माओवादीलाई बाहिर भित्र दुवै ठाउँबाट धोका

बिगत पन्ध्र वर्षदेखि इलेक्ट्रोल राजनीतिमा सहभागी भए पनि चुनावी विशेषता अनरुपको संगठन निर्माण र त्यसको परिचालनमा कमिकमजोरी देखिएको कुरा चुनावी अभियानमा प्रष्ट देखिन्थ्यो ।

–देवशरण यादव
यो आमचुनावमा माओवादी केन्द्र नराम्रो गरी कमजोर भएको छ । गठबन्धन गर्नुभन्दा नगरेर यो भन्दा राम्रो पोजिसन हुन्थ्यो । गठबन्धन गरेको कारण सीट बाँडफाँड भयो । आफ्नो अनुकुल क्षेत्र चयन गरी उम्मेदवार उठाउन पाएन भने अर्कोतिर सीट सँख्या नै कम भयो । पाएको सीटमै हारजीतबाट प्राप्त सीटमा सन्तोष गर्नुपर्ने अवस्था देखिएको छ । गठबन्धनबाट माओवादी केन्द्रले जे धोका पायो, त्यो समिक्षा गर्ने समय आउँदैछ तर पार्टीभित्र पनि आन्तरिक रुपमा अन्तरर्घात गर्नेहरुको कमी थिएन । त्यो अन्तरर्घातका कारण ठाउँ ठाउँमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका छन् ।

पूर्वी धनुषा किसान आन्दोलन तथा वर्ग संघर्षको केन्द्र रहेको थियो । त्यस क्षेत्रमा जमिन्दार हेम बहादुर मल्ल, लिला कोइरालाको दवदवा थियो । जनप्रिय नेता रामवृक्ष यादवको शाहदातपछि मातृका प्रसाद यादव, अजबलाल यादवलगायत माओवादीको नेतृत्वमा स्थानीय कांग्रेसहरुसंँग भिषण संघर्ष गर्नुपर्यो ।

जनयुद्ध पूर्व रामवृक्ष यादव, जनयुद्धको क्रममा रामवृक्ष यादवको छोरा शेखर यादव, अजबलाल यादव, अजबलाल यादवको परिवार सदस्यहरु लगायतका माओवादीलाई हत्या गरियो । त्यसको प्रतिरोधमा केही कांग्रेसीहरु पनि मारिए ।

भर्खर सम्पन्न चुनावमा सत्ता गठबन्धनका उम्मेदबार माओवादी केन्द्रका सचिव मातृका यादवलाई एकथरी कांग्रेसीहरुले भोट नदिई संस्थागत योजनाका आधारमा हराएको चर्चा छ । स्थानीय चुनावको आधार मान्ने हो भन्ने विपक्षीभन्दा गठबन्धनको १५ हजारभन्दा बढी मत थियो । सबै स्थानीय तह गठबन्धनले नै जितेको छ, प्रदेशमा कांग्रेसले जित हासिल गर्यो । यी सबका बावजुद पनि माओवादी हार्न पुगे । चुनावी अभियानको क्रममा बरमझियाका कांग्रेसी नेता गर्भु यादवले भन्नुभएको थियो, ‘मेरो छातीमा माओबादीको गोली अझै बाँकी छ, मेरो परिवार मारिएको छ ।’

कांग्रेसबाट निर्वाचित धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले पनि जनयुद्धमा आफ्नै काका मारिएको छ भनि सत्ता गठबन्धनको पक्षमा सक्रिय नभई भित्रभित्रै विपक्षीलाई सघाउन सक्रिय रहे । पटेर्वाका महेन्द्र साह तेलीले भाइ मारिएको भनि मातृका यादवलाई जसरी पनि हराउने तिर लाग्नुभयो । यसरी यी कुराहरु भन्दै कांग्रेसकै नेताहरुले विपक्षीसंग खुलेर भोट माग्ने थाले । यो त प्रतिनिधि पात्र मात्र हुन् ।

अपवाद बाहेक समग्रमा कांग्रेसीजनको यस्तै मिल्दोजुल्दो भूमिका देखिएको थियो चुनावमा । सो क्षेत्रमा कांग्रेसका नेता लिला कोइराला, आनन्द ढुंगाना चुनाव जित्ने गर्नुहुन्थ्यो । तर पछिल्लो समय २०५६ मा एमाले, २०६४ र २०७४ मा माओवादीले जितेका थिए ।

सो क्षेत्रलाई कांग्रेसीहरुले आफ्नो खानदानी क्षेत्रको रुपमा दावी गर्छन् । यसपटक पनि मावोवादी जिते संधै माओवादीले नै पाउने छन् तसर्थ अर्को चुनावको लागि हराउनु पर्दछ भन्ने मनोविज्ञान देखियो । अर्को तिर जसपाका निर्वाचित उम्मेदबार पूर्व कांग्रेसी नै भएकाले माओवादीलाई जिताउनु भन्दा भाइ कांग्रेसलाई जिताउँदा बेस हुने भनि उनीहरुले ठाने ।

कांग्रेसबाट निर्वाचित धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले पनि जनयुद्धमा आफ्नै काका मारिएको छ भनि सत्ता गठबन्धनको पक्षमा सक्रिय नभई भित्रभित्रै विपक्षीलाई सघाउन सक्रिय रहे । पटेर्वाका महेन्द्र साह तेलीले भाइ मारिएको भनि मातृका यादवलाई जसरी पनि हराउने तिर लाग्नुभयो ।

सत्ता विरोधी लहर
जन आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका अधिकार प्राप्तिका आन्दोलनवाट प्राप्त उपलब्धिपछि विकास र समृद्धिलाई चुनावको एजेन्डाको रुपमा जनताले हेर्न चाहन्छन् । मातृका यादव अन्तरिम व्यवस्थापिकामा संसद, पहिलो संविधानसभा सभासद, २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद तथा पटक पटक मन्त्री भएपनि जसरी अधिकार प्राप्तिको आन्दोलनको गर्विलो ईतिहास छ ।

त्यसैगरि विकासको मामिलामा पछाडी रहनुभएको र मतदाताको उच्च आशा आकांक्षालाई सम्बोधन गर्न नसक्नुभएको तथा निर्वाचन पछि जनसम्बन्ध पातलिएको जनगुनासो प्रष्ट सुन्न पाइएको थियो । । जनतासँग प्रभावकारी ढंगले दोहरो संवाद स्थापित हुन नसक्नु, पछिल्लो वर्षमा विकासतर्फ प्रयत्न गरेको भएपनि मतदातालाई आस्वस्त पार्न नसक्नु, हेभीवेट नेता जस्तो विकास कार्य नहुनु जस्ता गुनासाहरु चुनावको क्रममा सुन्न पाइएको थियो ।

हुनत निर्वाचित उम्मेदबारले जनतासँग कुनै लोक लुभावन योजना पेश गर्न सकेका थिएनन् । मतदाता आशावादी समेत थिएन र पनि सत्ता विरोधी लहरका कारण जे भएन पनि आफ्ना प्रतिनिधि परिवर्तन गर्ने चाहना कतिपयमा अवश्य देखिन्थ्यो । त्यस्तै, पार्टी भित्रको एन्टी इन्कम्बेन्सी पनि देखियो ।

हराएको माओवाद–माओवादी
माओवादी विरोधी शक्तिहरुको घोषित अघोषित मोर्चाबन्दीले माओवादीलाई हराउन सफल भयो । वर्तमानमा नामको मात्रै माओवादी अझ भनौ कुनै बेला मालेमावादले हामीलाई पहिचान दिलाएको कारण अर्थात् माओवादीको लिगेसीको कारणले हामी माओवादी भइ दिनुपर्ने जस्तो गरि विचारमा माओबादसँग कुनै लेनादेना नै छैन । त्यसको प्रतिबिम्ब संगठनमा देखिएको छ ।

विरोधीसँग मिलोमतो गरि सहयात्री गठबन्धन घटक दलका नेता कार्यकर्ताले माओवादीको उम्मेदबार माथि योजनाबद्ध प्रहार गर्दा संगठानिक रुपमा चिरफार गर्न सकेन । जनयुद्ध ताकाका कुरा झिकेर माओवादीमाथी प्रहार भइरहँदा रहदा, माओवादी कार्यकर्ताहरु मुकदर्शक तथा अलमलमा परेको देखिएको थियो । यतिसम्म कि कतिपय अवस्थामा उनीहरुले विरोधीलाई सहयोग गरेको समेत दिखिएको थियो ।

जनयुद्धमा कांग्रेसतर्फ भएका मानवीय क्षतिलाई उनीहरुले रेकर्डमा राखेर बदलाको भावमा उत्रेको देखियो तर माओवादीतर्फ भएका क्षति तथा शहीदको बलिदानलाई बिर्सेको जस्तो देखिने गतिविधि माओवादीबाटै भएको थियो । शहिद परिवारको नाममा पार्टीबाट सुबिधा प्राप्त गर्ने अधिकार शहिद परिवारका हक पनि हो तर पार्टीको योजनाप्रति आफ्नो कर्तव्य निर्वाह नगर्ने दुखद अवस्था पनि पार्टीभित्र देखिएको छ ।

चुनावी संगठनको अभाव
बिगत पन्ध्र वर्षदेखि इलेक्ट्रोल राजनीतिमा सहभागी भए पनि चुनावी विशेषता अनरुपको संगठन निर्माण र त्यसको परिचालनमा कमिकमजोरी देखिएको कुरा चुनावी अभियानमा प्रष्ट देखिन्थ्यो । निर्वाचन जितेको नेता संगठन अझ संगठनका केही सिमित स्थानीय नेतामाथि पूर्णतः निर्भर रहनु, ती नेताहरुको बारेमा आएका जनगुनासोलाई नजर अन्दाज गर्नु वा बेवास्ता गर्नु जस्ता आरोप जनताले लगाउने गथ्र्यो, जुन हारको अर्को कारण हुनसक्दछ ।

संसदीय व्यवस्थामा निर्वाचन लड्ने नेताले नै आफ्नो निर्वाचन क्षेत्र (constituency) को कमाण्डर कमिसार हो, जसको तयारी आफ्नै नेतृत्वमा गर्नुपर्ने अनूभूति भयो, अरुले गरि दिन्छ कि वा अरुले गरि दिएन भनि मतदाताले उम्कन नदिने देखियो । कतिपय अवस्थामा नेतृत्वको स्प्रिट, अर्को तहको नेता तथा कार्यकर्ता स्प्रिट नमिल्दा घाटा हुने देखियो ।

मधेशमा कमजोर
नेकपा (माओवादी) पार्टीभित्र अझ मधेशमा विशेषगरी जनमोर्चासँग एकता भएदेखि ज–जसले मातृका यादवलाई विरोध गरे उसलाई मात्रै पार्टीमा जिम्मेवारी दिने, पार्टीमा बढुवा गर्ने काम शीर्ष नेतृत्वको चाहनामा योजनाबद्ध तवरबाट भएको कुरा सजिलै बुझ्न सकिन्छ । पार्टीभित्र एक किसिमको निषेधात्मक राजनीति शुरु भयो, खास गरेर मधेशको कतिपय सवालमा मातृका यादवले लिनुभएको अडान र त्यसबारे नेतृत्वमा रहेको फरक दृष्टिकोणको कारणले हुन् सक्दछ्र जसको असर निर्वाचनमा देखियो ।

जिल्ला पार्टीका नेतृत्वमध्ये एक दुईजना नेताबाहेक जिल्ला नेतृत्व तथा केन्द्रीय सदस्यहरुको चुनावी अभियानमा खासै प्रभावकारी सक्रियता देखिएन । जिल्ला पार्टीका केही नेता प्रतिपक्षको भूमिकामा देखिने खालको गतिविधि देखिन्थ्यो । धनुषा जिल्लामा माओवादीको भागमा प्रत्यक्षतर्फ एक सिट प्रतिनिधि सभामा र एक सिट प्रदेश सभामा परेको थियो, दुवै हारे ।

पार्टीले समानुपातिकमा धनुषाबाट प्रतिनिधितर्फ मधेशी महिला कल्स्टर, प्रदेशतर्फ महिला, पुरुष, दलित महिला, जनजातीको कल्स्टरमा क्रम सँख्याको पहिलो नम्बरको बन्दसूचीमा समावेश गरे पनि ती समानुपातिक उम्मेदवारहरुले प्रत्यक्ष उठेका उम्मेदवारलाई जिताउन के कस्तो भूमिका निर्वाह गर्नु पर्ने हो, उहाँहरुको भूमिका के छ भनि पार्टीले खासै चासो लिएको देखिएन । एकल चुनाव लडेको, कतिपय जिल्ला नेतृत्वले शंकास्पद भूमिका खलेको कुरा जनताले थाहा पाएर जानकारी गराउँथ्यो । उम्मेदवारले भोट माग्ने जाने अनि जिल्ला नेतृत्वले लुकिछिपी पार्टी भित्रका असन्तुष्ट व्यक्तिहरुलाई भेटि मातृका यादवलाई जसरी पनि हाराउनु पर्छ भनि सक्रिय रहेका थिए ।

कतिपयले २०७४ को चुनावमा समानुपातिकमा छनौट हुन रोक्नका लागि मातृका यादवले कुनै व्यापारीसँग मोटो रकम लिएकाले यहि बेला हो बदला लिनुपर्छ भनि हराउने अभियानमा सक्रिय थिए । सो विषय प्रष्ट हुन्, प्रष्ट पार्न पार्टी नेतृत्व कहाँ मातृका यादवले कैयौं पटक कुरा राखे पनि पार्टी नेतृत्वबाट दुवै पक्षलाई एकसाथ राखी विषयबस्तु प्रष्ट पारि विवाद समाधान गर्ने प्रयत्न गरेको हो होइन थाहा भएन तर नखाएको विष मातृका यादवलाई लगाउने प्रयास भयो । पार्टीमा कुनै पद वा सुबिधा पाए आफै वा आफ्नै बलमा पाएको जस्तो, नपाए मातृका यादवले विरोध गर्यो, मातृका यादवले हुन दिएन भनेर नेतृत्व तहबाटै फाटो ल्याउने काम पनि गरेको देखियो ।

पार्टीको लागि मातृका यादव आवश्यक छ तर कमजोर गरेर राख्ने, केही गर्न नदिने गरी हातखुट्टा बाँधेर राख्ने काम भइरहेको छ । पछिल्लो तीन वर्षदेखि मातृका यादवलाई जिम्मेवारी बिहिन बनाएको अवस्थामा सकारात्मक परिणाम सम्भव थिएन । स्थानीय निर्वाचनमा भूमिका गौण रह्यो । मधेशी पार्टी नेतृत्वविहिन अवस्थामा छ ।

भोटको राजनीति तथा खुल्ला समयमा मास लिडर चाहिएको बेला भूमिगत शैलीमा विभिन्न व्यक्तिलाई जिम्मेवारी सुम्पेको छ । निर्वाचनमा समग्र पार्टी नै परिचालन भएन । समानुपातिकको फेसबुकबाहेक गतिलो प्रचार समेत पनि भएन । स्थानीय निर्वाचन पछि भएको भेटघाटमा पार्टी अध्यक्ष कमरेडलाई यस पंक्तिकारले भनेको थियो यहि अवस्थामा मधेशमा राम्रो परिणामको अपेक्षा उचित छैन । अन्तः निर्वाचन परिणामले पुष्टि गर्यो ।

पार्टीले समानुपातिकमा धनुषाबाट प्रतिनिधितर्फ मधेशी महिला कल्स्टर, प्रदेशतर्फ महिला, पुरुष, दलित महिला, जनजातीको कल्स्टरमा क्रम सँख्याको पहिलो नम्बरको बन्दसूचीमा समावेश गरे पनि ती समानुपातिक उम्मेदवारहरुले प्रत्यक्ष उठेका उम्मेदवारलाई जिताउन के कस्तो भूमिका निर्वाह गर्नु पर्ने हो, उहाँहरुको भूमिका के छ भनि पार्टीले खासै चासो लिएको देखिएन

संसदीय कोष फितलो व्यस्थापन
संसदीय कोषबाट भएको विकासमा कमिशन नलिने नेतृत्वबाट सर्कुलर भए पनि त्यसको अनुगमन फितलो भएको महसुस मतदाताको प्रतिक्रियाबाट प्रष्टै बुझिन्थ्यो । संसदीय कोषबाट भएका विकास निर्माणको तथ्याङ्कको रेकर्ड थिएन । चुनावी कार्यक्रममा कुन गाउँमा के के योजना ल्याईयो रेकर्ड थिएन । जनतालाई थाहा थियो तर नेता कार्यकर्तालाई थाहा थिएन । एकमुष्ट रेकर्ड नै थिएन । गरेको काम पनि ढुक्कको साथ भन्न सक्ने अवस्था थिएन भने उक्त विकास कामको जस पनि लिन सकिएन ।

योजनाको अभाव
नेकपा माओवादी केन्द्रमा चुनावको समग्र योजना बने जस्तो लागेन । खासमा त्यसमा कसैको चासो पनि देखिएको थिएन । चुनावको शुरुवात, मध्य, अन्तिम वा एक दुई दिन बाँकी रहँदा के के गर्ने, कहाँ कहाँ ध्यान दिने, कहाँ जोड दिने, श्रोत कसरी परिचालन गर्ने जस्ता कुरामा अन्योल देखिएको थियो ।

कुन स्तरको नेता कार्यकर्तासँग कसरी डिल गर्ने योजना, गठबन्धनभित्रको अन्य घटकको स्थिति तथा गतिविधिबारे सूचना कसरी प्राप्त गर्ने जस्ता महत्वपूर्ण कुराको योजना पनि कसैसँग थिएन । सबै कुरा भगवान भरोसे चलिरहेको थियो । अगुवा कार्यकर्तासँग महत्वका साथ अपिल गर्ने प्रशिक्षण दिने समेतका काम भएको थिएन । कतिसम्म देखियो भन्ने पैसा चाहियो भन्ने तर आफ्नो जिम्मेवारी रहेको गाउँ टोल, वडा, पालिकाको आफ्नो र विपक्षीको भोटको अवस्था के छ भन्ने रिपोर्ट माग गर्दा मुख फर्काउथे । विशेषतः आर्थिक गतिविधिमा सक्रिय हुन मन पराउने प्रवृति हावी भएको थियो ।

प्रचार प्रसारको प्रभाव
पर्याप्त पोस्टर पस्मपलेट हुँदाहुँदै टोलसम्म प्रचार सामाग्री पुर्याउन सकिएको थिएन । प्रचार तथा परिचालनका लागी पठाएको खर्च बाँडेर आ–आफ्नो खल्तीमा राख्ने काम पनि कतिपय ठाउँमा भएको थियो । आफ्नै संगठन बलियो नहुँदा गठबन्धनको भरमा केही पनि हुँदैन ।
गठबन्धनबाट चुनाव जित्नका लागि संगठन बलियो भएको हुनुपर्छ । गठबन्धनमा पार्टीका उम्मेदवार नहुने दलका नेता कार्यकर्तालाई ज्वाई जस्तै पाल्नु पर्ने मागेको जति पैसा दिनु पर्ने, गाडी उपलब्ध गराउनु पर्ने तर केही भन्न नसकिने अनुशासन भन्ने नै हुदैन । डिजिटल मिडिया प्रचारका लागि सामग्री जुटाउनमा पनि समस्या देखिएको थियो ।

नगरपालिकाको भूमिका
स्थानीय निर्वाचनपछि पार्टीको मेयर भएका कारणले करिब ६ महिनाको समय अबधिमा पनि आशा जगाउने खालको विकास निर्माण कार्यको थालनी गर्न सकेको भए निर्वाचन परिणाममा यसले सकारात्मक भूमिका निर्वाह गर्न सक्दथ्यो किनकि त्यहाँ जनसमुदायले सबैला नगरपालिकाको गतिविधिलाई मातृका यादवसँग जोडेर हेर्ने गरेका छ, जुन स्वाभाविक पनि हो । विपक्षीले नगरपालिकामा भाइ, संसदमा दाइ भनि प्रचार गरी पार्टीका कतिपय सोझा कार्यकर्तालाई भ्रमित गर्ने काम पनि भएको थियो ।

फुटको असर
त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि पार्टी परित्याग गरि बाहिरिएको असर केही हदसम्म देखिएको थियो । महान सहिद अजवलाल यादवका परिवारका केही सदस्य एमालेतिर लागेको असर पनि चुनामा देखिएको थियो ।

पञ्चायतकालदेखि सो क्षेत्रमा राजनीतिक रुपमा पहाडी मूलका नेता पञ्च हेम बहादुर मल्ल, काँग्रेसका नेता लिला कोइराला र आन्नद ढुंगानाले पटक पटक निर्वाचित भएका क्षेत्र हो । तर २०५६ सालदेखि मधेशी समुदायका नेताहरु निर्वाचित भएका कारण हाल निर्वाचित दिपक कार्कीले पहाडी समुदायलाई आफूहरुको बाउ पूर्खाले शासन गरेको ठाउँ हो भनि प्रचार गरि अधिकाँस खस–आर्य, क्षेत्री पहाडी मूल मतदातालाई भ्रर्मित गराउन सफल भएको हो ।

अझै पनि शासक जातिले मधेशी नेतृत्व स्वकीर गर्न गाह्रो मानिरहेको अवस्था छ भने केही मधेसीहरु मालिककै लठैत बन्नमा गर्व गर्छन् । अन्त्यमा, एन्टी इन्कम्बेन्सी, पार्टी नेतृत्वको उदासिनता तथा प्रभुत्व (Domination), जिल्ला पार्टीको नगन्य भूमिका, संगठनको आभाव, निर्वाचन पूर्व तयारी विना, विपक्षी गठबन्धन तथा कांग्रेस समेतको साथले सञ्चालन गरेका मातृका यादव हराउ अभियानका बाबजुद स्थानीय कार्यकर्ताको विशेष मिहनेत र मातृका यादवको हार्ने निश्चित हुँदाहुँदै पनि जुनसुकै लडाई सम्पूर्ण शक्तिका साथ लड्ने शैलीका कारणले एक्काइस हजार भन्दा बढी मत पाउनु र सो जनादेशकै धरातलमा टेकी जनाधिकार तथा विकासको एजेन्डालाई उच्च मनोवलका साथ जनसेवामा जुट्न अवश्य प्रेरित गर्छन् नै । हारबाट शिक्षा लिदै अगाडि बढ्नु पर्नेछ ।

सबैला नगरपालिकाबाट विकास तथा सुशासनको नयाँ मोडेल दिन सके, त्यस क्षेत्रका जनताले मातृका यादव हारेर के गुमाएको भने अनूभूत अवश्य नै गर्ने छन् ।

(लेखक देवशरण यादव अधिवक्ता हुनुहुन्छ । चुनाव प्रचार तथा त्यसको तयारीको क्रममा धनुषा १ मै हुनुहुन्थ्यो । त्यहाँ उहाँले गरेको अनुभवलाई प्रस्तुत गर्नुभएको छ ।)

तपाईको प्रतिक्रिया