Khadya Bibhag

गाउँपालिमा भ्रष्टाचारको नमुनाः गाडी खरिद गर्नु पूर्व नै मर्मत खर्चको बील भुक्तानी

सिरहाको बिष्णुपुर गाउँपालिका आर्थिक अनुशासन उल्लंघन गर्नमा अगाडि देखिएको छ । बेरुजु रकमको अंकले त्यसलाई पुष्टि गरेको छ । आर्थिक २०७७÷०७८ मा बिष्णुपुर गाउँपालिकाको पेस्की पाँच करोड २६ लाख ५४ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । प्रतिबेदन अनुसार पूजा आरधना, मेला, खाना, इन्धन, मर्मत, बिभिन्न भत्ता, कर्मचारी, पदाधिकारीको सुविधा, गाडी भाडा, मुद्दाको नाममा पालिकाले गरेको खर्चमा सबभन्दा बढी बेरुजु देखाएको छ ।

एक आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी संचित कोषमा जम्मा न गरेको, सेवा प्रवाहको भौतिक प्रगति तयार न गरेको, राजस्व सूचना प्रविधिको भरपर्दो र विश्वासनीय अभिलेख नराखेको, विकासको आवधिक, वार्षिक, रणनितिक, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तयार गरि सञ्चालन नगरेको, सात चरणको योजना छनौट नगरेको, वडाको जिन्सी अभिलेख देखिने गरि मूलजिन्सी अभिलेख नराखेको, खरिदको गुरुयोजना र वार्षिक खरिद योजना तयार नगरेको, सामग्रीको मूल्य, ज्यालां, भाडा तथा अन्य महसूलको न्युनतम दररेट न तोकेको, ठेक्काहरुको विस्तृत विवरण देखिने अभिलेख नराखेको, पालिकाले सञ्चालन गरेको योजनाको सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण, नगराएको महालेखाले ठहर गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०७५÷७६ मा पालिकाले पालिकाको आर्थिक स्रोत खर्चेर बनाएको ४ थान स्थानीय कानून राजपत्रमा प्रकाशित न भएको, वर्षभरी संचालन गरेको कार्यक्रम ,सम्पादन गरेको काम र प्रगति तथा लागत लगायतका विषय समावेश गरि वार्षिक प्रतिवेदन तयार गरि प्रकाशन र वेबसाईटमा अपलोड गरेको देखिएन ।

पालिकाका कर्मचारीले आर्थिक वर्ष २०७५÷७६ मा कानुन विपरीत २५ प्रतिशतले स्थानीय र ५० प्रतिशतका दरले प्राविधिक भताको नाममा १८ लाख ७९ हजार १६९ पदाधिकारी र कर्मचारीलाई बैठक भता बापत कानून बिपरीत तीन लाख ४१ हजार ७५५ सवारी साधन खरिद गरेको अवस्थामा तीन लाख ५७ हजार गाडी भाडामा खर्चेको देखिएको छ । अनुगमन भत्तामा चार लाख २० हजार ७५० फिल्ड भत्ताको नाममा ५८ हजार २०० र सम्पन्न कामपछि पेस भएको बील भन्दा चार लाख ५१ हजार १३ खर्च लेखेको महालेखाको प्रतिबेदनले देखाएको छ ।
गाडी खरीद अगावै मर्मतको भुक्तानी
अर्थ मंन्त्रालयको स्विकृत बिना नै एक करोड ४६ लाख ३४ हजार ३०५ मा खरिद गरेको भनिएको सवारी साधनमा खर्चको पुस्ट्याइ बिना नै पालिकाले नौलाख ७४ हजार ९१७ रुपियाँ इन्धनमा खर्च लेखेको पालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा रमन अटोमोबाइल्स सेन्टर सिरहाबाट २०७५ जेठको ११ मा खरीद गरेको चार थान मोटरसाइकलको २०७५ बैशाख ३० गतेको मितिमा उक्त गाडी सर्भिसिग्ग गराएको भनि खरीद पूर्वकै बीलबाट सर्भिसिङ्ग चार्ज बापत चार हजार चार सय ७९ रुपैया ७५ पैसा भुक्तानी दिएको, पालिकाको कार्यालय भाडामा रहेको अवस्थामा ,इस्टिमेट र कार्यसम्पादन प्रतिबेदन बीना नै कार्यालयमा बिद्युतिकरण गरेको नाममा १९ लाख ७३ हजार ९५८ , दाखिला र कार्यसम्पादन प्रतिबेदन बीना नै सफ्टवेयर खरीद गरेको भन्दै ८४ हजार ७५० भुक्तानी गरेको प्रतिबेदनले देखाएको छ ।

खर्चको खोजी
दिवा खाजामै खर्च भएको विश्वस्त आधार पालिकाले देखाउन नसकेको महालेखाले ठहर गरेको छ । गाउँपालिकाले विद्यालयहरुमा वितरण गरेको पाठयपुस्तक, बूक कर्नर, ल्याव ब्यवस्थापन , पोशाक भत्ता, पुस्तकालय अनुदान, विज्ञान प्रयोगशाला, आइटीसी वितरणमा विश्वस्त न देखिएको प्रतिवेदनमा उल्लेख छ । खर्चको कार्य प्रमाणित हुने अभिलेख न रहेको तर पालिकाले सबैको लागि आधारभूत शिक्षामा दुई करोड ७० लाख ७७ हजार ४६८, आमा सुरक्षा आवागमनमा दुई लाख ९८ हजार खर्चेको छ ।

शिक्षाका कर्मचारीले शैक्षिक गुणस्तर तथा प्रोत्साहन भता बापत ६१ हजार २०० रुपैया औचित्यबीना बुझेको महालेखाले जनाएको छ । बिद्यालयहरुलाई प्रोत्साहन अनुदान बापत ५० हजारको दरले उपलब्ध गराएको तर उक्त रकम सदुपयोग भएको यकिन गर्न सकिने अनुगमन मुल्यांकन प्रतिवेदन पेस न भएकोले भएको खर्चको पुस्ट्याइको खोजी महालेखाले गरेको छ । पालिकाले प्रावि थल्हा, रजोखैर, सहिद राजेश ठाकुर र जमाबी राजपुरको नाममा उक्त रकम निकासा गरेको प्रतिबेदनमा देखाइएको छ ।

पालिकाले कानून विपरीत पदाधिकारी सुविधाको नाममा, १६ लाख ३२ हजार २००, ३४ जना कर्मचारीको नाममा ८९ लाख ९० हजार १९४, सफ्टवेयर खरीदमा नौ लाख ८१ हजार ४२७ खर्च भएको देखाएको छ । पदाधिकारीको इन्धनमा ६७ लाख चार हजार ८८० र कार्यालय इन्धनमा १४ लाख २२ हजार ८९५ ,पत्रपत्रिकामा सूचना प्रकाशनमा २३ लाख ४७ हजार ६१२ र अन्य भत्ताको नाममा मात्र २० लाख खर्च देखाएको छ । ,

खर्चको पुष्ट्याइ बीना नै गाडी मर्मतमा नौ लाख ३५ हजार १२७, सवारी भाडामा आठ लाख ५५ हजार ३४० खर्च लेखेको छ ।
पालिकाले आर्थिक वर्ष २०७६÷७७ मा मुद्दा प्रतिरक्षामा प्रतिमुद्दा ५७ हजारका दरले ६ लाख २७ हजार खर्च लेखेको छ । क्वारेन्टाइनमा रहेका सुरक्षाकर्मी र संक्रमितको खाजा, खानामा मात्र १५ लाख ३० हजार ,स्वास्थ्यकर्मीको जोखिमभतामा २४ लाख ६४ हजार ७२२ खर्च देखाएको छ तर खर्चको पुस्ट्याइ गर्ने आधार पालिकासँग न रहेको महालेखाले दावी गरेको छ ।

 

तपाईको प्रतिक्रिया