मधेश आन्दोलन चलिरहँदा ममता चौधरी क्याम्पसका विद्यार्थी हुनुहुन्थ्यो । जनकपुरमा प्लस टुमा अध्ययन गरिरहनु भएको ममता चौधरीलाई त्यतिबेला पढाईभन्दा आन्दोलनले आकर्षित गरिसकेको थियो । कलेज छाडेर उहाँ आन्दोलनमा रमाउन थाल्नु भएको थियो । आफ्नो दाइहरुसँग आन्दोलनमा जानुहुन्थ्यो । तर यसरी छोरी जाती भएर मधेश आन्दोलनमा सहभागी हुँदा उहाँको घरपरिवार खासगरि आमालाई मन पर्दैन्थ्यो । उहाँको बुवाको निधन ममता चौधरी सानै हुँदा भएको थियो ।

ममता चौधरी सानैदेखि क्रान्तकारी स्वभावको हुनुहुन्थ्यो । अन्याय अत्याचार, विभेद नसहने, लागेको कुरा फ्याट बोली हाल्ने बानी भएको कारण उहाँ आन्दोलनमा जाँदा घरका सदस्यहरु चिन्तित हुन्थे । उहाँको क्रान्तिकारी स्वभावका कारण कसैसँग झगडा वा केही नभइ जाओस् भनि उहाँका आमा हरहमेसा चिन्तित हुनुहुन्थ्यो । ममता चौधरी मधेश आन्दोलनमा जाँदा त्यहाँ जानबाट रोक्नका लागि रुनु हुन्थ्यो उहाँको आमा गीतादेवी चौधरी ।
उहाँको आफ्नो क्रान्तकारी स्वभाव, स्वभानी विचार, कसैको अगाडि नझुक्ने, नेता तथा वरिष्ठको अगाडि पछाडि नगर्ने बानीले गर्दा उहाँ आजको राजनीतिमा पछाडि पर्नुभएको छ । नत्र उहाँ सहिद परिवारका सदस्य हुनुहुन्छ । कुनै नेताको अघिपछि लागेर राजनीतिमा जे पनि गर्न सक्नु हुन्थ्यो तर ममता चौधरीको स्वभावले मान्दैन ।
चार दाजु भाइमध्येको घरको एक्ली छोरी भएको कारणले उहाँप्रति सबैको माया र स्नेह छ । घरमा सबैको प्यारी हुनुहुन्छ । त्यसैले सबैको सल्लाहमा उहाँ राजनीतिमा होमिनु भएको छ । यो राजनीतिले ममता चौधरीको भविष्यलाई कहाँ लैजान्छ त्यो कुरा उहाँलाई स्वयं थाह छैन । उहाँले आफ्नो आमालाई भन्नुहुन्थ्यो, ‘म तपाईको छोरी होइन, छोरा हुँ । तपाईका चारजना छोरा होइनन् पाँचजना छोरा छन् भनि बुझ्नुस् ।’ छोरी मान्छे भएर आन्दोलन तथा विभिन्न कार्यक्रममा सहभागी हुन्छु भनेर नडराउन, मलाई केही हुँदैन भन्दै उहाँले आफ्नो आमालाई सम्झाउनु हुन्थ्यो ।
यो आन्दोलन आफ्नो लागि होइन, देश र मधेशको लागि गरिरहेको छु, आन्दोलन सफल भएपछि उत्पीडनमा परेका समुदायले अधिकार पाउँछन्, पढेलेखेकाले रोजगारी पाउँछन्, जनताले आफ्नो अधिकार आफै प्रयोग गर्न पाउँछन् जस्ता कुरा भनेर उहाँले आफ्नो आमालाई कन्भिन्स गर्नुहुन्थ्यो ।
हुनत यी आन्दोलन तथा विभिन्न समाजिक कार्यक्रममा जाँदा मामता चौधरीका दाजुहरुले पनि रोक्ने गर्नु हुन्थ्यो तर दाजुहरु राजनीति संस्कारबाट हुर्केका, राजनीति जानेका कारण उहाँलाई त्यति दवाव दिदैन्थे । कार्यक्रमहरुमा जाँदा दाजुहरुले रोक्न खोज्दा ममता चौधरीले उल्टै भन्नुहुन्थ्यो, ‘सुरुमा तपाईहरुले नै यस्तो सिकाउनु भएको हो, आज यसरी रोक्नु हुन्छ, मलाई नरोक्नुस् ।’ ममता चौधरी पढाई लेखाईमा व्यस्त भए पनि उहाँमा राजनीतिक चेतनाको विकास सानैदेखि भइसकेको थियो ।
राजनीति र परिवार
सन्तोष चौधरी, सञ्जय चौधरी, मनोज चौधरी र राजु चौधरी गरी उहाँका चारजना दाजु भाइ हुनुहुन्छ । त्यसमध्ये सन्तोष चौधरी र सञ्जय चौधरी सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । सन्तोष चौधरी नेपाल सद्भावना पार्टीमा २०४९ सालमा नै सदस्यता लिएर सो पार्टीमा आवद्ध भएर राजनीति गर्नुहुन्थ्यो । सन्तोष चौधरी मधेशमा लामो समय राजनीति गरेपनि अवसरका लागि कहिले लोभ गर्नुभएन ।
मधेश र मधेशका लागि केही गर्नुपर्छ भनि गजेन्द्रनारायण सिंहको स्कूलिङबाट हुर्केका उहाँहरुबाट ममता चौधरीले राजनीतिको क ख सिक्नु भएको हो । कहिले काही दाइहरुको साथमा राजनीतिक कार्यक्रममा जानुहुन्थ्यो । घरमा पनि राजनीतिक कुरा हुँदा ममता चौधरी बडो घत लगाएर सुन्नुहुन्थ्यो । त्यसमा चासो लिनु हुन्थ्यो । कतिपय नबुझेको कुरा दाइहरुलाई सोध्नु हुन्थ्यो ।
राजनीतिमा रुची
विस्तारै विस्तारै उहाँको रुची राजनीतिमा गइ सकेको थियो तर दाइहरु राजनीतिमा भएको कारण ममता चौधरी सक्रिय भइरहनु भएको थिएन । उहाँले भन्नुभयो, ‘मलाई राजनीतिको ज्ञान भइसकेको थियो, मलाई सबै कुरा थाह थियो तैपनि म सक्रिय राजनीतिमा आउन चाहेको थिइनन् किनभने मेरा दाइहरु राजनीतिमा हुनुहुन्थ्यो उहाँहरुलाई नै सहयोग गर्थे ।’
सानोतिनो राजनीतिक गतिविधिमा सहभागी भएपनि, राजनीतिको ज्ञान भएपनि यसरी सक्रिय राजनीतिमा आउँछु भनि उहाँले सोच्नु भएको थिएन । तर परस्थितिले उहाँलाई राजनीतिमा सक्रिय बनाई दियो । उहाँ भन्नुहुन्छ, ‘म पढाई लेखाईमा राम्रै थिए, म स्कूलदेखि नै राम्रो विद्यार्थीमा काउन्ट हुन्थे, पढाई लेखाइ सकाएर जागिर गरेर सेटल हुने सोच थियो तर परस्थितिले यहाँसम्म ल्याई पुर्यायो ।’
दाजु सहिद
२०७२ सालमा भएको मधेश आन्दोलनमा ममता चौधरीका दाजु सञ्जय यादवले सहादत दिनुभएको थियो । त्यतिबेला सञ्जय यादव राजेन्द्र महतोको नेतृत्वको तत्कालिन सद्भावना पार्टीमा सक्रिय हुनुहुन्थ्यो । अधिकार र पहिचानका लागि भएको मधेश आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोलीबाट उहाँको निधन भएको थियो । सञ्जय यादवले पनि मधेश राजनीतिबाट कुनै अवसर लिनु भएको थिएन ।
बरु मधेशका लागि उहाँले बलिदानी दिनुभयो । २०७० को संविधान सभा चुनावमा भाग लिने सोच थियो उहाँको । उहाँले टिकट पनि माग्नु भएको थियो तर पार्टीले टिकट दिएको थिएन । तर उहाँ मधेशका लागि आफ्नो ज्यान नै दिनुभयो र आज उहाँ अमर बन्नुभएको छ ।
संजय चौधरीको निधनपछि ममता चौधरी राजनीतिमा आउनु भएको हो । सद्भावना पार्टीबाट पनि उहाँलाई राजनीतिमा आउन आग्रह पनि गरिएको थियो । घरमा पनि सल्लाह भयो कि परिवारबाट एकजना राजनीतिमा हुनुपर्छ । सञ्जयले देख्नु भएको सपना परिवारबाट कोही एकजना राजनीतिमा नगएसम्म पुरा हुँदैन भनेर ममता चौधरीलाई नै राजनीतिमा पठाइएको थियो ।
शिक्षा
भारतको दार्जिलिङबाट स्कूल पढाई पुरा गर्नुभएका ममता चौधरी प्लस टु जनकपुरबाट गर्नुभयो । र पूर्वअञ्चल युनिभर्सिटीअन्तरर्गतको ह्वाइटहाउस कलेज काठमाडौबाट बीबीए र एमबीए गर्नुभयो । बीबीए सकाएर उहाँले एयरपोर्टमा ममता चौधरीले जागिर सुरु गर्नुभएको थियो । जागिरका साथसाथै उहाँले आफ्नो पढाईलाई पनि निरन्तरता दिनुभएको थियो ।
जागिर गर्दै उहाँले एमबीए पनि गर्नुभयो । एमबीएमा पढ्दा नै उहाँको दाइ सञ्जय चौधरी सहिद बन्नुभएको थियो । घरमा सबभन्दा बढी होनहारमध्येका सञ्जय चौधरीको निधन भइसकेपछि घरको अवस्था आर्थिक रुपमा खराब भइरहेको थियो । उहाँले घरका सबै काम सम्हाल्नुको साथै विजनेश व्यपार पनि गर्नुहुन्थ्यो । ममता चौधरीलाई पढाउनु लेखाउनुमा सञ्जय चौधरीको ठूलो योगदान थियो ।
हुन त ममता चौधरीका अन्य दाजुहरु पनि सहयोगी नै हुनुहुन्थ्यो तर आर्थिक रुपमा सबभन्दा बढी सहयोग सञ्जयले गर्नुहुन्थ्यो । राजनीतिक रुपमा र आर्थिक रुपमा उन्नती गर्ने, घरव्यवहार चलाउने मुख्यव्यक्तिको नै निधन भइसकेपछि सबै तनाव थिए ।
तत्कलिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सो पार्टीका अर्का नेता संजय सिंहलगायतका नेताहरुले जागिर गरिरहनु भएका ममता चौधरीलाई राजनीतिमा ल्याउनुभएको थियो । सहिद परिवारका सदस्य त्यसमा पनि महिला भएको कारणले राजनीतिमा निकै सम्भावना रहेको भन्दै ममता चौधरीलाई राजनीतिमा ल्याइएको थियो ।
ममता चौधरी पनि सुरुदेखि राजनीतिमा रुची राख्नु हुन्थ्यो । राजनीति गतिविधिमा आउजाउ गर्नुहुन्थ्यो । राजनीतिक विषयवस्तुको जानकार हुनुहुन्थ्यो त्यही भएर उहाँलाई राजनीतिमा आउन गाह्रो भएन ।
स्कुल पढ्दा उहाँ सधै आफ्नो क्लासको मोनिटर हुनुहुन्थ्यो । नेतृत्व कसरी गरिन्छ । मोटीभेट कसरी गरिन्छ जस्ता कुराको ज्ञान स्कूलबाट नै प्राप्त भएको थियो । त्यसले गर्दा उहाँलाई सक्रिय राजनीतिमा आउन गाह्रो भएको थिएन । सक्रिय राजनीतिमा आए पनि उहाँले पढाईलाई निरन्तरता दिनु नै भयो । राजनीतिका साथै उहाँले पोल्टिकल साइन्समा उहाँले टियुबाट मास्टर्स पनि गर्नुभयो ।
२०७२ मा उहाँको भाइले सहादत प्राप्त गरेपछि ममता चौधरी राजनीतिमा सक्रिय हुनुभयो । २०७४ मा भएको स्थानीय चुनावमा तत्कालिन राजपा नेपालले थिरेश्वरनाथ नगरपालिकामा उपमेयर पदमा उहाँलाई टिकट दिएको थियो । तर उहाँले चुनाव जित्नु भएन । त्यसपछि उहाँ पार्टीमा झन सक्रिय भएर लाग्नु भयो ।
सद्भावना पार्टीको राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय सदस्यबाट औपचारिक रुपमा राजनीति सुरु गर्नुभएका ममता चौधरी दुई वर्षपछि राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य बन्नु भएको थियो । राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो ।
त्यो जसपा नेपालमा पनि ममता चौधरीलाई केन्द्रीय सदस्य बनाइएको थियो । जसपा नेपालमा पनि उहाँ सहिद परिवारका नाताले सक्रिय राजनीति गर्नुभयो । पार्टीले दिने हरेक जिम्मेवारी उहाँ पुरा गर्नुहुन्थ्यो । जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि उहाँ पनि सोही पार्टीमा लाग्नुभयो । लोसपा पनि पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएको छ ।
यसपटकको आमाचुनावमा उहाँले टिकट लिएर नै चुनाव लड्ने सोच बनाउनु भएको थियो । तर पार्टीले सहिद परिवारको सदस्य भएको कारण सम्मान स्वरुप समानुपाति सांसद नै बनाउने नेताहरुले भन्नुभयो । र सोही अनुसार उहाँको नाम प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार बनायो तर उहाँको नाम छैठो नम्बरमा राखिएको छ ।
ममता चौधरीले भन्नुभयो, ‘समानुपातिकमा नाम राख्नका लागि मलाई सोधिएको थियो तर मैले यदि नाम नै राख्ने हो भने नामका लािग मात्र नाम नराख्नुस् बरु त्यो भन्दा राम्रो त नराख्दा नै राम्रो, राख्ने हो भने क्रम सँख्या एक वा दुई नम्बरमा राख्नुस् भनेको थिए तर पार्टीका शीर्ष नेताहरुले नाम जहाँ राखेपनि तपाईको हुने निश्चित छ ।’ कुनै पनि हालतमा समानुपातिक सांसद बनाउने कुरा पार्टीका अध्यक्षदेखि लिएर वरिष्ठ नेताहरुले आश्वासन दिनुभएको छ, तर पार्टीले अहिल प्राप्त गरेको मत र समानुपातिमा राखिएको नामको सँख्या आफूलाई समानुपातिक सांसदमा छनौट हुने कुरामा आफूलाई विश्वास नलागेको उहाँले बताउनुभयो ।
तर आफूले आशा नमारेको उहाँले बताउनुभयो । नेताहरुले भन्नुभएको छ, भने विश्वास त गर्नुपर्छ भन्दै उहाँले आफू सहिदको सपना सकार गर्नका लागि सांसद बन्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो दाइ मधेश राजनीतिमा धेरै लामो समय काम गर्नुभयो, मधेश आन्दोलन हुँदा उहाँले मधेशी जनताका लागि सहादत पनि दिनुभयो तर उहाँले देख्नु भएको सपना पुरा गर्ने अभिभारा मेरो काँधमा आइसकेको छ कमसे कम दाइको सपना पुरा गर्नका लागि भएपनि सांसद भएर नीति निर्माण तहसम्म पुग्नुपर्ने हुन्छ ।’
कसैले सोच्दो होला कि राजनीतिमा गएर पैसा कमाउँछन् तर आफ्नो त्यस्तो सोचाई नरहेको बताउँदै उहाँले आफूले देशका जनता र सहिदका लागि केही गर्ने सोचका साथ राजनीतिमा लागेको बताउनुभयो । ‘मैले चाहेको भए नेपालमा कुनै राम्रो जागिर खोजेर सेटल हुन सक्थे र अहिले पनि सक्छु तर जागिर गरेपछि म र मेरा परिवारले मात्र त्यसबाट फाइदा लिन्छ तर मजस्ता व्यक्ति राजनीतिमा आए भने पुरै देशलाई नै फाइदा हुन्छ, उहाँले भन्नुभयो, ‘म १५ वर्षदेखि राजनीतिमा छु ६–७ वर्ष यतादेखि सक्रिय भएको हुँ म नाफा नोक्सान हेरेर राजनीतिमा आएको होइन । सहिदको सपना पुरा गर्ने उद्देश्यले राजनीतिमा आएको हुँ ।’
सहिदका नाममा ठगी
मधेशका युवा जेका लागि सहादत दिनुभयो त्यो पुरा भएको छैन । सहिदको नाममा नेताहरुले ठग्ने काम मात्र गरेको बुझाई ममता चौधरीको रहेको छ । संघीयता अधुरो छ, प्रदेशको निर्माण अधुरो छ, अधुरो संविधान पनि बनेको छ । नागरिकताको समस्या जस्ताको त्यस्तै छ, भाषाको समस्या पनि समाधान भएको छैन, शिक्षा र स्वास्थ्यको अवस्था जस्ताको त्यस्तै छ ।
यी सबै पुृरा गराउनका लागि मधेशका युवाले सहादत दिनुभएको थियो तर दलका नेताहरु आआफ्नो स्वार्थमा अल्झेर सहिदको चाहनालाई पुरा गर्न नसकेको ममता चौधरीको दावी छ ।
राजनीतिमा थुप्रै राम्रा मान्छेहरु छन्, पढेलेखेका छन् त्यसलाई अगाडि बढाउनुपर्छ, त्यस्ता व्यक्तिलाई पार्टीमा अवसर दिनुपर्छ तर नेतारुले त्यस्ता व्यक्तिहरुलाई अवसरबाट बन्चित गरिरहनु भएको उहाँले बताउनुभयो । पढेलखेका क्षमतावान व्यक्तिहरु राजनीतिमा आयो भने देश अवश्य सुधारतिर जान्छ तर यी कुराहरु सुन्ने र बुझ्ने फुर्सद छैन नेताहरुलाई ।
सहिदको नाममा नेताहरुले ठूला ठूला भाषण गर्नुहुन्छ, सहिद परिवारलाई यो गरि दिने त्यो गरिदिने, घाइतेलाई यस्तो सुविधा दिने त्यस्तो सुविधा दिने भनि दलका नेता तथा सोही पार्टीका मन्त्री, मुख्यमन्त्रीहरु ठूला ठूला कुरा गर्नुहुन्छ तर यत्रो वर्ष भइसक्दा पनि सहिदको नाममा केही पनि नभएको गुनासो ममता चौधरीको रहेको छ ।
प्रत्येक सहिद परिवारमा एकजनालाई नोकरी दिने भनेको थियो तर खोइ, ममता चौधरीले भन्नुभयो, ‘कतिपय सहिद परिवारका सदस्यलाई नियुक्ति पत्र दिएको छ तर उसलाई न काम दिएको छ न पैसा दिइरहेको छ । कसैलाई काम दिएको छ भने पुरै थर्ड क्लास काम दिएको गुनासो ममता चौधरीको छ । सहिदको नाममा मन्त्री हुने सांसद हुने तर सहिद परिवारका सदस्यलाई एउटा राम्रो काम पनि दिन नसक्ने यो कस्तो अवस्था आयो भन्दै उहाँले मधेश दलबाट सहिद परिवारका सदस्यहरुलाई अपमान गर्ने काम गरिरहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो परिवारबाट मेरो दाजु सहिद हुनुभएको छ, तर मेरो परिवारलाई न राज्यले हेरेको छ न कुनै पार्टीले ।’ घरमा कमाउने एक मात्र व्यक्तिको देहान्त भएपछि त्यो घरको अवस्था कस्तो हुन्छ, त्यो कुरा आफूलाई मात्र थाह भएको बताउँदै उहाँले आफ्नो परिवारका लागि कसैले केही नगरेको गुनासो गर्नुभयो ।’ लाभको पद वा आर्थिक रुपमा आम्दानी हुने कामभन्दा पनि सहिदको सम्मान हुने गरी सहयोग हुनेपर्ने बताउँदै उहाँले सहिदको अपमान हुनेगरी कुनै पनि कार्य नहुने पर्ने धारणा राख्नुभयो ।
समाजिक सेवा
ममता चौधरी राजनीतिमा सक्रिय हुनुको साथै समाजिक काम पनि उहाँको त्यतिकै योगदान छ । गाउँघरमा महिलामाथि हुने हिंसा, पारिवारिक समस्या, झैझगडा मिलाउने काम पनि उहाँले गर्नुहुन्छ । राजनीतिकबाट समाधान हुने कुरालाई उहाँले राजनीतिक रुपमा समाधान गर्नुहुन्छ, व्यवहारिक रुपमा वा समाजिक रुपमा समाधान हुने विषयलाई उहाँले त्यसैगरि समाधान गर्नुहुन्छ ।
हुन त समाजिक काम र राजनीतिक कार्य एक अर्काका परिपुरक हुन् तर कामको प्रकृति फरक रहेको उहाँको बुझाई छ । समाजमा रहेका विकृति, विसंगतिको बारेमा बोल्दा कहिले काही राजनीतिक रुपमा फाइदा भएपनि कहिले काहीं घाटा पनि लाग्ने गरेको अनुभव ममता चौधरीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘कोही पीडित छन् यदि उसको पक्षमा वकालत गर्यो, प्रहरी प्रशासनमा गएर न्याय दिलाउने काम गरियो भने अर्को पक्ष त्यसबाट दुखि हुन्छन् र कुनैबेला राजनीतिमा त्यसको बदला लिन्छ ।’
२०७४ को चुनावमा उपमेयरमा आफू हार्नुमा त्यो पनि एउटा कारणले रहेको ममता चौधरी बताउनुहुन्छ । बोल्नबाट नडराउने, सहीलाई सही भन्ने, गलतलाई गलत भन्ने आफ्नो आदत रहेको बताउँदै उहाँले त्यसले कहिले काहीँ राजनीतिमा फाइदा भएको छ भने कहिले काहीँ घाटा पनि भएको बताउनुभयो । त्यही क्रान्तकारी स्वभावका कारण घरमा आमा चिन्तित हुनुहुन्छ ।
-सहारा टाइम्स पत्रिकाबाट





तपाईको प्रतिक्रिया