पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, मधेश मामिलाका जानकार तुलनारायण साहलाई साथमा राखेर ह्रदयश त्रिपाठीले २०७८ मंसिर २८ गते आफ्नो नेतृत्वमा जनता प्रगतिशिल पार्टी गठन गर्नुभयो । हिन्दु, मुस्लिम, क्रिश्चयनका धार्मिक गुरुहरुबाट मन्त्र जप गराएर पार्टी गठन गर्नुभएका त्रिपाठीलाई त्यो भापेन ।
विभिन्न धार्मिक गुरुहरुसँग सल्लाह गरेर सुभसाइतमा वानेश्वरको एभरेष्ट होटलमा पार्टी गठनको घोषणा गर्नुभएको थियो । पार्टी गठन गरेको दिन उहाँसँग रहेको नेताहरुमा छुट्टै जोस जाँगर थियो । नेता त्रिपाठीमा पनि उत्साह देखिन्थ्यो तर कुनै पनि पार्टीको वजन, नेताप्रतिको भरोसा सिर्फ चुनावले गर्छ । लामो समय मधेश राजनीतिमा रहेर काम गर्नुभएका त्रिपाठीले जनताको परीक्षामा फेल हुनुभएको छ ।
जनता प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठी काँग्रेसका उम्मेदवार विनोद चौधरीबाट मात्र पराजित हुनु भएन उहाँले देशभरबाट कतैपनि एक सीट जिताउन सक्नुभएन । काँग्रेसका नेता विनोद चौधरीले २९ हजार ४९५ मत ल्याउँदा अध्यक्ष त्रिपाठीले २२ हजार ३०८ मत ल्याएर पराजित हुनुभएको छ ।
अध्यक्ष त्रिपाठीले आफ्नो पार्टीबाट प्रतिनिधि सभातर्फ १५ जना र प्रदेश सभातर्फ २० जना उम्मेदवार उठाउनु भएको थियो । त्यसमध्ये अधिकाँशको जमानत समेत जफत भएको छ ।
त्रिपाठी नेतृत्वको पार्टीले समानुपातिकमा १८ हजार ४८ मत मात्र ल्याएको छ । सो पार्टीका महासचिव इश्वर दयाल मिश्रले आफूहरुको पार्टी विल्कुल नयाँ थियो, संगठन विस्तारको कामै भएको थिएन त्यही कारणले सोचे जस्तो नतिजा ल्याउन नसकेको दावी गर्नुभयो । तर सोही पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले पार्टी नयाँ थियो नै तर पार्टीभित्र समन्वयको अभाव रहेको कारण चुनावमा कमजोर भएको बताउनुभयो ।
उपाध्यक्ष यादव पनि महोत्तरी ४ मा उम्मेदवारी दिनु भएको थियो ।
उहाँले ४९८ मत ल्याएर चौथो स्थानमा सिमित भएका थिए । त्यहाँ सत्ता गठबन्धनमा उम्मेदवार महेन्द्रकुमार राय चुनाव जित्नु भएको छ । सो पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बन्नु भएका श्रीमन नारायणले स्रोत साधन र समन्वयको अभावका कारण पार्टी चुनावमा कमजोर भएको दावी गर्नुभयो । अन्य सबै पार्टीहरु गठबन्धनबाट चुनाव लडेका थिए तर जनता प्रगतिशिल चुनावी मैदानमा एक्लै थियो, त्यही भएर अपेक्षाकृत मत आउन नसकेको उहाँको अर्को दावी छ ।
कम्युनिष्ट राजनीतिबाट उदाउनु भएका त्रिपाठी लामो समय नेपाल सदभावना पार्टीबाट सक्रिय राजनीति गर्नुभयो । पछि सो पार्टी छाडेर महन्थ ठाकुरको साथमा तराई मधेश लोकतान्त्रिक पार्टी बनाउनुभयो । तर तमलोपाले अन्य दलहरुसँग मिलेर राजपा बनाएपछि त्रिपाठीले २०७४ असोजमा सो पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह गठन गर्नुभएको थियो । सो समूहमार्फत उहाँले एमालेको चुनाव चिन्ह सूर्य लिएर २०७४ को चुनावमा भाग लिनु भएको थियो ।
त्यतिबेला उहाँले दुईटा प्रतिनिधि सभा र तीनवटा प्रदेश सभामा प्रत्यक्ष चुनाव जिताउनु भएको थियो । उहाँ एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री पनि बन्नु भएको थियो । मन्त्रीबाट हटेपछि उहाँ नयाँ पार्टी गठनको गृहकार्यमा लाग्नु भएको थियो । उहाँ नयाँ पार्टी गठन गर्ने गृहकार्यमा लागेपछि उहाँलाई साथ दिदै आउनु भएका वृषेश गुप्तालगायतका नेताहरु स्वतन्त्र राजनीति समूह छाडेर एमालेलगायतका दलहरुमा जानुभएको थियो ।
तैपनि केही नेताहरु बटुलेर उनी २०७८ मंसिरमा जनता प्रगतिशिल पार्टी गठन गर्नुभएको थियो । एक वर्ष संगठन निर्माण र विस्तारमा लागेका त्रिपाठीले २०७९ मंसिर ४ गतेको भएको चुनावमा भाग लिनुभएको थियो । तर पहिला प्राप्त गर्नुभएको शक्ति पनि उहाँले गुमाउनु भयो ।
–सहारा टाइम्स


तपाईको प्रतिक्रिया