Khadya Bibhag

अशुभ संकेत (सम्पादकीय)

यसपालीको आमचुनावमा जनताले केही कुराको संकेत गरेको छ । जुन यो देशका लागि शुभ होइन । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता जस्ता कुरालाई नरुचाउने कतिपय शक्तिहरु जनताको मतबाट छानिएर आएका छन् । जनताबाट यसरी छानिनु भनेको उसको विचार, उसको सिद्धान्त र उसले लिएको धारणालाई अनुमोदन गर्नु हो । र, जनताले जसलाई जसरी अहिले अनुमोदन गरेको छ त्यो देशका लागि शुभ संकेत होइन ।

यद्यपी यो संकेत मात्र हो, यतिले मात्र देशलाई बिगार्न सक्दैन तर सचेत हुनु आवश्यक छ ।

जनताको इशारा ठूला राजनीतिक दल जो वर्षौदेखि यो देशमा संघीयता र लोकतन्त्र ल्याउनका लडेका थिए । संघीय गणतन्त्र ल्याउनका लागि बलिदानी दिएका थिए ती दलहरुले जनताको त्यो इशारा बुझ्नु पर्छ । अहिले नै ती इशारालाई बुझ्न सकिएन भने पछि सम्हाल्न गाह्रो हुनेछ । ती दलहरुको आकार घटाउनु र केही नयाँलाई प्रवेश गराउनु भनेको नै जनताले संकत दिनु हो ।

२०६४ मा नेपालमा गणतन्त्रको घोषणा भयो । दोस्रो पटकको संविधान सभाले २०७२ मा नयाँ संविधान जारी गर्यो । देशमा गणतन्त्र घोषणा भएको १५ वर्ष भएको छ भने गणतान्त्रिक संविधान जारी भएको सात वर्ष मात्र भएको छ । यो एकदमै छोटो समय हो । गणतन्त्र शीशु अवस्थामा मात्र रहेको छ । शीशु अवस्थामा नै यसमाथि धावा बोल्नु राम्रो संकेत होइन । पक्कै पनि यसका स्टेकहोल्डरबाट कतै नकतै मिस्टेक भएको होला । लापरवाही भएको होला, त्यही भएर जनताले बाध्य भएर यो संकेत गरेको हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र त आयो तर त्यसलाई राम्रोसँग चलाउन सकेनन् ।

जनतालाई राम्रोसँग ‘डेलिभरी’ दिन सकेन । देशमा गणतन्त्र छ भनि जनताले अनुभूत गर्न पाएन । एउटा राजा गएपछि थुप्रै साना राजाहरु आए भनि जनताले भन्न थाल्यो । दल र त्यसका नेताहरुमाथि जनताले अविश्वास गर्न थाल्यो । नेताको नाम सुन्ने वित्तिकै नाक खुम्चाउन थाल्यो । नेताको मुखमा त होइन, परोक्षमा नेतालाई ‘चोर’ नै भन्न थाल्यो ।

यस्तो किन भयो त राजनीतिक दलका नेताहरु एकपटक गोलमेच सम्मेलन गरेर मनन गर्नुपर्ने दिन आइ सकेको छ । जनताले संकेत गरेर त्यो सम्मेलन गर्ने मौका पनि दिएको हो, यसलाई नजरअन्दाज गर्नुहुँदैन । नत्र गणतन्त्र र संघीयता ल्याउनमा कुनै योगदान नै रहेका रवी लामेछानी जस्ता व्यक्तिले शक्तिशाली नेताहरुको दिमागमा घण्टी बजाई दिएका छन् ।

‘राजा आउ देश बचाउ’ नारा लगाउने राजेन्द्र लिङ्देल जस्ता व्यक्तिले ती ठूला दलको दिमागमा हलो चलाई दिएका छन् । मधेश आन्दोलन तथा जनआन्दोलनमा कुनै योगदान नै नदिएका सिके राउत जस्ता व्यक्तिहरुले गणतन्त्र र संघीयताका लागि रगत बगाएका ती दिग्गज नेताहरुको कानमा हौरन बजाई दिएका छन् ।

स्वतन्त्रबाट पनि यस्ता व्यक्तिहरु आएका छन्, जसले संघीयतावादीहरुका लागि चुनौती थपि दिएका छन् । भोली बन्ने सरकार र त्यसपछि चल्ने संसदमा उनीहरुको उपस्थिति कस्तो रहनेछ, उनीहरुको प्रस्तुती कस्तो रहनेछ त्यसमा देशको भविष्य निर्भर हुनेछ । संसदमा आएका अधिकाँश नवआगन्तुकहरुले राम्रो गर्नसक्दैन भने कुरा धेरैले भनि रहेका छन् ।

देशमा अस्थिरता आउने नै भयो । सरकार तथा संसद राम्रोसँग नचल्ने भयो । कुनै दलको स्पष्ट बहुमत नभएको कारण सरकार गठन गर्न पनि त्यस्तै सकस हुनुदेखि लिएर संसदमा पनि कुनै एउटा विचार र एउटा निर्णय एकमतले पास नहुने देखिएको छ ।

संसदमा विभिन्न स्कूलिङ्ग तथा क्षेत्रबाट आएका छन् । उनीहरु राजनीति बुझे पनि सो क्षेत्रका लागि परिपक्क छैनन् । उनीहरुले जनतासँग विभिन्न प्रतिवद्धताहरु गरेर आएका छन् । त्यसलाई पुरा गराउन कोशिस गर्नेछ । जनतासँग गरेको प्रतिवद्धता पुरा गराउन लागेको छु भनि देखाउने प्रयास पनि गर्नेछ ।

त्यसले विभिन्न घटना परिघटनाहरु हुने अनुमानहरु भइरहेका छन् । त्यसले देशमा अस्थिरता ल्याउनुको साथै संघीयतामाथि नै असर गर्ने सक्ने अवस्थाको निर्माण हुनसक्छ । त्यसैले नेताहरुले यसको विषयमा बेलैमा सोचेर भएका त्रुटीहरु सच्याउनु पर्छ अस्थिरता निम्त्याउनेहरुलाई मौका दिनु हुँदैन ।

तपाईको प्रतिक्रिया