रेशम चौधरी जेलबाट नै नागरिक उन्मुक्ति पार्टी नै सञ्चालन गरिरहनु भएको छ । सो पार्टीको हरेक निर्णय जेलबाट नै हुन्छ । भर्खर खुलेको पार्टीले मंसिर ४ गतेको चुनावमा अन्य साना दलभन्दा राम्रो पोजिसन ल्याउने अनुमान भइरहेको छ । जेलबाट यी सब कसरी सम्भव भइरहेको छ । पक्कै पनि जेलबाट सञ्चार सुविधाहरु प्रयोग गरेर यी सब सम्भव भइरहेको छ ।
उहाँले जेलबाट नै ल्यापटप, मोवाइललगायत अन्य सुविधा पक्कै पनि प्रयोग गर्नुभएको होला त्यही भएर यी सब सम्भव भएको हो । नभए जेलबाट नै यसरी पार्टीका कामहरु कसरी सम्भव भएको होला भनि विश्लेषण भइरहेको छ । पार्टीका हरेक काम रेशम चौधरी आफै गरिरहनु भएको छ । पार्टीको दस्तावेजदेखि लिएर हरेक गतिविधिहरु रेशम चौधरीबाहेक अरु कसैले गर्न सकिरहेको छैन । उम्मेदवार चयनदेखि लिएर बुथ कमिटी चयनसम्मका सबै काम रेशम चौधरी आफैले जेलबाट नै गर्नुभएको छ । उहाँलाई नसोधिकन पार्टीको कुनै पनि निर्णय अगाडि बढ्दैन ।
यो चुनावमा रेशम चौधरी आफू पनि बर्दिया २ बाट उम्मेदवार बन्नु भएको थियो । लक्ष्मण थारु पनि उम्मेदवार बन्नुभएको थियो । तर टिकापुर घटनामा मुछिएका कारण उहाँ दुवैजनाको उम्मेदवारी खारेज भयो तर रेशम चौधरीले बुद्धि पुर्याउनु भएको थियो । बर्दिया २ बाट आफ्नो बुवा लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाउनुभएको थियो । २०७४ को चुनावमा रेशम चौधरी कैलाली १ मा तत्कालिन राजपाबाट चुनाव लड्नु भएको थियो । त्यतिबेला उहाँका बुवा लालवीर एमालेबाट प्रदेश सभामा उम्मेदवार बन्नु भएको थियो । रेशम चौधरी चुनाव जित्नु भएको थियो भने उहाँका बुवा लालवीर राजपाकै कृष्ण चौधरीबाट पराजित हुनु भएको थियो ।
अहिले कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा रेशम चौधरीका श्रीमती रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिनुभएको छ । रेशमका श्रीमती रन्जिता र बुवा लालवीरको चुनाव जित्ने लगभग निश्चित रहेको चर्चा भइरहेको छ । स्थानीय निर्वाचनमा उन्मुक्ति पार्टीले कैलालीका दुई नगरपालिका र दुई गाउँपालिका जितेको छ ।
टीकापुर नगरपालिकाको मेयर, भजनी नगरपालिकाको मेयर–उपमेयर, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै पद जितेको यो पार्टी निर्वाचनलगत्तै संगठन निर्माणमा जुटेको थियो । संगठन निर्माणमा लक्ष्मण थारु र सुरेन्द्र चौधरी पनि सक्रिय हुनुभयो । छोटो समयमा सो पार्टीले राम्रै प्रगति गरेको छ ।
त्यही प्रगति देखेर देशका प्रधानमन्त्री र गृहमन्त्री समेत सो पार्टीबाट प्रभावित हुनुभयो । नागरिक उन्मुक्ति पार्टीले चुनावमा प्रभाव पार्ने आशंका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले गर्नुभएको छ । रुपन्देही ३ बाट उम्मेदवारी दिनु भएका बालकृष्ण खाँणको विरुद्धमा रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट तुल्सीप्रसाद थारुलाई उम्मेदवार बनाउनु भएको छ । सो क्षेत्रमा थारुको करिब २९ हजार मत रहेको छ । गृहमन्त्री खाँणलाई तुल्सीप्रसाद थारुले प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
रेशम चौधरी गृहमन्त्री खाँणको क्षेत्रमा आफ्नो पार्टीबाट उम्मेदवारी दिन लगाए पनि प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरामा उम्मेदवारी दिन लगाउनु भएको छैन । यहाँसम्म कि काँग्रेसका नेता एनपी साउदको क्षेत्रबाट पनि उम्मेदवारी फिर्ता लिन लगाउनु भएको छ । यही बीचमा लक्ष्मण थारुले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणलाई भेट्न बालुवाटार जानु भएको थियो । त्यहाँ उहाँले रेशम चौधरीलाई फास्ट ट्रयाकबाट रिहा गर्यो भने गृहमन्त्री खाँणको क्षेत्रबाट उम्मेदवारी फिर्ता लिने तथा प्रधानमन्त्री देउवालाई पनि सघाउने प्रस्ताव गर्नुभएको थियो ।
सो प्रस्ताव प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणले सहस्र स्विकार गर्नुभयो । उहाँहरुले भन्नुभयो, हामीलाई सहयोग गर्नुस् चुनावपछि बन्ने गठबन्धनको सरकारले रेशम चौधरीलाई फास्ट ट्रयाकबाट छोडाउने छ ।’ त्यसपछि लक्ष्मण थारु जेलमा गएर रेशम चौधरीलाई भेट्नुभयो र उहाँलाई यो सबै कुराको जानकारी गराउनुभयो । रेशम चौधरी लक्ष्मण थारुमाथि फायर हुनुभयो र भन्नुभयो, मलाई नसोधीकन यो कुरा गर्न किन तपाई जानुभयो, मेरो केस अब त्यतिकै प्रकृयामा गइसकेको छ, आज नभोली म रिहा नै हुने हो तपाई कि ठूलो बन्न खोज्नुभयो ।’
त्यो बेलादेखि रेशम र लक्ष्मणबीच सम्बन्ध बिग्रिएको छ ।
स्रोतका अनुसार लक्ष्मण थारुले रेशम चौधरीका श्रीमती रञ्जिता चौधरीलाई भित्रभित्रै असहयोग गरिरहनु भएको छ । उहाँले लोसपालाई सघाई रहेको स्रोतले दावी गरेको छ । रञ्जितालाई गठबन्धनका उम्मेदवार काँग्रेसका नेता रामजनम चौधरीले टक्कर दिइरहनु भएको छ । रेशम चौधरीको क्रियाकलापबाट लक्ष्मण थारु असन्तुष्ट हुनुहुन्छ ।
दाङबाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनुभएका सुरेन्द्र चौधरी पनि सन्तुष्ट हुनुहुन्न । रेशम चौधरीले आफ्नो श्रीमती र बुवालाई उम्मेदवार बनाएपछि पार्टीमा धेरैजना असन्तुष्ट बनेका छन् । यो पार्टी नागरिक उन्मुक्तिका लागि होइन, परिवार उन्मुक्तिका लागि भएको टिप्पणी भइरहेको छ । चुनावपछि सो पार्टीमा ठूलो भूइचालो जाने संकेत भइरहेको छ । रेशम चौधरीको पीठ पछाडी यी सब खेल भइरहेको छ ।


तपाईको प्रतिक्रिया