–रञ्जु ठाकुर
सचिव, जनता समाजवादी पार्टी
जेनजी आन्दोलनपछि देशको राजनीतिक परिवेशमा तीव्र परिवर्तन भइरहेको छ । ठूला दलदेखि मध्यम एवं क्षेत्रीय दलसम्म आन्तरिक व्यवस्थापन, पुस्तान्तरण र नेतृत्व परिवर्तनका सवालमा दबाब बढ्दो छ । यस्तै बहसको केन्द्रबिन्दुमा छ अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी । यतिबेला जसपाभित्र विभाजन भएको चर्चा चले पनि जसपा नेपालकी केन्द्रीय सचिव रञ्जु ठाकुरले आफूहरूको पार्टी विभाजित नभएको दाबी गर्नुहुन्छ । तीन–चार जना मात्र हतारिएर अर्कोतर्फ गएको उहाँको दाबी छ । सप्तरी २ बाट चुनाव लड्ने तयारीमा रहनु भएका सचिव ठाकुरसँग सरकारको चुनावको तयारीको बारेमा पनि कुराकानी गरिएको छ । यहाँ प्रस्तुत छ, देशको राजनीतिक अवस्थादेखि आफ्नो पार्टी, मधेशको राजनीति, नयाँ दलको उभार, चुनावी वातावरण र सप्तरी–२ बाट आफ्नो उम्मेदवारीसम्मका विषयमा सहारा टाइम्सले गरेको कुराकानीको सम्पादित अंशः ।
जेनजी आन्दोलनपछि देशमा दलहरू एकीकृत भइरहेका छन्, तर तपाईंहरूको पार्टीभित्र भने विभाजन भएको चर्चा चलिरहेको छ । यस्तो किन भयो ?
–जेनजी आन्दोलनले देशमा ठूलो राजनीतिक झट्का दिएको थियो । त्यो आन्दोलनपछि राजनीतिक नेतृत्व र दलहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने थियो । परिवर्तनको माग थियो, दलभित्र सुधार र पुस्तान्तरणको अपेक्षा थियो । तर जुन स्तरमा दलहरू सचेत हुनुपथ्र्यो, त्यो देखिएन । जसको कमजोरी थियो, त्यो दल फुटतिर उन्मुख भयो । तर हाम्रो पार्टीको हकमा वास्तविकता फरक छ । हामीसँग ‘विभाजन’ नै भयो भन्ने होइन । जम्मा तीन–चार जना पदाधिकारीहरू मात्र बाहिरिनुभयो । ११ पदाधिकारीमध्ये ८ जना अझै एउटै धारमा छौँ । यसलाई पूर्ण विभाजन भन्न मिल्दैन । उनीहरूको मनस्थिति के थियो भने आफूहरू संगठनात्मक रूपमा कमजोर भइसकेका छौँ, आगामी चुनावमा टिक्न सक्दिनौँ, त्यसैले शक्तिशालीसँग गएर टिक्न सकिन्छ भन्ने भावना पैदा भयो ।
यस्तो मनोवैज्ञानिक दबाब, केही असन्तुष्टि र केही व्यक्तिको व्यक्तिगत निर्णयका कारण उनीहरू अर्को दिशामा लागे । ठूलो विवाद वा गहिरो वैचारिक मतभेदका कारण होइन । राजनीति मान्छेको स्वतन्त्र निर्णयको क्षेत्र हो । फुट्नेहरूले त्यसै गरे । तर पार्टीको आधार, मूल नेतृत्व र संगठनिक एकता यथावत छ ।
केहीले भनेका छन् तपाईंहरूको पार्टी फुटाउनुमा ठूला दलहरूको भूमिका छ । के तपाईं त्यसलाई स्वीकार्नुहुन्छ ?
–म यो कुरा स्पष्ट रूपमा भन्छु, हाम्रो पार्टी फुटाएको होइन । जसपाको नेतृत्व संरचना अहिले पनि बलियो रूपमा यथावत छ । राजेन्द्र श्रेष्ठलगायत केही नेताहरु बाहिरिनु भएको छ । उहाँहरु पनि नजाँदा हुन्थ्यो । त्यसलाई रोक्ने प्रयास पनि हाम्रो तर्फबाट भयो तर मन बनाइ सकेपछि रोकेर पनि रोकिदैन । अशोक राईजीले पनि रोकिनुस् भनेर निकै आग्रह गर्नुभयो । अझै छलफल गरौं, मुद्दा र एजेण्डामा विचार विमर्श गरौं भन्नुभयो । एकता भन्दा पनि गठबन्धन, कार्यगत एकता वा मोर्चाबन्दी गरौं पनि भन्यौ तर त्यहाँ केही भ्रम, केही हतार, र केही ठूला दलले देखाउन खोजेको ‘सहकार्य’ को मिठो भाषणले पनि प्रभाव पारेको हुन सक्छ । माओवादी अध्यक्ष प्रचण्डजी यस्ता वार्ताका खेलमा निकै अनुभवी हुनुहुन्छ । त्यो पनि एक कारण भयो होला । तर त्यो ‘ठूला दलको खेल’ कति सक्रिय थियो भन्ने भन्दा पनि बाहिरिएका व्यक्तिहरूको मनोवैज्ञानिक धरातल ठूलो कारण थियो । उनीहरू एकाएक हतोत्साहित भए । यस्तो बेला कुनै पनि दलमा छाडा निर्णय सम्भव हुन्छ ।
जसपा अहिले कुनै दलसँग एकता गर्ने पक्षमा छैन भनेर पनि सुनिन्छ । त्यसको आधार के हो ?
–हामी अहिले एकता गर्ने पक्षमा छैनौँ । यसको मुख्य कारण के हो भने एकता गर्ने जति सजिलो देखिन्छ, त्यो भन्दा कठिन भनेको ‘एकतापछि फुट्नु’ हो । विगतका अनुभव धेरै पीडादायी छन् । अशोक जी आफैँ पटक–पटक एकता र विभाजन दुवैबाट गुज्रिनुभएको छ । उहाँ यसबाट धेरै अनुभव लिनुभएको छ । त्यसैले फुट्नु भन्दा एकता नै नगर्नु राम्रो होला जस्तो लागेको छ । त्यसैले अहिलेको सोच यो हो, एकताभन्दा मुद्दामा आधारित सहकार्य बलियो विकल्प हो । चुनावी तालमेल गर्न सकिन्छ । साझा मुद्दामा अगाडि बढ्न सकिन्छ । तर संगठन एकताका लागि निकै ठूलो गृहकार्य गर्नुपर्ने हुन्छ । त्यसमा समय लाग्न सक्छ । मुद्दा विचार मिल्नेसँग एकता हुन्छ तर हतारमा एकता गर्ने पक्षमा हामी छैनौं ।
तर केही समाचारमा जसपा नेपालले कुनै मधेशवादी दलसँग एकता गर्न लागेको चर्चा छ, त्यो कति वास्तविक छ ?
मलाई थाहा छैन त्यो समाचार कसरी बन्यो । तर सहकार्य गर्न तयार छौँ, यो सही हो । मधेशका सबै दलसँग सहकार्य र चुनावी तालमेल सम्भव छ । तत्कालै एकता कसैकोसँग सम्भव छैन । अहिले तीन वटा पार्टीले एउटै चुनाव चिन्ह लिएर दर्ता भइसकेको छ । यो पनि सहकार्यकै उदाहरण हो । लोसपा होस् वा जनमत पार्टी, हामीले सबैसँग सहकार्यको प्रस्ताव गरेको छौँ । तर औपचारिक एकता भने अहिलेको विकल्प होइन । अहिले तीन वटा दलसँग सहकार्य भएको छ तर भोली अरु दलसँग पनि यस्तै सहकार्य हुनसक्छ । मलाई लाग्छ एकताका लागि हाम्रो पार्टीमा कोही पनि हतारमा छैन ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट एकताको प्रस्ताव आएको भनिएको छ । के साँच्चै आएको हो ?
–हो, यो बिलकुल सत्य हो । राजकिशोर जीहरूको टिम नै आएर पार्टी कार्यालयमा हाम्रो पार्टीका अध्यक्ष अशोकज्युसँग भेट्नुभएको थियो । उहाँहरूले फर्केर पुरानै घरमा जोडिनुस्, फेरि मिलेर अघि बढौँ भन्नुभयो । हाम्रो अध्यक्षको उत्तर स्पष्ट थियो—‘ठीक छ, तर हाम्रो दुइटा सर्त छन्, पहिलो, पुरै व्यवहारमा परिवर्तन हुनुपर्छ । दोस्रो, दुवै अध्यक्षले अवकाश लिनुपर्छ । नयाँ नेतृत्व आउनुपर्छ । अवकाशको कुरा उठेपछि त्यो प्रस्ताव त्यत्तिबेला नै रोकिएको छ । किनकि यो माग केवल जसपाका अध्यक्षका लागि मात्र होइन, केपी ओली, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र लिङ्देन, अशोक राईलगायत सबैका लागि समान रूपमा लागु हुन्छ । नेतृत्व पुस्तान्तरण लोकतान्त्रिक आवश्यकतामध्ये एक हो ।
त्यसपछि उहाँहरु (जसपा नेपाल)को जवाफ के आयो त ?
–उहाँहरु प्रस्ताव लिएर आउनु भएको थियो, हाम्रो अध्यक्षज्युले सर्त राखेपछि फर्किनु भएका उहाँहरु त्यसपछि कुनै जवाफ पठाउनु भएको छैन । मेरो विचारमा पार्टी अध्यक्ष भएपछि चुनाव लड्नु हुँदैन । उसले पार्टी सञ्चालन गर्नुपर्छ । एउटै व्यक्ति पार्टीको अध्यक्ष पनि, संसदीय दलको नेता पनि, र मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री भएपछि पार्टीको सन्तुलन खराब हुने गरेको छ । भारतको भाजपा अहिलेसम्म भारतमाथि शासन गरिरहेको छ । त्यो पार्टीमा अध्यक्ष र सत्ता नेतृत्व फरक फरक व्यक्तिलाई दिएको छ । तर नेपालमा सबै कुरा एकै जनालाई चाहिने भएकाले यी सबै समस्या देखिएको हो ।
त्यसो भए तपाईका पार्टीका अध्यक्षलाई चुनाव लड्न दिनुहुन्न ?
–यो मेरो धारणा हो । पार्टीमा पनि म यो कुरा राखेको छु । जो कोही पार्टी अध्यक्ष हुन्छ, उसले चुनाव लड्नु हुँदैन । कारण, पदसँग जोडिएको शक्ति र राज्य संयन्त्रको दुरुपयोग हुने जोखिम हुन्छ । लोकतान्त्रिक मान्यताका लागि पनि पार्टी अध्यक्षले चुनावी भूमिकाबाट अलग रहनुपर्छ । हाम्रो अध्यक्षले चुनाव लड्ने विषयमा अहिलेसम्म निर्णय गर्नुभएको छैन । लड्नुहुन्छ कि लड्नुहुन्न भन्ने केही खुलेको छैन । तर म व्यक्तिगत रूपमा उहाँलाई चुनाव नलड्न सल्लाह दिन्छु ।
अब आगामी चुनावतर्फ जाउँ । फागुन २१ को मिति घोषणा भइसकेको छ । तर अझै धेरैजसो दलहरू आशंकित देखिन्छन् । तपाईंहरूको तयारी कस्तो छ ?
–हाम्रो पार्टी चुनावको समर्थनमा नै छ । लोकतन्त्रलाई संस्थागत गर्न चुनाव अपरिहार्य छ । चुनावभन्दा बाहिर जाने विकल्प हामीसँग छैन । तर वस्तुस्थिति हेर्दा सरकारको व्यवहार र सुरक्षा परिस्थिति अत्यन्त कमजोर देखिन्छ । भदौ २३–२४ को घटनापछिको वातावरण अझै सामान्य भएको छैन । निर्वाचनलाई निष्पक्ष, निर्भीक र धाँधलीरहित बनाउन सरकार सक्षम छ कि छैन भन्ने प्रश्न उठ्न स्वाभाविक छ । यद्यपि राजनीतिक दलहरूले चुनाव रोक्दैनन् । अन्तिममा जनताले नै प्रतिनिधि छान्नुपर्छ । त्यसैले हामी चुनावी गतिविधिमा जुटेका छौँ ।
तर तपाईंको बुझाइ अनुसार अहिले चुनाव गराउने अवस्था त्यति सहज देखिँदैन नि ?
–हो, सहज छैन । सरकारको गतिविधि र प्रस्तुति नै अनिश्चित देखिन्छ । जेनजी नेताहरुले नै सरकारप्रति असन्तुष्टि जनाइ रहेका छन् । सरकारको कामकाज सन्तोषजनक भएन भन्दै कहिले गृहमन्त्री त कहिले प्रधानमन्त्रीको राजिनामा मागि रहेका छन् । त्यसले गर्दा चुनावको वतावरण सहज हुन सकिरहेको छैन तैपनि जसपा चुनावको पक्षमा उभिएको छ । चुनाव रोक्ने शक्ति दलहरूबाट होइन, व्यवस्थापन असक्षम हुँदा मात्र उत्पन्न हुन्छ ।
निर्वाचन असहज देखिए पनि तपाईंहरूका पार्टीहरूले चुनावी तयारी अघि बढाइसकेका छन् । जनताले कसरी विश्वस्त हुने कि यति अवस्थामा पनि चुनाव हुन्छ ?
–यही त संकेत हो । चुनाव दलहरूले रोक्दैनन् । चाहे आन्तरिक विवाद होस् वा सरकारप्रतिको अविश्वास, अन्तिममा संविधानले तोकेको प्रकृयाबाट चुनाव अगाडि बढ्छ । तर यदि चुनाव रोक्ने खतरा छ भने त्यो सरकार पक्षबाट देखिने अस्थिरताको कारणले मात्र हुन्छ । हाम्रो पार्टीबाट त्यसमा कुनै अवरोध छैन । हामी चाहन्छौ सरकारले चुनावको वतावरण बनाओस् र तोकिएको समयमा चुनाव गराओस् ।
अहिले धेरै नयाँ दलहरू दर्ता भइरहेका छन् । तपाईंको बुझाइमा तिनीहरूले मुद्दा कति उठाउन सक्छन् ?
–म शंकित छु । नयाँ दलमा पनि त्यही मानिस हुन्छन् । त्यही संस्कार, त्यही सोच । नयाँ दलले जन्मेको मात्रामा मुद्दा समाधान हुँदैन । हिजो राष्ट्रिय स्वतन्त्र पार्टी पनि नयाँ दलकै रूपमा आयो । त्यसको व्यवहार, भित्री गतिविधि, बौद्धिक परिपक्वता सबै देखिन थाल्यो । त्यसैले ‘नयाँ दल’ भन्नाले मात्र सबथोक नयाँ हुँदैन । परिवर्तनको बाटो पुराना दलभित्रै बसेर पनि खोल्न सकिन्छ । मूल कुरा सोच र अभ्यास हो ।
अब व्यक्तिगत राजनीतिक भविष्यमाथि जाउँ । तपाईं सप्तरी क्षेत्र नं. २ बाट चुनाव लड्ने चर्चा छ । के यो सत्य हो ?
–हो, म यसपाली चुनाव लड्छु । मेरो १०० प्रतिशत मनोवृत्ति तयार भइसकेको छ । सप्तरी २ मेरो जन्मघर पनि हो, माइती पनि त्यही, बाल्यकाल पनि त्यही बितेको छ । त्यो क्षेत्रसँग मेरो भावनात्मक र राजनीतिक दुवै नाता छ । हिजो त्यहाँबाट गजेन्द्र नारायण सिंह, उपेन्द्र यादव, सिके राउतजस्ता ठूला व्यक्तित्वले चुनाव जिते । तर उनीहरू दोहोर्याइएनन् । म त्यसैको बीचमा एउटा नयाँ, इमानदार र समर्पित नेतृत्वको रुपमा प्रस्तुत हुन चाहन्छु । उहाँहरुभन्दा म केही फरक गर्न चाहन्छु र गर्छु पनि । म मधेशको राजनीति पैसाले होइन, मूल्य, नैतिकता र मुद्दाले चल्नुपर्छ भन्ने मान्छे हुँ । यसकारण जनताले नयाँ, इमानदार, भ्रष्टाचारविरुद्ध स्पष्ट बोल्ने व्यक्तिलाई चाहन्छन् भनेर मलाई विश्वास छ ।
तीन वटा दलबीच एउटै चुनाव चिन्हमा सहमति भएको छ । सहकार्य बढ्दै जाँदा तपाईंलाई टिकट नपाउने स्थिति पनि आउन सक्छ । त्यो अवस्थामा के गर्नुहुन्छ ?
–छाप एकै राखेर दर्ता गरिएको निर्णय नेतृत्वबीच मिलिसकेको छ । हाम्रो पार्टीबाट कुन क्षेत्र कसले लड्ने भन्नेबारे अध्यक्षले पनि धारणा बनाइसक्नुभएको छ । तर यदि अन्तिममा मसँगै केही भिन्न निर्णय भयो भने मैले पहिले नै भनेको छु, म स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव लड्छु । किनकि मेरो अभियान मुद्दामै आधारित छ ।


तपाईको प्रतिक्रिया