राजविराज, कात्तिक ३० गते । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट चुनाव हार्ने संकेत पाएपछि विभिन्न हर्कतहरु गर्न थाल्नु भएको छ । उहाँले आफ्ना कार्यकर्तामार्फत गाली गलौजाका साथै आफ्ना प्रतिपक्षि दलको विरुद्धमा अनर्गल प्रचारवाजी गर्न थाल्नु भएको छ ।
जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत् आमजनतामा भ्रम फैलाएको आरोप लगाउँदै त्यसप्रति जसपाले गम्भीर आपत्ति जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक र ट्विटर लगायतमा जनमत पार्टीका नेता एवं कार्यकर्ताहरुले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध तथ्यहीन सन्देशहरु उत्पादन एवं संप्रेषण गरी मतदाता जनतामा भ्रम फैलाएको जसपाको आरोप छ ।
निर्वाचनमा कुनै पार्टी वा उम्मेदबार बारे तथ्यहीन सामाग्री गर्नु गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै जसपाले त्यस्ता कार्यमा संलग्न जनमत पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्न जसपाले निर्वाचन आयोगसँग माग गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार यादवले सिके राउत हार्ने अवस्थामा पुगेको कारण उहाँले अनावश्यक गतिविधिमा उत्रेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिके राउतले आफू र आफ्ना कार्यकर्तामार्फत जसपाको विरुद्धमा अनर्गल प्रचार प्रसार गराउन लागि रहनु भएको छ जुन निन्दनीय र आपत्तिजनक छ ।’
जसपाका उम्मेदवारहरु चुनावी अभियानमा रहेको अवस्थामा सीके राउतका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै सामान्य नैतिक आचरणको ख्याल नगरी गलत कार्य गर्न आफ्ना कार्यकर्ताहरुलाई प्रोत्साहन गरेको आरोप लगाउनु भएको छ ।
सप्तरी अध्यक्ष केदार यादवले भन्नुभयो, ‘सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै नबोलेको कुरालाई भिडियो क्लिपमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जाल मार्फत् मतदातामा भ्रम फिँजाउने कार्य हुँदैछ, यो नितान्त गलत एवं अशोभनिय हो । निर्वाचन आयोगले उनीहरुलाई कारबाही गर्नुपर्छ ।’
आफूहरु हालसम्म मर्यादित रुपमा निर्वाचन आचारसंहिताको पालना गर्दैआएको र स्वस्थ प्रतिष्पर्धाको पक्षमा रहेको उहाँले बताउनुभयो । जनमत लगायतका पार्टीका कार्यकर्ता वा भ्रम फिँजाउने कार्यमा संलग्न जो कोहीको भ्रामक प्रचारबाजीमा नपर्न जसपाका जिल्ला अध्यक्ष यादवले सबैमा अपील गर्नुभएको छ । चुनावी माहोललाई बिगार्ने कार्यहरु भईरहेकोले यसतर्फ सबै पक्षलाई चनाखो रहन उहाँले आग्रह गर्नुभएको छ ।
चुनावी प्रतिष्पर्धा स्वस्थ हुनुपर्नेमा यस्ता गलत कार्य गरी मतदाताहरुमा भ्रम फैलाउनुले उक्त पार्टीको वास्तविक रुप उदाङ्गो भएको बताउँदै जसपा सप्तरी अध्यक्ष यादवले भन्नुभयो, ‘निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै हदैसम्मको निकृष्ट क्रियाकलाप भईरहँदा पनि निर्वाचन आयोग लगायत सम्बन्धित निकायले चासो नलिनु अत्यन्तै दुःखद हो ।’
सामाजिक सञ्जालमा पार्टी अध्यक्ष समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव सहितका उम्मेदवार र कार्यकर्ताहरुलाई हदैसम्म गालीगलोज जस्तो क्रियाकलापमा संलग्नहरुलाई कार्वाही गर्न उहाँले आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया