Khadya Bibhag

अबको मुख्यमन्त्री को ?

मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अधिकाँश ठाउँमा सम्पन्न भइसकेको छ । केही ठाउँमा जारी छ भने चुनाव हुन बाँकी रहको ठाउँमा सुरु भइसकेको छ । मतगणनाबाट आएको मतपरिणामा आधारमा सत्ता समिकरणका लागि गृहकार्य सुरु भइसकेको छ । प्रदेशदेखि केन्द्रसम्म कुन दलसँग कस्तो सरकार बनाउने भनि दलहरुको बीचमा गृहकार्य सुरु भइसकेको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न दलका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल सुरु गरिसक्नु भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुका अध्यक्षहरुलाई छुट्टा छुट्टै बोलाएर छलफल गरिरहनु भएको छ । उहाँले एकचरण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरिसक्नु भएको छ ।

यहाँसम्म कि उहाँले गठबन्धन बाहिर रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि कुराकानी गरिसक्नु भएको छ । सप्तरी २ मा चुनाव जित्नु भएको सिके राउत जनतालाई धन्यवाद दिने कार्यमा व्यस्त हुनुहुन्थ्यो । त्यही अवस्थामा प्रधानमन्त्री देउवालाई उहाँलाई काठमाडौँ बोलाउनु भएको छ । उता, महोत्तरी ३ मा चुनाव जित्नु भएका लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि काठमाडौं बोलाउनु भएको छ । अध्यक्ष ठाकुरले मतदातालाई भेटेर धन्यवाद पनि दिन पाउनु भएन । प्रधानमन्त्री देउवाले यी जतिजनासँग कुराकानी गर्नुभयो । सबैजनाले गठबन्धनको सरकार बनाउनमा सहमति जनाउनुभएको स्रोतले जनाएको छ ।

तर सरकार गठनको कुरा केन्द्र मात्र होइन, प्रदेश पनि हो । केन्द्रमा गठन हुने सरकारकै अनुसार प्रदेशहरुमा पनि सरकार गठन हुने त्यसमा पनि दलहरुले छलफल सुरु गरेका छन् । सरकार गठन मात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको मनोनय पनि दलहरुको बीचमा छलफलको विषय बनेको छ । कुन प्रदेशमा कसको नेतृत्वमा सरकार गठन गर्ने कुरा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको छ ।

मधेश प्रदेशमा लगभग प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको मतगणना लगभग सम्पन्न भएको छ । मधेश प्रदेशमा प्रदेश सभातर्फ सबभन्दा ठूलो पार्टी एमाले भएको छ । एमालेले प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ८ सहित २३ सीट हात पारेको छ भने काँग्रेसले प्रत्यक्षमा १३, समानुपातिकमा ९ गरी २२, जनता समाजवादीले प्रत्यक्षमा नौ र समानुपातिकमा ६ सहित १५, लोकतान्त्रिक पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा २ सहित नौ, जनमत पार्टीले प्रत्यक्षमा छ र समानुपातिकमा सातसहित १३ नकेपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिक ४ गरी आठ, नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा चार र समानुपातिकमा ३ गरी सात र स्वतन्त्रको प्रत्यक्षमा मात्र ६, राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकमा २ र नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ गरी जम्मा १०७ सीट पुगेको छ । प्रत्यक्षमा ६४ जितेका छन् भने समानुपातिकमा ४३ जना चयन हुनेछन् ।

सबै सीटको टुगों लागि सकेपछि अब कसको नेतृत्वमा सरकार बन्ने चर्चा सुरु भएको छ । सिके राउत नेतृत्वको १३ वटा सीट निर्णायक भएको कारण त्यहाँ कसको नेतृत्वमा सरकार बन्छ त्यो सिके राउतको हातमा रहेको आम बुझाई रहेको छ । यो कुरा सिके राउतले समेत भन्नुभएको छ । उहाँले आफूहरु मधेश प्रदेशमा निर्णायक सीट लिएर आएको कारण सरकारको नेतृत्व गर्ने पहिलो दावी आफूहरुको रहने बताउनु भएको छ । गत २०७४ को चुनावमा मधेश केन्द्रीत दल (अहिलेका जसपा–लोसपा) ले मिलेर सरकार बनाएको थियो । तर यसपटक काँग्रेस र एमाले ठूलो दल बनेर आएको कारण ती दुवै दलमध्ये एउटाले सरकारको नेतृत्व गर्ने लगभग निश्चित जस्तै देखिन्छ ।

मधेश प्रदेशमा जम्मा प्रदेश सभा सदस्य १०७ हुन्छ । जसमा ६४ वटा प्रत्यक्षबाट र ४३ वटा समानुपातिकबाट हुन्छन् । सरकार बनाउन कम्तीमा ५४ जना सांसद चाहिन्छ । जुन दलले ५४ जना प्रदेश सांसद जुटाउन सक्छन् त्यो दलले मात्र सरकारको नेतृत्व गर्न पाउने प्रावधान रहेको छ । सत्ता गठबन्धनको सीट जोड्दा ४६ पुग्छ । सरकार बनाउन आठ सीट कम हुन्छ । त्यहाँ सिके राउतले सहयोग नगरे सम्भवै छैन । स्वतन्त्रबाट सहयोग लिए पनि नागरिक उन्मुक्ति पार्टी र राप्रपाले सहयोग गर्नुपर्छ । यी खुद्रा सीटहरुले लिएर सरकार बनाउनु भन्दा सत्ता गठबन्धनले सिके राउतलाई नै साथमा लिएर सरकार बनाउन चाहेको छ ।

त्यहाँ जसपाको पनि साथ लिन सकिन्छ । उपेन्द्र यादवलाई सत्ता गठबन्धनमा ल्याउने प्रयास भइरहेको छ । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवसँग कुराकानी पनि गरिरहनु भएको छ । सत्ता गठबन्धनमा जसपा पनि सहभागी भयो भने सिके राउतलाई साथमा नलिए पनि त्यहाँ सरकार बन्नसक्छ ।

यता, जसपा–एमाले गठबन्धनसँग ३२ वटा सीट मात्र छ । केही ठाउँमा राप्रपासँग पनि एमालेको सहकार्य भएको कारण त्यो दललाई पनि साथ लियो भने ३३ सीट हुन्छ । सरकार बनाउनका लागि जसपा–एमाले गठबन्धनलार्य २१ सीट अपुग रहेको छ । त्यसका लागि जसपा–एमाले गठबन्धनले सत्ता गठबन्धनका चार दलबाहेक स्वतन्त्रसहित सबैको सहयोग लिनुपर्ने हुन्छ अनि मात्र एमाले अथवा जसपा–एमाले गठबन्धनको सरकार बन्छ । यसरी सीटसँख्या र गठबन्धनको मतसँख्या हेर्दा सजिलो तरिकाले सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना बढी देखिएको छ ।

प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ त्यो केन्द्र सरकार गठनमा भरपर्ने बताइन्छ । केन्द्रमा कस्तो समिकरण बन्छ । त्यही अनुसार प्रदेश सरकार गठन पनि हुने बताइएको छ । केन्द्रमा एमाले, माओवादी, जसपालगायतका दलहरु मिलेर सरकार बन्यो भने जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा सरकारको नेतृत्व आफ्नो दलले गर्ने भनि दावी गर्ने बताइएको छ । सत्ता गठबन्धनमा काँग्रेससँग कुरा मिलेन भने माओवादी, एमालेसहितको वामगठबन्धनको सरकार बन्नसक्छ । त्यसमा जसपालगायतका अन्य दलहरु पनि सहभागी हुने गरि गृहकार्य भइरहेको छ ।

जसपा नेतृत्वमा सरकार बन्यो भने त्यसको नेतृत्व पुनः लालबाबु राउतले गर्ने नै जसपाका नेताहरु बताउनुहुन्छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री बन्ने दौडमा रहनुभएका विजय यादव, शैलेन्द्र साह चुनावमा पराजित हुनुभएको छ । मुख्यमन्त्री बन्ने खालको एकजना अहिले देखिएको लालबाबु राउत नै हुनुहुन्छ । धनुषाबाट चुनाव जित्नुभएका रामअशिष यादव पनि मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ । सत्ता गठबन्धनको सरकार बन्यो भने त्यहाँ लोसपाले नै सरकारको नेतृत्व गर्ने दावी गर्नेछ । काँग्रेससँग गठबन्धनका लागि वार्ता गर्दा लोसपालाई मधेश प्रदेश सरकारको नेतृत्व दिने सहमति भएको सो दलका नेताहरु बताउनुहुन्छ । लोसपाका एक नेताले भन्नुभयो, ‘लोसपाको नेतृत्वमा सरकार बन्यो भने त्यसका लागि सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनल तयारी अवस्थामा हुनुहुन्छ । उहाँ नै मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।’

जनमत पार्टीले सरकारको नेतृत्व गर्न पायो भने सो पार्टीबाट चन्दन सिंह मुख्यमन्त्री बन्ने चर्चा सुनिएको छ । चन्दन सिंह प्रदेश सभामा समानुपातिकबाट आउने लगभग निश्चित भइसकेको छ । सरकार नेतृत्व गर्ने गरि जनमतले अन्य दलहरुसँग छलफल सुरु गरेको छ । तर मधेश प्रदेशमा लोसपा, जसपा, जनमतलाई सरकारको नेतृत्व गर्न दिने पक्षमा एमाले–काँग्रेस देखिएको छैन । काँग्रेसको नेतृत्वमा सरकार बन्यो भने सो पार्टीका मधेश प्रदेश समितिका सभापति कृष्ण यादव र धनुषाका पूर्व सभापति रामसरोज यादवमध्ये एकजना मुख्यमन्त्री बन्ने लगभग पार्टीभित्र तय भएको छ ।

एमालेबाट मुख्यमन्त्री बनाउने अवस्था आयो भने सप्तरीका राजकुमार लेखी, बाराका देवनारायण चौधरी, सिरहाका सत्रुधनप्रसाद सिंह कोइरी, धनुषाका हरिनारायण महतो रहेको सो पार्टीका मधेश प्रदेशका अध्यक्ष रामअवतार यादव बताउनु हुन्छ । उहाँले सहमति बन्न सक्यो भने जसपाको नेतृत्वमा पनि सरकार बन्नसक्छ । गठबन्धन बनाउने बेला जसपालाई मधेश प्रदेशको नेतृत्व दिने सहमति भएको थियो । त्यसकोे आधारमा जसपाले पनि दावी गर्नसकिने बताउनुभयो ।

–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया