२६ वर्षीय छोरी मधुमालालाई बनाउनु भयो उम्मेदवार
राजनीतिमा वंशवाद र परिवारवादको निकै चर्चा हुन्छ । नेपालमा पंचायतकालमा राजाको वंशवादपछि कोइरालाको वंशवाद लामैसम्म चलेको थियो । तर ती सबैलाई माथदिने काम सर्लाहीका शिवपुजन राय यादवले गर्नुभएको छ ।
अब उहाँको परिवारमा राजनीतिकमा आउने कोही पनि बाँकी छैनन् । उहाँका बुवा अमिरीलाल राय तीनपटक प्रधानपञ्चमा जित्नु भएको थियो । अरुले त्यहाँ कुनै चान्स नै पाइरहेका थिएन । बहुदल आएपछि मात्र बृजन यादवले चान्स पाउनु भएको थियो । २०५४ को गाविस चुनावमा शिवपुजन यादवका बुवा अमिरीलाल राय पनि काँग्रेसबाट गाविस अध्यक्षमा चुनाव लड्नु भएको थियो र वृजन यादव एमालेबाट । त्यतिबेला एमालेको सरकार थियो र गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम । वामदेव गौतमको सहयोगमा बृजनले अमिरीलाललाई हराउनु भएको थियो ।
त्यसपछि अमिरीलाल चुनाव नलड्ने निर्णयमा पुग्नुभयो र चुनावी राजनीतिमा शिवपुजनलाई अगाडि बढाउनुभयो । २०६४ को संविधानसभा चुनावमा शिवपुजनले उम्मेदवार बन्नुभएको थियो । र, एकैसाथ महन्थ ठाकुर र अमरेशकुमार सिंहलाई उहाँले हराएर संविधानसभा सदस्य बन्न सफल हुनुभएको थियो । त्यसपछि बुवा अमिरीलाल यादवपछि शिवपुजन रायको दवदवा बढ्न थाल्यो सो क्षेत्र तथा गाउँमा । भनिन्छ, महन्थ ठाकुरको सबभन्दा नजिकको सहयोगी अमिरीलाल हुनुहुन्थ्यो ।
अमिरीलाललाई महन्थ ठाकुरको राइट ह्याण्ड भनिन्थ्यो । तर नहरको सिसो रुख बेचेको आरोपमा अमिरीलालमाथि मुद्दा चलेपछि महन्थ ठाकुरले कुनै सहयोग गर्नु भएको थिएन । सोही रिसमा अमिरीलालले महन्थ ठाकुरको साथ छाड्नु भएको थियो र उहाँको विरुद्धमा आफ्नो छोरा शिवपुजनलाई नै चुनावमा उठाउनु भएको थियो ।
र, शिवपुजन भारी मतले जित्नु भएको थियो । २०७० को संविधानसभा चुनावमा अमरेशकुमार सिंह चुनाव जित्नुभयो । महन्थ ठाकुर र शिवपुजन हार्नु भएको थियो । अन्त्यमा महन्थ ठाकुरले सो क्षेत्र छाड्न बाध्य नै हुनुभयो । शिवपुजन भन्नुहुन्छ, ‘त्यतिबेला अमरेश सिंहले पुरै गृह प्रशासन प्रयोग गर्नुभएको थियो । बुथ कब्जा गरेर नै चुनाव जित्नु भएको थियो । त्यतिबेला भारतीय दूतावासदेखि सरकारमा पनि उहाँको दवदवा थियो, त्यसको प्रयोग गरेर उहाँ चुनाव जित्नु भएको थियो ।’
२०७४ को प्रतिनिधिसभा चुनावमा शिवपुजन राय माओवादी केन्द्रबाट चुनाव लड्नु भएको थियो भने अमरेश सिंह काँग्रेसबाट । उम्मेदवारी पनि दर्ता भइसकेको थियो । चुनाव प्रचार पनि भइरहेको थियो । अन्तिम समयमा रातोपासपोर्ट काण्डमा उहाँ पहिलादेखि मुछिनु भएको थियो । अमरेशकुमार सिंहले सोही मुद्दाका आधारमा निर्वाचन आयोगमा उजुरी गर्न लगाउनुभयो । सोही उजुरीको आधारमा शिवपुजनको उम्मेदवारी रद्द भएको थियो ।
उम्मेदवारी रद्द भएपनि उहाँलाई ६ हजार मत आएको थियो । केही मत तत्कालिन राजपाका उम्मेदवार राकेश मिश्रलाई उहाँले दिन लगाउनु भएको थियो । तैपनि अमरेशकुमार सिंह चुनाव जित्नु भएको थियो । २०७४ को स्थानीय चुनावमा माओवादीबाट रामनगर गाउँपालिकामा बाबुलाल यादवलाई शिवपुजनले जिताउनु भएको थियो । सो स्थानीय चुनावमा मात्र आफ्नो परिवारबाट कसैलाई उठाउनु भएको थिएन शिवपुजनले ।
तर यसपटको चुनावमा आफ्नो परिवारभन्दा बाहिर त्यहाँको चुनावी राजनीतिलाई जान दिनुभएको छैन । २०७९ बैशाखमा भएको स्थानीय चुनावमा रामनगर गाउँपालिकामा आफ्नो छोरा राजाबाबु यादवलाई अध्यक्ष पदको उम्मेदवार बनाउनु भएको थियो । उहाँ १७ सय मतले जित्नुभयो । अहिलेको प्रतिनिधिसभा चुनावमा आफूमाथि लागेको मुद्दाका कारण शिवपुजन आफै निर्वाचनमा भाग लिन सक्नु भएन । आफ्नो श्रीमतीको नाम माओवादीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दी सूचीमा पहिलो नम्बरमा राख्न सफल हुनुभयो । उहाँको श्रीमतीको नाम मधेशी महिला कलस्टरको एक नम्बरमै रहेको छ । काँग्रेस पार्टीको आन्तरिक विवादका कारण अमरेश कुमार सिंह लगभग टिकट नपाउने निश्चित थियो । त्यही भएर शिवपुजन ढुक्क हुनुहुन्थ्यो । प्रत्यक्षमा कसैलाई उम्मेदवार नबनाई श्रीमतीलाई समानुपातिकमा पठाउनु भएको थियो ।
तर, अमरेशकुमार सिंह स्वतन्त्रबाट उठ्ने भएपछि शिवपुजन पनि हतार हतारमा आफ्नो २६ वर्षीय छोरी मधुमाला कुमारीलाई स्वतन्त्र उम्मेदवार बनाउनुभयो । जबकि माओवादी केन्द्र सत्ता गठबन्धनमा छ । सर्लाही ४ नम्बर क्षेत्रका लागि काँग्रेसका नागेन्द्र यादव गठबन्धनको साझा उम्मेदवार बन्नुभयो । त्यसमा शिवपुजनको पनि सहमति थियो तर अमरेशले स्वतन्त्रमा उम्मेदवारी दिएपछि त्यसलाई हराउनका लागि उहाँले आफ्नो छोरीलाई अघि सार्नुभयो ।
शिवपुजनले काठमाडौंमा बीबीए अध्ययन गरिरहेका आफ्नो कान्छो छोरालाई स्वतन्त्र उम्मेदवार बनाउन चाहनु भएको थियो तर उम्मेदवार बन्न तीन महिना कम उमेर भएको कारण उहाँ बन्नु भएन । त्यसपछि शिवपुजनले बीएससी नर्सिङ पढी रहनु भएको छोरीलाई उठाउनुभयो । घरमा परिवारका कोही सदस्य बाँकी नरहेको कारण छोरीलाई बाध्य भएर उम्मेदवार बनाउनुभयो । उहाँको बुवा अमिरीलालको निधन भइसकेको छ भने श्रीमतीको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा गइसकेको थियो ।
जेठो छोरा गाउँपालिका अध्यक्ष भएका छन् भने कान्छो छोराको उमेर नै पुगेन । अनि मात्र छोरीलाई मधुमालालाई उम्मेदवार बनाउनुभयो । शिवपुजन आफै पाँच दाजु भाइ हुनुहुन्छ । उहाँका भाइ श्रीनन्दन प्रसाद यादव वडा नम्बर पाँचका वडा अध्यक्षमा जित्नु भएको छ । अर्को भाइ रामपवित्र यादव नागरपालिकामा जागिरे हुनुहुन्छ । दाजु रामसिंहासन यादव र भाइ कृष्ण गिरी ठेक्का पट्टाको काम गरिरहनु भएको छ । २०७० को संविधानसभामा समानुपातिकबाट रामसिंहासन यादवका श्रीमती अमेरिका राय यादव संविधानसभा सदस्य बन्नुभएको थियो । पाँचजना दाजु भाइ अलग अलग छन् ।
सर्लाही रामनगर गाउँपालिकाका एक स्थानीयले भन्नुभयो, ‘यहाँ शिवपुजनको शासन चल्छ, शिवपुजनको अगाडी अमरेश केही होइन, अमरेशको केन्द्रमा चल्दै होला त्यो बेग्लै कुरा हो तर यहाँ गाउँ तथा क्षेत्रमा शिवपुजनको शासन चल्छ ।’ गाउँघरमा हुने झगडाको उजुरी सिडियो कार्यालयमा पुग्नुको सट्टा शिवपुजन कहाँ जान्छ । र, त्यो झगडालाई मिलाउने काम शिवपुजनले गर्नुहुन्छ ।
जनतालाई आइपर्ने हरेक दुखसुखमा शिवपुजनको साथ हुन्छ । आइपरेको बेला सबैखालको सहयोग शिवपुजनले गर्नुहुन्छ । त्यही भएर त्यहाँ जनता शिवपुजनलाई प्रधानमन्त्री भन्दा ठूलो ठान्छन् ।
करिब १२ हजार मत शिवजीको पकेटमा हुन्छन्, ती व्यक्तिले भने, १०–१२ हजार मतलाई उहाँले जाहाँ डाइभर्ट गर्न चाहे हुन्छ । र त्यो नै उहाँको ठूलो शक्ति हो । सो क्षेत्रमा जातीयताको लडाई छ । अमरेश राजपुत, ब्राहमण, भूमिहार जातीको नेतृत्व गरिरहनु भएको छ भने शिवपुजन यादवलगायत मलाह, विनलगायत जातको नेतृत्व गरिरहनु भएको छ । शिवपुजनका अनुसार सर्लाही ४ मा करिब ३२ हजार मत यादवको मात्र छन् । त्यसकै दममा शिवपुजन टिकी रहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘यसपटक मधुमाला कुमारी जित्ने निश्चित छ ।’

तपाईको प्रतिक्रिया