महिलालाई टिकट नदिनु राजनीतिक हिंसा हो (फरकमत)

–सविता यादव,-
महिलाहरुका लागि हक अधिकारका कुरा कागजमा मात्र सिमित नभएर व्यवहारमा लागु हुनुपर्छ । अनि सबै निकायमा एकतिहाई महिला सहभागिताको सुनिश्चिततामा सिमित किन होला ? ५०%–५०% मा किन न जाने । यो महिला अधिकारको कुरा गर्नेहरुका भाषण सुन्दा धेरै उपलब्धि भए जस्तो सुनिन्छ तर जुन देशमा अझसम्म महिलाको कामको मुल्याङ्कन छैन, महिलाको आफ्नै निर्णय छैन, यसको अलावा राजनीतिक हिंसाबाट पनि नराम्रो गरि शिकार हुने गरेका यथार्थ घटनाहरु देख्दै आइरहेको छु ।

हामीले काम गरेको अनुभवमा जो बोल्न सक्दैनन्, खुलेर प्रतिकार गर्न सक्दैनन् त्यस्ता महिला दिदी बहिनीहरु बढी प्रभावित हुन पुगेकी छिन्, कारण चाहि राजनीतिकर्मी महिलालाई राजनीतिक दवाव पनि छन् भन्ने महसुस गरेकी छु । तर यस्ता खाले विभेदको अन्त्य गर्नका लागि महिलालाई आफै निडर र सहासी हुनुपर्छ ।

यद्यपी महिला अधिकारको कुरा गर्दा, हामी सबै खालका विभेद अन्त्य गर्दै लैङ्िगक समानता प्राप्तिको लक्ष्यमा पुग्नुपर्छ । महिला सम्बन्धि विभेदकारी कानुन खारेज, महिला हिंसाको अन्त्य सम्बन्धि कानुन निर्माण, राजनीतिमा सक्षम र योग्य महिलालाई पार्टीले प्रत्यक्ष निर्वाचनमा टिकट दिएर चुनावमा भाग लिन सक्ने वतावरण बनाई दिनु पर्छ र अवसर प्रदान गर्नु पर्छ अनि मात्र समानता प्राप्तिको लक्ष्यमा हामी पुग्छौ ।

महिलाले पनि अगाडी आएर शक्तिशाली र पहुँचवालाको लागि गरिरहेका काम गर्ने सिस्टम विरुद्ध अवाज उठाउनु पर्छ । यदि अहिले हामी यसरी नै चुप बसे भने यो संस्थागत हुँदै जान्छ र हाम्रो भावी पुस्तालाई पनि यस्तै अन्याय, अत्याचार र विभेद सहेर बस्नु पर्छ । यस खाले विभेदको अन्त्य जडैबाट हुनु आवश्यक देखिन्छ ।

महिलाका लागि हक अधिकारका कुरा कागजमा मात्र सिमित नभएर व्यवहारमा लागु हुनुपर्छ । तसर्थ सबै पार्टीका अध्यक्ष लगायत शीर्ष नेताहरुको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।

कुनै पनि पार्टीले महिला नेतृलाई केन्द्रमा, प्रदेशमा र जिल्लामा महिला र पुरुष दुवैको सहभागिता देखाउनका निम्ति मात्र प्रयोग गरिरहेका छन् भने त्यो महिला हिंसा हो । ती पार्टीले महिलालाई टिकट दिनबाट बञ्चित राखिरहेका छन् र समानुपातिक सांसदमा पनि आफ्नो श्रीमती, बहिनी, बुहारी, नातागोता, पैसा बालालाई र पहुँच बालालाई मात्र दिनु राजनीतिमा सकृय महिलाप्रति विभेद गरेको देखिन्छ । र यो पनि एकखालको महिला हिंसा नै हो ।

जुझारु, क्षमतावान, संघर्षशील र आन्दोलनकारी हरेक महिलाको ऐतिहासिक पृष्ठभुमि छन् । संगठित र एकताबद्ध भई पार्टीको हरेक गतिविधिमा सकृय भुमिका निर्वाह गर्दै आईरहेकी छिन् । जुन महिला समाजको हितका लागि समर्पित भावनाले काम गर्छिन् र जसको समाजमा आफ्नै एउटा व्यक्तित्व छ तर ती महिलालाई पार्टीले अवसरबाट बञ्चित राखेर उचित मुल्याङ्कंन नगरी विभेद गरेको प्रष्ट देखिन्छ । महिला योग्य, सक्षम र आर्थिक हिसाबले चुनावमा खर्च गर्नका लागि तयार भए पनि महिलालाई पार्टीले निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनाउन चाहदैन ।

तसर्थ यस विषयमा सबै पार्टीका शीर्ष नेताहरुले अब इमान्दारिता देखाउनै पर्छ । आउँदो संघ र प्रदेशको निर्वाचममा महिलालाई प्रत्यक्ष र समानुपातिक उम्मेदवार बनाई समानता र अधिकार प्राप्तिका निमित्त महिलामा उर्जा प्रदान गरौं । महिलाका लागि हक अधिकारका कुरा कागजमा मात्र सिमित नभएर व्यवहारमा लागु हुनुपर्छ । अनि मात्र समानता प्राप्तिको लक्ष्यमा हामी पुग्छौ ।

मलाई थाहा छ कि कुनै पनि परिवर्तनका लागि अवाज उठाउनेलाई धेरै विरोधको सामना गर्नु नै पर्छ । धेरै त्याग, तपस्या, बलिदान दिनु नै पर्छ । धेरै ठाँउमा उसको आफ्नै सहकर्मी साथीले उसलाई पछाडी पार्ने प्रयासमा तत्पर रहन्छन् तर कसै न कसैलाई त अगाडी आएर अवाज उठाउनै पर्छ ।

तपाईको प्रतिक्रिया