मधेश आन्दोलनबाट जन्मेको जनता समाजवादी पार्टी नेपाल मधेशको ठूलो शक्ति हो । र त्यो शक्तिलाई समाप्त गर्ने ठूलो षड्न्त्र भएको थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादवले बुद्धि पुर्याएर त्यसबाट जोगिन सफल हुनुभयो । मधेशमा अरु ठूला दलहरु जितेका छन् । जसपाभन्दा बढी सीट पनि ल्याएका छन् तर मधेशलाई जसपाले नै लिडिङ गरिरहेको छ । मधेश प्रदेशमा जसपाको नै दवदवा छ ।
बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशमा सबभन्दा बढी पालिका काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले रहेको छ । तेस्रो स्थानमा जसपा पुगेको छ । तर त्यहाँ जसपाकै बोलबाला छ । हरेक कुरामा जसपाले नै नेतृत्व गरेको छ । जसपा नै निर्णायक छ । त्यही भएर त्यसलाई प्रदेशसभा र प्रतिनिधिसभामा कसरी कमजोर गर्न सकिन्छ ठूला दलहरुले योजनावद्ध तरिकाले लागेको जसपाका नेताहरु बताउनु हुन्छ ।
२०६४ मा भएको संविधानसभा चुनावमा तत्कालिन मधेशी जनअधिकार फोरम ठूलो शक्ति भएर उदाएको थियो । मधेशमा मात्र होइन, केन्द्रमा पनि उसले आफ्नो प्रभाव जमाएको थियो । संविधानसभादेखि लिएर राज्यका हरेक निकायमा फोरमले आफ्नो दवाव बढाउन थालेको थियो । त्यसबाट ठूला दलहरु निकै भयभित थियो । फोरमले लिएको एजेण्डाअनुसार नै संविधान निर्माण हुने काम पनि अगाडि बढ्यो । यी कुरा ठूला दलले थाह पाइ सकेपछि संविधान नै विघटन गर्न लगाएको थियो ।
त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा षड्यन्त्रपूर्वक मधेशवादी दललाई कमजोर बनाउने काम भयो । जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव भन्नुहुन्छ, ‘त्यतिबेला पनि मधेशवादी दल एउटा शक्ति थियो तर ठूला दलले चुनावमा षड्यन्त्र गरेर मधेशवादी दललाई कमजोर बनाउने काम गर्यो ।’
पहिलो संविधानसभा चुनावमा जुन शक्ति लिएर तत्कालिन फोरम उदय भएको थियो । त्यही शक्ति दोस्रो संविधानसभामा भएको भए आज संविधानको यो अवस्था हुने थिएन । ठूला दलकै षड्यन्त्रका कारण दोस्रो संविधानसभासम्म आइपुग्दा मधेशवादी दल टुक्रा टुक्रा भइसकेका थिए । टुक्र्याउने काम त्यही काँग्रेस, एमाले, माओवादी केन्द्रले गरेको बुझाई जसपा नेपालको रहेको छ ।
२०६४ देखि हालसम्मको चुनावी तथ्यांक हेर्ने हो भने जबजब मधेशमा मधेशवादी दल बलियो भए तबतब काँग्रेस कमजोर भयो । जब मधेशवादी दल त्यहाँ कमजोर भयो, तब काँग्रेस बलियो भयो । २०६४ मा मधेशवादी दल बलियो हुँदा काँग्रेसलगायतका दलहरु कमजोर भएका थिए । २०७० मा मधेशवादी दल कमजोर हुँदा काँग्रेसलगायतका दलहरु बलियो भएका थिए । फेरि २०७४ मा मधेशवादी दल बलियो हुँदा काँग्रेस कमजोर भएको थियो । यो कुरा काँग्रेसलगायत ठूला दललाई राम्रोसँग थाह छ ।
दोस्रो संविधानमा मधेशवादी दल कमजोर भएपनि सदन, सडकमा आफ्नो दवाव बनाई रहेको थियो । काँग्रेस, एमाले, माओवादी केन्द्रले भित्र संविधान बनाई रहँदा बाहिर मधेशवादी दलले आन्दोलन गरिरहेको थियो । ठूला दलहरुले जवर्जस्ती संविधान बनाए । त्यसको विरोधमा पनि आन्दोलन भयो । तर कुनै सुनुवाई भएन । सडकमा जति ठूलो शक्ति प्रदर्शन गरेपनि सदनमा उसको शक्ति हुँदैन भने केही गर्न सकिदैन भने कुरा प्रमाणित भएको छ ।
सबै मधेशवादी दलहरुले सडकमा ठूला ठूला आन्दोलन गरे तर संसदमा ती दलहरु कमजोर थिए । त्यही भएर कुनै पनि माग पुरा गराउन सकेनन् । संसदमा शक्तिशाली भएर नगएसम्म मधेशको कुनै पनि माग पुरा हुँदैन भन्ने कुरा काँग्रेस, माओवादी र एमालेलाई राम्रोसँग थाह छ । त्यही भएर ती दलहरुले मधेशवादी दल कसरी कमजोर हुन्छ त्यो प्रपञ्चमा लागेका हुन्छन् ।
२०७४ मा मधेशका दुईटा दल तत्कालिन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धन बनाएर चुनावमा गएपछि प्रदेशदेखि संघसम्म आफ्नो एउटा शक्ति बनाउन सफल भएको थियो । सोही शक्तिका कारण सडकमा आन्दोलन नगरेर पनि मधेशका केही मागहरु पुरा गराउन सफल भएको छ । तर अगामी सदनमा यी दलहरु शक्तिशाली भएर नआओस् भनेर दुवैलाई मिल्नै दिएन ।
वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्नुहुन्छ, ‘यो चुनावमा जसपा–लोसपा मिलेर गएको भए मधेश प्रदेशमा ठूला दलको पत्ता साफ हुन्थ्यो जो विगतमा पनि देखिएको थियो त्यही कुरा बुझेर ठूला दलहरुले यी दुई दललाई षड्यन्त्रपूर्वक मिल्न दिएनन् ।’ एउटा दललाई एमालेले समात्यो र अर्को दललाई काँग्रेसले । त्यहीँ कारणले दुवै दल मिल्न सकेन ।
दुवै दल मिल्न नसके पछि पनि मधेशमा जसपा आफ्नो बलमा केही सीट ल्याउन सक्थ्यो । तर त्यसलाई गठबन्धनमै राखेर समाप्त पार्ने योजना थियो ठूला दलहरुको । यो षड्यन्त्रमा अन्तराष्ट्रिय शक्तिको पनि हात रहेको विश्लेषकहरु बताउँछन् । गठबन्धनमा १६५ सीटमा बाँडफाँट हुँदाखेरी देशभरमा जसपालाई सीर्फ १२ वटा सीट दिएको थियो ।
त्यसमध्ये मधेश प्रदेशमा ११ वटा सीट मात्र दिएको थियो ।
जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमन भन्नुहुन्छ, ‘जसपालाई गठबन्धनमै राखेर समाप्त पार्ने त्यो षड्यन्त्र थियो । यदि समयमा हामीले बुद्धि नपुर्याएको भए जसपा समाप्त हुन्थ्यो ।’ जसपा मधेशको मात्र होइन देशकै ठूलो शक्ति हो तर ठूला दलले षड्यन्त्र गरेर १२ वटा सीटमा मात्र सीमित गर्न चाहेका थिए ।
१२ सीटबाहेक अरु कुनै पनि सीटमा उम्मेदवारी दिन नपाउने पनि भनिएको थियो ।
१२ वटा सीटमध्ये सबै सीट जसपाले जित्छन् भने ग्यारेण्टी थिएन । १२ वटा सीटमै मात्र चुनाव लड्ने भने ६–७ वटा सीट जित्न सकिन्थ्यो । र, यो आँकलन काँग्रेस, माओवादी, एमालेहरुले पनि गरेका थिए । जसपालाई ५–६ वटा सीटमा सिमित गर्यो भने आफै समाप्त हुने ती दलहरुको बुझाई थियो ।
त्यही भएर त्यहाँबाट निस्किएको प्रवक्ता सुमनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग त्यहाँ दुईटा विकल्प मात्र थिए, त्यहाँबाट निस्किने वा समाप्त हुने, हामी समाप्त हुन चाहेनौ र निस्कियौं ।’ निस्केपछि एमालेसँग गठबन्धन गरेर देशभरमा १७ सीटमा संयुक्त चुनाव लड्न पाएको छ । र, बाँकी सीटमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया