जिवछलाई सुरेशचन्द्र दासको साथ, विजयलाई पर्यो यस्तो घात

काठमाडौँ कात्तिक १९ गते । नेकपा माओवादी केन्द्रका नेता एवं निवर्तमान प्रतिनिधि सभा सदस्य सुरेशचन्द्र दास यादव सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिने हुनु भएको छ । पार्टीको केही आन्तरिक कारणले गर्दा असन्तुष्ट रहनु भएका नेता यादव आजदेखि गठबन्धनका उम्मेदवारलाई सघाउन प्रचार प्रसारमा हिड्नु भएको छ । उहाँले गठबन्धनका साझा उम्मेदवारका लागि मत माग्न थाल्नु भएको छ ।

पार्टीको आन्तरिक विवादका कारण असन्तुष्ट भएको बेला जनता समाजवादी पार्टी नेपालका नेताहरु सुरेशचन्द्र दास यादवको घरसम्म पुग्नु भएको थियो । खासगरि जसपा नेपालका कार्यकारिणी सदस्य विजय यादव र उहाँका दाजु श्यामनन्दन यादवले सुरेशचन्द्र दास यादवलाई पटक पटक भेटी चुनावमा सघाउन आग्रह गर्नुभएको थियो ।

सुरेशचन्द्र दास यादवले आश्वासन पनि दिनु भएको थियो । त्यस आश्वासनका कारण विजय यादव र श्यामन्दन ढुक्क हुनुहुन्थ्यो । जसपाका नेता विजय यादव सिरहा २ (क) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । उहाँको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता जिवछ यादव रहनु भएको छ । जीवछ यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।

सत्ता गठबन्धनको उम्मेदवार भएको कारण यसपटक विजय यादवमाथि उहाँ भारी पर्नुभएको क्षेत्रमा चर्चा भइरहेको छ । जीवछ यादव भारी पर्न थालेपछि जसपा-एमाले गठबन्धनको साझा उम्मेदवार विजय यादवले माओवादी केन्द्रबाट सुरेशचन्द्र दास यादवलाई तान्ने प्रयास गर्नुभएको थियो ।

विजय यादव तीन पटक सो क्षेत्रबाट चुनाव जित्नु भएको हो तर अझै उहाँ चुनाव जित्नेमा ढुक्क हुनुहुन्न । उहाँ पाँच वर्ष सरकारमा रहनु भयो । अझै उहाँ मन्त्री हुनुहुन्छ तर उहाँले आफ्नो क्षेत्रमा खासै काम नगरेको गुनासो क्षेत्रभरि भइरहेको छ । पाँच वर्षमा मुख्य पाँचवटा काम पनि विजय यादवले गिनाउन नसक्ने चर्चा सिरहा क्षेत्र नम्बर दुईमा भइरहेको छ । केही काम गर्नुभयो त्यो पनि अधुरै रहेको गुनासोहरु भइरहेका छन् ।

ती विकास योजनामा कमिशनको चलखेल पनि भएको गुनासो क्षेत्रभर सुनिदै आइरहेको छ । माओवादी केन्द्रका नेता जिवछ यादव यसअघि पनि विजय यादवसँग चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । ११ सय मतले हार्नुभएको थियो । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार भएको कारण लगभग उसको जित निश्चित रहेको छ । विजय यादव सुरेशचन्द्र दास यादवबाट निकै आश गर्नुभएको थियो । तर उहाँ आजदेखि गठबन्धनका उम्मेदवारलाई जिताउन फिल्डमा उत्रिएपछि विजय यादवलाई चिन्ता थपिएको चर्चा क्षेत्रमा सुनिएको छ ।

सुरेशचन्द्र दास यादव परिवारका केही नेता तथा कार्यकर्ता सिके राउत नेतृत्वको जसपामा प्रवेश गरिसकेका छन् । ती नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा आउने अपेक्षा विजय यादवको थियो । सुरेशचन्द्र दास यादवका परिवारबाट राकेश दास यादवले मात्र विजय यादवलाई साथ दिनु भएको छ ।

चुनाव अभियानलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास यादवले जसपा-एमाले गठबन्धन गलत मनासायले बनेको आरोप लगाउनु भयो । जसपाएमाले गठबन्धनप्रति जनता सचेत हुनुपर्ने कुरामा जोड दिँदै नेता यादवले यो गठबन्धनमा राजवादीहरु पनि संलग्न रहेको कारण जनताको हितमा नरहेको कुरा पुष्टि भएको बताउनुभयो ।

उहाँले पाँच दलीय सत्ता गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्माण भएको बताउँदै गठबन्धनका सिरहा २ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार चित्रलेखा यादव र सिरहा २ (क) प्रदेश सभा ुसदस्यका उम्मेदवार जिवछ यादवका लागि मत पनि माग्नु भयो ।

गठबन्धनमा रहेका दलहरुलाई इमान्दारीका साथ आफ्नो साझा उम्मेदवारलाई मतदान गर्न आग्रह पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, गठबन्धनमा रहेका दलका साथीहरुले सबैले इमान्दारीताका साथ मतदान गरे भने दोब्बर, तेब्बर मतले चुनाव जित्छौं ।

तपाईको प्रतिक्रिया