तातेको ताबामा पानी राख्दा च्वाइँ गरेर जसरी आवाज आउँछ, त्यसैगरी च्वाइँ मात्र गरेको हो । यसमा केही भइरहेको छैन । ताबामा केही पाकिरहेको छैन । सीके राउतको कुनै कार्यक्रम मैले जानेको छैन । पछिल्लो १५ वर्षदेखि खोजी भइरहेको विकल्प सीके राउत त हुँदै होइन ।
–सुरेशकुमार यादव,
सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका डा.सिके राउतलाई सर्वप्रथम विजयको शुभकामना दिन चाहन्छु । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग एक दुईपटक फोनमा कुरा हुनुभन्दा बढी उहाँसँग मेरो चिनजान छैन । उहाँसँग आजसम्म प्रत्यक्ष भेटघाट पनि भएको छैन । एकपटक उहाँले नै मलाई फोन गरेर भेट्ने आग्रह गर्नुभयो र सोही क्रममा भन्नुभएको थियो, ‘म तपाईलाई राम्रोसँग चिन्छु, सायद तपाईले बिर्सिनुभएको होला तपाईसँग मातृका यादवको घर (डेरा)मा भेटेको थिए, त्यहाँ केही कुराकानी पनि भएको थियो ।’
उहाँले भनेको कुरा म माने तर मेरो स्मरणमा त्यो कुरा थिएन । उहाँले नै जनकपुर आएको बेला एकपटक भेटौं न भन्नुभएको थियो । एउटा मौकामा म जनकपुर पुगेको थिए । उहाँलाई सम्पर्क गरे । उहाँले भेट्ने समय पनि दिनुभयो तर दिएको समयमा उहाँ उपलब्ध हुनु भएन । भेट्न नसकिने भयौं भनि अग्रिम जानकारी पनि दिनु भएका थिएन । म जनकपुरबाट काठमाडौँ फर्के ।
धेरैपछि एकपटक फोनमा एउटा समाचारको विषयलाई लिएर मैले नै उहाँलाई फोन सम्पर्क गरेको थिए । त्यसपछि उहाँसँग न फोनमा सम्पर्क हुनसक्यो न प्रत्यक्ष नै । उहाँसँग फोनमा कुरा गरौं भनि कुरा मनमा नआएको होइन । मैले एक दुईपटक ट्राइ पनि गरेको हो । तर उहाँको कतिवटा नम्बर छन् थाह भएन । भएका नम्बरमा सम्पर्क हुन निकै गाह्रो भयो । त्यसपछि मैले सम्पर्क गर्न छाडि दिए । मेरो मोवाइलमा उहाँको नम्बर पनि छैन ।
मैले उहाँसँग प्रत्यक्ष भेट्ने कोशिश नगरेको पनि होइन । उहाँको नम्बर मसँग छैन । मैले उहाँका सहयोगी र सहकर्मीको माध्यमबाट भेट्ने निकै प्रयास गरे । पछिल्लो समय स्थानीय चुनावको समय मधेश गएको बेला उहाँका पार्टीका नेता बीपी साह (मेरो मिल्ने साथी पनि)मार्फत भेट्ने प्रयास गरे । त्यो पनि सम्भव भएन, त्यसअघि उहाँका पार्टीका महासचिव चन्दन सिंह, उपाध्यक्ष दीपककुमार साहमार्फत पनि भेट्ने प्रयास गरे । तर सम्भव भएन । उहाँहरुले सिके राउतलाई मेरो बारेमा भेट्ने कुरा भन्नुहुन्थ्यो कि भन्नु हुन्थेन थाह भएन तर उहाँहरुको हाउभाउबाट राउतले मसँग भेट्न नचाहेको भनि प्रष्ट बुझ्थे ।
सँगसँगै काम गरेको जस्तो लाग्छ । एउटै कोठामा सँगै बसेको जस्तो लाग्छ । वर्षौदेखिको चिनजान हो जस्तो लाग्छ । त्यस्तो लाग्नुको कारण हो, उहाँलाई मैले दिनदिनै पछ्याई रहेको हुन्छु । उहाँको हरेक गतिविधिलाई अध्ययन गरिरहेको हुन्छु ।
सिके राउतले मसँग किन भेट्न चाहनु भएको छैन त्यो मलाई थाह छैन । तर मेरो बारेमा उहाँले आफ्नो निकट नेता, पार्टीका बैठकहरुमा चर्चा गर्नुहुन्छ त्यो कुरा उहाँकै निकटस्थ नेताहरुबाट थाह पाउने गरेको छु ।
उहाँको बुझाई मप्रति सकारात्मक छैन भनि पाएको छु । म काठमाडौँ केन्द्रित पत्रकारिता सुरु गरेदेखि मधेश पोल्टिक्स बाहेक अरु केही लेखेको छैन । काम गर्ने मिडिया हाउसमा मलाई अन्य बीटको जिम्मेवारी दिए पनि साइडमा मधेश रहि रहन्थ्यो । २०५७–२०५८ देखि काठमाडौँमा पत्रकारिता सुरु गरेको हुँ । मैले जुन पत्रिकामा जहाँ काम गरे, त्यहाँ मलाई मधेशकै जिम्मा दिइन्थ्यो ।
त्यसले गर्दा मधेशी दलका नेता मात्र होइन, गैर मधेसी दलमा रहेका मधेशी नेताहरुसँग मैले पटक पटक भेटेको छु । कहिले काहीँ उहाँहरुले आफै बोलाउनु हुन्छ, कहिले काहीँ आफै गएर भेटेको छु । मैले चिनेका, जानेका, बुझेका साना ठूला सबै मधेशका नेताहरुसँग भेटेको छु । तर करिब १२ वर्षदेखि नेपालमा मधेश केन्द्रीत राजनीतिमा सक्रिय रहनु भएका सिके राउतलाई मैले भेट्न पाएको छैन ।
तर मैले नभेटे पनि म उहाँलाई एकदमै नजिकबाट चिन्छु, बुझ्छु जस्तो लाग्छ । सँगसँगै काम गरेको जस्तो लाग्छ । एउटै कोठामा सँगै बसेको जस्तो लाग्छ । वर्षौदेखिको चिनजान हो जस्तो लाग्छ । त्यस्तो लाग्नुको कारण हो, उहाँलाई मैले दिनदिनै पछ्याई रहेको हुन्छु । उहाँको हरेक गतिविधिलाई अध्ययन गरिरहेको हुन्छु । उहाँको हरेक दस्तावेज अध्ययन गरेको छु । सेभ गरेर राखेको पनि छु । नेपाल आएर राजनीतिक गतिविधिमा सक्रिय भएर लागेदेखि नै उहाँ मेरो नजरबाट एकदिनका लागि पनि ओझेलमा पर्नु भएको छैन । सायद त्यही भएर होला उहाँ मेरो वरिपरी हुनुहुन्छ जस्तो लाग्छ ।
सिके राउतले मलाई आफ्नो आलोचक होइन, विरोधी नै ठान्नु भएको छ । यो कुरा उहाँका निकटस्थ नेताहरुबाट थाह पाएको छु । तर म विरोधी कदापी होइन । म गुण दोषको आधारमा उहाँको आलोचक पक्कै हुँ ।
उहाँले गर्ने राम्रो कामको राम्रो भनेको छु, गलतलाई गलत नै भनेको छु । अर्थात उहाँको बारेमा मैले जति जानेको छु, जति बुझेको छु । त्यति मात्र लेख्दै आइरहेको छु । सुरुदेखि उहाँ मेरो शंकाको घेरामा हुनुहुन्छ । उहाँमाथि मेरो जुन शंका छ त्यो अझै हटेको छैन । उहाँ शंकास्पद व्यक्ति हुनुहुन्छ, उहाँ विदेशबाट ‘प्रोजेक्टेड’ व्यक्ति हुनुहुन्छ । उहाँको हरेक गतिविधि शंकास्पद छ । यो कुरा म पहिला विभिन्न प्रमाणसहित लेखेको हुँ र अहिले पनि मेरो बुझाई त्यहीं नै हो ।
अमरिकाको जागिर छाडेर नेपाल आउने वित्तिकै जसरी देश टुक्राउने खुलमखुल्ला आन्दोलन गर्न थाल्नुभयो, जसरी उहाँको पक्षमा विभिन्न देशी तथा विदेशी मानव अधिकारसँग सम्बन्धित संघ संस्था, प्रतिनिधिहरु वकालत गर्न थाले, देश टुक्राउने गतिविधि गरिरहेको विभिन्न प्रमाणहरु छरफस्ट हुँदा हुँदै राज्यले पनि ‘म कुटे जस्तो गर्छु, तिमी रोए जस्तो गर’ जस्तो प्रस्तुत हुनु, विभिन्न शक्ति केन्द्रले संरक्षण गर्नु नै उहाँ कतैबाट परिचालित रहनु भएको भनि पर्याप्त प्रमाण हुन् । उहाँका साथ छाडेकाहरु पनि यी कुराहरु बेलाबेलामा बाहिर ल्याई रहनु भएको छ ।
संंघीयता, गणतन्त्र, समानुपातिक समावेशी, नागरिकता, भाषा, राज्यपुन संरचनालगायत विभिन्न माग राखी मधेशवादी दलले गरेको आन्दोलनमा राज्यले जति दमन गर्यो । त्यो आन्दोलनलाई समाप्त पार्न राज्यले जति शक्ति प्रयोग गर्यो, त्यसको तुलनामा सिके राउतको आन्दोलनमा पाँच प्रतिशत पनि हस्तेक्षेप भएको छैन । बरु बेला बेलामा राज्यले उहाँलाई जोगाउने काम अवश्य गरेको छ । पछिल्लो समय तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको ११ बुँदे सम्झौता अध्ययन गर्दा सबै कुरा स्पष्ट हुन्छ ।
दस्तावेजहरुको मामिलामा सिके राउत निकै नै धनी हुनुहुन्छ । उहाँ जतिको व्यवस्थित संगठन र दस्तावेज कुनै पनि दलसँग छैन । उहाँको एकएक दस्तावेज अध्ययन गर्दा सबै कुरा स्पष्ट हुन्छ कि सिके राउत को हुनुहुन्छ, उहाँको मिसन के हो । अरु धेरै टाढा जानै पर्दैन । उहाँको विचार स्पष्ट छैन । देश टुक्र्याउनुबाहेक आन्दोलनका अन्य विषयवस्तु स्पष्ट छैन । संघीयता, लोकतन्त्र, नागरिकता, भाषालगायतको विषयमा कही स्पष्टता छैन ।
अमरिकाको जागिर छाडेर नेपाल आउने वित्तिकै जसरी देश टुक्राउने खुलमखुल्ला आन्दोलन गर्न थाल्नुभयो, जसरी उहाँको पक्षमा विभिन्न देशी तथा विदेशी मानव अधिकारसँग सम्बन्धित संघ संस्था, प्रतिनिधिहरु वकालत गर्न थाले, देश टुक्राउने गतिविधि गरिरहेको विभिन्न प्रमाणहरु छरफस्ट हुँदा हुँदै राज्यले पनि ‘म कुटे जस्तो गर्छु, तिमी रोए जस्तो गर’ जस्तो प्रस्तुत हुनु, विभिन्न शक्ति केन्द्रले संरक्षण गर्नु नै उहाँ कतैबाट परिचालित रहनु भएको भनि पर्याप्त प्रमाण हुन् ।


तपाईको प्रतिक्रिया