२०१६ पुस ९ गते आमा फुदनीदेवी र बुबा धनिलाल यादवको कोखबाट उपेन्द्र यादवको जन्म भएको हो । उहाँ दुई दाजुभाइ हुनुहुन्छ । सप्तरीमा जन्मनु भएका उपेन्द्र यादव सुनसरीमा बसाई सर्नुभएको थियो र उहाँको कर्मक्षत्र मोरगं थियो । त्यही भएर उहाँ तीनटै ठाउँलाई राजनीतिक क्षेत्र बनाउनु भएको छ । उहाँको ठूलो दाइको नाम डम्बर यादव हो, उहाँ पेशाले कृषक हुनुहुन्छ । उपेन्द्र यादवको एकजना छोरा अमरेन्द्रकुमार यादव हुनुहुन्छ । उहाँ भारतस्थित पञ्जाव विश्वविद्यालयमा एमएमएलटी सकाएर बुवासँग राजनीतिमै छन् ।
शिक्षा
उपेन्द्र यादवको प्रारम्भिक शिक्षा सुनसरीको मधुवनस्थित मोहन निमाविबाट भएको हो । उहाँले सप्तरी वभनगामाकट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह माविबाट २०३२ मा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभएको छ । धरानस्थित हात्तिसार क्याम्पसबाट आइएससी र विराटनगरस्थित महेन्द्र मोरंग बहुमुखी क्याम्पसबाट उहाँले बीएस्सी पास गर्नुभएको छ । त्यसपछि उहाँले विराटनगरकै डिग्री कलेजबाट गणितमा एमएस्सी सिध्याउनुभयो । त्रिभूवन विश्व विद्यालयबाट उहाँले कानुनमा स्नातक (बीएल) को शिक्षा समेत हासिल गर्नुभएको छ ।
फोरम गठन
माओवादीसँग भूमिगत भएको अवस्थामा २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल एउटा समाजिक संस्थाको रुपमा गठन भएका थियो । उपेन्द्र यादव त्यसको संस्थापक अध्यक्ष हुनुहुन्छ । २०६० मा पहिलो महाधिवेशन विराटनगरमा भएको थियो । सो महाधिवेशनबाट पनि उपेन्द्र यादवलाई नै अध्यक्ष बनाइएको थियो । मधेशको मानव अधिकारलगायत अन्य समाजिक उत्तरदायित्वको मुद्दा उठाउनका लागि फोरम नेपालको गठन भएको थियो । उपेन्द्रले फोरम नेपालको माध्यमबाट २०६१÷०६२ देखि आन्दोलनको सुरुवात गर्नुभएको थियो । २०६३ मा आएर विधिवत रुपमा मधेश आन्दोलनको घोषणा उहाँले गर्नुभयो ।
मधेश आन्दोलन
उपेन्द्र यादवले २०६३÷२०६४ मा मधेश आन्दोलन हुँदा त्यसको नेतृत्व गर्नुभएको थियो । २०६५ सम्म दुईचरणमा मधेश आन्दोलन सम्पन्न भएको थियो । पहिलो चरणको आन्दोलनमा उपेन्द्र यादवले सरकारसँग २१ बुँदे सम्झौता गर्नुभएको थियो । त्यो सम्झौताका कारणले उहाँको पार्टी पनि विभाजन भयो र सम्झौता पनि कार्यान्वयन नगरेको कारण दोस्रो चरणको आन्दोलन पुनः सुरु भयो त्यसमा महन्थ ठाकुरको तत्कालिन तमलोपा र राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीसँग मोर्चाबन्दी उहाँले गर्नुभएको थियो ।
२०६४ फागुन ८ गते सरकारसँग आठ बुँदे सम्झौता गरेर समाजिक संस्थाको रुपमा रहेको फोरम नेपाललाई विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता गराएर पहिलो संविधानसभा चुनावमा भाग लिनुभएको थियो । सो चुनावमा उपेन्द्र यादव मोरङ्ग र सुनसरी दुई ठाउँबाट चुनाव जित्नु भएको थियो । पछि मोरङ्गलाई छाड्नु भएको थियो ।
सत्ता यात्रा
२०६५ मा माआवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा उपपरराष्ट्र मन्त्री हुनुभएको थियो । दोस्रो पटक माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन गर्ने कि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने विषयमा फोरमका तत्कालिन नेता विजयकुमार गच्छदारसँग विवाद उत्पन्न भएको थियो । उपेन्द्र यादव प्रचण्डको पक्षमा हुनुहुन्थ्यो भने विजयकुमार गच्छदार माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो । दुवैजना आआफ्नो अडानमा हुनुहुन्थ्यो ।
पछि गच्छदारले पार्टी विभाजन गरेर माधव कुमार नेपाललाई सघाएका थिए । माधवकुमार नेपाल नेतृत्वको सरकार ढलेपछि एमालेका तत्कालिन नेता झलनाथ खनालको नेतृत्वमा सरकार गठन भएको थियो । त्यो सरकारमा पनि उपेन्द्र यादव सहभागी हुनुभएको थियो । पछि माओवादीका तत्कालिन नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुन लाग्दा जेपी गुप्ता फोरम नेपालबाट अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गर्नुभएको थियो ।
डा.भट्टराई नेतृत्वको सरकारको पालामा संविधानसभा विघटन भएपछि दोस्रो संविाधनसभाको चुनाव भयो । त्यसमा पनि उपेन्द्र यादव मोरङ्ग र सुनसरीबाट चुनाव लड्नु भएको थियो । त्यसमा उहाँ सुनसरीबाट मात्र चुनाव जित्नुभयो । दोस्रो संविधानसभाबाट निर्माण हुने संविधानमा मधेशको अधिकार र पहिचान उल्लेख गराउनका लागि उपेन्द्र यादव आन्दोलनको सुरुवात गर्नुभएको थियो । त्यो तेस्रो चरणको आन्दोलन थियो ।
उपेन्द्र यादवले काठमाडौँ केन्द्रीत आन्दोलन पनि गर्नुभयो । संविधान निर्माण हुन लाग्दा उहाँ पुनः महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेतृत्वको पार्टीसँग गठबन्धन बनाएर मधेशमा गएर आन्दोलन गर्नुभयो । नाकाबन्दीसम्मको अवस्था पनि आयो । आन्दोलन चलिरहेकै अवस्थामा २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । त्यसपछि उपेन्द्र यादवले अन्य मधेशवादी दलसँग मोर्चा बनाएर संविधान संशोधनको माग राख्दै आन्दोलनको सुरुवात गर्नुभयो । आन्दोलन जारी रहेकै बेला २०७४ मा स्थानीय तह, प्रदेश र संघको चुनाव घोषणा भयो । उपेन्द्र यादव आन्दोलनको साथ साथै भित्रभित्रै चुनावको तयारी पनि गरिरहनु भएको थियो जबकी त्यतिबेला मोर्चामा रहनु भएका महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भन्दै आइरहनु एको थियो तर आफू भित्रभित्रै चुनावको तयारी पनि गर्नुभएको थियो ।
जसका कारण महन्थ ठाकुरहरु तत्कालिन प्रदेश २ नम्बर प्रदेशबाहेक कतै चुनावमा भाग लिन सक्नुभएन । २०७४ मा सप्तरीको क्षेत्र नम्बर २ बाट उहाँ चुनाव जित्नुभयो । एमालेसँग दुई बुँदे सम्झौता गरेर सरकारमा पनि सहभागी हुनुभयो । सुरुमा स्वास्थ्यमन्त्री त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव कार्यक्रममा भाग लिन भारतको दिल्ली गएको बेला उहाँलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानुन मन्त्रीमा सार्नुभएको थियो । पछि संविधान संशोधन सम्बन्धी एउटा प्रस्ताव लगेपछि तत्कालिन प्रधानमन्त्री अोलीले नमानेपछि विवाद भएर उपेन्द्र यादव सरकारबाट बाहिर हुनुभएको थियो ।
त्यसको लगतै तत्कालिन राजपा नेपालसँग एकीकरण गरेर उहाँ जनता समाजवादी पाटी नेपाल गठन गर्नुभयो तर जसपामा महन्थ ठाकुरसँग कुरा नमिलेपछि पार्टी विभाजन भयो । महन्थ ठाकुर अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनाउनुभयो । उपेन्द्र यादव अहिले जसपाका एकल अध्यक्ष हुनुहुन्छ । तर विधानमा दुईटा अध्यक्षको व्यवस्था भएको कारण डा.बाबुराम भट्टराईसँग आन्तरिक विवाद सुरु भएको छ । डा.बाबुराम भट्टराई विधानमा व्यवस्था भए अनुसार दुईजना अध्यक्ष राख्नुपर्छ भनिरहनु भएको छ तर उपेन्द्र यादवले दुईअध्यक्षीय प्रणालीबाट पार्टी चल्दैन भनि प्रमाणित भइसकेकाले एकजना अध्यक्ष मात्र रहने बरु विधान अधिवेशन गरेर त्यसलाई संशोधन गरौं भनि प्रस्ताव गर्नुभएको छ । तर त्यसमा अझै सहमति भएको छैन ।
कम्युनिष्ट नेता
उपेन्द्र यादव भन्नुहुन्छ, ‘म विद्यार्थी जीवनदेखि नै उग्रस्वभावको थिए । ममा सानैदेखि एउटा जुझारूपना थियो । स्कूले जीवनमै म कम्युनिष्ट आन्दोलनसँग जुडिसकेको थिए ।’ उहाँ एसएलसीको तयारीमा जुटेकैबेला भएको आन्दोलनमा सरिक हुँदा २०३२ सालमा राजविराज जेलमा पर्नुभएको थियो । तीन महिनापछि त्यहाँबाट रिहा भएपछि उहाँ भूमीगत राजनीतिमा लाग्नु भएको थियो । पुष्पलालको विचारबाट प्रभावित भएर कम्युनिष्ट बन्नुभएका उहाँ सानैदेखि राजनीति नै गर्ने उद्देश्य राख्नु भएको थियो ।
उहाँ लक्ष्य प्राप्तिका लागि केही समय मास्टरी पनि गर्नुयभो । पाँच वर्षसम्म मास्टरी गरेपछि उहाँ फूल टाइम राजनीतिमा लाग्नुभयो । कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला सदस्यबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएका उपेन्द्र यादव किसान, मजदूर र शोषितवर्गको मुक्तिका लागि भएका हरेक आन्दोलनमा सक्रियतापूर्वक लाग्नु भएको थियो ।
२०३६ को विद्यार्थी आन्दोलनमा विराटनगरमा पक्राउ परेपछि उहाँलाई चार महनिा जेलमा राखियो । त्यहीबेला अखिल विद्यार्थी विभाजित भएपछि उहाँ अखिल पाँचौतर्फ लाग्नु भयो । त्यसपछि उहाँ नेपाल प्रगतिशिल विद्यार्थी युनियनको उपाध्यक्ष हुनुभयो । २०४२ मा सत्याग्रह आन्दोलनमा सक्रियता पूर्वक लाग्नु भएको थियो ।
त्यसबेला पनि उहाँ पक्राउ पर्नुभएको थियो । नौ महिनासम्म जेलमा बस्नुभयो । जेलबाट छुटेपछि नेकपा (पुष्पलाल) र नेकपा (मनमोहन) मिलेर नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो । त्यसमा उपेन्द्र यादवलाई २०४३ मा कोशी अञ्चलको जिम्मेवारी दिइएको थियो । उपेन्द्र यादवको सक्रियता २०४६ को आन्दोलनमा पनि थियो । सो आन्दोलनमा पार्टीले उहाँलाई विराटनगरको जिम्मेबारी दिएको थियो । त्यो आन्दोलन पनि उहाँ पक्राउ पर्नुभएका थियो । त्यतिबेला पनि उहाँलाई तीन महिनासम्म जेलमा राखेको थियो
।
उहाँ जेलमै रहेको बेला बहुदल घोषणा भएको थियो । उहाँले भन्नुभयो, ‘जेलमै रहेकै बेला बहुदलको घोषणा भयो । हामी छुट्यौ । त्यसपछि मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) र मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले) को मर्जपछि बनेको नेकपा (एमाले) मा म सक्रिय भए ।’ २०४८ को चुनावमा एमलोको तर्फबाट उहाँ सुनसरी–४ बाट चुनाव लड्नुभयों । त्यो चुनावमा उहाँ दोस्रो स्थान हासिल गर्नुभयो ।
कम्युनिस्टबाट मोह भङ्ग
मदन भण्डारीले मधेशी समस्या अध्ययन गर्न एउटा कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलको संयोजक सीतानन्दन रायलाई बनाइएको थियो । तर भण्डारीको असामयिक निधनपछि सो कार्यदल विघटन गरियो । माधवकुमार नेपालले सो कार्यदल विघटन गर्नुभएको थियो । उपेन्द्र यादवले भन्नुभयो, ‘सो कार्यदलले तयार पारेको रिपोर्ट पार्टीले वेपत्ता बनायो । त्यसपछि मैले मधेशको आवाज पार्टीभित्रै चर्को रूपमा उठाउन थालें । यो आबाज उठाउनेलाई नेकपा (एमाले) मा राम्रो रूपमा हेरिदैन्थ्यो ।’
त्यसपछि २०५४ मा मधेशी जनअधिकार फोरम नेपाललाई संगठनको रूपमा गठन गरेर मधेशीको हकअधिकारलाई सुनिश्चित गर्नेतर्फ उहाँ उन्मुख हुनुभयो । मधेशका सवालहरूका लागि अध्ययन, मधेशीलाई जागरूक बनाउने तथा संगठन विस्तारमा सक्रियतापूर्वक लाग्नुभयो । २०५६ मा उपेन्द्र यादवले एमाले पार्टी छाड्नुभयो । त्यतिबेला उहाँ जिल्ला सदस्य हुनुहुन्थ्यो । २०६० मा फोरमको राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनले आत्मनिर्णय अधिकारसहित स्वायत्त मधेश प्रदेशको स्थापना र मधेशीलाई जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र मधेशीको राष्ट्रिय पहिचानका लागि मधेश विद्रोहको तयारी गर्ने निर्णय गरेको थियो ।
उहाँ भन्नुभयो, त्यो निर्णयपछि फोरमविरूद्ध राज्यद्वारा व्यापक दमन शुरू भयो । म फेरी भूमिगत हुन बाध्य भए ।’ प्रवासमा रहेरै भएपनि मेची–महाकाली प्रशिक्षण सिविर शुरू गर्नुभएको थियो उहाँलें । उहाँ प्रवासमै बसेर लेखन कार्यपनि सुरु गर्नुभयो । मधेशवाणी, मधेश मुक्तिका सवाललगायतका प्रकाशन ÷पुस्तकहरू मधेशीहरूको माझ उहाँले ल्याउनुभयो । उहाँ भन्नुहुन्छ, ‘त्यसपछि माओवादीले पनि हामीमाथि दमन शुरू ग¥यो । सरकारबाट त दमन पहिलेदेखि नै जारी थियो । अर्थात हामी दोहोरो दमनमा प¥यौं ।’
उपेन्द्र यादव भन्नुहुन्छ, ‘भूमिगतकालमा माओवादीसंग मेरो निकटता थियो तर त्यो धेरै दिनसम्म टिकेन, यो नै यथार्थ हो । माओवादीसँग व्यक्तिगत रूपमा मेरो सहयोगीको रूपमा मात्रै सम्बन्ध थियो । कारण थियो, मधेशको सवालमा माओवादी सबैभन्दा निकट थियो ।’ भारतको दिल्लीमा सुरेशआले मगर, मातृका यादव र आफूलाई भारतीय प्रहरीले पक्राउ गरेको बताउँदै उहाँले भन्नुभयो, ‘उहाँहरुलाई नेपाल फर्काइ दियो र मलाई थप छानविनका लागि भारतमै राख्यो, त्यहाँका प्रहरी तथा राज्य संयन्त्रले पुरै छानविन गर्यो, माओवादी जनयुद्धमा मेरो कुनै संलग्नता नदेखेपछि मलाई त्यही छाडेको थियो ।’
त्यस छाडेपछि माओवादीले उपेन्द्र यादवमाथि झन संशंकित भएको थियो । उपेन्द्र यादव भन्नुहुन्छ, ‘त्यसपछि नै मलाई मार्नकै लागि माओवादीका नेताहरुलाई मेरो पछि लगाइएको थियो । ठाउँठाउँ आक्रमण गर्न लगाइएको थियो ।’ २०६२÷६३ को जनआन्दोलनमा फोरमको ब्यानर लिएर उहाँ सहभागी हुनुभयो । आन्दोलन सफल भयो ।
अन्तरिम संविधान बन्दा पुरानै व्यवस्थालाई निरन्तरता दिइयो । एकात्मक र केन्द्रिकृत राज्य व्यवस्थालाई लागू गर्ने निर्णय भयो । अन्तरिम संविधानप्रति हाम्रो असहमति हुँदाहुँदै पनि २०६३ माघ १ गते त्यसको घोषणा गरियो । त्यसको भोली पल्टै माइतीघर मण्डेलामा फोरमको नेतृत्वमा संविधान जलाएर मधेश विद्रोहको घोषणा उहााले गर्नुभएको थियो । त्यस क्रममा २५ जनाको गिरफ्तारी भयो । उहाँहरुमाथि राज्यद्रोहको अभियोगमा मुद्दा चलाउने निर्णय गरियो । त्यसको विरोधमा मधेशको ठाउँठाउँबाट विद्रोह शुरू भएको थियो ।
उपेन्द्र यादवले भन्नुभयो, ‘हामीले संघियता अन्तरिम संविधानमा लेखाएपछि फोरमका कार्यकर्ता खासगरि ममाथि माओवादीबाट ठाउँठाउँमा आक्रमण भयो । माओवादीले ममाथि नेपालगंजमा आक्रमण गर्यो । भैरहवा र गौरमा मलाई मार्ने योजनानै माओवादीले बनाएको थियो तर कुनै ठाउँमा सफल भएन ।’
चुनाव जितेपछि सप्तरीमा विकास
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बन्नु भएका उपेन्द्र यादव गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गर्नुभएको छ । उहाँले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएपछि आममतदाता प्रभावित हुने गरेको तथा कतिपय त तत्कालै विभिन्न पार्टी छाडेर जसपा प्रवेश गर्ने गरेको बताउनु हुन्छ युसुफ अलि ।
रिफर सेन्टरको उपमा पाएको गजेन्द्रनारायण सिंह अस्पताल पचास शैय्याको मात्र थियो ।
अहिले त्यसको मुहार फेर्ने काम जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको सप्तरी राजविराजका पुराना राजनीतिककर्मी दिलिप सिंह बताउनुभयो । सो अस्पताल अहिले ४२० शैय्याको अत्याधुनिक अस्पतालको रुपमा परिणत भएको छ । उहाँ स्वास्थ्य मन्त्री हुँदा ४१ करोड रुपैयाँ अस्पताललाई उपलब्ध गराएर द्रुत गतिमा काम अगाडि बढाउन लगाउनु भयो । अस्पतालमा कार्डियाक भवन र एनेक्स भवन निर्माण, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास भवन सहितका निर्माण कामहरु अन्तिम चरणमा पुगेको छ ।
उहाँले मन्त्रालयबाटै अत्याधुनिक युएसजी मेसिन, सी.टी. स्क्यान सहितका छुट्टाछुट्टै वार्डकालागि अत्याधुनिक मेसिनहरु उपलब्ध गराउनुभयो । तीमध्ये केही उपकरणहरु जडान भईसकेका छन् भने केही जडानको क्रममा रहेको छ ।
भारतीय दूतावासको सहयोगमा निर्माण कार्य सुरु भई अलपत्र अवस्थामा रहेकोमा प्रस्तुती गृहलाई आफ्नै पहलमा फुकुवा गराई अविलम्ब निर्माण कार्य पुरा गराउन उहाँ सफल हुनुभएको छ । अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीत कुमार झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पताललाई प्रदेशबाट संघमा लाने कार्य मन्त्री परिषद्बाट पारित गराउन महत्वपूर्ण भूमिका उपेन्द्र यादवले पुर्याउनु भएको छ ।
उहाँ स्वास्थ्य मन्त्री हुँदा अस्तालकै इतिहासमा सर्वाधिक विशेषज्ञ डाक्टरहरु पठाउँदा ३६ जनासम्म पुगेको इतिहास छ । यसअतिरिक्त अस्पतालमा एनआसियु, ई.एन.टी., ओर्थोपेडिक, रेडियोलोजी, सामाजिक इकाई स्थापना लगायतका सेवाहरु विस्तार गराउन आवश्यक सहयोग गरेको छ । उहाँका अनुसार स्वास्थ्य सेवा अभिवृद्धिका लागि नेपाली सेनाको समन्वयमा जिल्लाकै इतिहासमा सुविधा सम्पन्न १० दिने स्वास्थ्य शिविर आयोजना गरिए । सो शिविरमा करिब ११ हजार भन्दा बढीले विभिन्न रोगहरुको जाँचदेखि अप्रेशनसम्मको सुविधा पाएका थिए ।
नागरिक समाजका अध्यक्ष सुखराम यादवले भन्नुभयो, ‘उपेन्द्र यादवकै विशेष पहलमा राजविराज नगरपालिका १० स्थित बिरौलमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । कुल ६१ विघा ६ कठ्ठा जग्गामा भवन निर्माणका लागि टेण्डर समेत भईसकेको छ । प्रतिष्ठानकै श्रोत अस्पताल अर्थात शिक्षण अस्पतालको रुपमा गजेन्द्रनारायण सिंह अस्पताललाई अगाडि बढाईएको छ । भौतिक पूर्वाधार सम्पन्न भई दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको पूर्ती भईसकेपछि मधेश प्रदेश र प्रदेश नम्बर १ मै सुविधासम्पन्न अस्पतालको रुपमा स्थापित हुने विश्वास गर्न सकिन्छ ।’
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमलाई सांसदहरुले सामान्यतया कार्यकर्ता पोस्नकै लागि टुक्रे रकम विनियोजन गर्ने परिपाटी छ । तर उनले त्यसो नगरी पहिलो वर्षको कुल बजेट ४ करोड रुपैयाँ अस्पताल परिसरमै नर्सिङ्ग कलेज निर्माणमै लगाई दिनुभयो । टुक्रे बजेट निर्वाचन क्षेत्र अन्तर्गतको पालिहरुमा नदिँदा उहाँका आफ्नै कार्यकर्ताहरु असन्तुष्ट छन् । तर नर्सिङ्ग कलेज निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेर पढाई सञ्चालनको तयारीमा रहेको छ ।
यसैगरी अर्को वर्ष पनि निर्वाचन क्षेत्रको सम्पूर्ण रकम एकमुष्ठ रुपमा राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस परिसरमा इन्जिनियरिङ्ग कलेज भवन निर्माणमा उहाँले खर्चिनु भएको छ । सो भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । क्याम्पस प्रमुख प्रा.राजिव कुमार मिश्रका अनुसार भवन निर्माण कार्य सम्पन्न भईसके पनि त्रिभुवन विश्व विद्यालयबाट अनुमति लिई आङ्गिक क्याम्पसको रुपमा इन्जिनियरिङ्ग विषयको पढाई सञ्चालन गरिने छ ।
यसैगरी उपेन्द्रले महदेवा गाउँपालिका वडा नम्बर ३, तिलाठी कोइलाडी गाउँपालिका २ र ४ मा रहेका विद्यालयहरुको भवन निर्माणमा सम्पूर्ण रकम खर्चिनुभयो । यसका साथै उहाँकै परिकल्पना अनुसार प्रदेश सरकारको सहयोगमा राजविराजमा कृषि विश्व विद्यालय स्थापना गरि आवश्यक कार्यहरु अगाडि बढेको छ ।
वल्र्ड बैंक र संघ सरकारको साझेदारी कार्यक्रम अन्तर्गत राजविराजमा ७३ करोडको लागतमा २३ किलोमिटर रिङ्ग रोड निर्माण, रुपनी–राजविराज सडक चार लेनको विस्तार, राजविराज–सखडा दुई लेनको सडक निर्माण, राजविराज–भारदह सडकखण्डको स्तरोन्नती, भारदह–डाढा, पकरी सडक निर्माण, पकरी–सोनरा–तोपा हुँदै राजविराज–१५ स्थित मुसहरनियाँ–विषहरिया–सकरपुरा–रम्पुरा डलवासम्मको सडक सहित उहाँले गाउँगाउँसम्म सडक सञ्जाल विस्तारको कामलाई अगाडि बढाउनु भएको छ । तीमध्ये कतिपय काम सञ्चालनमा रहेका छन् भने केहीको टेण्डर समेत लागिसकेका छन् ।
यतिले पनि उपेन्द्रको मनले मानेन । गजेन्द्रनारायण औद्योगिक क्षेत्र सञ्चालनका लागि पटक पटक उद्योगीहरुसँग छलफल गर्नुभयो । तर कोही पनि सप्तरीमा उद्योग लगाउन तयार भएनन् । भारतसँग कनेक्टिभिटी नभएसम्म व्यापार व्यवसाय र उद्योग चल्न सक्दैन भनि निष्कर्षमा उहाँ पुग्नुभयो ।
उहाँले अथक प्रयास गरी निर्मलीस्थित भारतको ६ लेनको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माणका लागि आवश्यक कामहरु उहाँले अगाडि बढाउनु भएको छ । राजविराज भएर ठूला मालबाहक गाडी चल्न थालेपछि उद्योगका लागि कच्चा सामग्री सस्तो हुने भएपछि औद्योगिक क्षेत्र मात्र नभई अन्य उद्योगहरु सञ्चालन हुने र जिल्लामा रोजगारी श्रृजना हुनुका साथै आर्थिक समृद्धितर्फ फड्को मार्ने उपेन्द्रको परिकल्पना छ ।
सप्तरीलाई कुनैबेला वौद्धिक र राजनीतिक चेतना भएको जिल्लाको रुपमा चिनिदै आएकोमा यतिबेला हरेक क्षेत्रमा पछाडी रहेकोले उहाँले देशकै समृद्ध जिल्लाको रुपमा विकास गर्ने सङ्कल्पका साथ अगाडि बढ्नु भएको छ ।
आफु जन्मेको जिल्ला र क्षेत्रको अवस्थामा व्यापक परिवर्तन गर्ने आँट भएका उहाँ जनताको घरदैलोमा जाँदा यति धेरै काम गर्नु भएको छ कि सबै काम भन्न याद रहँदैन । मधेशी जनता काठमाण्डौ जाँदा मर्सिया, बिहारी, भैया, धोती ईत्यादि शब्दले अपमान सहनुपरेको अवस्थाको अन्त्य उपेन्द्र यादवको पहलमा भएको छ ।
मधेश शब्द स्थापित हुनु, मधेश प्रदेश बन्नु र मधेशी जनताले आफूलाई गर्वका साथ मधेश प्रदेशको वासिन्दा भन्न पाउनु, समावेशी, आरक्षण लगायतका सवालहरु तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै हालको आफूले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको सफलता रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव बताउनु हुन्छ ।
तपाईको प्रतिक्रिया