उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई मधेशवादी दलको रुपमा हेरिएको छ तर ती दलहरुले आफूलाई मधेश केन्द्रीत दल होइन राष्ट्रिय दल भन्दै आएका छन् । राष्ट्रिय दलको परिचय दिनका लागि यी दलहरुबाट तराई÷मधेश शब्द झिकिएको छ ।
आफ्ना दस्तावेजहरुमा पनि राष्ट्रिय संरचनाको कुरा गरेका छन् । ती दलको संगठनात्मक शक्ति तराई मधेशमा मात्र केन्द्रीत छन् तर राष्ट्रिय दल देखाउनका लागि ती दलहरु हिमाल, पहाडमा पनि अलिअलि संगठन बनाएका छन् । एउटा दुईटा भएपनि चुनामा उम्मेदवारी दिलाएका छन् । यी दलहरुको सबभन्दा उम्मेदवार तराई मधेशमा खासगरि मधेश प्रदेशमा नै छन् ।
यी तीनटै दलहरुले उपत्यकाका तीनवटा जिल्लामा पनि आफ्नो उपस्थिति देखाएका छन् । काठमाडौँ उपत्यकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेका छन् ।
जसपा र लोसपाले विभिन्न १०–१० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीले चारवटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदारी दिएको छ । लोसपाले काठमाडौँ जिल्लाको १ नम्बर क्षेत्रमा प्रकाश नायजु, २ नम्बर क्षेत्रमा मधुसुदन पुडासैनी, ३ नम्बरमा मोहन बहादुर बस्नेत, ४ नम्बरमा भानु कुमार खड्का, ५ नम्बरमा दानिन्द्र जोशी, ८ नम्बर क्षेत्रमा सन्तोष देउला र ९ नम्बर क्षेत्रमा प्रजुल जोशीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै ललितपुर जिल्लाको १ नम्बर क्षेत्रमा मनिषबहादुर श्रेष्ठ, २ नम्बरमा लक्ष्मण शाही र ३ नम्बरमा किरण शाहीले लोसपाबाट उम्मेदारी दिनुभएको छ । लोसपा वागमती प्रदेशका अध्यक्ष तथा कामाडौँ १ (ख) को प्रदेशसभा सदस्यका उम्मेदवार करण श्रेष्ठले ठूला दलको विकल्पमा लोसपा आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठूला दलहरुले लामो समय सरकार चलाए पनि जनताको समस्या जनताको त्यस्तै रह्यो, कुनै समस्या हल भएन अब लोसपा अगाडी आउनुपर्छ र जनताको समस्या हल गर्छ भन्दै हामी मतदाताको घरघर पुगि रहेका छौं ।’ मतदातालाई लोसपाले कन्भिन्स गर्न सक्यो भने राम्रै मत आउने उहाँले दावी गर्नुभयो ।
त्यस्तै, जसपाले काठमाडौँ जिल्लाको सातवटा क्षेत्रमा उम्मेदवारी दिएको छ भने ललितपुरमा दुई र भक्तपुरमा एउटा क्षेत्रबाट उम्मेदवारी दिएको छ । दुई नम्बर क्षेत्रमा गोपाल बहादुर तन्दुकार, तीन नम्बर क्षेत्रमा मोहन कुमार विश्वकर्मा, पाँच नम्बर क्षेत्रमा भिम बहादुर मगर, छ नम्बर क्षेत्रमा मनोज आचार्य, सात नम्बर क्षेत्रमा राजेन्द्र प्रसाद श्रेष्ठ, आठ नम्बर क्षेत्रमा मनोज कुमार खड्गी (नेवा) र नौ नम्बर क्षेत्रमा शर्मिला सुवाल (डंगोल) ले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, जसपाबाट भक्तपुरको एक नम्बर क्षेत्रमा हिरालाल खड्काले उम्मेदवारी दिनुभएको छ भने ललितपुरको एक नम्बर क्षेत्रबाट गोपाल राज राई र दुई नम्बर क्षेत्रबाट दिलबहादुर तमाङले उम्मेदवारी दिनुभएको छ । जनमत पार्टीले काठमाडौँको चारवटा क्षेत्रमा उम्मेदवार दिएको छ । काठमाडौँ जिल्लाको एक नम्बर क्षेत्रमा हरेन्द्र चौधरी, दुई नम्बर क्षेत्रमा गणेश प्रसाद पुडासैनी, तीन नम्बर क्षेत्रमा गोविन्द नेपाल र आठ नम्बर क्षेत्रमा शान्त बहादुर शाक्यले उम्मेदवारी दिनुभएको छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले सहाराटाइम्ससँग भन्नुभयो, ‘हामीले उपत्यकाका सबै क्षेत्रमा उम्मेदवार उठाउन चाहेका थियौं, त्यसका लागि सार्वजनिक आह्वान पनि गरेका थियौं तर उम्मेदवार नै नपाएको कारण चारजना मात्र उठाएका छौं ।’
यसपटकलाई आफूहरुले नमूनाको रुपमा काठमाडौँमा उम्मेदवार खडा गरेको र यसले कस्तो परिणाम ल्याउँछ त्यसको आधारमा आफू अगामी चुनावमा निर्णय लिने उहाँले बताउनुभयो । काठमाडौंँमा अन्य मधेशी दलभन्दा आफ्नो पार्टीले राम्रो मत ल्याउने उहाँले दावी गर्नुभयो ।
काठमाडौँको तीन नम्बर क्षेत्रमा जनमत पार्टीबाट उम्मेदवारी दिनु भएका गोविन्द नेपाल भन्नुहुन्छ, ‘जनमत पार्टी विल्कुल नयाँ पार्टी हो, अहिले हामीले जनतामा परिचित गराउँदैछौं जनतालाई जति कन्भिन्स गर्न सकियौं त्यति नै मत आउने सम्भावना छ ।’ यहाँ हरेक दल कुनै नकुनै गठबन्धनमा आवद्ध छन् तर जनमत पार्टी एक्लै लडि रहेको छ, यही नै उसको जित हो भन्दै उहाँले अन्य दलसँग आफ्नो प्रतिस्पर्धा चलिरहेको बताउनुभयो ।
जसपा र लोसपाले अलग अलग गठबन्धनमा छन् । जसपाले एमालेसँग गठबन्धन गरेको छ भने लोसपा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा आवद्ध छ । यी दुई दल गठबन्धनमा भएपनि काठमाडौँमा यी दलले गठबन्धनको सहयोग पाएको छैन । आआफ्ना गठबन्धनका दलहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् । जसपा पाँच दलीय गठबन्धनमा हुँदा काठमाडौँको क्षेत्र नम्बर ७ राजेन्द्र श्रेष्ठका लागि पाउने सम्भावना थियो । एमालेसँग गएपछि त्यहाँ मित्रवत प्रतिस्पार्धा जसपाले गरिरहेको छ ।


तपाईको प्रतिक्रिया