एक गरी उहाँले सबैलाई पार्टीबाट हट्न बाध्य पार्नुभयो । भ्रष्टाचारी, व्यापारीलाई लिएर मात्रै पार्टी चलाउन सकिन्छ भन्ने अवधारणामा पार्टी अगाडि आयो । र नेतृत्व वर्गले पनि जनतालाई भ्रम छर्ने काम मात्रै गरे । एकातिर भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्ने, अर्कोतिर आफू नै भ्रष्टाचारी भएर काठमाडौँमा सम्पत्ति थुपार्ने जस्ता कामहरू सुरु भयो । कहाँ गयो पार्टीको सिद्धान्त, कहाँ गयो नेता कार्यकर्ताको सुशासन र अनुशासन, कहाँ गयो नैतिकता र इमान्दारीता । सबै भ्रष्टाचारको खोलाले बगायो ।
एक समय यस्तो अनुशासित, वैचारिक नेता तथा कार्यकर्ता तयार भइसकेको थियो देश र समाजका लागि नदीमा हाम फाल्न भनिन्थ्यो भने एकपटक नहिचकिचाइ हाम फाल्थे । गान्धी र बुद्धको वैचारिक पथमा हिडिसकेका थिए । एउटा गालामा थप्पर हानेपछि अर्को गाला पनि दिने कार्यकर्ता तयार भइसकेका थिए । प्रहरी कुट्न वा समात्न आउँदा फूल दिने कार्यकर्ता तयार भइसकेका थिए । नेता तथा कार्यकर्ताको गोजी र झोलामा एउटा न एउटा किताब हुन्थ्यो । जाँड रक्सी आफू पनि खाँदैन्थे अरुलाई पनि खान दिदैन्थे । सिकेको कार्यकर्ता वा नेता भन्ने बित्तिकै भ्रष्टाचारीहरु थर्कमान हुन्थे तर अहिले उल्टै त्यही नेता तथा कार्यकर्ताहरु थर्कमान हुन थालेका छन् । जनमत पार्टीका शीर्ष नेताहरु नै भ्रष्ट भइसकेका छन् भने त्यसका नेता तथा कार्यकर्तालाई के दोष दिनु ।
तर तपाईं पनि त त्यही पथमा हिँडे जस्तो देखिन्छ नि चुनावकै मुखमा पार्टी दर्ता गराउनु भनेको चुनावमा भाग लिनका लागि नै हो । तपाईं पार्टीको जुन सिद्धान्त प्रतिपादन गर्नुभएको छ, त्यो सिद्धान्त अनुसार त यो संसदीय राजनीति, चुनावी राजनीतिमा नजाने र जनताको व्यक्तित्व निर्माण गर्ने, जनशक्ति निर्माण गर्ने होइन र । तर तपाईं पनि चुनावको लागि लालयित देखिनु भएको जस्तो छ नि होइन ?
–लोकतन्त्रमा पार्टीको विकल्प पार्टी नै हो । चुनाव चाहिँ आफ्नो पथलाई, आफ्नो विचारलाई प्रचार प्रसार गर्ने एउटा छिटो र छरितो माध्यम हो । चुनाव हार्नु, जित्नु अर्को कुरा हो तर चुनावमा भाग लिएपछि पार्टीले लिएको विचार, निर्माण गरेको पथ, एजेण्डा र मुद्दालाई लिएर जनताको घरघर जान सकिन्छ । त्यतिबेला जनतलाई सुनाउने र सुन्ने मौका हुन्छ, माहौल पनि हुन्छ । दलगत राजनीति गर्ने हो भने चुनावमा जानैपर्छ । तर चुनावमा गएपछि त्यसलाई जित्नका लागि जस्तोसुकै कदम चाल्ने होइन । जनतालाई आफ्नो कुरा राखेर, आफ्नो विचार, मुद्दा र एजेण्डा राखेर मन जित्नुपर्छ ।
त्यहाँ पनि पैसाको चलखेल, कमिशन, लेनादेनाको खेल भयो भने त्यो चुनाव हुँदैन व्यपारमा परिणत हुन्छ । त्यही नेता चुनावमा खर्च गरेका हुन्छन्, लगानी गरेका हुन्छन् र जितेपछि त्यो उठाउनतिर लाग्छन् । जनतातिर फेरि फर्केर हेर्दैन । हामी त्यसको विरुद्धमा छौं । जनताले अब चुनाव बारे सोच्ने नजरियामा पनि परिवर्तन ल्याउनुपर्छ । जनतले अब बुझ्नुपर्छ कि हामी मासु, सराब र पैसामा आफ्नो मत बेच्छौं भने ती नेताले हामीलाई पनि बेच दिन्छन् । त्यसैले मत दिनु भन्दा पहिले नेता र पार्टीलाई पहिचान गर्नुपर्छ । र, त्यो पहिचान गर्ने क्षमताको विकास हामी गराउछौं । त्यसको लागि चाहिँ हामीले एउटा हाइब्रिड पोलिटिकल सिस्टम डेभलप गर्न खोज्याछौं । त्यसैमा मिसन पोलिटिक्स र करिअर पोलिटिक्सको कुरा आउछ । र सम्यक पथमा बसेर कसरी राजनीतिलाई अगाडि त्यसमा चाहिँ काम गर्छौं । यो चुनाव र राजनीतिक पार्टीलाई हामी एउटा साधनको रूपमा मात्रै प्रयोग गर्न खोज्या र्छौं, साध्यको रूपमा होइन ।
भन्नाले तपाईको पार्टी पनि चुनावमा भाग लिँदैछ होइन ?
–मैले अघि पनि भने नि दलीय राजनीति गरेपछि चुनावबाट भाग्नु हुँदैन, चुनावको विरोध गर्नुहुँदैन । चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो । भाग लिएर त्यसलाई अझ सुन्दर बनाउनुपर्छ । हामी चुनावमा भाग लिन्छौं तर पुरानो शैलीले होइन, परम्परागत ढंगबाट होइन । चुनावमा पनि हामी एउटा विचार लिएर जान्छौं । जनताको व्यक्तित्व विकास कसरी गर्न सकिन्छ । देश र जनताप्रति पूर्ण बफादार कसरी बनाउन सकिन्छ । सही र गलत कसरी छुट्याउन सकिन्छ, जस्ता कुरा पनि हामी सकाउँछौं । सम्यक पथलाई पनि प्रचार प्रसार पनि गर्छौ ।
एउटा गालामा थप्पर हानेपछि अर्को गाला पनि दिने कार्यकर्ता तयार भइसकेका थिए । प्रहरी कुट्न वा समात्न आउँदा फूल दिने कार्यकर्ता तयार भइसकेका थिए । नेता तथा कार्यकर्ताको गोजी र झोलामा एउटा न एउटा किताब हुन्थ्यो ।
कति वटा, क्षेत्रमा चुनाव लड्दै हुनुहुन्छ ?
–हामी नयाँ सोचका साथ भर्खर भर्खर पार्टी बनाएका हौं । हामी अहिले ठुलो सपना देखेका छैनौं । हाम्रो सिद्धान्त नै व्यक्तित्व विकास गर्ने हो त्यसका लागि आफैबाट सुरु गर्नुपर्छ, थोरैबाट सुरु गर्नुपर्छ । हामी कति सक्छौं त्यति ठाउँमा मात्र उम्मेदवारी दिन्छौं । चादर (ओढ्ने)को साइज जस्तो छ त्यसरी नै खुट्टा फैलाउछौं । कहाँ कहाँ उम्मेदवारी दिने त्यसका लागि हामी गृहकार्य र अध्ययन गर्ने काम गरिरहेका छौं । पार्टीभित्र छलफल चलिरहेको छ । सबै तय भइसकेपछि तपाई मिडियालाई अवश्य जानकारी गराउछौं ।
तपाई २५ वर्षदेखि राजनीतिमा लाग्नु भएको छ, भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिको अनुभव तपाईसँग छ, तपाईको अनुभवले के भन्छ तपाईले जुन पथको निर्माण गर्नुभएको छ त्यो पथलाई जनताले स्विकार गर्ला जस्तो लाग्छ तपाईलाई ?
–जनता बुझ्नका लागि तयार छ । त्यसलाई बुझाउनुपर्छ । तपाईलाई याद होला, हामीले स्वतन्त्र मधेश गठबन्धन सञ्चालन गरेको बेला जनतामा हामीप्रति हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोणमा आकाश जमिनको फरक परिसकेको छ । त्यतिबेला हामी केही नयाँ गर्छौ, केही गर्न आएको भनि जनतालाई विश्वास दिलाइ सकेका थियौ तर संसदीय राजनीतिमा आएर सत्तालाई नै मुख्य गन्तव्य बनाएपछि जनताले जाने र बुझेका कुरा पनि छाडि सके । जनतालाई लाग्यो कि यिनीहरु पनि ठग नै रहेछन् । हामीलाई भर्याङ्ग बनाएर माथीसम्म पुगे र त्यहाँ हामीलाई पनि बेचे । जनतालाई बुझाउन समस्या छैन । इमान्दारीपूर्वक सम्झायो र विश्वास दिलायो भने जनता आफ्नो अधिकार र पहिचानका लागि मर्न र मार्न तयार हुन्छन् । जनताले सही कुरोमा सधैँ साथ दिएको हो । हामी नेतृत्व वर्ग नै जनतालाई धोका दिएका छौँ । जनतालाई दोष दिन हामीले मिल्दैन । दोषी हामी नेता नै हौं जो जनताको भावनासँग पटक पटक खेलबार गर्र्छौ ।
बुझाउन त तपाईंले जनमत पार्टीमा बसेर निकै मेहनत गर्नुभएको थियो, जनतालाई अनुशासन र सुशासनको बारेमा पढाउनु भयो, प्रशिक्षण दिनुभयो तर त्यो पथमा अहिले कोही पनि छैन, भोली पनि सर्वोदय पार्टीबाट पनि त्यस्तै हुँदैन भनि के ग्यारेन्टी छ ?
–स्वतन्त्र मधेश गठबन्धनको बेला वा जनमत पार्टी गठनको बेला सम्यक पथ नै थिएन । तर त्यतिबेला पनि एउटा चाहिँ क्याडर बेस्ड पार्टी चाहिँ बनाउन हामीले खोज्या थियौँ । जुन समस्याहरू हामीले ३० वर्षदेखि हेर्यौँ । जुन कारणले गर्दा देशका पार्टीहरूको स्खलित अवस्था भयो, त्यो अवस्थामा हामीले त्यसको समाधानका लागि सम्यक पथका निर्माण गरेका हौं । आजको दिनसम्म हामीले नेता, कार्यकर्ताको बिचमा कुरा राख्दा खेरि यसले लङटर्म एउटा राजनीतिलाई स्थायित्व दिन्छ भनेर ग्रहण गरिरहेका छन् । र यो बिस्तारै अगाडि बढ्ने क्रममा छ ।
हरेक दल पार्टी खोल्ने बेलामा लोभ लाग्दो कुरा गर्छन्, चुनावमा भाग लिन्छन् । चुनाव जित्नका लागि गठबन्धन, मोर्चाबन्दी, एकता गर्छन् चुनाव जित्छन् त्यसपछि ती सिद्धान्छ र विचार हराउछन् र सत्ता र भत्तामा रमाउन थाल्छन्
तपाईहरुको लाइन पनि त्यही होला नि होइन ?
–अहिले हामी सांसद बन्ने, मन्त्री बन्ने, सत्ता र भत्ताका लागि मरिहत्ते गर्ने लाइनमा छैनौं । हामी त्यसका लागि माइन्डसेट पनि गरेका छैनौं । पार्टी गठन गरेका छौं, चुनावको बहानामा जनतामा जाउ, जनतालाई आफ्नो बिचार र धारणा बुझाउ आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने प्रयास गरौं भन्ने हो । यदि त्यसका लागि कुनै पार्टीसँग सहकार्य, मोर्चाबन्दी गर्नुपर्यो भने त्यसमा हाम्रो तर्फबाट कुनै आपत्ति छैन । आवश्यकताको आधारमा सहकार्य गर्नुपर्छ तर त्यो सहकार्यबाट प्राप्त उपलब्धीलाई बेचेर खानु हुँदैन । त्यसलाई जनतामा लगानी गर्नुपर्छ, जनताको हितमा प्रयोग गर्नुपर्छ ।
होइन आवश्यकता भयो भने के राप्रपासँग पनि तपाईंहरूको गठबन्धन हुन्छ त ?
–कम से कम कसैसँग एकता वा सहकार्य गर्दा आफ्नो मूल्य मान्यता, विचार, सिद्धान्तलाई याद राख्नुपर्छ । आवश्यकता पर्यो वा भोक लाग्यो भने गाई खाइ हाल्ने कुरा गर्नुहुँदैन । कसैसँग सहकार्य वा एकता गर्दा आफ्ना मूल्य, मान्यता र सिद्धान्तलाई अगाडि राख्नुपर्छ । त्यसमा कुनै सम्झौता हुँदैन । आफ्नो सिद्धान्त र देश निर्माणको लागि जो अगाडि बढेको छ, उसँग मात्र सहकार्य हुन्छ ।
जनमत पार्टीसँग सहकार्यको सम्भावना कतिको छ ?
–त्यो त छैन, कुनै पनि हालतमा हुँदैन । जनमत पार्टीका नेतृत्व वर्गमा विचलनको अवस्था देखियो । र जनतालाई दिग्भ्रमित गर्ने काम तलिन भएको देखिन्छ । बाहिर एउटा कुरा गर्छन्, भित्रै अर्कै कुरा गर्छन् । अर्थात साधुको भेषमा डाकु हुन् उनीहरु । राम्रा र बिकाउ कुरा गरेर जनतालाई भ्रमित गरेर आफ्नो रोटी सेक्ने काम गरेको छ । सबै कुरा थाह हुँदा हुँदै त्यस्तो पार्टीसँग कुनै पनि हालतमा सहकार्य हुनसक्दैन ।


तपाईको प्रतिक्रिया