Khadya Bibhag

उपेन्द्र यादव भन्नुहुन्छ, मैले पाँच वर्षमा काम गरेको आधारमा चुनाव जितिरहेको छु

सप्तरी कात्तिक १९ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नंम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी। नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा हुनुहुन्छ ।

यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनु भएको छ भने जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिनु भएको थियो । त्यतिबेला उपेन्द्र यादवले चुनाव जित्नु भएको थियो । वाम–लोकतान्त्रिक गठन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपा गठबन्धनबाटबाट जसपाका अध्यक्ष यादव उम्मेदवार रहनु भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउत एक्लै चुनावी मैदानमा हुनुहुन्छ। तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उहाँले भन्नुभयो, “जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु ।”

जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भई धेरै काम गरेकाले जनताले यसपटक पनि विजयी गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, पाँच वर्षमा यो क्षेत्रमा निस्वार्थ रुपमा विकास गरेको छु, विगतमा यो गतिमा कहिल्यै विकास भएको थिएन त्यसैले जनता पुनः मलाई नै रोज्ने कुरामा विश्वस्त छु ।

आफूले सुरु गरेको कतिपय काम अधुरो छ, त्यो काम पनि पुरा गर्न सप्तरी २ का जनताले आफूलाई नै जिताउने कुरामा विश्वस्त रहेको बताउँदै उहाँले जनताले नेताको अनुहार होइन, उसले गर्ने काम हेर्ने गरेको बताउनुभयो । जनतालाई विकास चाहियो जुन काम आफूले गरेको दावी गर्दै उहाँले राजविराजलाई देशकै शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकसित ठाउँ बनाउने प्रतिवद्धता जनाउनुभयो ।
कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा पाँच वर्षका लागि मौका दिने उहाँको भनाइ छ ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन् ।

तपाईको प्रतिक्रिया