Khadya Bibhag

पुष्प मेला सुरु, पहिलो दिन साढे १५ लाखको कारोबार

काठमाडौ, कात्तिक ३ गते । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ विहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा गोदावारी पुष्प मेला सुरु भएको छ ।


गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसाय भविष्य उज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार पुष्प क्षेत्रमा लगानी बढ्न नसकेको बताउनुभयो । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पतीको खेतीका साथै निर्यातसमेत गर्न सकिने उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले भन्नुभयो ‘पुष्प क्षेत्रको लगानीबाट बढी प्रतिफूल लिन सकिन्छ, नेपाली फूल हिमायन फ्लावर नाममा विश्व बजारमा बिक्री पनि गर्न सकिन्छ तर पनि यसमा ठूलो लगानी भएको देखिँदैन, नीतिगत सुधार गरेर लगानी पनि बढाउन सकिन्छ ।’

धार्मिक, सांस्कृतिक, सामाजिक महत्वको फूलले नेपालको अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याउन सक्ने उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले भन्नुभयो‘ नेदरल्याण्ड फूल बेचेर धनी भएको छ । नेदरल्याण्डले विश्वभर चार विलियन डलरको फूल निर्यात गर्छ । नेपालमा पनि त्यस्तै संभावना भएको मुलुक हो ।’


वरिष्ठ कलाकार हरिवंश आचार्यले फूल जस्तो पवित्र वस्तुको व्यवसाय गर्ने व्यवसायीले आफूमात्रै नभइ अरुलाई पनि खुशी र आनन्द दिएको बताउनुभयो । जन्मदेखि मृत्युसम्म, पूजाका साथै हरेक सुख, दुखमा प्रयोग हुने फूल सबै जात जाति र धर्म, सस्कृतिमा फूल नभइ नहुने भन्दै उहाँले तनाव न्यूनीकरणसमेत फूल निकै उपयोगी रहेको बताउनुभयो । जापानीहरु बृद्धबृद्धाहरुले धेरैजसो समय फूल बगैचामा बिताउने गरेका कारण पनि उनीहरुको आयु लम्बिएको उहाँको भनाइ छ ।

कृषि विभागका उपमहानिर्देशक डा. हरिवबहादुर केसीले पछिल्लो समय सरकारको लगानी बढी मुख्य खाद्य बालीहरुमा केन्द्रित रहेका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै पुष्प क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । आत्मनिर्भरोन्मुख पुष्प क्षेत्रको प्रवद्र्धनका लागि विभाग सहजीकरण गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । वनस्पती विभागका महानिर्देशक डा राधा काफ्लेले नेपालमा वर्षैभरी फूलिरहने गोदावरी फूलको प्रविधि विभागले विकास गरेको भन्दै गोदावरी फूलको प्रवद्र्धनका लागि विभागले फयानसँग सहकार्य गर्दै आएको पनि जानकारी गराउनुभयो ।


फ्यानका अध्यक्ष मीन बहादुर तामाङले संघीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गर्नुभयो । उहाँले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पुष्प प्रवद्र्धन नीति अहिले पनि पूर्णरुपमा कार्यान्वयनम आएको छैन, अब त्यसलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ, त्यसैले पुष्प नीतिको पुनर्लेखन नै हुनुपर्छ ।’ अध्यक्ष तामाङ सरकारको उपेक्षाका कारण अझै पनि पुष्प क्षेत्र पूर्ण आत्मनिर्भर बन्न नसकेको भन्दै नीतिगत सुधार र पूर्वाधारमा जोड दिएमा आत्मनिर्भरका निर्यात पनि बढाउन सकिने बताउनुभयो ।


नेपालमा पुष्पखेतीका लागि हालसम्म पनि हाइब्रीड बीउ र टिस्यू कल्चर विरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसक्दा बढी माग हुने समयमा आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका डा रामनन्द तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रञ्जन कुमार श्रेष्ठलगायतको पनि उपस्थिति थियो । सो अवसरमा मेलामा विभिन्न विधामा उत्कृष्ट नर्सरी तथा स्टललाई पुरस्कृत गरिएको थियो । संझना नर्सरी, थापा नर्सरी र टिटिआर वंगलामुखी नर्सरीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।


उत्कृष्ट रिफ्लेक्स, उत्कृष्ट स्पाइडरतर्फ पनि संझना नर्सरी नै पुरस्कृत भएको छ भने उत्कृष्ट इन्कर्पतर्फ थापा नर्सरी पुरस्कृत भएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजित मेलामा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको मेला संयोजक सिताराम पन्तले जानकारी दिनुभएको छ । मेला चार दिनसम्म संचालन हुनेछ ।


फ्यानका महासचिव विश्वमणी पोखरेलका अनुसार हाल ४८ जिल्लामा लगभग एकसय ७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय संचालन भइरहेको छ भने सातसय ३२ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेका छन् । पुष्प व्यवसायमा छ अर्बभन्दा बढी लगानी रहेको छ ।
आज पहिलो दिनको मेलामा साढे आठ हजार जनाले अवलोकन गरेको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । मेलामा १५ लाख ५० हजारको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया