Khadya Bibhag

प्रचण्डलाई उपेन्द्र, देउवालाई सिके

मंसिर ४ गते सम्पन्न भएको चुनावको मतगणना लगभग सम्पन्न भएको छ । अधिकांश ठाउँको नतिजा आइसकेका छन् । आएको नतिजाको आधारमा दलहरुले सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कसको नेतृत्वमा सरकार बन्छ भनि दलहरुको बीचमा खिचतानी सुरु भएको छ । सत्ता गठबन्धनभित्र पनि कसको नेतृत्वमा सरकार बन्नेमा विवाद देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने इच्छा देखाइ रहनु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः प्रधानमन्त्री बन्ने गरी पहल थाल्नु भएको छ । उहाँले बालुवाटारमा बोलाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाटका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरुसँग कुराकानी गरिसक्नु भएको छ ।

उहाँले जतिपनि कुराकानी गर्नुभएको छ । त्यसमा उहाँले आफूलाई केन्द्रमा राखेर गर्नुभएको छ । उहाँले अगामी पू्रधानमन्त्री काँग्रेसबाट नै हुनुपर्छ भनि भन्ने गरी छलफलमा जुट्नु भएका छ तर प्रचण्ड पनि त्यसरी सजिलो तरिकाले मान्ने अवस्थामा हुनुहुन्न । उहाँले पनि आफ्नो टीम बनाउनेतिर लाग्नुभएको छ । उहाँले त्यसका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो विश्वासमा लिइसक्नु भएको छ । मंसिर १३ गते उहाँहरुको बीचमा लामो कुराकानी भएको छ । उहाँले डिल्लीबजार कारागारमा रहनु भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पनि भेट्नु भएको छ ।

उहाँले सत्ता गठबन्धनलाई साथ दिन भन्नुभएको छ । सत्ता गठबन्धनलाई साथ दिन भनेपनि प्रधानमन्त्री को बन्दैछन् त्यसको बारेमा कुरा प्रष्टसँग राख्नु भएको छैन तर उहाँले आफूले सरकारको नेतृत्व गर्ने भनि संकेत गरिसक्नु भएको छ । त्यसैगरि उहाँले एमालेबाट विद्रोह गरि स्वतन्त्रबाट चुनाव जितेका प्रभु साहसँग पनि कुरा गरिसक्नु भएको छ । अन्य स्वतन्त्र उम्मेदवारसँग पनि कुराकानी गरिरहनु भएको छ ।
स्रोतका अनुसार उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पनि एकचरण कुराकानी गरिसक्नु भएको छ । यदि गठबन्धनमा कुरा मिलेन भने एमालेसँग पनि सरकार बनाएर जान सकिने गरी एमालेका अध्यक्ष अ‍ोलीसँग पनि साइडटक गरिरहनु भएको छ ।

यता, प्रधानमन्त्री देउवाले गठबन्धनमा आफ्नो बहुमत पुर्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफ्नो विश्वासमा लिने गरि वार्ता र छलफललाई अगाडि बढाउनु भएको छ । प्रधानमन्त्री देउवाले उहाँ दुईजनालाई मधेशबाट बोलाएर छलफल गर्नुभएको छ । तर यी दुवैजना मधेश प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनि दावी गरिरहेका छन् । उता, प्रचण्डलाई साथ लिइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि मधेश प्रदेशको सरकार नेतृत्व गर्न पाउनुपर्ने दावी प्रस्तुत गर्नुभएको छ ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजय गर्नुभएको छ । दुवैजना बीच अहिले बोलचाल छैन तर केन्द्रमा दुवैजनाको नजर सत्ता गठबन्धनतिर नै तेर्सिएको छ ।

दुवैजनालाई दुईजना नेताले समातेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई र काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले सिके राउतलाई आआफ्नो पक्षमा राख्नुभएको छ । प्रचण्डले उपेन्द्र यादवलाई सत्ता गठबन्धनमै सहभागी हुनका लागि भनिसक्नु भएको छ । सत्ता गठबन्धन बनाउन उपेन्द्र यादवको अहम् भूमिका थियो । तर सीटको तालमेलमा कुरा नमिलेपछि उहाँ सत्ता गठबन्धन छाडेर एमालेतिर जानुभयो । तर अपेक्षाकृत सीट उहाँले ल्याउन सक्नुभएन । अहिले पुनः उहाँ सत्ता गठबन्धनमा फर्किने कि चर्चा भइरहेको छ ।
देउवालाई अफरै अफर
एमालेका अध्यक्ष ओलीले काँग्रेससँग मिलेर सरकार बनाउन सकारात्मक देखिनु भएको छ । उहाँले देउवालाई प्रधानमन्त्री दिन पनि तयार हुनुभएको छ तर राष्ट्रपति र सभामुखमध्ये एउटा दिनका लागि प्रस्ताव गर्नुभएको छ । काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति राखोस् सभामुख आफूलाई दिएर संयुक्त सरकार बनाउन एमाले अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको छ ।

तर काँग्रेसका सभापति देउवाले अहिले कुनै आश्वासन दिनुभएको छैन । उहाँले गठबन्धनमा सल्लाह गरेर मात्र तपाईसँग कुराकानी अगाडि बढाउने भन्नुभएको स्रोतले जनाएको छ । काँग्रेसले राष्ट्रपति र सभामुख अरु दललाई दिने पक्षमा छैनन् । काँग्रेसले आफै राखेर सरकार बनाउने पक्षमा छ । गठबन्धनमा रहेका दल माओवादी केन्द्रलाई पनि राष्ट्रपति र सभामुख दिने पक्षमा छैन । काँग्रेसले बरु माओवादीलाई प्रधानमन्त्री दिन्छ तर राष्ट्रपति दिदैन । स्रोतका अनुसार माओवादीसँग प्रधानमन्त्री र राष्ट्रपतिमा कुरा मिलेन भने काँग्रेसले पहिलो टर्ममा माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफ्नो पक्षमा राख्ने रणनीतिमा पनि रहेको छ ।

-सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया